दुई चार दिन अघिदेखि बजारमा च्याङ्ग्रा बोकेर बाइकहरू ओहोरदोहोर गरिरहेका थिए । विचरा ! मर्नका लगि पनि लामो सफर पूरा गनुपर्ने । फ्रेस हाउसको छेवैमा तिनै डिप्रेस च्याङ्ग्रा र खसीबोकाहरू अनिश्चित मृत्युको पीडा ओकल्न थालेका थिए । उनीहरूका लागि सधैँको दसैँ कोरोना कहरभन्दा कुनै पनि मानेमा कम हुँदैन । दसैँ पनि दसा बनेर आउँछ । उनीहरूले दसैँमा मृत्यु रूपी दसालाई नचाहेरै पनि गला लगाउनु पर्छ । कठै ! ती खसीबोकाहरू ! मान्छेका लागि पालिन्छन् र मान्छेका लागि ढालिन्छन् पनि । आफ्नो कालले कहिल्यै पनि मृत्यु भेट्न पाउँदैनन् उनहीहरू । उनीहरूलाई त मान्छेले पूरा आयुसम्म बाँच्न पनि सख्त मनाही गरेको छ । प्रायः बाख्राहरू बुढो भएर भत्ता खान पाएको मान्छे जस्तो कहिल्यै बाँच्न पाएनन् । साँच्चै भन्ने हो भने मैले बुढो बाख्रो मरेको अझसम्म पनि देख्न पाएको छैन ।
उता अलि टाढाको मौजातिर लहलह धानका सुनौला बालाले खेतबाटै दसैँको स्वागत गरिरहेका थिए । घरतलको बारीतिर पनि उस्तै कोदाका बाला हावाको झोक्कासँगै हल्लिन थालेका थिए । बिचबिचमा बोडीका झालहरू सुकेका मकैका मुर्कट्टा बोटमा आफ्नो जीवन क्षितिज उघारिसकेको थिए । बारीका डिलमा सिल्टुङका झालहरूमा भर्खर कोसा लाग्दै थिए । पानी बसेको थियो । धर्तीमा हिलोमैलो कतै थिएन । उँभोतिर शरदकालीन आकाशको नीलिमा पनि हेर्न लायक केही खास बनेको थियो । डाँडाकाँडामा बिहानीपख चिसो सिरेटो चल्न थाल्दै थियो । सबै प्रकृति विगतको जस्तै त थियो तर मन भने त्यस्तो थिएन । विश्वभ्रमणमा निस्केको कारोनाको अनेकानेक किस्सा चलिरहेकै थियो । उसको भिसा अझै सकिएको थिएन, किनकि अझ कतिको हिस्सा बाकीँ नै थियो होला ।
नव धनाढ्यहरू बजारको कहर छल्न गाउँघरतिर एकदुई पोका खुसी बोकेर ठिमीको उकालो उक्लँदै थिए । यस्तैमा मलाई मेरी मामुको फोन आयो, “बाबु ! कहिले आउँछौ ? निकै अत्यास लागेछ । छिट्टै आऊ न । तिमीले पाठ पनि पढ्छौ । बुवालाई पनि अल्लि हल्का होला ।” मैले छिट्टै आउने वचन मात्र दिएँ । मेरी आमालाई निरास पार्न पनि मन लागेन । जताततै पारिवारिक दसँै मनाउने र आफन्तलाई पनि टाढा भए नआउन अनुरोध गरिएका पोस्टहरू, सूचना र लेखहरू फाट्टफुट्ट पढेको थिएँ । बजारबाट कोरोनाको महँगो कोसेली बोकेर बुढा बाबुआमालाई जीवन र मृत्युको घनचक्करमा फँसाउन मन लागेन । कतिले त्यो कुरा वास्ता नै गरेनन् । ठिकै छ नि, बाँच्दै रहे नाच्दै रहौँला । दसैँ त अर्काे साल पनि आउला तर ….. ।
