सुख स्वभावैले अल्पकालिक हुन्छ भने दुःख दीर्घकालिक । सोखले मानिसलाई सधैँ सुविधामा मात्र सम्हाली राख्छ भन्ने छैन । मानिसको खुसी कृतिमै सही, एक मुठी खुसीका लागि मानिस गोलाद्र्धको चक्कर काटिरहेका हुन्छन् । खैर यदाकदा सपनामा देखिने काल्पनिक उडानजस्तै सुलभ अवतरण गराइदिन्छ, यथार्थको धरातलमा । करले होइन रहरले ।
एउटा कफीसप (केही केकहरूसहितको) छ, दक्षिण दिशाको प्रस्थान बिन्दुनेर । उत्तरपट्टि एउटा मदिरा पसल खचाखच छ विभिन्न ब्रान्डसहितको । त्यो पनि छिनमा बन्द हुन्छ, छिनमा खुल्छ । अनि पश्चिम कुनोमा एउटा शौचालय छ सुस्ताएर बसेको
। बाँकी रहेको बीचको खुल्ला भागमा रोएर बसेका रित्ता केही कुर्सीहरू । भुइँमा भुवादार बाक्लो कार्पेट बिछ्याइएको छ । सोही कार्पेटमाथि तीन भाइको ज्यान तीनतिर लम्पसार परेको छ ।
यो कुनै सिनेमाको दृश्य होइन । स्थानीय समय अनुसार मध्यराति १ बजेको हुँदो हो । बाहिरको तापक्रम माइनसमै होला । जनवरी महिनाको अन्तिम लहर, सिरेटोको मापन यसै गर्न सकिन्छ । तर भित्री भाग भने एयर कन्डिसनरको सहायताले जीउ न्यानो छ । अझ भनौँ, वर्तमान परिस्थितिको उपजका कारण मगज बेस्कन भल्किएको छ ।
यो युक्रेनको ओदेसा विमानघाटको स्वरुप हो । न कि पशुपतिको आर्यघाट वा शंखमूलघाट नै । कात्रोले बेरिएका लासका लाम छैनन् हाम्रा घाटमा जस्तो । सुनसान । तर बेवारिसे तीन ज्यान भने बेस्वाद बेरिएको छ अर्काको खटनमा । प्रत्येक घन्टामा अदलीबदली गरिरहने वाइफाईको नेटवर्कले तैबिसेक आफ्नै आयु छोट्याउनमा मद्धत पुर्याइरहेको हुन्छ ।
फगत फक्रेको निद्रा क्षणभरमै खस्न पुग्छ रित्तो कार्पेटमाथि । मनमा बुनिएका अनेकन् तानाबानाले होला । ओदेसालाई ल्यापटप खोलेर चिप्रे आँखाले चिहाउँछु । युक्रेनको तेस्रो ठूलो जनसंख्या भएको सहर रहेछ । लगभग दस लाखभन्दा केही उकालो । देशको दक्षिणी कुनोमा लजाएर लुकी बसेजस्तो लाग्ने मुखौटा छ यसको । सायद विशाल ब्ल्याक सीको उत्तर पश्चिममा छिपेर बसेकाले होला अहिलेसम्म जोगिएको । तत्क्षण उसले हामीलाई पनि छुपाएर राखेको छ । बाहिर निस्कनै दिएन । अर्थात् हाम्रो गन्तव्य राजधानी किभ जाने गोरेटोको धागो अचानक चुँडाइदियो । निशब्द रह्यौँ । निराश भयौँ । मनभित्र आक्रोशको आवेग थियो । तर यो मेरो मुलुक थिएन । यहाँ मात्र तिनको अधिकार चल्थ्यो ।
