ऊसित एक्कासि भेट भएको थियो । एक्कासि नै भन्नुपर्छ । ५० वर्षपछि । यसलाई के भन्नू ?
५० वर्षअघि हामी कतिपटक एउटै थालमा खान्थ्याँै । स्कुलमा एउटै बेन्चमा बस्थ्यौँ । त्यसरी क्लास चलिरहँदा पनि खासखुस गर्न सजिलो हुन्थ्यो । कहिलेकाहीँ हाँसेकोमा मास्टरले कान बेस्सरी घुमाइदिन्थ्यो, घडीमा दम दिएजस्तै । डिजिटल घडीको जमाना आएको थिएन । ऊ मभन्दा पढ्नमा तीक्ष्ण थियो । तैपनि मसित पछिल्लो बेन्चमा बस्थ्यो । म जतिसक्यो पछिल्तिर बस्न रुचाउँथेँ, रहर होइन, बाध्यता भनेजस्तै । पछिल्तिर बस्दा मास्टरको सामना गर्नु नपर्ला भन्ने भ्रमले ।

डा. ध्रुबचन्द्र गौतम
तीन–चार जना थियौँ, दिनरात साथ रहने हाम्रो प्रयत्न रहन्थ्यो । तर, अरूका कुरा पछि । अहिले यसैको कुरा । त्यसै पनि ती अरूसित त अझ भेट पनि भएको छैन । एउटासँग त अब हुन पनि सक्ने स्थिति छैन । ५० वर्षमा भेटिएको यही पहिलो व्यक्ति थियो । साथी–साथी पनि के भन्नु, कुनै फरक नै नलागेपछि ? यद्यपि फरक पर्याप्त थियो ।
मेरो तुलनामा ऊ बढी सम्पन्न थियो । निकै नै सम्पन्न । बाबु उही युगमा उद्योगपति कहलाउँथ्यो । नगरको सारा अर्थतन्त्रतर्फ आफ्नो इच्छाअनुसार चलाउने तागत थियो ऊसित भन्थे ।
उसका दुई दाजुहरूको नाउँ राम र लक्ष्मण थियो भने प्याराडाइम अनुसार पनि उसको नाउँ भरत राखिनु स्वाभाविक थियो । यति भनेपछि कान्छो भाइको नाउँ भन्नुपर्दैन । “खाली ठाउँ” आफैँ भर्न सकिन्छ ।
तर, यो कुरा के हो, त्यो हामीलाई थाहा थिएन । वास्ता त झन् के हुनु ? हामी त पिसाब फेर्न पनि सँगसँगै जान्थ्यौँ । खाकीको हाफकट्टुको एकातिरको तिघ्राको पाटो मास्तिर सारेर एकअर्काको हेर्दै, जुन उमेरको हदका कारण रबरले बनाएको कान्छी औलोझैँ प्रायः लत्रिरहेको हुन्थ्यो । त्यस्तो औँलालाई हातले उचालेर कति परसम्म धार पुग्छ भन्ने प्रतियोगिता गथ्र्यौं । हातले उचालेन भने तिघ्रा भिज्थ्यो ।
तिनताक खाकीको हाफप्यान्ट लगाउने चलन पर्याप्त थियो । खुब बढी भए, पाइजामा लगाउन पाइन्थ्यो, जसलाई हामी पतलुन भन्थ्यौँ । हाफप्यान्टमा तीनवटा टाँक हुन्थ्यो । काइदाले टाँक फुकाल्नुपर्ने हो तर झन्झट र अल्छीका कारण त्यसरी माथि साथ्र्यौं ।
