सधैँ सधैँ स्वीकार गर्नुपर्ने एउटा बिहानी र एउटा ब्युँझनुको पराधीन उद्दाम मैदानमा लम्पसार सुतिदिएको यस जीवनलाई सधैँ समयको सुइरोले एउटा आघात दिन्छ । सोच्छु, यो एउटा बिहानी हो जहाँ समयको नांगोपनलाई शरीरभरि लिएर बाँच्नुको एउटा स्वीकारोक्ति दिन्छ ।
कति आनन्दले सुतिराखेको छ कमल । हिजोबाट त झन् खुसी भएको छ । खुसी पनि किन नहोस् त हुनेवाला सिइओ जो पर्यो । चार वर्ष अगाडि हाम्रो लभ म्यारिज भएको थियो । हामी कलेजदेखि साथी हुँदै आज लोग्नेस्वास्नीसम्म हुन पुग्यौँ । चार वर्ष अगाडि र आजको कमलमा आकाश जमिनको फरक भइसकेको थियो । समयले हरेक कुराहरूलाई कति चाँडो चेन्ज गरिदिँदो रहेछ भन्ने बल्ल थाहा पाउँदैछु । यो घरमा प्रेमिकाबाट दुलही भएर आउँदा आफूलाई कति भाग्यमानी सम्झेको थिएँ । त्यो हाम्रो पहिलो रात र हाम्रो कोठा अनि कोठामा हरेक वस्तुहरू मेरो चाहना अनुसार सजिएका थिए । कति ससाना कुराहरूको विचार गथ्र्यो कमल मेरो ।

‘सन्जु आज तिमीले मेरो बाँच्नुको अर्थ पुरा गरिदियौ । तिमीले मेरो जीवनमा आएर नयाँ बिहानीको सुरूवात गरेका छौ । र आज म तिमीलाई एउटा बचन दिन्छु कि तिम्रो हरेक कदमहरूमा म सधैँ तिम्रो साथ हुनेछु’, मेरो हात समातेर रूँदै भनेको मान्छे ऊ ।

उफ्, के भाको होला म पनि एकाबिहानै ती पुराना कुराहरू सम्झेर केही फाइदा छ र ?

उठेर झ्याल खोल्छु । झरीले निथ्रुक्क भिजेको बैरागलाग्दो बिहानी । चराका नीप्स बोलीहरू सुनेर पनि झन्झन् मन रूँरूँझैँ लाग्न थाल्छ । बादलको अटेसमटेसभित्र लुकेको क्षितिज, जो एउटा भ्रामक धर्सो पनि हो, लाई सम्झँदा मात्र आफ्नो अन्तरमा अनन्त तिर्खाको छटपटि, मानौँ एउटा मर्न नसकेको अस्तित्व आफूभित्र छ भन्ने भान हुन्छ ।

अर्जुन थापा

दिन प्रतिदिन चेन्ज हुँदै गएको थियो कमल । उसको लागि मात्र ऊ र उसको फ्युचरबाहेक बाँकी सब शून्य थिए । म हुनु नहुनु उसको लागि केही महत्व राख्दैन थियो । बोर हुँदै गइराखेको थिएँ, ऊ र उसको घरदेखि । कैयौँ दिन घर नै आउँदैन थियो । काम, अफिस र धनी बन्ने सपना उसको ।

‘सन्जु, तिम्रो लागि कति इन्पोर्टटेन्ट छु म ?’, मोरो ! अगाडि मुसुक्क हाँस्दै प्रश्न गर्छ कमल ।

‘कमल, तिमी यदि मेरो लागि केही नहुने हो भने, सबै छोडेर तिमीसँग पक्कै पनि विवाह गर्ने थिइनँ होला !’, मेरो उत्तर सुनेर झन् नजिक आउँछ र मेरो काखमा बच्चाले जस्तै टाउको राख्छ ।

‘मलाई थाहा छ तिमी मसँग दुःखी छौँ । मलाई यो पनि थाहा छ कि मैले तिम्रो लागि टाइम दिन सकिराखेको छैन । तर सन्जु, मैले जे गरिराखेको छु मात्र हाम्रो सुन्दर भविष्यको लागि हो । विस्तारै अब हाम्रो बच्चा होलान् । ती सबका लागि यो सब दुःख गर्नुपरेको हो’, उसको बोलीमा बढी सहजता भेट्टाउँछु म ।

