संसारका अद्भूत चित्रकलाका नमूना पस्कने क्रममा यस पटक अझ अद्भूत चित्रकलाका बारेमा हामी कुरा गर्न गइरहेका छौँ । हामीले प्रायः चित्रकलाको चेत र सौन्दर्य अनि त्यसको महत्त्वका आधारमा प्राचीनदेखि मध्यकालीन चित्रकलाका बारेमा चर्चा गर्दै आएका छौँ । यसै क्रममा यस पटक प्रख्यात चित्रकार माइकेलेन्जेलोको भव्यतम् कृति सिस्टिन चापेल सिलिङको अद्भूत चित्रकलाका बारेमा चर्चा गर्न गइरहेका छौँ ।

चार वर्षभन्दा बढी समय लगाएर माइकेलेन्जेलोले यो सिर्जना तयार पारेका हुन् । यसमा तीन सयभन्दा बढी चित्रहरू छन् । यसको भव्यता, सिर्जनशीलता, कथानकता सबैसबैका कारण यसलाई ‘द डिभाइन’ चित्र भनी नामकरण गर्नेहरूको संख्या पनि उत्तिकै छ । यस चित्रमा क्रिश्चियन विश्वास, कथा, मिथक आदिलाई चित्रमार्फत् अभिव्यक्त गरिएको छ ।

माइकेलेन्जेलो ज्यादै धार्मिक प्रवृत्तिका व्यक्ति थिए । उनको धार्मिकताले पनि यस सिलिङलाई यति भव्यतम रूप दिलाउन भूमिका खेल्न सक्यो ।

त्यसो त यस सिलिङमा यही तरिकाले भव्यतम चित्रहरू बनाउन बोटिसेली र पेरूगिनोजस्ता त्यस बखतका बहुतै नामी कलाकारहरूलाई चयन गरिएको थियो । २० वर्षअघि उनीहरूलाई यस्तो किसिमको काम जिम्मा लगाइएको भए पनि पछि पोप जुलियस द्वितीयले यस कामको जिम्मा माइकेलेन्जेलोलाई दिए ।

शुरूमा त माइकेलेन्जेलोले जुलियस द्वितीयको कुरालाई उति ध्यान दिएनन् । उनले आफू यसलाई पूरा गरूँला भनेर विश्वास पनि गरेका थिएनन् । मूलतः उनी मूर्तिकार थिए । मूर्ति बनाउनुमा नै उनी मग्न थिए तर पछि जुलियसले फकाए । अन्ततः चार वर्षको गहन मिहिनेतपछि सन् १५१२ अक्टोबरमा उनले यो भव्यतम् स्वरूप जुलियसलाई जिम्मा लगाए ।

एक भनाइअनुसार, उनले यत्तिका वर्ष एक्लै दिनरात मिहिनेत गरेका थिए । माइकेलेन्जेलोले आफूले काम गर्दा व्यवधान पारिनु हुन्न भन्ने माग गरेका थिए । सोही मागअनुरूप करिब चार वर्ष यहाँ धार्मिक कार्यहरू निकै कम भए । भएका कामहरू पनि गुपचुप मात्र गरिए ।

४८० वर्ष पूरा भएको अवसर पारेर यस चित्रलाई सन् १९९२ मा यसलाई पुनः रंग्याउने र पहिलेकै जस्तो अवस्थामा फर्काउने कार्य गरिएपछि अहिले यहाँका चित्रहरू जीवन्त बन्न पुगेका छन् । यो भित्तेकलाको पाँच सय वर्ष पूरा भएको अवसरमा सन् २०१२ मा यहाँ भव्य कार्यक्रम आयोजना गरिएको थियो ।

को हुन् माइकेलेन्जेलो ?

