“हेल्लो मिस्टर राई, हाउ आर यु ?”

“आई एम गूड…,” लेखी नसक्दै अर्को म्यासेज आयो, “एनी वे, के गर्दैछौ?”

“म नुहाइरहेको छु। आई एम् अन्डर अ सावर राइट नाउ।”

अचानक यस्तो म्यासेज टाइप भएर सेन्ड भैगयो। अचम्म! म त किचनमा थिएँ। एउटा अन्डा फोरेर अलिकति हरियो धनियाँ, अलिकति हरियो खुर्सानी, अलिकति प्याज काटेर घोल्न लागेथेँ अम्लेट बनाउन। तर कसरी त्यस्तो म्यासेज लेखेँ?

“ओह, सरी फर डिस्टर्बेन्स !”

“नो, नो! इट्स फाइन।”

यति लेख्ने बित्तिकै प्रोफाइल भिजिट गर्न लागेँ। सुन्दर युवती कुनै सुन्दर पहाडलाई ब्याकग्राउन्ड बनाएर निस्फि

दीलिप बान्तवा

क्री हावामा हात उडाइरहेको फोटो प्रोफाइलमा थियो। अलिकति तल भर्खरै प्रकाशित मेरो किताबलाई उनैले मायालु स्पर्श गरिरहेको अर्को फोटो थियो।

“अनि सावरमुनि बसेर च्याटिङ?”

“नो, यतिबेला सावरबाट खसिरहेको पानीको ठीक नजिक मात्रै छु। यसरी खसिरहेको पानी हेरिरहन आनन्द लाग्छ मलाई। पानी त दुनियाँमा एउटै हो तर नाम कत्ति फरक है ! यहाँ खसिरहेको पानी मेरो शरीरमा परेपछि फोहर हुन्छ। यो बाथरुमको भूमिगत पाइपबाट बाहिरिएर परको नदीमा मिसिएपछि फेरि अर्को नयाँ जिन्दगी पाउँछ र पुनः मजस्तै मान्छेको किचन, बाथरुमहरुमा पुगिरहन्छ। यू नो? मान्छेको जीवनचक्र पनि यसैगरी चलिरहन्छ। ८४ जुनीपछि मान्छे फेरि मान्छे भएर जन्मन्छ। मेरो सावरबाट खसिरहेको यो पानी फेरि यही सावरमा आइपुग्न कत्ति जुनी लाग्ला है?”

एक्कासि मेरो दिमागमा के चल्यो यस्तो? अजीबको कुरा निरन्तर टाइप भैराखेको छ। मैले नसोचेको विषय। किचनमा उभिएर बाथरुमको व्याख्या गरिरहेको छु। ह्वाट ह्यापेन्ड विद मी ?

“वाह, क्या दार्शनिक कुरा ! द्याट्स ह्वाई आई लभ योर राइटिङ… मलाई तिम्रो हर राइटिङले तानिरहन्छ। यस्तो लाग्छ, तिमी मलाई वर्षौंअघिदेखि चिन्छौ र मेरै कथाहरु लेखिरहेको छौ।”

‘बट आई डन्ट नो बेबी, हु आर यू?’ यस्तै लेख्न मन भयो तर लेखिनँ। “थ्याङ्क्स अ..लट,” लेखी पठाएँ।

“नुहाउनु पर्दैन अब?”

“तिम्रो मुलायम शब्दहरुले म त पूरै नुहाएझैँ फ्रेस भएँ।”

फेरि मैले नचाहेको वाक्य टाइप भैगयो।

उताबाट मेरो म्यासेजको मुनि पानको पात टाँसिएको देखियो। उताबाट ‘टाइपिङ्ग…..’ देखिँदैथियो। अलार्म बज्यो। बिहान भएछ।

