पूर्वजहरूको देहावसान भएर यस धर्तीलाई छोडेर गएपछि पनि सन्ततिहरूले उनीहरूलाई स्मरण गरिरहने हाम्रो परम्परा छ । पुर्खाले हाम्रा निमित्त विगतमा गरिदिएका सकारात्मक देनहरूको उच्च कदर गर्दै हामी उनिहरूलाई सम्झने गर्छौं । सम्झने तौरतरीकामा भिन्नता भएपनि तिनलाई स्मरण गर्ने प्रचलन भने नेपालका सबै जातजातिमा रहेको पाइन्छ । पितृलाई देवतातुल्य ठान्ने हाम्रो संस्कृति भएकाले उनीहरूको स्मरणमा कसैले श्राद्ध गर्छन्, कसैले स्मरण दिवस मनाउँछन् । कसैले भने तिनीहरूको आत्माको शान्तिका लागि मानवोपयोगी र समाजको भलो हुने किसिमका विभिन्न कृयाकलापहरू सञ्चालन गर्छन् । हाम्रो जे जस्तो भौतिक उपस्थिति अहिले यो धर्तीमा छ; हाम्रो परिवार, समाज र सिङ्गो राष्ट्रको जे जस्तो सकल उत्थान र प्रगति भएको छ; त्यसमा हाम्रा पुर्खाहरूको देन अतुलनीय छ ।
समाज र राष्ट्रको भलो हुने कार्यमा पितापुर्खाले गरेका योगदान ठूलो वा सानो भन्ने हुँदैन । हामीले अहिले हिंड्ने गरेको बाटो, तर्ने गरेका पुल पुलेसा, पानी खाने धारा–कुवा, दर्शन गर्ने देवालय, गुम्बा, चैत्य, थकाइ मार्ने चौतारी, विश्राम गर्ने पाटी–पौवा, ज्ञान आर्जन गर्ने विद्यालय जस्ता समाजका लागि उपयोगी जे जति अवयवहरू छन्; तिनमा हाम्रा पितापुर्खाका श्रम, पसीना, लगानीहरू त परेका हुन्छन् नै; त्यस्ता संरचना खडा गर्न उनीहरूले गर्नुपरेका संघर्षका विभिन्न रोचक अथवा दुखान्त सन्दर्भहरू पनि समावेश भएका हुन सक्छन् ।
शासकहरूले आफ्नो अनुकूल हुनेगरि इतिहास लेख्ने–लेखाउने प्रचलन पुरानै हो । आफ्नो स्वार्थ विपरीतका अथवा उनीहरू प्रतिकूल हुन सक्ने कतिपय ऐतिहासिक तथ्यहरूलाई कतिपय अवस्थामा शासकले प्रचारमा ल्याउन खोज्दैन । यस्तो विडम्बनापूर्ण अवस्था एकातिर हुन्छ भने अर्कोतिर तिनै शासकका योगदानका गाथाहरूलाई वर्णन गर्ने क्रममा तिनकै भूमिकालाई सहयोग पुग्ने कतिपय महत्वपूर्ण ऐतिहासिक सहायक पात्रहरूले गरेका योगदानलाई पनि मूल इतिहासमा समेट्न नसकिएका थुप्रै उदाहरणहरू छन् । इतिहासमा छुटेका त्यस्ता पात्रहरूका विगतका दुर्र्भेद्य सहभागिता र तिनले पु¥याएका योगदानहरूको अभिलेख राख्दै पछिल्ला पुस्ताले बेलाबेलामा यसको चर्चा परिचर्चा गर्दै गर्नु आवश्यक हुन्छ ।
गोर्खा राज्यको आर्थिक अवस्था कमजोर भएर काठमाडौं उपत्यका आक्रमण गर्न खर्चको अभाव हुँदा गोर्खाको एउटा सामान्य प्रजा बिसे नगर्चीको सल्लाह बमोजिम राजा पृथ्वीनारायणले गोरखाका प्रत्येक घर धुरीबाट पैसा उठाएर काशीबाट हतियार किनी ल्याएका थिए रे भन्ने जनश्रुति भएपनि यसलाई राज्यले आफ्नो आधिकारिक लेखोटको मूल प्रवाहमा समेटेको देखिंदैन । चर्चित नालापानीको युद्धमा बलभद्र कुँवरले देखाएको शौर्य र वीरताको कथा त धेरैलाई थाहा छ । तर त्यही नालापानी किल्ला निर्माण गर्ने अंगद घलेको भने नाम पनि कतिपयलाई थाहा छैन ।