माइकेलेन्जेलो

युरोपेली पुनर्जागरण कालका एक महानतम् कलाकारका रूपमा उनलाई लिइन्छ । मध्यम वर्गीय परिवारमा हालको इटालीको टक्सनी छेउ अरेज्जोमा सन् १४७५ मा जन्मिएका उनलाई बाल्यकालदेखि नै पेन्टिङमा रूचि थियो । उनको रूचि देखेर परिवारले त्यस बेलाका निकै जान्ने गुरू डोमेनिको घिर्लान्डियोको चेला बनाइदिए । उनैबाट माइकेलेन्जेलोले भित्तेचित्र, सिलिङ चित्रका कला सिकेका थिए ।

पछि उनी फ्लोरेन्स राज्यतर्फ लागे, जहाँ त्यस बखतका धनी बैंकर लोरेन्जो डि मेडिचीको अनुग्रहमा रहेर चित्रकलाहरू बनाउन थाले । लोरेन्जोको मृत्युपछि उनी रोम गए । त्यहाँ उनले क्राइस्टको निधनमा दुःख मनाइरहेका स्त्रीहरूको मूर्तिकला बनाएर वाहवाही कमाए । सन् १५०४ मा उनको ख्याति डेभिड नामक मूर्तिले त अझ बढायो ।

यसको ठीक वर्षपछि पोप जुलियस द्वितीयले उनलाई केही काम दिए । जसबाट प्रभावित भएपछि यो सिस्टिन च्यापेलको जिम्मा दिएका थिए । रोचक त के छ भने उनलाई मूर्तिकलाबाट बढी चिनिन्छ तर उनी आर्किटेक्ट र कवि पनि हुन् भन्ने निकै कमलाई मात्र थाहा छ ।

सिस्टिन च्यापेलको यो कार्य पूरा गर्दा उनको उमेर जम्मा ३५ वर्षको थियो । यसपछि उनले जुन ख्याति कमाए, त्यसले अन्य पोपहरू आउँदा पनि उनलाई प्रमुख स्थान दिइयो । उनको निधन सन् १५६४ मा रोममा भएको थियो ।

के हेर्ने ? के देख्ने ?
सिस्टिन च्यापेलको यो चित्र किन महानतम् कृति हो ? यो महानतम् सिर्जनामा हामीले के हेर्ने ? जस्ता प्रश्नहरू यो चित्रको भव्यतासँगै हाम्रो दिमागमा आउँछ । सर्वप्रथम त हाम्रो दिमाग त्यस बेला रन्थनिन्छ, जब यो चित्र हेर्नका लागि टाउकोको टोपी झर्ने किसिमले उठाउनुपर्छ । सिलिङमा यत्तिका भव्य चित्र, अर्थपूर्ण चित्र बनाउन कति मिहिनेत लाग्यो होला भन्ने सोच्दै दिमाग रन्थनिन्छ ।

विज्ञहरू भन्छन्, यो च्यापेलमा पुगेपछि मुख्यतः हामीले सबै कुरा देखे-हेरे पनि सात वटा कुरामा ध्यान दिनुपर्छ । सबै कुरा उत्तिकै दर्शनीय भए पनि ती सात कुरा हाम्रो दिमागबाट ओझेलमा पर्नु भएन ।

१. यो चित्रले समग्रमा बाइबलका कथाहरूलाई प्रस्ट पार्ने प्रयास गरेको छ । सोहीअनुसार हामीले पनि यसलाई बुझ्ने प्रयास गरौँ । भित्ताको पहिलो चित्रमा ईश्वरले संसारको रचना गर्नुअघि अँध्यारो र उज्यालोलाई छुट्याएको प्रसंगलाई चित्रकलामा उतारिएको छ । हुन त क्रिश्चियन धर्ममा ईश्वरको कुनै स्वरूप हुँदैन भनिएको छ तर सर्वसाधारणलाई कुरा बुझाउनका लागि यहाँ एक वृद्धलाई ईश्वरका रूपमा देखाइएको छ, जसले आँधिको मुस्लोलाई समातेर प्रकाश र अन्धकारलाई छुट्याइरहेको देखाइएको छ ।

२. यसैगरी हामीले हेर्नुपर्ने कुरा दोस्रो चित्रमा छ, जहाँ ईश्वरले ग्रह, सूर्य, चन्द्रमा र ताराहरूको रचना गरिरहेका छन् । बाइबलका अनुसार यी कुरा सिर्जना गर्न उनले तेस्रो र चौथो दिन रोजेका थिए ।