युक्रेनको मात्र हैन, युरोपको समेत गर्मी बिदा मनाउन आउने चर्चित ठाउँ रहेछ, ओदेसा । तर हामीजस्ता विशुद्ध पर्यटकलाई किन अवरोध गरे ? बुझ्न कठिन भयो । यो हाम्रो बेमौसमी भ्रमण थियो । बेलायतमा दुई हप्ता बिताएर इस्तानबुल ट्रान्जिट हुँदै सीधै युक्रेन आएका थियौँ । सायद दुई जना इराकीको कारण थियो कि ? यो हाम्रो एकलकाँटे अनुमान थियो । जो हामीभन्दा अगाडि लाममा थिए । तिनलाई हाम्रो सामुन्ने निकैबेर केरकार गरेका थिए अध्यागमनका पुलिसहरूले । हामी बेफ्वाँकमा रहस्यको भुमरीमा पर्यौँ ।
यो मेरो हकमा पहिलो घटना थिएन । तर साथमा रहेका दुई भाइ अनभिज्ञ थिए । र त, केही अत्तालिएको देखेँ । मेरो अनुमान अनुसारको व्यवहार तिनले देखाए । यस्तो प्रक्रिया विमान चौकीहरूमा हुँदै गर्छन् । यस्तै समस्या कुनै बखत बलिउडका चर्चित अभिनेता शाहरूख खानलाई समेत अमेरिकामा पस्दै गर्दा भएको थियो । यसले एकखाले मानसिक विचलन ल्याउँछ । संयमित रहनु नै तत्कालको समाधान हो ।
युक्रेनका सुरक्षाकर्मीहरू कानेखुसी गर्दै हामीलाई निकैबेर अल्मल्याइरहे । समस्या स्पष्ट पार्न पनि सकेनन् । भाषाको समस्या कारण थियो कि सायद । मात्र एक महिला सुरक्षाकर्मीले अंग्रेजीमा अनुवाद गरेकी थिइन् । यो निर्देशन थियो या नियम ? हामीले बुझ्न सकिरहेका थिएनौँ । एकएक जना पालैपालो बन्द कोठामा हुलेर सवाल गरिरहे । उनकै भाषामा लेखेको कागजमा सही गर्न निर्देशन दिए । प्रतिप्रश्नप्रति भने उनीहरू त्यति खुलेनन् । हामीले सप्रमाण जवाफ प्रदान गर्यौंँ । तापनि सबै निरर्थक साबित भए ।
युक्रेन मैले सोचेजस्तो सजिलो रहेनछ । हामीसँग अनलाइनबाटै महँगो शुल्क तिरेर लिएको पर्यटक भिसा थियो । त्यो पनि युक्रेनकै नागरिकको सिफारिसमा मिलेको । तापनि सास्ती खेप्दै थियौँ । देशान्तरमा रमाउँदै गर्दा देश सम्पन्न र शक्तिशाली हुनुपर्ने खड्कोको बेजोड महसुस हुन्छ । हरियो रंगको राहदानी र देशको स्थानको स्तर सपाट देखिन्छ । यस्तै तीता अनुभव सँगालेर होला, कुनै बेला अर्बपति क्लबका नेपाली धनपति विनोद चौधरीले भनेका थिए । व्यक्ति धनी भएर मात्र हुँदैन, राष्ट्र नै सम्पन्न हुनुपर्छ ।
युरोपकै ठूूलोमध्ये एक र सैन्यशक्तिमा गनिने देश युक्रेनको ओदेसा आफैँमा मोल्दोभाको सिमाना नजिक पर्ने रहेछ । यो स्थान ग्रीष्मकालीन पर्यटकीय केन्द्र, बन्दरगाह र परिवहनहरूको संगम हो । यस क्षेत्रमा तेल तथा रासायनिक प्रशोधन सुविधा अनि रसिया र युरोपसँगको रणनीतिक पाइपलाइन भएकाले हुन सक्छ, आवागमनमा कडाइ गरेको । कतिपय कुरा हामीले नबुझेका पनि हुन सक्छौँ । त्यसलाई हामीले स्वीकार गर्नुपर्ने हुन्छ ।
समयले मानिसको आयु छोट्याइरहेको हुन्छ । तर परिस्थितिले त्यही आयु समेत लामो भएको अनुभूति गराउँछ । हामी सोही समय घर्केल्नमा उद्यत छौँ ।