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहलाई पटकपटकको प्रयासमा पनि काठमाडौं उपत्यकालाई आफ्नो राज्यमा गाभ्न हम्मे हम्मे परिरहेको बेलाको एउटा रोचक प्रसंग छ । एकपटक राजा पृथ्वीनारायण शाह थकित र लखतरान परेर साँझपख विश्राम गर्न भन्दै एकजना बुढी आमाको घरमा एक्लै वास माग्न पुगेछन् । छिप्पिदै गएको रातसँगै आँखा कमजोर भएकी बुढी आमैले राजालाई वास दिएपनि उनलाई राजा नै हुन् भनेर चिन्न सकिनछिन् । साँझको बेला पाहुना लाग्न आएका पृथ्वीनारायणलाई तिनले आफूले पकाएको तातो तातो जाउलोले सत्कार गरिछन् । पृथ्वीनारायणले भोकको रन्काहामा हतारिंदै तात्तातो जाउलो भएको थालको बीच भागबाटै खान खोज्दा उनका हात भतभत पोलेर खान सकेनछन् । यस्तो दृश्य हेरिरहेकी राजालाई नचिनेकी ती बुढीआमैले पृथ्वीनारायणलाई भनिन् रे; ‘कस्तो तिमी त एकैपटक कान्तिपुर नै ताक्ने हाम्रा राजा पृथ्वीनारायण जस्तै रहेछौ ! राजाले वरिपरिको स्थान नजिती एकैपटक माझमा रहेको कान्तिपुर ताक्न खोज्दा सफल हुन नसकेको जस्तो तिमीले पनि तातो जाउलो एकैपटक माझबाट खान खोजेकाले तिम्रो हात यसरी पोल्यो ! त्यसैले छेउछेउबाट खान शुरू गर । त्यतिबेलासम्म माझको भाग पनि सेलाइसक्छ !’ तिनै बुढी आमाले दिएको सल्लाह अनुसार पृथ्वीनारायणले पहिले उपत्यका वरिपरिका गौंडा र इलाकाहरू जित्दै उपत्यकालाई आर्थिक नाकावन्दीमा पार्दै गएपछि मात्र उपत्यका हात पार्न उनलाई सहज भएको थियो रे !
काठमाडौं उपत्यकालाई आर्थिक नाकावन्दी गर्दै घेरेरै कब्जामा लिने रणनीति अन्तर्गत गोर्खा सेनाले उपत्यका आसपासका विभिन्न गाउँहरूलाई पहिले आफ्नो अधीनमा पार्दै जान थालेका थिए ।
अहिलेको हाम्रो नेपाल राष्ट्रको अस्तित्व कायम रहनुमा हाम्रा तिनै पुर्खाहरूको ठूलो देन छ । नेपाल निर्माणका क्रममा हाम्रा कयौं यस्ता पुर्खाहरूहरूले आफ्नो जीवन उत्सर्ग गरेका छन् । कैयौंको उमेर नपुग्दै सिन्दूर पुछिए होलान्; कति शिशु कलिला उमेरमा बाबुआमाको स्नेह नपाइ बिचल्लीमा परे होलान् ! भलै त्यसको नेतृत्व राजा पृथ्वीनारायण शाहले गरे; उनको अगुवाईमा समाज र राष्ट्र निर्माणका खातिर ज्ञात अज्ञात हाम्रा थुप्रै महान वीर पुर्खाहरूले आ–आफ्नो स्थानबाट सक्दो योगदान पुर्याएका छन् ।
