आउँदो साताबाट अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको संस्मरण ‘प्रोमिस्ड ल्यान्ड’ बजारमा आउँदैछ । यससँगै केही किताबका व्यापारीहरू उनकी पत्नी मिसेल ओबामाको संस्मरणजस्तै यो पुस्तक पनि करोडौँ प्रति बिक्री हुन्छ कि हुँदैन भन्दै बाजी थाप्न थालेका छन् ।
केहीले यस किसिमको पुस्तक व्यापारलाई ‘ओबामा भर्सेज् ओबामा’ नामकरण गरेका छन् । मिसेलको ‘बिकमिङ’ र बाराकको ‘प्रोमिस्ड ल्यान्ड’बीचको बिक्री द्वन्द्वमा कसले बाजी मार्ला भन्ने आँकलनहरू पनि भइरहेका छन् ।
पुस्तक व्यापारीले अति बढी अपेक्षित पुस्तक बजारमा आउनुलाई बिक्री बढाउनु र कमाई बढ्नुका रूपमा हेर्ने गर्छन् । त्यसैले पनि सबैलाई नोभेम्बर १७ मा संसारभरि नै उपलब्ध हुने यस पुस्तकप्रति चासो बढेको हो । यो पुस्तक शुरूमै ३० लाख प्रति पुस्तक छापेर निकालिएको छ ।
‘बिकमिङ’ बजारमा आएलगत्तै बेस्टसेलर साबित भएको थियो । संसारभरि यो पुस्तक एक करोड प्रति बिक्री भएको थियो । ‘प्रोमिस्ड ल्यान्ड’ अबका चार वर्षमा सबैभन्दा बढी बिक्री हुने पुस्तकका रूपमा रहने केहीको अपेक्षा छ ।
उसो भए यी दुई पुस्तकमध्ये कुन पुस्तकले बढी बिक्रीको मानक बनाउने हो त ?
‘मिसेलको पुस्तकलाई बाराकको पुस्तकले बाजी मार्ला भन्ने चाहिँ लाग्दैन,’ वेडेनफेल्ड एन्ड निकोल्सन प्रकाशन समूहका ननफिक्सन निर्देशक एलन सामसन भन्छन्, ‘जुन पहुँच मिसेलको थियो र छ, त्यति त बाराकको छजस्तो लाग्दैन । फेरि मान्छेलाई महिलाका कुरा पढ्न जति रूचि लाग्छ, पुरूषका कुरामा रूचि हुँदैन । अनि, बाराक चाहिँ कहिल्यै नपढिएका व्यक्ति पनि होइनन् । उनका यसअघिका आत्मकथाहरू बेस्ट सेलर भएका पनि हुन् । अब यसमा हुने कुरा कुनै वृहत् चासोका कुरा पनि आउने हैनन् ।’
उनी थप्छन्, ‘जसरी मिसेलको पुस्तक आउँदा मेरी छोरी दौडिएर पुस्तक पसल पुगिन्, बाराकको पुस्तक किन्न त्यो हतारो होला भन्ने मलाई लाग्दैन ।’
बर्न्स एन्ड नोबलका प्रमुख कार्यकारी जेम्स डउन्ट भने जेके रोलिङको ह्यारी पोटरपछि बढी पढिने पुस्तक बन्ने आँकलन गर्छन् । उनी भन्छन्, ‘वास्तवमा प्रकाशन दुनियाँमा सन् २००७ जुलाई २१ यता राम्रा दिन आएकै छैन । त्यो दिन जेके रोलिङको ह्यारी पोटर शृंखलाको अन्तिम पुस्तक आएको थियो र जुन हारालुछ मैले आफ्नै आँखाले देखेको थिएँ, त्यसयता त्यो भिड र हारालुछ देख्न पाएको छैन । प्रकाशन संसारमा त्यो हारालुछ बाराकको पुस्तकले ल्याओस् भन्ने कामना छ ।’
राष्ट्रपति भवनबाट बाहिरिएपछि बाराक ओबामा दम्पतिको आत्मकथालाई बोली लगाइएको थियो । जसमध्ये पाँच प्रकाशन समूहहरू उनीहरूको आत्मकथा किन्न तयार भएका थिए । तर सन् २०१७ मा सबैभन्दा बढी ६ करोड ५० लाख डलर तिरेर पेन्गुइन रेन्डम हाउसले पुस्तकको बोलकबोल हात पारेको थियो ।
कुनै पनि राष्ट्रपति परिवारको संस्मरणका लागि यति धेरै रकम तिरिएको यो पहिलो पटक थियो । बाराक ओबामाको यस पुस्तकमा सन् २००८ मा ओबामाले चुनाव जितेपछि सन् २०११ मा ओसामा बिन लादेनको हत्या गरिएको समयसम्मका घटनाक्रमलाई समेटिएको बताइएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

