
संसारको जुनसुकै कुनामा बसे पनि आफ्नो भाषा र संस्कृति सबैलाई प्रिय लाग्छ, त्यो मानविय गुण नै हो । इतिहासकार र समाजशास्त्रीहरुका अनुसार संसारमा मानिसहरुलाई एकताबद्ध गर्ने धेरै कारक तत्वहरुमध्येमा तीनवटा मुख्य कारक तत्वहरु छन् । पहिलो हो धर्म, दोश्रो हो राष्ट्रियता अनि तेस्रो चाहिँ भाषा । यी तीनमध्ये पनि भाषा सबभन्दा महत्वपूर्ण मानिन्छ । निःसन्देह, आफ्नो भाषा र संस्कृति राष्ट्रियताभन्दा पनि प्यारो हुन्छ ।
संसारमा अहिले ६५०० जति भाषाहरु बोलिन्छन् । तर २००० भन्दा बढी भाषाहरु १००० भन्दा कम जनसंख्याले बोल्ने भाषाहरु हुन् । संसारमा १ करोडभन्दा बढी जनसंख्याले बोल्ने भाषाहरुको संख्या १०० भन्दा कम छ । नेपाली पनि ती १ करोडभन्दा बढी जनसंख्याले बोल्ने भाषामा पर्नु हाम्रो लागि गर्वको कुरो हो । यसको सोझो अर्थ के हो भने नेपाली भाषा पनि संसारका महत्वपूर्ण भाषामध्येको एक हो । पहिले एसियाका केही देशहरुमा मात्र खुम्चिएको नेपाली भाषा भुमण्डलीकरणले गर्दा अहिले संसारभर फैलन सफल भएको छ । भुमण्डलीकरणले गर्दा पुरै विश्व अहिले एउटा सिंगो गाउँ जस्तै भैसकेको छ र अन्तर्देशिय सिमानाका परिधिहरु कमजोर हुँदै गएका छन् र नेपालीहरुसँगै नेपाली भाषा पनि विश्वका कुना कुनाहरुमा पुग्न सकेको हो । विश्वका अधिकांश देशहरुमा नेपाली भाषी भेटाउनु अब कुनै आश्चर्यको कुरो हैन । त्यसैले नेपाली भाषा विश्वव्यापी भाषा हुँदै गएको छ भन्नुमा अत्युक्ति नहोला ।

डा. राजु अधिकारी
सन् २०११ को जनगणना अनुसार नेपालमा नेपाली भाषा मातृभाषाको रुपमा बोल्ने जनसंख्या लगभग ४५% छ र नेपाली भाषालाई दोश्रो भाषाको रुपमा बोल्नेहरुको जनसंख्या लगभग ३३% छ । अर्थात् नेपालमा तीन चौथाइभन्दा बढी मान्छेहरु नेपाली भाषा बोल्छन् । सरकारी कामकाज भाषा र स्कुलमा पढाइने अनिवार्य विषयमध्येको एउटा विषय नेपाली पनि भएको हुनाले स्कुल गएका सबैले नेपाली बोल्न सक्छन् भन्ने आंकलन गर्न सकिन्छ । नेपालका र भारतको सिम्किम र दार्जिलिङ अनि भुटान र बर्मामा रहेका नेपाली भाषा बोल्नेहरुको जनसंख्या सबै जोड्दा नेपाली भाषा बोल्ने जनसंख्या लगभग चार करोडको हाराहारीमा छ जुन उल्लेखनीय संख्या हो ।
तर बिडम्बना, यति महत्वपूर्ण भाषाको मातृभाषी हुँदाहुँदै पनि विदेशमा बस्ने हुन् या स्वदेशमा बस्ने हुन् आफूलाई सभ्रान्त वर्ग भनाउन रुचाउने नेपालीहरुको सानोतिनो जमघट भयो भने उनीहरुले त्यहाँ बोल्ने भाषामा अङ्ग्रेजीको वर्चश्व हुन्छ । नेपाली हुनुको एउटा परिचायक भनेको नेपाली भाषा या नेपालमा बोलिने अन्य मातृ भाषाहरुमा कुरा गर्नुहुनु पर्ने हो, नेपाली भाषी हुनु भनेको देश विदेश जहाँ भए पनि नेपाली बोल्नु र नेपाली भाषालाई माया गर्नु पनि हो । तर त्यस्ता जमघटहरुमा अलिअलि अङ्ग्रेजीको रवाफ नदेखाएर शुद्ध नेपाली मात्र बोल्नु भनेको आफूलाई अरुको नजरमा तल्लो दर्जामा झार्नु जस्तै हुन्छ । त्यसैले त्यस्ता जमघटहरुमा नेपालीहरुले जानी नजानी नेपालीभन्दा अङ्ग्रेजी नै बढी बोल्ने गरेको देखिन्छ । संसारभरी नै नेपाली भाषीहरु फैलिएको कुराले जत्तिको एउटा नेपालीलाई गर्वित बनाउँछ, त्योभन्दा बढी ग्लानी हामीलाई त्यो बेला हुनुपर्ने हो जतिबेला दुई जना नेपालीहरु अङ्गेजीमा कुरा गरिरहेका हुन्छन् ।
विदेशमा बस्ने पढेलेखेका नेपालीको दोश्रो पुस्ताले नेपाली बोल्न इन्कार गर्छ । तर दोष ती बच्चाहरुमा छैन, दोष तिनै आफू अङ्ग्रेजी बोलेर ठूलो हुन्छु भन्ने भ्रम पालेका आमा बाबुहरुमा छ । किनकि उनीहरुले नै आफ्ना बच्चाहरुलाई नेपालीभन्दा अङ्ग्रेजी नै बोल्न प्रोत्साहन गरेका हुन्छन् । विदेशमा नेपाली भाषा र संस्कृतिको प्रवर्धन गर्ने दायित्व विदेशमा बसेका नेपालीहरुको पनि हो । हरेक नागरिक आफ्नो भाषा र संस्कृतिका सदभावना दुतहरु हुन् तर पढेलेखेकाहरु नै आफ्नो दायित्वबाट पन्छिनु र अझ नेपाली भाषालाई ‘बहिस्कार’ गर्नु मातृभूमि र मातृभाषा माथि गद्दारी गर्नु हो ।
आधुनिकताको नाममा नेपालभित्रै नेपाली भाषामा त्यसै पनि विकृति फैलिरहेको छ, अङ्ग्रेजीको दबदबा थेग्न नसकी नेपाली भाषाले आफ्नो मौलिकता गुमाउँदै गएको छ । यस्तो बेलामा हामीले आ-आफ्नो क्षेत्रबाट नेपाली भाषाको मौलिकतालाई जोगाउन प्रयत्न गर्नुको साटो विदेशमा बस्ने पढेलेखेकाहरुले आफूले पनि नेपाली नबोल्ने र आफ्ना सन्तानलाई नेपाली बोल्न नदिने गर्नुले नेपाली भाषाको विश्वव्यापी विकासमा अवश्य पनि तगारो हाल्नेछ ।
अङ्ग्रेजीको दबदबा अहिले सुरु भएको हैन । अङ्ग्रेजीको दबदबाको बारेमा ७० वर्ष जति पहिले नै महाकवि देवकोटाले ‘हाई हाई अङ्ग्रेजी’ भन्ने निबन्ध लेखेका थिए । देवकोटाको पालादेखि नै हावी रहेको ‘अङ्ग्रेजी बोलेमा ठूलो मान्छे भइन्छ’ भन्ने गलत सोचले हामी सबैलाई अहिलेसम्म पनि नराम्ररी गाँजेको छ । विदेशका ‘शिक्षित’ नेपालीहरु र उनका सन्तानहरु नेपाली बोल्दा लाज लागेको र आफ्नो इज्जत गुमेको महसुस गर्छन् । यही पारा भयो भने विदेशमा बस्ने ‘शिक्षित’ नेपालीहरुका दोश्रो पुस्ताले नै नेपाली भाषा, नेपाली संस्कृति र नेपाल प्रतिको सद्भाव गुमाउनेछ । तर उनीहरुले यो बुझ्नु जरुरी छ कि संसारका चार देशका नागरिकले मातृ भाषाको रुपमा बोल्ने र संसारभरी चार करोडभन्दा बढी जनसंख्याले बोल्ने भाषा बोल्दा उनीहरु लज्जित हैन गर्वित हुनुपर्छ । नेपाली भाषा हाम्रो गर्व हो, हाम्रो अस्तित्व हो, हाम्रो पहिचान हो ।