आजभन्दा २५३ वर्ष अघि सिन्धुली गढीमा गोर्खाली सेनाले अङ्ग्रेज फौजलाई हराएको थियो । काठमाडौं उपत्यकालाई आर्थिक नाकावन्दी गर्दै घेरेरै कब्जामा लिने रणनीति अन्तर्गत गोर्खा सेनाले उपत्यका आसपासका विभिन्न गाउँहरूलाई पहिले आफ्नो अधीनमा पार्दै जान थालेका थिए । यसै क्रममा पहिले मकवानपुर राज्य अन्तर्गत पर्ने सामरिक दृष्टिले अति महत्वपूर्ण सिन्धुली गढी क्षेत्रलाई विं.सं.१८१९ भाद्र महीनामा गोर्खाली सेनाले आफ्नो अधीनमा ल्याए । यसको लगत्तै पृथ्वीनारायणका सेनाले त्यतिबेला भक्तपुर राज्य अन्तर्गत रहेका सिन्धुली, झागाँझोली, दुम्जा, धुलीखेल जस्ता क्षेत्र आफ्नो कब्जामा पारेपछि उपत्यका पूर्ण रूपमा गोर्खालीको घेराबन्दीमा पर्यो ।
यसरी गोर्खाली फौजले उपत्यकालाई आफ्नो सैनिक घेरामा कस्दै ल्याउन थालेपछि कान्तिपुरका राजा जयप्रकाश मल्ललाई आफ्नो राज्य गोर्खालीको अधीनमा जानसक्ने भयले सताउन थाल्यो । त्यतिबेलासम्म ईस्ट इण्डिया कम्पनी अन्तर्गतको बृटिश सेनाले बक्सर (भारत)को युद्धमा तत्कालीन तीन शक्तिशाली शासक बंगाल–बिहारका नवाब मीर कासिम, अवधका नवाब शुजाउद्दौला र बादशाह शाह आलमलाई हराइसकेको थियो । यो वि.सं. १८२१ को कार्तिक महीनाको कुरा थियो । (प्रो.ढुण्डिराज भण्डारी, २०४६ः ३३९) यस युद्धमा भएको आफ्नो विजय पश्चात् उनीहरूमा अब हिम्वत् खण्डका बाँकी राज्यलाई पनि सजिलै आफ्नो साम्राज्य भित्र विस्तार गर्न सकिने अभिमान र दम्भयुक्त विश्वास जागेको थियो ।
जयप्रकाश मल्लले आफ्नो राज्य र सत्ता जोगाउन अनेक तरहका उपायहरू गरे पनि सफल हुन सकिरहेका थिएनन् । अन्ततः उनले त्यही ईस्ट इण्डिया कम्पनीसँग पृथ्वीनारायणका विरुद्ध आफूलाई सहयोग गर्न अनुरोध गर्न पुगे । यसका लागि उनले उमदा नाम गरेका एकजना कश्मीरी मुसलमानलाई आफ्नो मुख्तार (प्रतिनिधि) र रामदास नाम गरेका एक वैरागीलाई सहायक बनाइ वि.सं.१८२३ फागुनमा त्यही सिन्धुलीको बाटो हुँदै बेतिया पठाए । ईस्ट इण्डिया कम्पनीले बक्सर (भारत)को युद्धमा विजय पाएपछि पहिले मुगलहरूको आधिपत्यमा रहेको बेतियामा उसले आफ्नो वाणिज्य दूतावास स्थापना गरेको थियो ।
ऐतिहासिक कालदेखि नै सामरिक महत्व बोकेको सिन्धुली गढीमा यसअघि पनि विभिन्न समयमा विभिन्न घटना घटेको इतिहासमा पढ्न पाइन्छ ।
हिमवत् खण्डमा रजाइँ गर्ने ताकमा रहेको बृटिश इण्डियालाई जयप्रकाश मल्लको अनुरोध सकारात्मक भयो । त्यस अनुरोधलाई स्वीकार गर्दै उसले किनलकको नेतृत्वमा २४ सय हिन्दुस्तानी सेना सहितका केही अंग्रेज सेनालाई सिन्धुलीगढीतिर पठायो । ऐतिहासिक कालदेखि नै सामरिक महत्व बोकेको सिन्धुली गढीमा यसअघि पनि विभिन्न समयमा विभिन्न घटना घटेको इतिहासमा पढ्न पाइन्छ । विक्रम सम्वत् १३६७ मा सिम्रौनगढका डोय सेनाहरूले काठमाडौं उपत्यकामा लूटपाट गर्दा यही बाटोलाई प्रयोग गरेका थिए (विकीपेडिया) । त्यस घटनाको करीव चालीस वर्ष पछि राजा जयस्थिति मल्लको पालामा बङ्गालका