१. पहिलो लघुकथा
मुक्त कमैया
डा. पुष्करराज भट्ट
आमसभा सुरु हुन लागेको थियो । मानिसहरू आउने क्रम रोकिएको थिएन । एकैछिनपछि उद्घघोषकले कार्यक्रम सुरु गर्न थाल्यो । कार्यक्रम शुरु गर्दा अपनाउनु पर्ने सबै औपचारिकता पूरा गरेपछि उसले भाषण गर्नका निमित्य जिल्लाका जल्दाबल्दा नेतालाई निम्त्यायो ।
माइक समाउँदै आफ्नो स्वाभाविक अभिनय शैलीमा नेताजीले भाषण गर् थाले, – “हेर्नुहोस्, दाजुभाइ दिदीबैनीहरू ! आजको विज्ञान र प्रविधिको चरम विकास भएको युगमा समेत हाम्रो देशमा दास प्रथा कायम रहेकोमा मेरो हृदय रोइरहेको छ । (जोरले बोल्दै) ….. अब मानिसले मानिसलाई दास बनाउन पाउने छैन । जसले त्यस्तो काम गर्छ, उसैलाई सामाजिक वहिष्कार गर्नुपर्छ । त्यसैले कमैया मुक्तिको अभियानमा यहाँहरूको पनि साथ रहने छ भन्ने बिश्वास लिएको छु ……….।”
मानिसहरूले जोडदार ढङ्गले ताली पिटे तर आमसभामा आएका धेरै मानिसहरूलाई थाहा थिएन, नेताजीले आफ्नो घरमा सात परिवार कमैया राखेका थिए सायद सिध्दान्त र व्यवहारबिचको फरक यही थियो होला ।
#
(डा. पुष्करराज भट्ट नेपाली लघुकथामा पहिलो र एकमात्र बिद्यावारिधि गर्ने व्यक्ति हुन्छहुन्छ । उहाँले नेपाली लघुकथामा आधिकारीक मन्त्व्य राख्दै नेपाली लघुकथालाई नेपाल बाहिर पुर्याउने काम पनि गरिरहनु भएको छ । उहाँ लघुकथा समाजको सदश्य र “आधुनिक नेपाली लघुकथा” फेसबुक पेजको सस्थापक एडमिन पनि हुनुहुन्छ ।
प्रस्तुत लघुकथा “मुक्त कमैया” डा.पुष्करराज भट्टको पहिलो लघुकथा हो, जुन सुदूर पश्चिमाञ्चल साहित्य समाजको मुखपत्र “सुरभि” अंक ६ को विजयादशमी – दिपावली विशेष २०५७ सालमा प्रकाशित भएको थियो ।
डा. पुष्करराज भट्टले आफ्नो पहिलो लघुकथामा नै लघुकथाको संरचनागत चेतलाई बुझेको देखिन्छ । लघुकथामा हल्का व्याकरणीय त्रुटी भए पनि कथाले नेताजीको कथनी र करणीमा भिन्नता हुने दर्साएकोछ ।)
२. स्वर्णकालीन लघुकथा
माथि
गोविन्द गिरी प्रेरणा
“तिमीहरू के चाहन्छौ ?”
“भात ।”
“तिमीहरू के चाहन्छौ ?”
“चाप्रो ।”
“तिमीहरू के चाहन्छौ ?”
“आङ ढाक्ने लुगा ।”
ऊ अट्टाहस गरेर हाँस्यो र भन्यो – “बस् यत्ति हो ? बस् यत्ति ? अरू केही चाहिदैन ?”
