कवि आलोक धन्वाको परिचय
आलोक धन्वा हिन्दीका क्रान्तिकारी विचारधाराका कवि हुन् । २ जुलाई सन् १९४८ मा बिहारको मुङ्गेरमा उनको जन्म भएक हो । उनका गोली दागो पोस्टर, जनता का आदमी, कपड़े के जूते तथा ब्रूनों की बेटिया जस्ता कविताहरू बहुचर्चित छन् । ‘दुनिया रोज बनती है’ उनको प्रसिद्ध कविता सङ्ग्रह हो । पहल सम्मान, नार्गाजुन सम्मान, फिराक गोरखपुरी सम्मान, गिरिजा कुमार माथुर सम्मान र भवानी प्रसाद मिश्र सम्मानसहित अनेक सम्मानद्वारा सम्मानित आलोक धन्वा आम मान्छेका कविता लेख्ने कवि हुन् ।
गोली ठोक पोस्टर
आलोक धन्वा
यो उन्नाईस सय बहत्तरको बीस अप्रिल हो कि
कुनै व्यावसायिक हत्याराको दाहिने हात
अथवा कुनै गुप्तचरको छालाको पन्जा
वा कुनै आक्रमणकारीको दुरबिनमा लागेको दाग हो
जेसुकै होस्- म यसलाई मात्र एउटा दिन मान्न सक्दिनँ !
जहाँ लेख्दै छु म
यो निकै पुरानो ठाउँ हो
जहाँ आज पनि शब्दभन्दा धेरै
सुर्तीको प्रयोग गरिन्छ ।
यहाँ आकाश एउटा सुँगुरको उचाइ बराबर छ
यहाँ जिब्रोको प्रयोग सबैभन्दा थोरै भइरहेछ
यहाँ आँखाको प्रयोग सबैभन्दा थोरै भइरहेछ
यहाँ कानको प्रयोग सबैभन्दा थोरै भइरहेछ
यहाँ नाकको प्रयोग सबैभन्दा थोरै भइरहेछ
यहाँ मात्र दाँत र पेटहरू छन्
माटोमा गाडिएका हात छन्
मान्छे कतै छैनन्
केवल एउटा निलो खोल छ
जसले मात्र अन्न मागिरहन्छ
एउटा मुसलधारे वर्षादेखि
अर्को मुसलधारे वर्षासम्म
यी महिला मेरी आमा हुन् या
पाँच फिटकी फलामे छड
जसमा झुन्डिरहेका छन् दुइटा सुख्खा रोटी-
मरेका चराजसरी
मेरी छोरी र मेरो हडतालमा अब
रौँबराबर भिन्नता बाँकी छैन
संविधान तर अफ्ना सर्तहरूमा
छोरी र मेरो हडताललाई
सिध्याउन लागिरहेको छ
के यो अकस्मिक चुनावभन्दा पछाडि
मैले बन्द गरिदिनुपर्छ
बारुदका बारेमा सोच्न ?
के उन्नाईस सय बहत्तरको यो बीस अप्रिलमा
अफ्ना छोराछोरीसित म
एउटा बाबुजसरी रहन सक्छु ?
मसी भरिएको भाँडोजसरी
एउटा भकुन्डोजसरी
के म आफ्ना छोराछोरीसँग
एउटा घाँस उम्रेको चौरजसरी रहन सक्छु ?
उनीहरूले यदि आफ्ना कवितामा मलाई
कुनै दिन लगेछन् भने पनि
पट्टी बाँधेर मेरा आँखामा
मलाई प्रयोग गर्छन् र फेरि मलाई
सिमानाबाहिर ल्याएर छाडिदिन्छन्
उनीहरू कहिल्यै पुग्न दिँदैनन् मलाई राजधानीसम्म
जिल्ला-सहरसम्म जाँदाजाँदै समातिने गर्छु म !
सरकारले हैन- यो देशको सबैभन्दा
सस्तो चुरोटले मलाई साथ दियो
दिदीका गोडाको आसपास
पहेँलो अँडिरको बुटोजस्तै
उम्रिएको थियो मेरो बाल्यकाल-
त्यसमा चर्यो प्रहरीको भैँसी
मनुष्यता जीवित राख्नका लागि यदि
एउटा प्रहरीलाई गोली हान्ने अधिकार छ भने
मलाई किन छैन ?
जुन माटोमा
यतिबेला म बसेर लेख्दै छु
जुन माटोमा म हिँड्छु
जुन माटोलाई म जोत्छु
जुन माटोमा बिउ रोप्छु
जुन माटोबाट निकालेर अन्न म
भण्डारसम्म लैजान्छु
त्यो माटोका लागि गोली हान्ने अधिकार
मलाई छ कि ती ठिमाहा भूमिपतिहरूलाई
जो सिङ्गो देशलाई
ब्याज खाने साहुको कुकुर बनाइदिन चाहन्छन्
यो कविता होइन
यो चेतना हो गोली हान्ने
जुन सबै कलम चलाउनेहरूलाई
सम्पूर्ण हलो जोत्नेहरूबाट प्राप्त भइरहको छ ।
***
अनु. निमेष निखिल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।