Sistine Chapel | History, Paintings, & Facts | Britannica३. तेस्रो चित्रमा ईश्वरले एडमलाई सिर्जना गरेको देखाइएको छ । खासमा यो चित्र निकै विख्यात चित्र हो । यसमा ईश्वर र एडमको हात छुनै लागेको देखाइएको छ । ईश्वरको हात सिधा छ भने एडमले अनिच्छापूर्वक त्यो औँला छुने प्रयास गरेको देखिन्छ । जुन दिन मानिसले सचेतनापूर्वक ईश्वरको औँलालाई छुनेछ, ऊ सर्वज्ञाता बन्नेछ भन्ने मिथक कथ्ने गरिन्छ । यो चित्र खासमा यति विख्यात छ कि हरेक ज्ञानको खोजी बुझाउन यही चित्रलाई एउटा प्रतीकका रूपमा प्रयोग गर्ने गरिन्छ । यो चित्र बनाउन माइकेलेन्जेलोलाई तीन वर्ष लागेको केहीको दाबी छ । उनले सन् १५०१ मा यो बनाउन शुरू गरेका भए पनि १५०४ मा मात्र बनाएर सिध्याएका थिए ।

४. यस्तै एडमको साथीका रूपमा जब ईश्वरले इभलाई बनाए र त्यो दिन संसारको सिर्जनाको छैटौँ दिन थियो । माथिको चित्रमा एडमको ढाडबाट निस्कदै गरेकी इभ ईश्वरप्रति कृतज्ञता व्यक्त गर्दै गरेको देखिन्छ । उता बेहोस पारिएको एडम भने गहिरो निद्रामा देखिन्छ ।

५. पाँचौँ चित्रमा भने ईश्वरले दिएको इडनको बगैँचामा एउटा फल (स्याउ) खान निषेध गरिएको थियो । सर्प (शैतान)ले देखाएका अनेकन् लोभका कारण एडम र इभले त्यो खान्छन् र ईश्वरको भनाइ अवज्ञा गरेको भन्दै उनीहरूलाई बगैँचाबाट निकालिन्छ । यसमा सोही दृश्यलाई प्रभावकारी तरिकाले प्रस्तुत गरिएको छ ।

६. एक समयपछि ईश्वरको आज्ञा नमान्ने क्रम बढेको भन्दै सारा मनुष्यलाई दण्डित गर्न ईश्वरले भारी वर्षा गराउँछन् । सारा संसार डुब्छ । नोअले भने एउटा यस्तो नाउ बनाउँछन् र केही जीवजन्तु र मानिसलाई जोगाउँछन् । यही दृश्य यसमा प्रस्तुत गरिएको छ ।

७. सातौँ दृश्य हामीले हेर्नुपर्ने भनेको रक्सीले मात्तिएका नोहलाई उनका सन्तानले बाउ नाङ्गै भए भनेर केही लुगाले छोपिदिन खोजिरहेका छन् । रोचक त के छ भने छोराहरू स्वयंमा नाङ्गै छन् । यसले मानवीय चरित्र अर्थात् अरूको जिउको भुसुनो देख्ने तर आफ्नो आङको जुम्रा पनि नदेख्ने प्रवृत्तिप्रति इंगित गरिएको छ ।

माइकेलेन्जेलोका मूर्तिहरू पनि उत्तिकै मनोहर देखिन्छन् र चित्रहरूमध्ये चाहिँ उनको अर्को घतलाग्दो सिर्जना भने सिस्टिन च्यापलकै द लास्ट जजमेन्ट हो भन्नेहरूको पनि कमी छैन ।

यो चित्रको भव्यता अनुभूत गर्न यसलाई नयाँ फाइलमा खोल्नुहोस् र मिहिन तरिकाले एक एक दृश्यलाई ठूलो आकारमा जूम गर्दै हेर्नुहोस्, है त !