सबेले कोरस गाए – “क्यै चाहिदैन ।”
“ल मलाई माथि पुर्याइदेऊ, तिमीहरूले मागेको सबै थोक पाउछौ ।”
उनीहरू बर्याङ्ग बनिदिए र काँधम चढाएर माथि पुर्याइदिए । त्यसपछि ऊ बेपत्ता भयो ।
गाउँ बाढीले विनास पार्यो ।बाढी पहिरोले कोतरेको गाउँमाथि हेलिप्याड देखापर्यो । मान्छेहरूले भने – “ऊ हेलिकोप्टरमा दु:ख हेर्न आएको छ । हेलिकोप्टर गाउँमाथि माथि उढ्यो र केहीबेरमा अन्तर्ध्यान भयो जसरी ऊ माथि पुगेपछि अन्तर्ध्यान भएको थियो ।”
एक दिन । दुई दिन । तीन दिन । चार दिन । उनीहरू गाउँमा भोकै बसे राहतको प्रतिक्षामा । अचानक समुदायमा राहत आइपुगेको समाचार आयो । उनीहरू सदरमुकाम पुगे र राहत बटुले । गाउँ फर्किए । राहर लिएर फर्किंदा फेरि मुसलधारे पानी आयो । बाढी आयो । यो भिषण बाढीले गाउँ नै पुतै बगायो । उनीहरू खोला किनार तर्न नसकेर खोला किनारमै बसे । फेरि भोलिपल्ट हेलिकोप्टर देखियो माथि आकाशमा । केहीबेरमा
ऊनीहरूले सोचे – माथि पुगेपछि तल झन्न मिल्दो रहेनछ ।
#
(लघुकथाकार गोविन्द गिरी प्रेरणाले लघुकथाको स्वर्णयुग मानिने ३० को दशकमा सकृय भएर हालसम्म पनि लघुकथा लेखिरहनु भएको छ । उहाँले “लघुकथा” नामक लघुकथा प्रधान पहिलो पत्रिकाको पनि सम्पादन गर्नु भएको थियो ।
गोविन्द गिरी प्रेरणाका अधिकाम्स लघुकथाहरूले समाजको विकृति र विसंगतिलाई उजागरण गरेको पाइन्छ । प्रस्तुत लघुकथा “माथि” ले पनि राजनीतिभित्रको एक विसंगतिलाई बढो कारुणीक हिसाबले उजिल्याएको छ ।
लघुकथाकार गोविन्द गिरी प्रेरणा साहित्यपोष्टको स्तम्भकार पनि हुनुहुन्छ ।)
३. मलाई मन परेको लघुकथा
दशैँ
त्रिलोचन ढकाल
शकुन्तलाले फोन डायल गरिन् । घन्टीको चक्र सकियो । फोन उठेन । उनी आत्तिनु स्वाभाविक थियो । दोहोर्याएर डायल गरिन् । उठेन । तेस्रोपटकमा बल्ल उठ्यो फोन ।
“किन नि छोरा फोन न उठाएको ?”
“आमा पनि हकानिनु हुन्छ । बाथरूममा थिएँ । निस्कन ढिला भयो ।”
“दशैँ आयो बाबु ! सल्लाह गरौं भनेर फोन गरेकी ।”
“हामी सबै आउछौँ नि आमा । रमाइलो गर्ने हो ।”
“अहिले रमाइलो हुन्छ र छोरा ?”
“खसी काट्ने हो ।”
“काट्ने होइन ।”
“पिङ् खेल्ने हो ।”
“होइन ।”
“देवी दुर्गाको किर्तन गर्ने र पूजा गर्ने हो ।”
“गर्ने हैन छोरा ।”
“राता टीका लगाउने । टाउकोमा जमरा झप्काउने । सेलरोटी खाने । राम रमिता गर्ने नि आमा ।”
“त्यो पनि होइन छोरा ।”
“होइन होइन मात्र भन्नु हुन्छ । के गरेर मनाउने त दशैं आमा ?”
“तिमीहरू काठमाडौंमै बस्ने । म गाउँमै बस्ने । फोनबाटै आशिर्वाद दिने लिने । काठमाडौंको कोरोना लिएर आउने होइन नि यहाँ । गाउँलेले तिमीहरूलाई फर्काइ दिन्छन् काठमाडौँतिरै ।”
“कसरी मनाउने त दशैं आमा ?”
“देश सिकिस्त बिरामी छ । लासै लासको थुप्रोले गर्दा देशमा जुठो परेको छ । घरमा सिकिस्त बिरामी भएको बेलामा र जुठो परेको समयमा जसरी दशैँ मनाइन्थ्यो त्यसरी नै मनाउने हो छोरा ।”
#
(त्रिलोचन ढकाल कुसल राजनितिज्ञ हुनुहुन्छ । उहाँ एक समय नेपालको कृषिमन्त्री भई नेपाली कृषिको नीति निर्माणमा पनि योगदान पुर्याउनु भएको थियो ।
पछिल्लो समय लघुकथामा सकृय भई नेपाली लघुकथा लेखिरहनुभएको त्रिलोचन ढकालले समसामयीक बिषय र परिस्थितिलाई च्याप्पै समात्नु हुन्छ । प्रस्तुत लघुकथा “दशै” मा पनि लघुकथाकार ढकालले वर्तमान समयको ताजा चित्रण उतार्नु भएको छ । कथाले समयको बोध मात्र हैन पाठकलाई कोभिड -१९ को महामारीप्रति सचेत पनि गराएको छ ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