सुल्तान गयासुद्धिन तुगलकका सेनापतिका छोरा समसुद्दिन इलियास शाहले भक्तपुर आक्रमण गरेका थिए । त्यतिबेला तिनीहरूले पशुपतिनाथ मन्दिर समेत लुट्न भ्याएका थिए । सात दिनसम्म लूटपाट गर्दै उपत्यकाका अनेकौं मन्दिर तोडफोड गर्दै उनीहरू सिन्धुली गढीकै बाटो फर्किएका थिए (साप्ताहिक, २०७२, आश्विन ८) । यसरी प्रशासनिक, व्यापारिक र सामरिक दृष्टिकोणले सिन्धुली गढी क्षेत्र पहिलेदेखि नै महत्वपूर्ण थियो । यहाँको संवेदनशीलतालाई ध्यानमा राखेर पछिका शासकहरूले पनि यहाँ सैन्य शक्ति मजबूत पार्दै जान थालेका थिए ।
अंग्रेज सेना दरभंगाबाट जनकपुर, रानीपौवा, सिन्धुली गढी, खुर्कोट, झाँगाझोली, दाप्चा पनौती हुँदै अन्ततः काठमाडौं उपत्यका जितेर नेपालमा बेलायतको झण्डा गाडेर आफ्नो साम्राज्य विस्तार गर्ने कुत्सित मनसाय सहित आएको थियो । बिना कुनै वाधा अवरोध सिन्धुली गढीसम्म त उनीहरू आइपुगे । तर त्यस अघि बढ्न भने उनीहरूलाई हम्मे हम्मे पर्यो । त्यहाँ उनिहरूले गोर्खाली सेनाको वीरतापूर्ण प्रतिकारको सामना गर्नुप¥यो । किनलक सिन्धुली गढीबाट खुर्कोटतर्फ विनाअवरोध अगाडि बढे । खुर्कोट जाँदा पौवा गढीसम्म करीव चार किलोमिटरको ठाडो उकालो पथ्र्यो । पुृथ्वीनारायण शाहले आधा उकालो जति बन जंगल नाघेर ढुङ्ग्रेवासमा पुगेपछि वंसु गुरुङको नेतृत्वमा रहेको गुरिल्ला युद्धमा निपुण पाँचशय सैनिकले शत्रुपक्षमाथि पछिल्तिरबाट आक्रमण गर्ने र पौवागढी आइपुगेपछि वंशराज पाँडे र वीरभद्र उपाध्यायको मातहतमा रहेका सात सय जति गोर्खाली फौजले अगाडिबाट शत्रुमाथि जाइ लाग्ने रणनीति बनाएका थिए (भण्डारी, २०४६ः ३३९) यसै रणनीति बमोजिम उनिहरूले अंग्रेज फौजलाई त्यहाँबाट लखेट्न सफल भएका थिए ।
साहित्यकार जगदीश घिमिरेले इतिहास शिरोमणि बाबुराम आचार्यको भनाइलाई उद्धृत गर्दै ‘अन्तर्मनको यात्रा’मा सिन्धुली गढी युद्धको प्रसङ्गमा यस्तो लेखेका छन्; “बाबुराम आचार्यका रङ्गीहरू लडाइँ हारेर भागेको यस्तो वर्णन गर्छन्ः जो बचेका रसद र अरू भारीतारी बोक्ने भरियालाई अघि लाएर पहिले हार्डी हिँडेका थिए । हार्डीपछि अठ्ठार कम्पनीका सैनिकहरू क्रमशः उकालो चढ्दै थिए र पछिबाट किनलक थिए । अगाडि गएका भरिया पीठमा भारी बोक्ने पहाडी थिएनन्, थाप्लामा भारी राखेर दुई हातले भारी थाम्ने मदिसे (मधेशी) थिए । यी निहत्था भरियाहरूलाई गोर्खाली अफिसरहरूले पौवागढी पार हुन दिए । हार्डी देख्ने बित्तिकै गोर्खा सैनिकले हतियार छोडेर टाउकोमा घायल गराइदिँदा यिनी फर्कन बाध्य भएर यिनलाई बचाउन कम्पनीका केही सैनक लागे र ती हातका बन्दुक फाल्न बाध्य भए । यसै अवस्थामा ढुङ्ग्रेभञ्ज्याङ्बाट आएका बंसु गुरुङले ढाड हानेर शत्रु