धर्मेन्द्र नेम्वाङ

कथामा प्रथम व्यक्तिवाचक भए पनि तृतीय व्यक्तिवाचक भए पनि केही असम्बद्ध हरफहरु आएका हुन्छन् । कसैसँग असम्बन्धित । त्यो वाक्यको वक्ता को थियो नजानिने गरी अथवा कसलाई सो वाक्य भनिएको हो, नजानिने गरी । पात्र परिचयभन्दा बाहिरबाट ।

जस्तै, एकदिन लेप्मुहाङको जीवनमा दुःखद् घटना घट्यो । उसले वास्तवमा सोचेजस्तो जीवन बिताउन पाएन । चिमे खोलाका कागहरुले उसलाई साह्रै दुःख दिए ।

जस्तै हाँसहरु हराउने सिलसिला जारी रह्यो । टाँडका जात्राहरु जारी रहे । हाँसनेताहरुको भाषण चलिरह्यो । मानव र हाँसबीचको प्रेम बारेको छलफल चलिरह्यो । लहडे हाँसले सबैलाई देख्थ्यो तर बोल्न जान्दैन थियो (। हंस.२११) ।

जस्तै, शरद ऋतुको एक बिहानीको कुरा हो । दशैँ आउनलाई कति पनि टाढा थिएन (। शिरिषको फूल ६३ ।)

जस्तै, कट्टेल सर स्वास्नीसित रोमान्स गर्दैछ । धेरै समयपछि स्वास्नी तीन हप्ता बिरामी परेर तङ्ग्रेकी थिई र यस्तो मौका उसलाई उम्कन दिन मन थिएन (। कट्टेल सरको चोटपटक.१)

पात्रहरुले खेल्नुपर्ने, पात्रहरुले संसार निर्माण गर्नुपर्ने, पात्रहरु स्वायत्त हुनुपर्ने विशेष गरी कथा, उपन्यास, नाटक विधामा कसरी पात्रमाथि सिधा हस्तक्षेपको लाइनहरु आउँछन्, यी वाक्यहरु कहाँबाट आउँछन् ? को हो यो बोल्ने ? अज्ञात छ अहिलेसम्म । यी हरफहरुको जिम्मा कसले लिन सक्छ ?

शायद लेखक मैले ‘रातो बाघ’मा यस्तै परिस्थितिको जिम्मा लिन प्रयोग गरेको खेलक । शायद निर्देशक । ईश्वर । आदि को हो जसले जसले क्रेता(पात्र)माथि कैफियत चलाइरहन्छ । के यो प्रावधान हो ? यो पराख्यानको अदृष्य प्रयोग हो कि !
यसरी त संसारको संरचनामा केही अदृष्य शक्ति छ भन्ने बुझ्नु पर्छ । जसले ती हरफहरु जिम्मा लिनुपर्छ । के पात्रहरु चलाउने अरु कोही छ ? के तिनीहरु भनेको भगवान्, तागेरानिङवाफुमाङ, लेखक, निर्देशक हो ? यदि यसो हो पाठमा उनीहरुको दादागिरीलाई शिरोपर गरेर लेखकको मृत्यु भनेको हो ? पाठमा उनीहरुको अतिरिक्त सुविधालाई अथवा विशेषाधिकारलाई ईश्वर, तागेरानिङवाफुमाङको मृत्यु भनेको हो ? पाठसम्म त जबरजस्त आयौ आयौ, अब त्यसबाट निस्केर प्रत्यक्ष समाजमा भने देखिन मिल्दैन भनेको हो ?