उसको आँसुका थोपाहरूले मेरो काखमा चिसो अनुभव हुन्छ र साथै कमलको मुखबाट पहिलो पटक ‘हाम्रो बच्चा’ भन्ने शब्दले मनमा कताकता शीतल पैदा गर्छ ।

‘सन्जु आज हाम्रो फस्र्ट एनिभर्सरी हो । आजसम्म मैले तिमीसँग केही मागेको छैन । आज तिमीसँग हाम्रो फ्युचरको लागि केही माग्न चाहन्छु, के दिन सक्छौ ?’ ऊ दुई हात जोडेर मेरो अगाडि घुँडा टेक्छ ।

‘के गरेको तिमीले ? म तिम्रो हुँ र तिमी मेरो । अब पनि हामीबीच केही लुकेको छ र नि ! निर्धक्कले भन कमल, म पूर्ण रूपमा तिम्रो हुँ ।’ खुसीले माया गर्छु कमललाई ।

‘थाहा छैन तिमीले मलाई के सोच्नेछौ मेरो कुरा सुनेपछि । तर सन्जु मलाई गलत नसम्झनू । मात्र हाम्रो फ्युचरको लागि हो र बस् एक पटकको लागि हो । त्यसपछि यो कुरा कहिल्यै दोहोरिने छैन र हाम्रो सम्बन्ध झन् प्रगाढ हुनेछ ।’ अझैँ त्यही हात जोडिरहेको अवस्था हुन्छ कमल ।

‘अब धेरै भूमिका नबाँध ! जे छ खुलस्त भन ।’ मनमा एक प्रकारको डर उत्पन्न हुन थालिसकेको थियो मलाई ।

‘मेरो अफिसको बोस अर्को महिना जर्मनबाट आउँदैछ । यसपटक जसरी हुन्छ प्रमोसन हात पार्नुपर्छ । जसको लागि बोसलाई खुसी पार्नु छ मलाई । र त्यसको लागि एक रातको लागि हाम्रो फ्युचरको लागि सम्झौता गर्नुपर्छ तिमीले ।’

आधा रातको समाप्ति भइसकेको छ । बत्ती धक फुकाएर बलिरहेको छ । बाँकी सबै मुर्दाजस्तै चकमन्न र निर्जीव । हाम्रो पहिलो एनिभर्सरी थियो आज । कति सपनाहरू बुनेर आजैको दिन आएकी थिएँ यो घरमा म । जे भयो भयो, तर आफ्नो स्पेसल रातलाई झन् रोमान्टिक बनाउँछु भनेर बिहानदेखि घरको सरसफाई गरी कमललाई मन पर्ने परिकार र साथमा रेड वाइन ल्याएको थिएँ । तर क्षणभरमा नीरस रात भइदियो ।

कमल आफ्नो सिंगो शरीरलाई मूर्ति जस्तै पारी एकटकले मलाई नै हेरिराखेको थियो । अब मलाई उसको घिनलाग्दो आकृति आँखाभरि आएर बाधा गरिराख्यो । उसको एउटा निसंकोच हेराइमा कहीँ कतै आत्मग्लानी थिएन । लाग्थ्यो, कोठाभरि कमलको डरलाग्दो आकृति डुलिरहेको छ । अनायासै आफ्ना लामा लामा हातहरूले ऊ मलाई अँठ्याउन खोजिरहेको छ । एउटा घृणित स्वार्थको लागि मलाई बलि चढाउन सुन्दर फ्युचरको लोभ देखाइराखेको छ । कति फोस्रो रहेछ हाम्रो सम्बन्ध ! झ्यालको चिसो हावा थापेर सोच्दा हाम्रा भोलिका फ्युचर देखेर आफैँलाई हाँसो उठ्यो । प्रश्न गरेँ, के ममा अझै पनि मेरो आफ्नोपन शेष छ ? के हुन्छ यो भएर पनि अब ? यो स्थिति बाट भाग्ने ठाउँ छ कतै ? निरूत्तर थिएँ । कोठाको सन्त्रास क्रमशः शिथिल हुँदै गयो ।