भरत नाउँ थियो । भरत नाउँ हुनामा कारण छ । तिनीहरू चार दाजुभाइ थिए । यो साहिँलो थियो । उसका दुई दाजुहरूको नाउँ राम र लक्ष्मण थियो भने प्याराडाइम अनुसार पनि उसको नाउँ भरत राखिनु स्वाभाविक थियो । यति भनेपछि कान्छो भाइको नाउँ भन्नुपर्दैन । “खाली ठाउँ” आफैँ भर्न सकिन्छ ।
दुवै कमिज, कट्टु वा पाइजामा लगाउँ थ्यौँ । तर, उसको लुगा धोबीले धोएर इस्त्री लगाएर पट्याएको हुन्थ्यो र चाङ हुन्थ्यो, जसबाट ऊ छानेर लगाउँथ्यो । सुतीकै भए पनि मेरो लुगा र उसको लुगामा ठाडै अन्तर देखिन्थ्यो । ऊ खाकीको कट्टु र अर्को एउटा सेतो जीनको कट्टु पनि लगाउँथ्यो । खाकीलाई पनि खाकी जीन नै भनिन्थ्यो । तर, त्यो जीन अलिक टल्किने जीन हुन्थ्यो । मेरो एकदम दीनहीन जीनको कट्टु हुन्थ्यो । खजमजिएको । एउटै धेरै दिन धोइएकाले पेटीमा अर्थात् कट्टुको कम्मरको भागमा सेता जुम्राहरू प्रकट भइरहन्थे ।
पतलुन र कमिज, नैनसुत, मर्सिराइज वा सेन्फोराइज कम्पनी हो कि कपडाको प्रकार हो, त्यस्तो हुन्थ्यो । कुर्ता लगायो भने मलमलको लगाउँथ्यो । मेरो कुर्ता कुनै खस्रो र बाक्लो कपडाको हुन्थ्यो । बाक्लो कपडा कुर्ताको बढी सुरक्षार्थ किनिन्थ्यो । बलियो कुर्ता जसलाई म गर्मीमा पनि पसिना सहित धारण गर्दथेँ ।
गर्मीका दिनमा ऊ पाउडर घाँटीभरि लगाउँथ्यो । त्यति सानो उमेरमा पनि ऊ विभिन्न किसिमका रुमाल लिएर हिँड्थ्यो । रुमाल छुट्यो भने ऊ फर्केर गएर लिएर आउँथ्यो अनि हिँड्थ्यो । उसको शरीरबाट एउटा सुगन्ध आउँथ्यो, जुन लुगामा अत्तरहरू छर्कनाले आएको हुन्थ्यो ।
सारांश के भने उसको लुगाले उसलाई चिनाउँथ्यो, मेरो लुगाले मलाई । कसैलाई ’म को हुँ ?’ भनेर परिचय दिनै नपर्ने गरी ।
यति मात्र । होइन भने उसको र मेरो दुनियाँ एउटै थियो अथवा एउटै दुनियाँमा जुन विभेदकारी पनि थियो । हामीले आफ्नो अलग एउटा दुनियाँ बनाएका थियाँै । उसको अत्तरको बास्नाको आनन्द लिएर म आफ्नो काम चलाउँथेँ । उसको मलमलको कुर्ता हातले मुसारेर म एकछिनलाई आफ्नो कुर्ता बिर्सिन सक्थँे । भोक लाग्थ्यो, मैले अरू केही गर्नुपर्दैन थियो प्रतीक्षाबाहेक । भोक उसलाई पनि लाग्थ्यो । प्रतीक्षा यही, उसलाई कुन बेला लाग्छ । जति एक आत्मा दुई शरीर भए पनि मलाई भोक लाग्दा उसलाई भोक लागिहाल्नु अनिवार्य थियो । भोक मेरा लागि अनिवार्य थिएन । उसका लागि ऐच्छिक मात्र । यस्तो किन थियो त्यो भनिरहनु पर्ला र !
