एक बिहानीको किताब नोस्टाल्जिया

केही दिनअघि फेसबुकमा मैले भोल्तेयरको भनाइ हालेको थिएँ । विख्यात साहित्यकार भोल्तेयरले भनेका थिए, ‘म जति पढ्छु, उति नै ज्ञान बटुल्छु । अनि जति ज्ञान बटुल्छु उति नै म निश्चित हुन्छु कि मलाई त केही पनि थाहा रहेनछ !’

सो भनाइको मुन्तिर एक जना मित्रले भोल्तेयर र मलाई व्यंग्य कस्तै भन्नुभयो, ‘यसो भन्नु पनि प्रकारान्तरले घमण्ड नै हो ।’

ईश्वरलाई धन्यवाद छ, मैले गलत कुरामा घमण्ड गरिरहेको छैन । कुनै हानिकारक कुरामा पनि घमण्ड गरिरहेको छैन । अथवा, यसो भनूँ, मैले होश सम्हालेदेखि नै मैले जे कुरा रूचाएँ, त्यसभन्दा म दायाँबायाँ रहेनछु । म एउटा इमान्दार पाठक रहेछु, जसले किताबबाहेक अन्यत्र आँखा लगाएको रहेनछु ।

०००
म स्कुलको राम्रै विद्यार्थीमा पर्थें । यसले थाहा नपाएको कुरा केही छैन भन्ने प्रशंसा पाउँथे । लाग्थ्यो, मैले दिएको परीक्षामा प्राप्त नम्बर नै अन्तिम सत्य हो । बिहान एफएममा बजेको समाचार पढेर मलाई नेपाली राजनीतिका सबै कुरा थाहा छ भन्ने लाग्थ्यो । देवकोटाको यात्री पढेर सम्पूर्ण देवकोटा चिनेको भ्रम पर्थ्यो । पत्रिकामा पढिने ककटेल समाचारहरूले मलाई विश्वको कुनाकुना चहारेको अनुभव हुन्थ्यो । हात परेका केही पुस्तक पढेर लाग्न थाल्यो, मलाई थाहा नभएको कुरा बाँकी छैन । यो भ्रम पत्रकारिता सुरू गर्दा पनि थियो र त्यसका केही वर्षसम्म जारी रह्यो ।

तर जीवनमा कुनैकुनै बेला यस्ता भ्रमबाट सबैले मुक्त हुनुपर्छ, ढिलोचाँडोको कुरा मात्र हो । मैले पनि केही वर्षयता यस्ता भ्रमबाट मुक्त भएर थाहा पाउने प्रयास गरेँ, म थाहा पाउन होइन, आनन्दका लागि पढ्न थालेको छु । जब आनन्दका लागि पढेँ, जानेको भ्रमबाट मुक्त पनि भएँ । र, त्यही बेला थाहा पाएँ, एउटा मान्छेले केही पनि जानेको छैन र पढेको पनि छैन । पत्रिका पढेर केही जानेको छु भन्ने भ्रम पाल्नु र त्यही आधारमा गफ दिने हजारौँको भिड फेसबुकभरि भेटिन्छन् । म त्यो भीडबाट मुक्त भएर अब जीवनलाई जीवन जसरी हेर्न थालेँ । त्यसका लागि किताबलाई सहारा बनाएँ । अब म किताबसँग बाँच्न थालेको छु र किताबभित्र ज्ञानको कति ठूलो भण्डार छ, अनुभव गर्न सक्ने भएको छु ।
उदाहरणाका लागि आजकै कुरा गरौँ ।

०००
बिहान मोर्निङ वाकबाट फर्कंदै गर्दा दुध किन्ने गर्छु । दुधको पोका बोकेर फर्कने क्रममा मेरो सोच दुध उत्पादक कम्पनी, त्यो दुधलाई संकलन केन्द्रसम्म ल्याउने बिचौलिया, दुध दुहुने किसान, किसान र गाईको सम्बन्धसम्म लम्बियो । यो बेला मलाई रोजमण्ड योङको ‘द सेक्रेट लाइफ अफ काउज’ किताब याद आयो । वृद्धावस्थामा यो किताब निकाल्दा उनले लेखेकी छन्, ‘गाईहरू आफूआफू संवाद गर्छन्, बाच्छाबाच्छीको पालैपिलो लालनपालनमा ध्यान दिन्छन् र तिनले मालिक-मालिक्नीका बारेमा कुरासमेत काट्छन् ।’ उनका ती पंक्ति सम्झँदा म बालापनमा पुगेँ । यो किताब नपढेको भए मैले सानो छँदा घरमा भएको कोरेली गाईको व्यवहार कहिल्यै बुझ्ने थिइनँ । मलाई गाई र मानव बीचको सम्बन्धबारे पनि कहिल्यै थाहा हुने थिएन । म पनि गाई हिन्दु धर्मालम्बीहरूकी लक्ष्मी हुन् कि अन्य धर्मालम्बीहरूका लागि मीठो आहारा ! त्यसमाथि बहस गरिरहेको हुने थिएँ ।