उठेर टावल बोकेर ट्वाइलेट गएँ । टावलले अनुहार पुछ्दै किचनमा छिरेँ। कस्तो अनौठो, अम्लेट बनाउन तयार गरेको धनियाँ, खुर्सानी, प्याज सबै चपिङ्ग बोर्डमै थिए। एउटा अन्डाको बोक्रा डस्ट्बिनमा थियो। खाली फ्राईपेन एउटा काँटा बोकेर बेसिनमा ढलेको थियो। डाइनिङ टेबलमा आधा बोतल ह्विस्की र रित्तो ग्लासको बीचमा अलिअलि तेल बाँकी रहेको मेलामाइनको खाली प्लेट थियो। भर्खरैको सपना या अहिलेको चाहिँ सपना हो, ठम्याउनै सकिरहेको थिइनँ। अघि एउटी केटीले मलाई राइटर भनेकी थिई। मेरो किताबको कुरा पनि भएको थियो तर म त एउटा सरकारी कार्यालयको हाकिम थिएँ। किताब लेख्ने त होइन, पढ्ने फुर्सदसमेत थिएन। पूरै दोधारमा रुमलिएँ एकछिन। सायद हिजोको ह्विस्कीले टाउको घुमाइरहेको थियो कि? चुरोट पिउन मन भयो। टेबल छेउको स्ट्रेमा आधा डढेको चुरोट थियो। सायद हिजो अलि बढी पिएछु, नत्र चुरोट त्यसरी आधामै छोड्ने मान्छे होइन म। स्ट्रेनिर लडिरहेको बट्टामा अन्तिम खिल्ली रहेछ। नजिकैको लाइटर टिपेर सल्काएँ।

टावललाई डोलो बनाएर गलबन्दी जस्तै घाँटीमा बेरिदिएँ र बेडरुमतिर जाँदै थिएँ। जोडले डोरबेल बज्यो। लगातार बजेपछि बेडरुमको यात्रालाई थाँति राखेर ढोकातिर लम्किएँ। ढोका अन्लक गरेर दुवै खापा खोली नसक्दै पेस्तोल ताकिरहेका तीन जनाले भित्रै धकेलेर ल्याए।

“हेल्लो मिस्टर राई, आई एम डिएसपी प्रसिद्धजंग थापा फ्रम सिबिआई। यू आर अन्डर अरेस्ट,” आइडी कार्ड देखाइरहेको मान्छेले निधारमा पेस्तोल ताक्दैथियो भने बाँकी दुई जनाले मेरो दुवै हात पछाडि लगेर हत्कडी लगाइसकेका थिए।

“क्यान आई नो, ह्वाट इज् माई क्राइम?” जिल्लिएर सोधेँ।

“साइबर क्राइमको अभियोगमा तपाईंलाई गिरफ्तार गरिएको छ। दिस इज् योर अरेस्ट वारेन्ट,” एउटाले कागज देखाइरहेथ्यो। म जिल्लिरहेको थिएँ।

“साईबर क्राइम? ह्वाट अ ननसेन्स? कसरी हुन्छ यस्तो?” म एक्कासि कराउन पुगेछु। यतिन्जेलमा म गाडीको सिटमा पुर्‍याइसकिएको थिएँ। दुई जनाले दुईपट्टि समाएका थिए भने मिस्टर थापा गाडी चलाउन तयार थिए। म भने एउटा भेस्ट, हाफ पाइन्ट र घाँटीमा बेरिएको टावलमा थिएँ।

“मध्यरातमा केटीहरुसँग अश्लील च्याट गर्ने? नुहाइरहेको फोटो पठाएर ह्यारेस गर्ने? बाथरुमको अनेकौँ किस्सा बनाएर सुनाउने?”

म अचानक झस्किएँ। त्यो केटी, म किचनमा हुनु तर म्यासेजमा बाथरुमको कुरा लेखिनु। म लेखक भनिनु, किताबको कुरा आउनु। अम्लेटमा सबै चिज मिसाएर घोलेको तर बिहान अन्डाबाहेक सबै चिज उस्तै हुनु। मैले आफैँलाई केलाउन सकिनँ। रिंगटा लागे जस्तै भयो। सबै दृष्यहरु रिक्याप गर्दै सम्झिएँ। अझ सबै मिक्स्ड भैगए। घरी ब्लर, घरी साइनिङ हुँदै दृष्यहरुले मगज रन्थन्याए।