साँच्चि भन्ने हो भने भरत अलिक अरुचिकै रोगी थियो । त्यसैले कहिलेकाहीँ उसलाई निकै बेरपछि मात्र भोक लागेजस्तो हुन्थ्यो । त्यतिन्जेल मैले पर्खिरहनुपथ्र्याे । मेरो भोक त के थियो पर्यटकजस्तै जुनबेला पनि आइदिन सक्थ्यो । म वास्तवमा घरको भोकलाई बिहानदेखि चँुडेर एक टुक्रा साथमा लिएर हिँडेको हुन्थेँ । यस्तो मान्छेलाई भोक भनेको लाग्ने, छाड्ने गर्ने कुरो होइन । भरतलाई हो ।
त त्यसकारण भरतको भोकको प्रतीक्षा गरिरहन्थेँ । कहिले प्रकट होला र मेरो तृप्तिको नाकाबन्दी खुल्ला । त्यसपछि त ऊ र म कुनै पसल वा खोम्चावालाकहाँ गएर मन लागेजति खान सक्थ्याँै । ऊसित पैसा छैन भने प्रत्येक मिठाइ पसल वा कोही पनि उसलाई उत्तिकै आदरका साथ उधारो दिन्थे । मेरो मामिलामा त्यस्तो सम्भव थिएन, केहीपटक उधारो माग्दा अश्लील गाली गरेर भगाइदिएका थिए ।
“भाग साले उधारो खाने मुख यही हो ?” त्यसपछि मैले उधारो माग्न छाडेको थिएँ ।
भरतको घरमा रेडियो थियो । उसको आफ्नै सुत्ने कोठामा । तिनताक कुनैकुनै घरमा रेडियो हुन्थ्यो, ब्याट्रीले चल्ने । म अरू दिन नभए पनि प्रत्येक बुधबार राती आठ बजे उसको घरमा जान्थेँ । बुधबार आठ बजे हामीलाई मनपर्ने कार्यक्रम आउँथ्यो, गीतको कार्यक्रम । जाडो याममा चकमन्न वातावरणमा एउटा दोसल्ला ओढेर म पुग्दथेँ । म गएपछि ऊ खुसी पनि हुन्थ्यो । धेरै समयसम्म यस्तो चलिरह्यो । यसरी म उसको रेडियोले आफ्नो मनोरन्जन गरिरहन्थँे ।
ऊ निकै राम्रा कविता लेख्थ्यो र सुन्दर चित्र बनाउँथ्यो । त्यस उमेरमा पनि ठूलठूला मानिस उसको कविता र पेन्टिङ्को प्रशंसा गर्थे । अचम्म मान्थे, यस उमेरमा यस्तो प्रतिभा ? दैवी वरदानले मात्र सम्भव हुनसक्छ ।
गीत त्यत्तिकै मधुर गाउँथ्यो । यति मधुर, शिक्षकसमेत क्लास रोकेर उसलाई गीत गाउने फर्माइस गर्थे । नगरबासीहरूको एकमत थियो, सेठको घरमा सरस्वतीको यत्रो कृपा ? लक्ष्मी र सरस्वती एक ठाउँमा बस्दैनन् भन्थे, सब पुराण झूटा ठहरिए यहाँ । सबैलाई पूर्ण विश्वास थियो, भविष्यमा यो महान् बन्छ । सम्पन्न त छँदै थियो ।
यता ममा त्यस्तो केहीको थोपो थिएन । म पढ्नमा पनि ठीक थिइनँ, सम्पन्नता त स्वप्नमा समेत देखिएन । गाउनु, लेख्नुजस्ता कुराबाट म धेरै टाढा थिएँ ।
साल पनि बताइदिन्छु । २०१५ सालमा हामी दुवैले एसएलसी पास ग¥याँै । मैले जसोतसो गरेर पासको खुड्किलो टेकेको थिएँ । ऊ बोर्ड आठ भएको थियो । ०१५ को रजिस्टर पल्टायो भने उसको नाउँ देखिनेछ ।
एसएलसी दिएर रिजल्ट ननिस्कुन्जेलको समय सबभन्दा आनन्ददायी समय । चङ्गाजस्तै उडिरहन्थ्यो मन । हामी खुब घुम्थ्याँै, पौडी खेल्थ्याँै, चरा मार्न जान्थ्याँै, गीतहरू सुन्थ्यौँ, आँप वा अन्य रूखको हाँगामा बसेर दिनभरि गफ गरिरहन्थ्यौँ । उसले गीत गायो भने त्यो सुन्यो । कविता पाठ गयो भने त्यो पनि सुन्यो ।