दुध लिएर फर्कदैँ गर्दा मलाई एर्लिङ कागेको ‘वाकिङः वन स्टेप एट अ टाइम’ पुस्तकको सम्झना आयो, जो हिँड्नैका लागि जन्मिएका थिए । उनले हिँड्नुको आनन्द त्यो पुस्तकमा बताएका छन्, जुन आनन्द मैले विरलै उठाएको छु तर तपाईं त्यसरी नै हिँडिरहनु भएको छ भने अर्को पुस्तक तपाईंलाई सम्झनामा आउन सक्छ, एन्टोनिया माल्सिकको ‘अ वाकिङ लाइफः रिक्लेमिङ आवर हेल्थ एन्ड आवर फ्रिडम वन स्टेप एट अ टाइम ।’ म बिहान हिँड्न रूचाउँदिनँ तर मलाई त्यो किताबले हिँडाइको आनन्द दिएको छ । हिँडाइका सबै पक्षहरूबारे बुझाएको छ । यसरी हिँड्दै गर्दा रोबिका सोल्निटको ‘वन्डरलस्टः अ हिस्ट्री अफ वाकिङ’ निबन्धको याद आउँछ । लेखिकाले यहाँ हिँड्नुका फाइदाबारे कुरा गरेकी छैनन्, बरू उनले इतिहासका चर्चित घटना, तीर्थयात्रा र अनेकन् कुरालाई यसरी वर्णन गरेकी छन्, तपाईं बसीबसी संसार घुम्नुहुन्छ । यो पढ्दा लाग्छ, ज्ञान भनेको किताब पो रहेछ !

बाटोमा आउँदै गर्दा घरबाट फोन आयो । सकेसम्म मर्निङ वाकमा ननिस्कने श्रीमान्, कोरोना कहरका बेला घर फर्कन ढिलाइ गरिरहेको महसुस गरेर श्रीमतीजीले फोन गरेकी होलिन् । मेरो मोबाइलमा पत्नीजीको नम्बर देखेपछि आफू नजिकै आइपुगिसकेको सूचना दिएँ । फोन राखेपछि मैले आफ्नो ‘सामसुङ’ सेटलाई ध्यान दिएर हेरेँ । यो केवल मोबाइल सेट थिएन, विश्वका सबैभन्दा बढी बिक्री हुने कम्पनीको एउटा प्रडक्ट थियो । यो प्रडक्टसँगै मलाई ‘सामसुङ राइजिङ’ पुस्तकको सम्झना आयो । कसरी यो कम्पनी स्थापना भयो, कसरी संसारकै शक्तिशाली कम्पनीका रूपमा दरियो र यतिबेला अन्य चिनियाँ कम्पनीसँग जुझ्दै कसरी अघि बढिरहेको छ र पछिल्लो समय कसरी भ्रष्टाचारका कारण विवादमा छ भन्ने बारेमा ज्योफ्रे केनले लेखेको यो पुस्तक शीरदेखि पुछारसम्मका कुरा याद आयो । मेरो हातमा रहेको सेटले कोरियाली अर्थतन्त्रमा वार्षिक १५ प्रतिशतको योगदान दिइरहेको पाटो पनि देखिरहेको थिएँ ।

ठूला कम्पनी त्यसै ठूला भएका हुँदैनन्, यसका आफ्ना दुःख र संघर्ष छन् । एउटा मान्छेजस्तै कम्पनी पनि कसैले जन्माउँछ, जसरी सामसुङलाई संस्थापकले तरकारी र माछाको सुकुटी बेच्ने पसलका रूपमा यसलाई उभ्याएका थिए । हेर्दाहेर्दै यसले विशाल विद्युतीय सामग्री बनाउन थाल्यो र केमा मात्र यसले आफूलाई विस्तार गरेन ! यतिबेला संस्थापकका छोरा सञ्चालक भएका छन् र अनेकन् भ्रष्टाचारको मुद्दामा कम्पनीको बदनाम गराइरहेका छन् ! अहिले कोरियाको अर्थतन्त्रलाई सामसुङ कम्पनी बिना कल्पना पनि गर्न सकिन्न । मैले प्रयोग गरिरहेको एम ३० मोडलको मोबाइल मलाई सस्तो र राम्रो लाग्छ । तर यो मोबाइल मेरो हातसम्म आउन सामसुड्का संस्थापक लि बुङ चुको संघर्ष पनि सँगै प्रेरणादायी कथाका रूपमा मन भरिएर आउँछ ।