एक्कासि गाडी घ्याच्च रोकियो। मलाई दुवै हात समातेर बाहिर निकाले। अगाडिको मिस्टर थापा पेस्तोल हातमा लिएर खडा भयो। हेर्दा सुनसान जंगलको बीचमा भीरको टाकुरा थियो। सायद सडकको अन्तिम बिन्दु हुँदोहोला । त्यहाँबाट कतै जाने ठाउँ थिएन। अलि टाढासम्म परेको ठाउँ देखिन्थ्यो। बीचमा सेतो धर्सोजस्तो किरिङमिरिङ देखिन्थ्यो। सायद त्यो तराईको कुनै भाग होला, जसको बीचबाट बगिरहेको त्यो सप्तकोशी हो कि? क्षितिजमा बादलसँग मिसिएको त्यो धर्सोजस्तै मेरो दिमाग पनि कतै गुम भएको थियो। कतिबेर गाडीको यात्रामा बित्यो, कहाँ पुगियो केही ठेगान थिएन।

“लौ त मिस्टर राई, नाउ रेडी फर डाई!”

“हँ? किन? केवल त्यो आरोपमै म मर्नुपर्ने? यो कुन व्यवस्था हो?”

“नो मिस्टर राई। त्यो त एउटा बहाना थियो। आई एम नट प्रसिद्धजंग थापा। न त सिआइबीको टिम नै। वि आर सुपारी किलर। तिम्रो इमान्दार कामले उसलाई घाटा भयो। त्यो अस्ति भर्खर उद्घाटन भएको सडक तिमीले रिजेक्ट गर्दियौ नि! डु यु रिमेम्बर? गुणस्तर नपुगेको नाममा तिमीले क्यान्सिल गर्दा कति क्षति भयो थाहा छ? अर्को बन्दै गरेको पुलमा पनि तिमीले डिस्टर्ब गर्दैछौ रे ! यदि त्यो पनि रिजेक्ट भए उसको लाइसेन्स नै सिज हुन्छ। तिम्रो इमान्दारीले कत्तिको कारोबार ठप्प भएको छ, थाहा छ?”

बल्ल थाहा भयो, म किन छापामार शैलीमा यहाँ ल्याइएँ। म चुपचाप उभिएँ। मार हान्न ठीक पारिएको खसीजस्तै।

“गूड बाई मिस्टर राई ।”

पहिलो गोलि छातिमा लाग्यो। सायद भित्रै रह्यो होला। अर्को गोली घाँटी र छातिको बीचबाट छिरेर पछाडि कतैबाट बाहिरियो। म उभिएको उभियै भएँ। अचम्म छ म किन ढल्दिनँ? अर्को गोली उसले पोइन्ट्ब्लाङ्क फायर गर्‍यो मेरो कन्चटमा।