एक दिन उसले मलाई भनेको थियो, म भविष्यमा प्रमाणित गरिदिन चाहन्छु धनी मान्छे क्रूर र शोषक मात्र हुँदैन, मानवतावादी र संवेदनशील पनि हुनसक्छ ।
उसको स्वभावले पनि उसको कुराको समर्थन गरिरहेको थियो । साँच्चि भन्ने हो भने त्यही अन्तिम वाक्य थियो उसले मसित गम्भीरतापूर्वक बोलेको ।
त्यसपछि त्यस्तो मौका आएन । ऊ मुम्बई पढ्न भनेर गएको थियो । म काठमाडौँमा नोकरी खोज्दै पढ्न आएको थिएँ ।
५० वर्षअघि ।
त्यसपछि ऊसित कहिल्यै भेट भएन ।
म काठमाडौँबाट हाम्रो सहरमा कहिलेकाहीँ जान्थँे पनि तर भेटिएन । अचम्म के भने, मानिस उसको विषयमा बताउन पनि सकिरहेका थिएनन् । त्यसको कारण छ ।
त्यस बखतसम्म भरतको सारा परिवार काठमाडौँ सरिसकेको थियो । त्यसैले गर्दा नगरबासीहरू भरतको बारे बताउन असमर्थ थिएँ ।
त्यसछि मैले सोध्न पनि छाडिदिएको थिएँ । परिस्थितिसँग युद्ध गर्दै म बितिरहेको थिएँ ।
कहिलेकाहीँ उसको घरमा राती रेडियो सुन्न गएको, उसले गीत गाएको चित्र वा कविता कोरेको सम्झना बिजुली चम्केजस्तै क्षणिक रूपमा आउँथ्यो । त्योभन्दा बढी होइन । वास्तवमा भन्ने हो भने, परिस्थितिले यति कठोर बनाइदिएको थियो, बाँकी रहेको संवेदना परिवारका लागि जोगाएर राख्नु जरुरी भइसकेको थियो । ५० वर्षअगाडिको उसप्रतिको संवेदना सुरक्षित रहनु असम्भव नै थियो, यस्तो चट्टानजस्तो वास्तविकतामाथि पछारिएको जीवनमा ।
उही सहरमा जहाँ हामी ५० वर्षअघिको समयमा दगुरेका थियौँ, प्रायः तनावरहित भएर, आज भेट्यौँ । ५० वर्षमा देशमा धेरै कुरा आउँदैजाँदै गरे, हाम्रा कति साथी मरिसकेका थिए । अज्ञात कारणवश समयले हामीलाई सास फेर्ने अनुमति दिइरहेको थियो ।
तर, उसलाई भेटेपछि मलाई झन् तीक्ष्ण रूपमा थाहा भयो हामी कति वृद्ध भएका रहेछौँ । ऊ एउटा मामुली छाता ओढेर पसिनाले निथु्रक्क हुँदै गर्मीको प्रचण्ड सूर्यमुन्तिर रन्थनिएर हिँडिरहेको थियो ।
यसो हेरेको त ऊ र म आमुन्नेसामुन्ने उभिएका रहेछौँ । ऐनाजस्तै । एकअर्काको ऐना । ऐनामा देखियो ऊ । अत्यन्त तनावमा थियो । उसको अनुहार चाउरी परेको छ । कपाल फुलेर करुणा व्यक्त गरिरहेको थियो ।
“कहिले आइस् ?” ५० वर्षपछिको आवाज ।
“दुई दिन भयो,” यो ५० वर्षपारिको आवाज थिएन ।
“म पनि त अचेल काठमान्डू नै बस्छु । अहिले यहाँ एउटा घर बनाऊँ भनेर आएको । साला इँटावाला, पहिले थोरै भनेको थियो, अहिले दुई सय बढाइरहेको छ । त्यसै कहाँबाट आएको । यो त सरासर अन्याय हो । अब सिमेन्ट र छडवालाकहाँ जानु छ, त्यहाँ के भन्ने हो । मान्छे साफ बिग्रिसके यस सहरमा ।”
“तेरो पहिलेको घर थियो नि !” ५० वर्षअघिको आवाज
“अब छैन ।”
“को बस्छ ?”