घर लिप्न बिर्से पनि यता फेसबुकका भित्ताहरू लिपपोत गर्न थालिसकिएको थियो । कतै लिङ्गे त कतै काठे पिङका डोरीसँगै मान्छेरुपी छाया मच्किन थालेका थिए । अघिल्ला वर्षहरूमा काम, माम र दामका लागि विदेश जान विमानस्थलमा लाम लाग्ने युवकयुवतीको लाइन जस्तो यसपालि पनि म्यासेन्जरमा दसैँको शुभकामनाको लामो लाइन लागेको थियो । न हेर्ने जाँगर न रिप्लाई गर्ने उमङ्ग नै थियो । बस, तैपनि आउने काम न हो आइरह्यो । मोबाइलमा फ्रिक्वएन्सी मोडुलेसन अन गरेँ । दसैँको प्रिय धुन मालश्री बजिरहेको रहेछ । दसैँछेक भए पनि मज्जाले सुन्ने गरेको यो धुन आज घुन लागेको चामल र पग्लेको नुन जस्तो अर्थहीन भइरहेको थियो । विलिनो तरकारी जस्तो बेस्वादे, खल्लो र निरस उखु जस्तो छोक्रे अनि पदेरोले चुसेको बोक्रे सुन्तालाभन्दा बढी लागेन ।
टिभी ट्युन गरेँ । दसैँका दस थरी शुभकामना आए । ती सुन्दर शुभकामना पनि ज्वरोमा परेको भात जस्तो भइरहको थियो मलाई । सँगै हिँडेको एक जना साथीलाई कोरोना जो देखिएको थियो । मलाई पनि कन्ट्रयाक्ट ट्रेसिङका लागि बस्न भनिएको थियो । लक्षण देखिएमा जाँच गर्न तुरुन्त आउनू भनिएको छ भन्ने मान्छेको कन्ट्याक्टमा म परिसकेको थिएँ । यता मलाई अलिक सन्चो पनि थिएन । मलाई मात्र सन्चो नभए त क्यै थिएन । मेरो फ्लु उनलाई पनि सरिसकेको थियो । दुःखसुखमा साथ दिन्छु भनेर अर्धाङ्गिनी बनेकी उनी यसपालि पनि मेरो बिमारीको हिस्सा बनेकी थिइन् । उनलाई मात्र सरेको भए पनि म चित्त बुझाउँथेँ नि । कुरा थियो मेरो मुटु कृतिका । उनलाई पनि त ज्वरो आयो । दुवैको सल्लाहमा डिकोल्ड आधा खुवाइयो । बिहान उनलाई सन्चो भएछ । तर हामी अझै उस्तै थियाैँ ।
यसपालि कतै टीका थाप्न नजाने सहमति भयो । राजनीतिक पार्टीले गरेका सस्ता सहमति जस्तो सस्तो नबनाई कार्यान्वयन पक्ष बलियो बनाउने निक्र्यौल पनि गर्यौँ ।
हरियोको नामोनिशान थिएन । पोहोरपोहोर सुनका मुना जस्ता सुन्दर लाग्ने जमारा अहिले भने उज्यालो प्रकाश नपाएर पहेँलिएको जौ र मकैका त्यन्द्रा मात्रै लाग्यो । तिनै पहेँलपुर जमरा जस्तै खुसी नपाएर मन पनि पहेँलो भएको थियो ।
आफूहरूलाई जे भए पनि अरुलाई पिर पार्न नजाने भन्ने विचारविमर्श गर्यौँ । यसपालि कतै टीका थाप्न नजाने सहमति भयो । राजनीतिक पार्टीले गरेका सस्ता सहमति जस्तो सस्तो नबनाई कार्यान्वयन पक्ष बलियो बनाउने निक्र्यौल पनि गर्यौँ । यसो हेरेँ, दसैँका लागि ल्याएका स्याउ ट्वाल्ल परेर हेरिरहेका थिए । विचरा ! स्याउ । कारोनाले हो वा जाडोले कट्टु लगाएर बसिरहेका थिए । मान्छेले मुख देखाउन लाज लागेर मुखमा लगाएको मुखौटो