०००
घर पुगेर दुधको प्याकेट राख्दै गर्दा देखेँ, पुत्र महोदय काठमााडौँको चिसोमा उठ्नेबित्तिकै कोकाकोलाको बोतल रित्याउँदै हुनुहुँदोरहेछ । एकाबिहानै ! त्यो पनि यो जाडोमा ! मलाई उहाँसँग रिस उठेन बरू झट्ट यसका सर्जक जोन पेम्बर्टनको सम्झना आयो, जसले ५६ वर्षको उमेरमा संसारकै प्रिय तर खतरनाक पेयका रूपमा यसलाई सिर्जना गरेका थिए । सँगैमा मलाई बार्टो जे एल्मोरको ‘सिटिजन कोकः द मेकिङ अफ कोकाकोला क्यापिटलिज्म’को पनि सम्झना आयो । जुन दिन मैले सो किताब पढेँ, मलाई कोकाकोला पिउनुमा आनन्द आउन छाडेको थियो । कोकाकोला मात्र किन, जुनसुकै कोलामा पनि मलाई आनन्द आउन छाड्यो । कसरी चिनी घोलिएको पानीले मानिसको दिमाग भुटेको छ र मेरो ११ वर्षे मात्र होइन, सय वर्षे वृद्ध पनि जाडोमा समेत कोकाकोला पिउनु भनेकै आनन्द महसुस गर्न गर्नु हो भन्ने भ्रममा छन् ।

यसको अर्थ म कोक पिउँदिन भन्ने होइन तर किताब पढेर मैले बुझेको छु, म जे पिइरहेको छु, संसारको अर्थतन्त्र पिइरहेको छु । कोकभित्रका कुख्यात कथा र यसका केही नकारात्मक कुरा पनि पिइरहेको छु । किताब पढेरै मैले यसलाई होशपूर्वक पिउन सिकेँ । कुनै वस्तु वा सेवा होशपूर्वक ग्रहण गर्नु जत्तिको मज्जा केमा होला !

०००

म फेसबुक चलाउँछु । यो बेला फेसबुक मात्र चलाउँदिनँ, फेसबुकको राजनीति पनि ग्रहण गरिरहेको हुन्छु । म पत्रिका पढ्छु र पत्रिका भित्रका समाचारसँगै ती समाचार भित्रको राजनीति पनि महसुस गर्छु । ती समाचारहरू पढेर सामाजिक सञ्जालहरूमा भइरहेका बहस सुनेर खित्का छाडेर हाँसिरहेको हुन्छु । धन्न, हरेक कुराको इतिहास हुन्छ र हरेक कुराको राजनीति हुन्छ भन्ने थाहा भयो । यस्ता फरक-फरक ज्ञान कुनै एउटा गुरूको प्रवचनले दिन सक्दैन । दैनन्दिन सुनिने पढिने समाचारहरूले दिँदैनन् । फेसबुकमा राखिने स्टाटसहरूले पनि दिँदैनन्, न त कुनै खरिद गरिएका प्रडक्टहरूले दिन सक्छन् । कसैले दिन सक्छ भने त्यो किताब नै हो । यहाँ भ्रम नपरोस्, दुई चार वटा होइन दैनिक पढिने नयाँ-नयाँ किताबहरूले नै त्यो ज्ञान दिन सक्छ ।

अबको हरेक साता सोमबार मलाई जिम्मेवारी आएको छ, किताबका बारेमा केही लेखूँ । मलाई साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले धम्कीको भाषामा भनेका छन्, आफू मात्र कमाउने मान्छे धनी हुँदैन । जबसम्म बाँड्दैन, ऊ सबैभन्दा गरीब हो । उसलाई भ्रम छ, म ज्ञानको धनी छु । उसैले शीर्षक जुराइदिएको छ, ज्ञान भनेको किताबमा पाइन्छ । म सहमत छु र लेख्दैछु, ज्ञान भनेको किताबमा पाइन्छ । हरेक सोमबार, साहित्यपोस्टमा ।

अब यो स्तम्भ चलाइदिने नचालाइदिने काम तपाईंको हो किनभने सम्पादकहरू बडो कठोर हुन्छन्, जुन दिन लेखकका पाठक घट्छन्, स्तम्भकार पत्रिकाबाट गायब हुन्छन् । मलाई चाँडै गायब बनाइदिनु होला ताकि किताबका बारेमा गफ दिनुपर्ने दायित्वबाट मुक्त हुन पाइयोस् ।