“जो बसे पनि त्यो मेरो कब्जामा छैन । दाइभाइहरूले लिए ।”
लागिरहेको थियो, उसको जीवनमा इँट, सिमेन्ट, छड, बालुवा र गिट्टीले विशाल घर निर्मित गरिसकेका छन् । त्यसकारण ऊ अरू केही बोल्न नसक्ने भएको छ ।
“तेरो त त्यत्रो सम्पत्ति थियो नि ? अंशबण्डा भए पनि पर्याप्त हुने ।”
“केही पनि छैन । काठमाडौँमा छोराहरूले बनाएको घरमा बस्छु । यहाँ एक टुक्रा जग्गा मात्र छ । त्यहीँ आफ्नो घर बनाउन आएको । अहिले मेरो नाउँमा घर छैन ।“
“तँ त एकदम संवेदनशील थिइस् ।”
“सब इँटा, सिमेन्ट र छडले खाइदिए ।”
“सब धनी शोषक हुँदैनन् भन्ने उदाहरण बन्छु भन्थिस् ।”
“बन्थेँ । तर, अहिले म आफैँ धनहीन जीवन बिताइरहेको छु । मसित सम्पन्न बन्ने हैसियत छैन । त्यो हैसियत हराएपछि शोषक नबनेर कसरी देखाउने ?”
“के भयो ?”
उसले भन्यो, उसलाई आफन्तहरूले ठगीदिए । भएको धन छोराछोरीलाई विदेश पठाउन र बिहे गर्नमा भयो ।
“उपलब्धि भन्छस् भने यही हो । तर, कुनै कुनै उपलब्धिले तन्नम पनि बनाउँदोरहेछ ।”
“तँ त कविताहरू लेख्थिस्, गीत गाउँथिस् ?”
ऊ हाँस्यो मात्र । भन्यो, “छुटिसक्यो ।”
“पुरानो केही बाँकी छ ?” मैले सोधँे ।
“पुरानो ? म बाँकी छु, तँ बाँकी छस्, तिनीहरू कुनै बाँकी छैनन् । तीभन्दा जरुरी काम गरेर बसेँ । समय खेर फालिनँ ।”
राती ऊ र म एउटा भट्टीमा पस्यौँ । उसले धेरै खायो ।
मैले हिँड्ने बेलामा उसलाई ऊर्जा दिँदै भने, “केही छैन यार ! म बाँचेकै छु । तँ बाँचेकै छस्, केही त होला ? बूढो भएर के भयो त !”
ऊ एकैछिन उदास भयो । त्यसपछि एकदम रहस्यमय स्वरमा, मसिनो स्वरमा, कसैले नसुनोस् भन्ने स्वरमा भन्यो, “तँलाई एउटा कुरा बताऊ ? म बाँचेको छैन ।“
“यो को त ?” प्रश्नमा अति विस्मय ।
“यो !” उसले त्यसैगरी भन्यो, “म बाँचेको होइन, मेरो नाउँमा कोही अरू बाँचिरहेको छ ।”
मात लागेको लर्बरमा त्यति बोल्यो र लर्बराउँदै ऊ बाहिर निस्केर गयो । लाग्यो ऊ ५० वर्षपारिको समृद्धिमा जान हिँड्दैछ, जब ऊ बाँचेको थियो । भरत बाबु भएर ।
अब त उसको नाउँ पनि फेरिइसकेको छ,
अन्तिम कुरा यही बताएर हिँडेको थियो ।
यो भनेको के हो ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