जस्तै । उता कार्टुनमा राखेका जमरा उस्तरी नै बढे । जसरी विगतका वर्षहरूमा बढ्ने गर्थे । जमरामा दसैँ बढिरहेको थियो । एक टक लाएर हेरेँ । पुरै पहेँला । हरियोको नामो निशान थिएन । पोहोरपोहोर सुनका मुना जस्ता सुन्दर लाग्ने जमारा अहिले भने उज्यालो प्रकाश नपाएर पहेँलिएको जौ र मकैका त्यन्द्रा मात्रै लाग्यो । तिनै पहेँलपुर जमरा जस्तै खुसी नपाएर मन पनि पहेँलो भएको थियो ।
यसपािल म बसेको वरिपरि कतै पनि पिङ हालेको मैले देखिनँ । किताब बिर्सेर स्कुल आएको विद्यार्थी जस्तै यसपालिको दसैँ पनि खुसी बिर्सेर आए जस्तै लागेको थियो मलाई । यस्तै यस्तैमा अष्टमीमा कष्ट दिएर खुसी काटेका फोटाहरू फेसबुकमा फेरि आउन थाले, अनि रगतको भल बगाउँदै संवेदनहीन बनेर भगवान्को नाममा उमेरदार खसीबोकाहरू बलि चढाइएका दृश्य भरिन थाले । पशुलाई काटेर खाए पनि भगवान्को नाममा धर्म बेचेको मलाई मन परेन । हुन पनि यस्तो कुरा ढुङ्गो रातो पेट तातो बनाउने बाहना न हो । जगत् माता भन्ने अनि सन्तानको बलि दिने ? कुन आमाले आफ्नै सन्तानको बलि खालिन् र ? घरमा सिङ्गै च्याङ्ग्रो वा खसी काटेर आफ्नो बड्प्पन प्रदर्शन गर्नेले किन जर्ज वरेलको एनिमल फार्म पढ्दैनन् । वा पढे पनि बुझ्दैनन् । या त बुझे पनि नबुझे जस्तो नाटक गर्छन् । म अवाक् हुन्छु ।
फेसबुक मातालाई पनि आजकल बलि दिन थालिए जस्तो लाग्छ । बलिको मर्म नबुझ्नेले के धर्म गर्नू । बलि आफ्नो पाशविकता अर्थात् पशुत्वको दिइन्छ । निर्दाेष र निमुखा पशुको होइन । कहिले फेरि तिनै जनावरलाई भगवान् देख्नेहरू किन बुझ्दैनन् यस्ता कुरा । धर्म आँखा चिम्लेर होइन आँखा खोलेर मान्नुपर्छ । धर्म धनले पनि होइन मनले मान्ने हो भन्ने कुरा यस्ता धर्मभिरुले कहिले बुझ्ने । कुरा मासु खानेसँग पनि होइन, कुरा मासु खाने शैलीसँगको हो । मासु खाने शैली बिल्कुल गलत छ । गतल प्रचार गरेर खाने यस्ता कुसंस्कार सिकाउनु हुँदैन, ती अबोध बाल मस्तिष्कलाई ।
धर्मको नामबाट हिंसात्मकताको बीजारोपण गरिन्छ हाम्रो समाजमा । अनि यही विचार कार्ल युङको सामूहिक अचेतन मन बनेर कुण्ठाका रूपमा परिणत भएको कसले विचार गर्ने । यसबाट समाजमा पर्ने नकारात्मक मनोविज्ञानलाई कसले सुधार्ने । मनोविज्ञान नपढेका बुढापाकालाई सम्झाउने हिम्मत नगर्ने युवालाई पढाइको सामान्यीकरण बारे सोध्न मन लाग्छ । उनीहरूलाई पूर्वीय अहिंसावादले नछोए पनि विदेशको एनिमल राइट्सले कहिले छोला ? गौराङ्गले भनेपछि जे पनि अन्धानुकरण गरिहाल्ने नेपाली समाजले आफ्नो कान कहिले छाम्ला ?