सैनिकको ताँती तोडिदिए । पौवा गढीतिरबाट श्रीहर्ष पन्त र उनका साथका सैनिकहरूले ज्यानको बाजी लगाएर दपेटा दिंदा अंङ्ग्रेजी सैनिक बन्दुक फालेर जङ्गलभित्र पसेर ज्यान बचाउन तिर लागे । तलतिरबाट शत्रु सैनिकको पनि यही हाल भयो र गोर्खाली सैनिकका खुकुरीले आधाभन्दा बढी सैनिक हताहत भएपछि जो बचेका सैनिक लिई कप्तान किनलक सिँधुली गडी पार भएर जनकपुरको बाटो फर्कन बाध्य भए । जहाँसम्म दपेट्न सम्भव थियो उहाँसम्म वीरभद्र र बंसुले दपेटे । रसद र मालमत्ता समेत केही नभएका शत्रुसैनिकहरूले मुस्किलसँग जनकपुर पुगेर दम लिए । यता दोस्रो दिनदेखि नै हताहत भएका शत्रुसैनिकहरूका बन्दुक लुटेर गोर्खाली सैनिकले खुर्कोटमा लगेर थन्क्याई भारी खोसिएर थुनिएका मदिसे भरियालाई छोडिदिए । उता जनकपुरमा पुगेका किनलक दरभङ्गापट्टिबाट रसद झिकाई अगामी कर्तव्य उपर विचार गर्न लागे ।” (घिमिरे, २०६५ः १५)
यसरी हाम्रा वीर पुर्खाले सिन्धुली गढीमा आफ्नो शौर्य नदेखाएको भए अहिले स्वतन्त्र नेपालको नागरिक भनेर नाक ठड्याउन पाउने थिएनौं । यस क्षेत्रमा अंग्रेजहरूले गोर्खाली सेनाबाट पहिलोपटक हार वेहोर्नुपरेबाट यसै युद्धमार्फत् नै गोर्खालीको वीरतावारे विश्वले पहिलोपल्ट चाल पाएको हो । त्यसै युद्धमा वीरतापूर्वक लडाईंको नेतृत्व गर्ने वीरभद्र उपाध्याय, श्रीहर्ष पन्त, वंसु गुरुङहरू भने अहिले गुमनाम जस्तैं हुन पुगेका छन् । सिन्धुली गढी युद्धका स्मरणका क्रममा स्थानीयले तिनलाई सम्झने बाहेक अन्य ठोस कार्य भने हुन सकेको छैन ।
इतिहास शिरोमणि बाबुराम आचार्यले सिन्धुलीमा अंग्रेज फौज आइलागेको तिथिमिति भेटिएको छैन भनेका छन् । विभिन्न लिखत अध्ययनको आधारमा उनले ‘सिन्धुलीको लडाई भएको साल विं.सं. १८२४ तदनुसार १०–१२ का बीच सेप्टेम्बर (सन १७६७) मा एक दिन भएको’ भनेका छन् (ऐजन ः १४) । तर गोर्खालीले कुन दिन त्यहाँ विजय हासिल गरेका थिए भन्ने कुरामा भने इतिहासकारबीच मतैक्य देखिंदैन । इतिहासकार दिनेशराज पन्तले सिन्धुली गढीमा अंग्रेज फौज असोज १५ गते पराजित भएर फर्र्केको बताउनु भएको छ ।
आधुनिक नेपाल निर्माणको प्रारम्भ गोरखाका राजा पृथ्वीनारायण शाहले गरेको कुरामा दुइमत छैन । डा.जगमान गुरुङका अनुसार यसको प्रारूप भने लमजुङबाट भएको थियो । उहाँका अनुसार लमजुङका घले राजा, पुवार, भँडारी, रावल, सुयाल, घिमिरे, दुरा, कास्कीका राजा जगडी खान (कुलमण्डन शाहका माहिला छोरा)ले कालु शाहलाई लमजुङको राजा बनाएका थिए । तर कालु शाहलाई लमजुङका गुरुङहरूले मारिदिए । त्यसपछि यिनै ६ थरले कालु शाहका साहिला भाइ यशोब्रम्ह शाहलाई लमजुङका राजा बनाए । तत्पश्चात खसान्त भाइ (खस बाहुन) र शेषान्त भाइ (गुरुङ)हरू मिली सबैलाई राजा मान्न लगाए । यसरी लमजुङमा शाह राजा स्थापना गर्न ६ थरका भूमिका अहं थियो । त्यसमा पनि मुख्य योगदान कुसुमाखर घिमिरे र खजे दुराको थियो । लमजुङ क्षेत्रमा अहिले पनि ‘घिमिरेको काम्लो, दुराको नाम्लो’ भन्ने उखान सुन्न पाइन्छ । जगमान गुरुङ ‘घिमिरेको काम्लो र दुराको नाम्लो’ले नै कास्कीका राजकुमारलाई लमजुङको राजा बनाउन सफल भएको मान्नुहुन्छ । खजे दुराले माछा बोक्ने जाबीमा हालेर यशोब्रम्ह शाहलाई लमजुङ ल्याएका थिए भने कुसुमाखर घिमिरेले अनुकूल वातावरण हेरी तिनलाई राज्याभिषेक गरि लमजुङको राजा घोषित गरिदिएका थिए । (गुरुङ, २०७४ ः ६०, ६१) नेपालको शाह वंशीय राजसंस्था स्थापना गर्नमा यो महत्वपूर्ण घटना भयो । तिनै यशोब्रम्ह शाहका एघारौं पुस्ताका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे । तिनकै नायकत्वमा सिन्धुली गढीको ऐतिहासिक लडाईं भएको थियो; जुन युद्धबाट गोर्खालीको पराक्रम र सूरोपनको परिचय विश्वले पहिलो पटक पाएको थियो ।
सिन्धुली गढीमा युद्ध भएको समयमा मन्थलीमा उदयनारायण घिमिरे पनि स्थानीय प्रभावशाली व्यक्ति मध्येमा पर्दथे । पृथ्वीनारायणका सेनापति वीरभद्र उपाध्यायले त्यतिबेला खजाञ्जीको पनि उत्तरदायित्व पाएका थिए ।
कालक्रमले लमजुङका तिनै कुसुमाखर घिमिरेका सन्तान धनपती लमजुङबाट दोलखातिर बसाईं सरे । त्यहाँबाट फेरि किराँती छाप, नाम्दु, काभ्रे, मैना पोखरी र चेर्दुङ लेक हुँदै मन्थली आइपुगे । सिन्धुली गढीमा युद्ध भएको समयमा मन्थलीमा उदयनारायण घिमिरे पनि स्थानीय प्रभावशाली व्यक्ति मध्येमा पर्दथे । पृथ्वीनारायणका सेनापति वीरभद्र उपाध्यायले त्यतिबेला खजाञ्जीको पनि उत्तरदायित्व पाएका थिए । लडाईंमा सहयोग गर्नसक्ने स्थानीयको खोजी हुँदा उदयनारायण घिमिरेको पनि नाम आएछ । तर त्यतिबेला उनी एउटा जग्गाको खिचलोमा मान्छे काटी काशीवास गर्न गएका रहेछन् । वीरभद्रले तिनको ज्यानखत मिनाहा गराएर फिर्ता बोलाएछन् । तिनले युद्धमा गोर्खाली सेनालाई मनग्गे नगद र जिन्सी सहयोग गरेछन् । लडाईं जितेपछि उदयनारायणलाई झिकाएर राजाले भनेछन्; ‘हामी ब्रम्हस्व खाँदैनौं, हाम्रो खजाञ्चीले तिमीहरूसँग लिएको सापट रकम फिर्ता लैजाउ !’ उदयनारायणले राजालाई चढाएको लिन मानेनछन् । यसको बदलामा उनले किनेको रैकर जग्गा पछि राजाले बिर्ता बनाइदिएका थिए (घिमिरे ः २०६५ः १३) । यो तथ्य पुष्टि हुने उदयनारायण घिमिरेकालीन संस्कृतमा लेखिएको एउटा पारिवारिक लेखोट पनि फेला परेको छ (भण्डारी, २०४६ ः परिशिष्ट १) । यसै प्रसंगको थप पुष्टि जगदीश घिमिरेले ‘अन्तर्मनको यात्रा’मा पनि गरेका छन् । बाबुराम आचार्यका अनुसार खजाञ्ची