१. पहिलो लघुकथा (मगर ढूट भाषा)

टंकबहादुर आले मगर
आमा हुर्रा नाचिन्
टङ्कबहादुर आलेमगर
आमा आँगनमा बसेर हिलो माटो बोकेर दैलोमाथि घर बनाउँदै गरेको गौंथलीलाई हेर्छिन् । त्यो देखेर आमाको मुटुमा काँढा बिझ्यो । सात वटा छोराछोरी । केटाकेटी सानै छँदा श्रीमान् खसेको । जङ्गलको भ्याकुर ख्वाए हुर्काको ।
सबै छोराछोरीले घर समाती सके । जेठो छोरो विदेश गएर घरमा पैसा पठाउँदै बस्यो । आठ वर्षमा आए पनि केटी ल्याउने सुर गर्दैन ।
आमाले कति भनिन्, “बुहारी लेरा ।”
“तपाईंलाई बुहारीको के खाँचो !” भन्दै हाँस्यो जेठो ।
आमाको माया, जेठो दु:खको छोरो । उसैको सन्तान नचल्ने भयो । बुहारी पनि ल्याउँदैन, यसपालिको समय पनि जाने भो ।
आफ्नो ओढ्ने बोकेर आमा घरबाट हिँडिन् । जेठोले सोध्यो, “किन निस्कनु भएको आमा ?”
आमाले रुँदै भन्नु भनिन्, “तैँले बुहारी नल्याउन्जेल आउँदिनँ ।”
“तपाईं फर्कनोस्, भोलि एउटी सिंगानी लिएर आइपुग्छु,” भन्दै जेठो दगुर्यो ।
“कहाँबाट ल्याउला र यो फेसबुकको जमानामा पनि एउटी तरुनी रैनछ,” आमाको आत्मा बोल्यो ।
दुई दिनमै आफ्नै मामाको छोरी पो ल्याएछ जेठोले ! जेठी बुहारीलाई देखेर हुर्रा नाचिन् आमा ।
#
(टङ्कबहादुर आलेमगर मगर ढूट भाषाको पहिलो लघुकथाकार हुनुहुन्छ । उहाँ नेपाली साहित्य, मगर ढूट मातृभाषाको एवं चित्रकलामा अहोरात्र सक्रिय रहने व्यक्तित्त्व हुनुहुन्छ । उहाँका दुई कथा संग्रहहरूसहित “कालोचायाँ” लघुकथा संग्रह प्रकाशित छ । त्यसो त उहाँले चार दर्जन पुस्तकहरूमा चित्र पनि बनाउनु भएको छ । लेखनसम्बन्धी उहाँले मातृभाषा र राष्ट्रिय भाषामा थुप्रै सम्मान र पुरस्कार प्राप्त गर्नु भएको छ । प्रस्तुत “आमा हुर्रा नाचिन्” टङ्कबहादुर आलेमगरको र मगरभाषाको हालसम्म भेटिएको पहिलो लघुकथा हो । यस कथाले नजानिँदो पाराले मगर जातिको रहन-सहन र संस्कृति त बोलेकै छ, ममतामयी आमाको सन्तान मोह पनि प्रष्ट बोलेको छ । कथाको नेपाली अनुवाद कथाकार आफैँले गर्नु भएको हो ।)
२. स्वर्णकालीन लघुकथा
आमा
महेश प्रसाईं

महेश प्रसाईं
एकदिन संसारको सबैभन्दा सुन्दर शब्द “आमा”ले सबैभन्दा दुब्लो शब्द “म”को रातो अनुहार देखेर संतृप्त हुँदै भनिन्, “छोरा तिमी किन र केका लागि दुखित भइरहेका हौ ? तिम्रो लागि यो आमा छँदैछे नि ! सबैथोक अटाउन सक्ने पृथ्वीजस्ती आमा ।”
“म” आफ्नो उत्तेजनाबाट बाहिर निस्कन सकेको थिएन ।
उसले “आमा”लाई प्रत्युत्तर फर्काउँदै भन्यो, “मलाई कसैको दया चाहिँदैन । “म”सित सबै थोक छ ।”
त्यसपछि “आमा” द्रवित भइरहिन् । उनको द्रवणबाट भूमध्य सागर बग्यो ।
र, “म”को “म”बाट थुप्रिंदै गयो रेगिस्तानको पिरामिड मात्र ।
#
(२०३० को दशकलाई लघुकथाको स्वर्णकाल बनाउन लघुकथाकार महेश प्रसाईंको पनि ठूलो सहभागिता छ । राष्ट्रिय प्रतिभा, व्यथित काव्य, युवावर्ष मोति पुरस्कार र लघुकथा सम्मानसहित थुप्रै सम्मान प्राप्त गर्नुभएका महेश प्रसाईं लघुकथामा नयाँ नयाँ प्रयोग गर्दै सूत्रात्मकतामा ढाल्न रुचाउनु हुन्छ । प्रस्तुत लघुकथा “आमा” पनि प्रयोगवादी लघुकथा हो । सूत्रात्मकताको माध्यमबाट कथाकारले देश/विदेशको साथसाथै सम्बन्धको पनि व्याख्या गर्नुभएको छ । लेखनमा केही दुर्बोद्य शब्द प्रयोग गर्नु महेश प्रसाईंको विशेषता नै हो ।)
३. मलाई मन परेको लघुकथा
मृत्युको निधन
भीष्म जोशी