कसैको आँसु र मासुमा पनि भगवान् खुसी हुन्छन् र ? यदि हुन्छन् भने तिमी कस्तो भगवान् मान्दै छौ ? तिम्रो चेतनाको स्तर कहाँ छ ? दया लाग्छ यस्ता मान्छेको मान्छेत्व देखेर । मान्छेको खोलमा जन्मिँदैमा मान्छे हुने भए हेर त्यो बुख्याँचा, दुरुस्तै तिमी जस्तै छ । अझ हेर पसल पसलका डमीहरू । तिनले लाउने कपडा उस्तै परे तिम्रोभन्दा राम्रो र महँगो हुन सक्छ । असल र खराब, कर्तव्य र अकर्तव्य, ठिक र बेठिक अनि उचित र अनुचित छुट्याउन नसक्नेहरू तिनै डमीभन्दा कत्ति पनि फरक छैनन् । बरु ती डमीले असल कार्य मात्र गरेका छन् । हिंसा कहिल्यै गर्दैनन् ।
नवमीको रात निद्रा हराएछ । सुतेको ५ मिनेभित्रै निदाउने मलाई आज के भयो । म नै अचम्ममा परेँ । लगभग रातको १२ बजेसम्म पनि निद लागेन । त्यसपछि खै कतिबेला निदाएँ मलाई नै थाहा छैन । बिहान उठ्दा दसैँ पनि मसँगै उठेछ । शरीरमा टाँसिएको अन्धकार छाया जसरी । न नचाहिएको बेलामा फाल्न मिल्ने, न त चाहिएको बेलामा हाल्न मिल्ने । बेकामको छाया जसरी । कोठाबाट बाहिर निस्केकै थिइनँ । खैर, दसैँमा नुहाउन त बिरामी भए पनि मन लाग्यो । तातो पानी तताएँ । नुहाइधुवाइ गरेर आउँदै थिएँ । आमाको फोन आएछ । दुई पटकसम्म नउठेपछि पक्कै डराउनुभो होला । हतारहतार फोन लगाएँ । अनि सुरु भो गन्थनमन्थन ।
उताबाट आशीर्वाद र यताबाट आँसुका अबिरल धारा बर्सिरहे । आमाको आशीर्वाद पाएपछि मन हल्का भयो । तिसको दशकसम्म आइपुगेँ । यस्तो अनौठो दसैँ कहिल्यै पनि भएको थिएन ।
समय कति बलवान् छ । समय कति निष्ठुरी पनि रहेछ । यसले कसैको मायादया मान्दो रहेनछ । आखिर वर्षमा एकपटक आउने बडा दसैँ ।
बुबाआमाबाट प्रत्यक्ष टीका लगाउन नपाए पनि भर्चुअल टीका ग्रहण र आसिक लिन त कसैले रोक्न सक्दैन नि । मन न हो, आखिर आमाबुबाबाट टीका नलगाउने हो भने स्वदेशमै भएर पनि के दसैँ मान्नु । सबै पारिवारिक खबरखाबरका गफगाफ सिद्धिएपछि पहिला बुबालाई दिन भनेँ । त्यसपछि बुबाबाट आशीर्वादको लामो गाथा सुनेँ । बुबाले सकेपछि फेरि आमाले दसैँको आशीर्वचन दिन लाग्नुभो । म सुनिरहेँ । फोन एकोहोरो रूपमा बोलिरह्यो । मेरा कानले सुनिरहे । उताबाट आशीर्वाद र यताबाट आँसुका अबिरल धारा बर्सिरहे । आमाको आशीर्वाद पाएपछि मन हल्का भयो । तिसको दशकसम्म आइपुगेँ । यस्तो अनौठो दसैँ कहिल्यै पनि भएको थिएन । पोखराबाट कुश्मा बजार पनि जान पाइएन ।
निधारमा रातो टीका शिरमा जमरा त थियो तर आज ती विजयको उत्सवमा मनाइने विजया दशमीको नभएर एउटा कोरोना दशमीका थिए । तिनमा कुन ओज थिएन केबल बोझ मात्र बनेका थिए । समय कति बलवान् छ । समय कति निष्ठुरी पनि रहेछ । यसले कसैको मायादया मान्दो रहेनछ । आखिर वर्षमा एकपटक आउने बडा दसैँ । आउन मन नभएको होइन आमा । के गर्नू । यो कुरौटे समाज । यो परिबन्ध ।
साँच्चै आज भगवान्को पनि अत्तोपत्तो छैन । खै संसारमा तहल्का मच्चँदा पनि हल्ला लिने भगवान् कहाँ छन् । एउटी अबला नारीलाई मार्न पछि नपर्ने भगवान् पनि मन्दिरको जन्जिर तोडेर बाहिरिन सकेनन् । भगवान्ले त केही गर्न सकेनन् । त्यसैले आमा, मलाई हजुरको सारै माया लाग्यो । प्रेसरको औषधि खाने बुबाको अति माया लाग्यो । डिलको ढुङ्गा र वार्धक्यले बेरेको मान्छेलाई सानो धक्का पनि ठुलो महसुस हुन्छ भन्छन् । आमा ! हजुरहरूलाई कोरोना लागिहाल्यो भने सहन गारो होला भन्ने लाग्यो । वास्तवमा कुरा यत्ति न हो आमा । दसैँमा गरिने पशुबलिको नरसंहार जस्तै मेरो मन पनि पीडा र वेदनाको जहरले पानीमा मिसिएको रगत जसरी रातो भएको छ । सरी मामु ! हजुरको माया लागेर यो दसैँमा आइनँ । राम्रै भए अर्काे वर्ष धूमधामसँग मनाऔँला है ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।