अहिलेको विश्वमा अङ्ग्रेजी भाषा सबैको साझा भाषा जस्तै भैसक्यो । अहिलेको शिक्षा प्रणालीमा अङ्ग्रेजी संसारभरी नै छ । त्यसैले यसलाई बोल्न र बुझ्न सिक्नै पर्दैन भने पनि हुन्छ । अब सिक्नु पर्ने भाषा त आफ्नो मातृभाषा हो । नेपाली सिक्नु, नेपाली बोल्नु हाम्रो दायित्व पनि हो । त्यसैले भौगोलिक रुपमा जहाँ भए पनि नेपाली बन्न मन छ, नेपालप्रति अलिकति पनि माया छ भने आजैदेखि आफू पनि नेपाली बोलौं र आफ्ना बच्चाहरुलाई पनि नेपाली बोल्न लगाऔं । नेपाली बोलेर तपाईँ र तपाईँका बच्चाहरुले लघुताभाष महसुस गर्नुपर्ने छैन, बरु नेपाल र नेपाली संस्कृति बुझ्न यसले निकै ठूलो सघाउ पुर्याउने छ र कालान्तरमा नेपालीको सन्तान भएकोमा उनीहरुले गर्व गर्नेछन् । जबर्जस्ती अङ्ग्रेजी बोल्न लगाएर तपाईँहरुले आफ्ना सन्तानलाई आफ्नोपनबाट टाढा मात्र लानुभएको छैन, उनीहरुलाई सित्तैमा एउटा अर्को भाषा सिक्ने अवसरबाट पनि बन्चित गराउँदै हुनुहुन्छ ।
नेपाली नबोल्दैमा तपाईँ या तपाईँका बच्चाहरु ठूलो मान्छे हुने हैनन्, नेपाली भाषालाई माया गर्न अङ्ग्रेजी या अन्य भाषाको विरोध गर्नु पर्दैन, तिरस्कार गर्नु पर्दैन, नेपाली बोल्ने स्थानमा नेपाली बोलिदिए मात्र पुग्छ । नेपालीहरुको जमघट हुँदा या घरमा बोल्दा नेपाली बोलिदिनूस्, त्यति मात्र गरे पनि बच्चाहरुले सजिलै नेपाली बोल्न सिक्छन्, नेपालप्रतिको उनीहरुको माया र सद्भाव स्वतः बढेर जान्छ ।
केही अपवादहरुबाहेक विदेशमा बस्ने र आफूलाई शिक्षित र उपल्लो दर्जामा राख्न रुचाउनेहरुले विदेशमा नै आफ्नो दूनो सोझाउनेबाहेक देशको लागि खासै केही काम गरेका छैनन् । तर अरु केही गर्न नसके पनि आफ्नी आमाले बोल्न सिकाएको भाषा आफ्ना सन्तानलाई प्रदान गरेर मातृभूमि र मातृभाषाको इज्जत गर्नूस् ।
प्रख्यात गायक गोपाल योन्जनको एउटा राष्ट्रगानमा भनेका छन्-
धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई,
शीर ठाडो पारी नेपाली भन्ने म नै हुँ भन्नलाई ।
हैन भने नेपाली नभन, वीरको छोरा नातिमा नगन…. ।
विदेशबाट देशको लागि अरु सेवा केही गर्न नसके पनि आफ्नो मातृभाषाको सम्मान र प्रवर्द्धन मात्र गरे पनि तपाईँले नेपालीको शीर ठाडो पार्न सहयोग पुर्याउनु हुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 