वीरभद्र उपाध्यायले अनेक बिर्तावारसँग लडाईंका निमित्त सापटी लिनुपरेको थियो । त्यस क्रममा उदयनारायण घिमिरेले पनि एकसय बीस रुपैयाँ सापटी दिएका थिए । पछि उदयनारायणको १२० रुपैयाँ फिर्ता गर्नलाई उनले ३०० रुपैयाँमा खरीद गरेको बिर्ता माटो मुरी ३० लाई राजा पृथ्वीनारायण शाहले थमौती गरी सो सापटी रकम फच्चे गराइदिएका थिए । यस सम्बन्धि लालमोहरको प्रतिलिपि बाबुराम आचार्यले कौसितोसाखानामा देखेको बताएका छन् । यस प्रसंगलाई उनले पृथ्वीनारायणको जीवनीमा पनि उल्लेख गरेका छन् ।
यसरी समाज र राष्ट्रको भलोका लागि भनेर पुर्खाले गरेका त्यस्ता हितकारी कार्य शुरूमा सामान्य जस्ता लागेपनि पुस्तान्तरण हुँदै कालान्तरपछि पछिल्ला पुस्तामा आइपुग्दा भने त्यसले महत्वपूर्ण ऐतिहासिक अर्थ पनि राख्न पुग्छ । सन्ततिहरूका निम्ति आफ्ना पुर्खाका त्यस्ता देन गौरवको विषय बन्न पुग्छ । हामीले जे भाषा बोलिरहेका छौं, जेजस्तो खाइरहेका छौं, जस्तो लगाइरहेका छौंं, जुन भूमिमा बसेर स्वतन्त्रतापूर्वक आफ्नो व्यक्तित्व निर्माणमा लाग्ने अवसर पाइरहेका छौं; जस्तो परम्परागत संस्कृति मनाइरहेका छौं; तिनमा हाम्रा बाजे बराजुहरूका, हाम्रा पुर्खाका योगदान र भूमिकाका अनेकौं आयामहरू विस्तारित भएका हुन्छन् । हाम्रो अहिलेको उपस्थिति र अस्तित्व पुर्खाकै देनको परिणति हो । त्यसैले तिनले हामीलाई लगाएको गुनको बदला तिर्न पनि समयसमयमा तिनले विगतमा गरेका योगदानहरूको चर्चा गर्दै उनीहरूलाई सम्झनु हाम्रो कत्र्तव्य हुन जान्छ । विगतमा तिनले पुर्याएका त्यस्ता योगदानका गाथाहरू खोज्दै; पत्ता लगाउँदै, तिनको बेलाबेलामा चर्चा परिचर्चा पनि गर्दै लिपिबद्ध समेत गरेर राखिदिनसके आउने पुस्ताका लागि त्यो अत्यन्त उपयोगी, गौरव गर्न लायक प्रेरक महत्वपूर्ण दस्तावेज बन्न सक्छ । खोजी गर्दा कतिपयका त्यस्ता प्रामाणिक इतिहास फेला परेका पनि छन् । कतिपयले खोजी गर्ने क्रम पनि शुरू गरेका छन् । हाम्रा पुर्खाहरूले विगतमा हाम्रा निम्ति, हाम्रो समाजका निम्ति, हाम्रो राष्ट्रका निम्ति पुर्याएका कतिपय यस्ता महत्वपूर्ण देनसँग सम्बन्धित लुकेका वास्तविकताहरूको खोजीनीतिमा लाग्ने हो भने यहाँ हाम्रा घरघरमा बिसे नगर्चीहरू जस्ताका इतिहास भेटिनेछन्; कप्तान अंंगद घले, खजे दुरा, श्रीहर्ष पन्त, वंशराज पाँडे र वीरभद्र उपाध्याय अनि कुसुमाखर घिमिरे, उदयनारायण घिमिरे जस्ताका गौरवपूर्ण गाथा पढ्न पाइनेछन्; अनि थुप्रै ती चतुर बुढीआमाहरू जस्ताले दिएका युक्तिहरूको अनुसरणबाट समाज र राष्ट्र निर्माणमा पुगेका सकारात्मक परिणामका थुप्रै किस्साहरू सुन्न पाइनेछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।