मचानमा बेवारिसे पसारिरहँदा समेत थकित भइने रहेछ । सामान नभएको खाली गोदाम जस्तो भवनको छेउकुना चक्कर मार्छु । काँचको ठूलठूला पर्दादेखि केही त बाहिरको दृश्य देखिन्छ कि भन्ठानेर बाहिर चियाउँछु । भुइँकुहिरो यति बाक्लो छ कि २८ सय मिटरको लामो धावनमार्ग गायब भएको छ । करिब २६ हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको टर्मिनल भवन र १६ वटा चेक इन डेस्कहरू चुपचाप छन् । सन् १९६१ मा बनेको ओदेसा विमानघाट हाम्रो हालत देखेर नतमस्तक छ । पूर्वी युरोपको चेपुवामा परेर होला, डेढ दर्जन कम्पनीले उडान भर्ने ओदेसा विमानघाट समेत मसानघाटमा परिणत भएको देखिन्छ ।
हिजो सबेरै लन्डनदेखिको लामो हवाई यात्राले टर्कीको इस्तानबुल हुँदै यहाँसम्म आइपुग्दा आँखा ओभाइसकेको छ । ज्यान त तैबिसेक तानतुन गरी तङ्ग्राउन सकिन्छ तर लोलाएका आँखालाई कसैगरी तन्काइरहन सकिँदैन । ओदेसाको बाहिरी आवरणलाई ल्यापटपदेखि नजरअन्दाज गर्दागर्दै नयनले कतिखेर बिट मारिसकेछ, पत्तो नै भएन ।
कल्याङबल्याङ र कोलाहलले व्याप्त रुपमा कानमा प्रभाव पार्न पुग्छ । छचल्किँदो नीदले बेस्वादको परीक्षण गरेजस्तै तन्द्राहरूको तार एकाएक चुँडिन थाल्छ । बल्लतल्ल सुस्ताएको शरीरले लामो श्वास फेर्न नपाउँदै रोकिन्छ । उज्यालिने क्रम सुरु भएसँगै यात्रुहरूको चाप बढ्दै गएको देखियो । मध्यरातमा रोइबसेजस्ता लाग्ने रित्ता कुर्सीहरू कतिखेर भरिभराउ भएर गम्किसकेछ । हामी भने तिनका नजरमा मचानको कार्पेटमा अर्कै ग्रहबाट प्रकट भएको जन्तु जसरी मिल्किएका थियौँ । अब भने बाक्ला र खाइलाग्दा हिममनुवाको भीडमा हामी हराइसकेको आभास हुन्थ्यो । उनीहरूको बडेमानको ज्यानमाथि खापिएको भालुको रौँजस्तो कपडा देख्दा टर्मिनल बाहिर चिसोको पराकाष्ठाको संकेत मिल्थ्यो ।
प्रतिकूल वातावरणका बाबजुत गरिएको हाम्रो यात्राले गन्तव्य लिन सकेन । जीवनमा सधैँ सबै आफूले चाहेजस्तो कहाँ हुन्छ र ! यस स्थानका सीमित परिदृश्यहरू मेरो नजरमा बिलकुलै नौला थिए । फरक भूगोलको भिन्न विचारहरूसँगको जम्काभेटले जुराएको संयोग । स्वतन्त्रताको मूल्य सूक्ष्मतामा मात्र निहित हुन्छ । मानिस स्वतन्त्र प्राणी भएकाले कसैको खटनमा बस्दा मानसिक रुपमा विचलन पैदा हुन्छ । जुन स्वाभाविक हो । यसलाई सहज तवरले स्वीकारेर निराकरण गर्नुको विकल्प छैन ।
हाम्रो हकमा चौबीस घन्टेको फिर्ती पुर्जी काटिएको जानकारी दिएर कर्तव्यमा रहेका सुरक्षाकर्मी पन्छिएका छन् । अब हाम्रो भन्नु केही छैन । बुझ्नुपर्ने कुरा हुँदाहुँदै पनि भाषा तगारो बनिदिन्छ । स्थानीय यात्रुहरूसँगको सामीप्यता मात्र देखावटीमा सीमित रह्यो । दिनभर नमुना मानिसहरूको चहलपहललाई नियाल्दै गर्दा समय चक्रको अन्दाज गर्नै सकिएन ।