पूरै टिनिनिनी…. आवाज गुञ्जियो कानमा। सम्झेँ, सायद अन्तिम सास चलिरहेको होला तर त्यो आवाज टड्कारो हुँदै आयो। निक्कैबेर कान नै हल्लिनेगरी बजिरहेपछि थाहा भयो मोबाइलको रिङ्ग बजिरहेको रहेछ। हठात् कञ्चट छामेँ, छाती र घाँटी सुम्सुम्याएँ। जस्ताको तस्तै आफ्नै ओच्छ्यानमा रहेछु, थैट। एकछिन त म आफैँ अल्मलिएँ, म को हुँ? राइटर? सरकारी कर्मचारी? वा अरु नै? आँखा बन्द गरेर सम्झिएँ। म शहरको मध्यभागमा अवस्थित अपार्ट्मेन्ट्को १३औँ तलामा बस्छु। दुई दिनअघि शहर बाहिरको एउटा असाइन्मेन्ट पूरा गरेर आफ्नो अपार्ट्मेन्ट्मा आएको हुँ। झल्याँस्स सम्झेँ, आज नयाँ आसाईन्ट्मेन्ट पूरा गर्नुछ। आँखा खोलेँ, भित्तामा झुन्डिरहेको डिजिटल घडीमा बिहानको १० बजिसकेको थियो। हतारमा उठेर बाथरुम गएँ। सावर खोलेँ। सावरबाट खसिरहेको पानी जालीदार प्वालमा हतारिँदै छिरिरहेको हेरेँ। अचानक मैले नचाहँदै लेखिएको बाथरुम र सावरवाला म्यासेज सम्झिएँ। नुहाएर किचनमा छिर्दा हिजो ह्विस्की र चुरोटसँग अबेलासम्म अनिँदो बसेको प्रमाणहरु छरिएका थिए। हतारमा एउटा ब्लाक कफी बनाएर चुरोट सल्काएँ। बट्टामा अन्तिम खिल्ली रहेछ। स्ट्रे र कफी बोकेर बेडरुममै फर्किएँ। पालैपालो कफी र चुरोटको चुस्की लिँदै ब्युँझनुअघिका दृष्यहरु सम्झन खोजेँ। मलाई पेस्तोल ताकिरहेको मान्छेले भनेको सम्झेँ, “आई एम डिएसपी प्रसिद्धजंग थापा फ्रम सिबिआई।” यो नाम शहरमा चर्चित थियो, निडर र इमान्दार अफिसरको रुपमा तर म किन अर्कै नाममा त्यहाँ थिएँ र त्यो नाम प्रयोग गरेर अर्कैले मारिरहेथ्यो? सपनामा घोत्लिरहने मान्छे त होइन म, तर आँखैअघि आफू मारिएको हेर्नु बडो नमज्जा लाग्ने रहेछ! सपनामै सही, अझै बाँच्ने रहर जागिरहेथ्यो मलाई।

प्रसिद्धजंग थापा शहरमा भइरहेको हरेक इलिगल कारोबारलाई खेदो खनिरहेको थियो। शहरमा हुने मानव अंग बेचबिखन, विभिन्न खेलहरुको म्याच फिक्सिङ र सट्टाबजार, गुण्डागर्दी, मेडिकल माफियागिरी, राजनैतिक सेटिङमा हुने अवैध व्यापार लगायत आवरणमा देखिने रियल स्टेट यी सबै बिजनेसहरु राम्रै चलिरहेका थिए। तर डिएसपी थापाको टिमले यी सबै र्‍याकेटहरु धमाधम ध्वस्त बनाइरहेको थियो। मिस्टर थापा कुनै पनि लोभमा फँसिरहेको थिएन। पैसा, पावर, प्रमोशन वा कुनै पनि सुविधा उसलाई अस्वीकार थियो। ऊ देशभक्त र इमान्दार अफिसरका रुपमा चिनिन्थ्यो, उसको टिममा उसलाई सिंघम भनेर चिन्दथे।

थापाको टिम हरेक शुक्रबार पत्रकार सम्मेलन गरेर हप्ताभरिको क्राइम कन्ट्रोलको विवरण सार्वजनिक गर्छ। आज शुक्रबार, ठीक १२ बजे पत्रकार सम्मेलन हुँदैछ। कफी र चुरोट सकिएपछि ड्रेस चेन्ज गरेर टेवलमा राखिएको पत्रकारको आईडी-कार्ड घाँटीमा झुन्ड्याउँछु। ड्रयरबाट क्यामेरा झिक्छु। दराजबाट झोला लिकाल्छु र नजिकै भएको ट्राइपड समात्छु। ट्राइपड अन्फोल्ड गरेर मोडिफाई गरिएको पेस्तोल ट्राइपडमा सेट गर्छु। तीन वटा बुलेट लोड गर्छु र एक पटक निशाना लगाउँछु। छोटो रिहर्सल नै भयो। यसरी म एक हप्ताअगाडि प्राप्त आफ्नो नयाँ असाइन्मेन्टका लागि तयार भएर निस्किएँ। असाइन्मेन्ट, अर्थात प्रसिद्धजंग थापा, डिएसपी इन सिबिआई। बिकज आई हेट एन अनेस्ट पर्सन…!