महिनौँ दिनसम्म विभिन्न प्रलोभन देखाउँदै ऊ मलाई फकाइरह्यो । अन्ततः म हारेँ वा अझ भनूँ मलाई बाध्य बनाइयो । सम्झौताको लागि ।

दिनहरू त्यसरी बित्छन् । म त्यसरी नै दिन काट्छु अथवा आफूलाई समय काटिरहेको पाउँछु । अँध्यारोलाई अब साबिक बमोजिम निलिदिन्छु । कमलको त्यो ‘एक रातको सम्झौता’ क्रमशः बढ्दै गइराखेको थियो । होटलको कोठा र स्थितिहरू….. परिभाषा दिन चाहन्न थिए । मलाई अब अपराधबोध पनि त हुँदैन । प्रेम, कमल र म अनि हाँसो उठ्छ । जुन हाँसोमा अब अर्थहीनता पनि हुँदैन ।

……..

‘ढुक्क हुनूस्, अब तपाईंको श्रीमान्लाई सिइओ बन्न कसैले रोक्दैन । यसरी नै खुसी पार्दै जानु भएमा तपाईंको श्रीमान् धेरैमाथि पुग्नु हुनेछ ।’ यस्ता कुराहरू धेरै बोलिन्थ्यो र प्रत्येकपल्ट आफूलाई यस्ता शब्दसँग अल्झिरहेको पाउँथे ।

‘तपाईं आज किन यसरी क्रेजी हुनुभएको ? अब त घरमा भन्दा होटलको कोठामा नै बढी रमाइलो लाग्न थाल्यो जस्तो छ नि ।’, चुरोटको धुवाँका गोलगोल चक्रहरू सामुन्नेमा आउँदै फिँजिँदै थिए । अकारण ती चक्काहरू गन्न थाल्छु । गालाको पाटामा चोटभन्दा अपमान बढी देख्छु टल्किरहेको । रक्सीको गिलासमा आफूलाई ।

‘सन्जु आज म धेरै खुसी छु । दुई दुइटा खुसी एकैसाथ हाम्रो जीवनमा आयो । तिम्रो कमल आजबाट सिइओ भयो र अबको नौ महिनापछि हाम्रो बच्चा हुँदैछ । ल हेर त ! तिम्रो पे्रग्नेस्सी रिपोर्ट । यो सब तिम्रो कारणले भएको हो सन्जु ।’ ऊ मेरो काखमा फैलिन्छ ।

छातीभरि कमलको तातो र दुर्गन्ध सीधै नाक हुँदै शरीरभरि फैलिन थाल्छ । छातीमा हात राख्दै मेरो ओठ चुम्न खोज्छ कमल । अब शरीरभरि लोग्नेमान्छे थाप्नुको अनुभवबाट अभ्यस्त भइसकेको म, कमलको गह्रुँगो थिचाइले सक्सकाउन लागेको थियो । आफूलाई एउटा खुला बजार मान्न थालिसकेको थिएँ र पसलजस्तै खुलस्त बसी दिएँ । मलाई आफ्नो हुनु धेरै तल्लो तहको घृणास्पद लाग्न थालिसकेको छ । आफ्नो जीउभरि चिप्लेकीरा टाँसिएको महसुस गर्छु म ।

‘सन्जु, अब हुनेवाला बच्चाको नाम हामी के राख्ने ? छोरा वा छोरीको ।’ ऊ बोलिरहन्छ ।

‘यो मेरो पेटमा भएको बच्चा तिम्रो होइन । यो बच्चा तिम्रो नभएर होटलका रूममा हरेक हप्ता बिताएका सम्झौताका हुन् ।’ मलाई कोठाको भित्ता चर्किने गरी कराएर भन्न मन लाग्छ । तर चुप लागिदिन्छु । सजाय…कसरी ?

कमललाई पहिलोपटक भेट भएदेखिको कुराहरू खोतलेर मनमनै सोच्न थाल्छु– एउटा सत्ताहीन मानिससँग बीच हुनुको के माने छ ? प्रत्येक दीनहीन मनस्थितिहरू अब ममा चिप्लेटी खेलेर जान्छन् ।