यो यस्तो विमानघाट रहेछ कि यात्रुहरू कुर्सीमा बसेरै मैमत्त मदिरा पिइरहेका थिए । ढिलो गरी देखासिकीबाट जानकारी मिल्यो । यस्तो स्वतन्त्रता विश्वका विरलै विमानघाटमा मिल्दछ । भएको एउटा मात्र मदिरा पसलमा ग्राहकको चाप थेगिनसक्नु देखिन्थ्यो । पट्यारलाग्दो पर्खाइमा मदिराको सहारा सरल व्यवस्थापन बन्न सक्थ्यो । त्यस्तोमा सामेल नहुने कुरै भएन । तर खरिदका लागि आवश्यक पर्ने प्रमुख हतियार राहदानी हाम्रो साथमा थिएन । जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै मदहोश पिइरहेका एक जना भलाद्मीकहाँ गएर इच्छा जाहेर ग¥यौँ । हाम्रो निसाना सही ठाउँमा लाग्यो । बेसक उनले साथ दिए र हाम्रो चाहनामा तुसारो छाएन । हरेक प्रकारका मदिरा अन्य विमानघाटका हाटबजारको तुलनामा निकै सस्ता देखेर अचम्मित भयौँ । एक लिटर ज्याक डेनियल्सको दाम मात्र २० यूएस डलर । अचानक आत्मसात् गरिरहेको तनाव कम गर्न त्यसले भरमग्दुर सहयोग गर्यो ।
चाहनाको पूर्तिले मानिसलाई स्फूर्ति दिन्छ । चाहे त्यो सियोजत्रो नै किन नहोस् । वर्तमान परिवेशमा भोगेको अन्योललाई चिर्ने ट्वाँट एउटा गतिलो माध्यम बन्यो । चउरजस्तो कार्पेटमा पलेँटी कसेर बस्यौँ । तीनतिर हाम्रै सुटकेसले बारेर मदिरालयको आकार बन्यो । कहिलेकाहीँ बिना योजनामा पनि परिणाम निस्कन्छ, मात्र पथ पक्रनुपर्छ । साथको झोलामा भएका चाउचाउ, चिउरा र दालमोठ गतिलो सितन बन्यो ज्याक डेनियल्सका लागि । अघिसम्म चौतर्फी मातिएका दृश्यहरू अब भने सानो बारमा सरेको छ खुल्लमखुल्ला । मातेकाहरूको कोलाहललाई हाम्रो सल्लाहले प्रतिस्थापन गरिदियो । कसैको रोकतोक छैन ।
मात्र २४ घन्टालाई बिदाइ गर्नु छ । सकसपूर्ण लाग्ने प्रतीक्षाको घडीको अन्तिम अनुच्छेदहरू भने उत्तेजित बन्दै गयो । पिञ्जरामा परेको चराजस्तै निस्कने हतारोमा । बिदाइ भन्ने शब्द आफैँमा विस्तारित छ । भविष्यका रेखाहरू असीमित तवरले कोरिन सक्छन् । जसको स्वप्नचित्र ज्योतिष विद्याले पनि दिन सक्दैन सायद । मध्यरातको शून्यतामा पहिलो दोस्रो र तेस्रो यात्रुका रुपमा युक्रेन एयरको सिट हाम्रो लागि सुरक्षित भयो । एउटा अर्को भए मनमा छाइरह्यो । तिनले हाम्रो हातमा राहदानी दिएनन् । त्यसका लागि अझै हामीले इस्तानबुलसम्मको दुई घन्टे हवाई यात्रा तय गर्नुपर्ने थियो । युक्रेन भन्ने मुलुक हाम्रा लागि हर्ष न बिस्मात बन्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।