भीष्म जोशी
म आफ्नै बाटोमा उन्मुक्त भएर हिँडिरहेको थिएँ । मेरो अगाडि ठिङ्ग यमराज उभिएर बाटो छेक्यो ।
हुलियाबाटै प्रस्ट चिनेँ, ऊ ठ्याक्कै मैले सिनेमा र कार्टुनमा देखेजस्तै थियो ।
“तिमी यहाँ किन ? खोइ छोड मेरो बाटो !” – म अगाडि बढ्न खोजेँ ।
“अहँ । छोड्दिन । सकियो अब तिम्रो बाटो । म तिमीलाई लिन आएको,” टसको मस नगरी भन्यो उसले ।
“ओहो ! हो र ? पहिले सूचना गरेको भए सजिलो हुन्थ्यो नि तिमीलाई नै !” मैले विनम्र भावमा सोधेँ ।
“केही छैन । म प्रक्रिया पुर्याएरै लैजान्छु नि,” यति भनेर मलाई आर्यघाटमा पुर्यायो ।
चितामा जल्नुअघि यमराजले मेरो कानमा सुटुक्क भन्यो, “कात्रो त चाहियो नि लास छोप्न ! खै, पैसा देऊ त अलिकति !”
“मसँग कात्रो किन्ने पैसा नै छैन, के गरुँ ?” भनेँ मैले ।
“लाजसम्म त छोप्नु पर्छ नि,” उसले भन्यो ।
“लासलाई पनि केको लाज यार ! नाङ्गै जलाइदेऊ”, मैले जवाफ फर्काएँ ।
मेरो कुरा र भाव देखेर अचम्म मान्दै यमराजले भन्यो, “मृत्युदेखि डर लाग्दैन तिमीलाई ?”
“अहँ,” एकै शब्दमा भनेँ ।
“किन नि ?” आश्चर्यचकित भएर हेरिरह्यो मलाई ।
“जसलाई तिमी मृत्यु सम्झिन्छौ, वास्तवमा जीवन त्यै हो ! हैन र ? मैले उल्टै प्रतिप्रश्न गरेँ ।
किंकर्तव्यविमूढ भयो एकछिन यमराज । अनि असहज तरिकाले बोल्यो, “खासमा तिमीलाई लान मन त थिएन तर स्वर्गमा अलि बौद्धिक मान्छेको खाँचो पर्छ त्यसैले ।”
“किन नि ?” प्रश्न गर्छु ।
“स्वर्गमा पनि राजनीति र भ्रष्टाचारले पराकाष्टा नाघिसक्यो,” यमराको बोलीमा खिन्नता थियो ।
म एकछिन मौन भएर सुनिरहेँ । हेरिरहेँ ।
यमराजले मेरो मौनता भंग गर्दै सहानुभूतिपूर्ण आफ्नै ढंगमा भन्यो, “यति चाँडो मर्छु भनेर सोचेको थिएनौ होला है ?”
मैले मुस्कुराउँदै भनेँ, “भोलि मर्दैछु सोचेर नै म हरेक दिन शानदार तरिकाले बाँच्छु । अझै केही भन्नु छ ?”
त्यसपछि यमराज दिग्भ्रमित भएर आगो खोज्ने बहानामा निस्कियो । अहिलेसम्म फर्केको छैन ।
#
(नेपालको पश्चिमी भूभागमा जन्मिएका भीष्म जोशी काठमाडौँमा नाटक र सार्थक चलचित्रमा आफ्नो आकार खोजिरहेका व्यक्ति हुनुहुन्छ । उहाँ आफैँ नाटक कल्पने, लेख्ने र निर्देशन गर्दै मञ्चन पनि गर्नु हुन्छ । थोरै लघुकथा लेखेका भीष्म जोशी लेखनमा स्वैरकल्पना खोज्नु हुन्छ । जताततै नाटक खोज्ने बानी परेकोले पनि प्रस्तुत लघुकथा “मृत्युको निधन” आफैँमा नाटकजस्तो लाग्दालाग्दै पनि वास्तविक छ । लघुकथाको बीजवाक्य दमदार छ । खुल्ला समापनमा लेखिएकाले पाठकहरूलाई कथा सकिएपछि पनि पाठकलाई कथामा केही खोज्न वा भन्न मन लाग्छ । यो नै कथाकारको सफलता हो ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 