तेसैर यस्तो कुराको जिम्मा लिन ‘रातो बाघ’मा खेलकको स्थापना गरे । भैपरि आउँदा मलाई यहाँ पनि अप्ठेरो परेकोले केही त सोझै उपस्थिति गराउनु पर्ने भयो । जस्तो यो पाठमा के उपस्थित गराउँदा ठीक होला ? मैले सम्झेँ, काग । यो कथामा अतिरिक्त केही उल्लेख भएर थपेर विशेषाधिकार प्रयोग गरेर आयो भने बुझ्नु कि काग बोल्यो । काग भनेको काग चरा । कालो । चरापाल राष्ट्रमा निकै कागहरु कराइरहन्छ । लेप्मुहाङको सहयोगी काग । जसले आफ्नो नाम काडिरहन्छ । काग काग भनेर विज्ञापन गरिरहन्छ । मान्छेको कान चुँडाएर लान खोजिरहन्छ । उनै काग ।

लेप्मुहाङलाई त कागले खेदिरहन्छ । तेसैर उसले च्वाइस गर्दा काग नै च्वाइस गर्छ । क्वारेन्टिनमा बस्ता होस् या अरुतिर उसलाई कागले नछोडेको । यसो गर्दा सम्झौता गर्न पनि सजिलो । भोलि मुद्दा नचल्नेगरि ।

कागले उसलाई निगरानीमा राखेझैँ छ । दुई चार दिनमा भए पनि कान उखेल्न आइपुग्छ । सचेत गराउन या सूचना दिन । घर धुरीमा आएर कराइवरी लाग्छ, देशदेशावर डुल्न ।

लेप्मुहाङलाई लाग्छ, सबै कागको काम नै उसलाई घेर्नु हो या सुरक्षा दिनु हो । या रिस पोखाएको हो कि ?

तेसो गर्दा, यो कथामा काग सर्वेसर्वा हुने भएकाले कागको मृत्यु भएको जानकारी शीर्षकमा दिएको हो । यो पाठले कागको मृत्यु गराउँछ । कागको मृत्युपछि के त? कागको मृत्युपछि यो पाठ पाठकहरुको हातमा जान्छ । कागको मृत्युपछि कागले काकाग भनेर आफ्नो परिचय, पहिचान दिइरहन पर्दैन । बताइरहनु, पक्रिरहनु पर्दैन । अरुले नै कागको अघिकारको रक्षा गरिदिने छन् । अस्तित्व स्वीकारी दिनेछन् । निक्खुर कालो हुनुको घमण्ड पनि कागले गर्ने छैन । कालो भएर बलियो बांगो भएकाले सबैलाई ठुङ्दै हिँड्ने छुच्चापन शासकीय अहमता पनि छोडने छ ।

अरु चराहरुलाई मान्छेको घरधुरी कब्जा गरेको देखाएर मान्छेसँग नजिक भएको देखाएर, शासन गर्ने बाटो पनि छोड्ने छ । मान्छेलाई झोस पोल गरेर या चाकडी गरेर जस्तै रुपी, परेवा, चाँचर, जुरेली, टयौडा, ढुकुर आदिलाई लखेटने, ठुङने, दुःख दिने, सताउनेजस्ता कामहरुको पनि अन्त्य हुनेछ । सेता चराहरुलाई खेदो लगाउने काम पनि छोडनेछ । यसरी कालोका कागको एकाधिकार पनि तोडिन जरुरी छ । सर्प, मुसा, भ्यागुतालाई दुःख दिन पनि छोडने छ।

हेर त संसारको पृष्ठभूमिमा साथीहरु कसरी आकाशमा उडिरहेको छ । काग भनेको कागै हो । मलाई यसमा गर्व छ । ध्वाँसे कागले घरधुरीबाट कराएर भन्दै बाँकटे हान्यो । बाँकटे हानेको देख्ने गोगुनको बोटले भन्यो, काग सारै झगडालु जाति । अनि सारै कमिनल । आफ्नो जातिलाई पर्यो भने त दश गाउँको भेला भएर खोलाधुर लडछ । अरु जातिलाई देखी सहँदैन । यो जाति रुपीजस्तो आफैँ लड्डी पर्दैन । आफ्नो जातिलाई माया गर्छ ।

दुदिलोको बोटले भन्यो, ‘यो त मान्छेको रक्षक पो त घरधुरीतिर गएर बस्छ । घरको रक्षा गरिदिन्छ । अलि केही भयो भने मान्छेलाई थाहा दिन्छ । धेरै माथि आकाशमा पनि जाँदैन । खाली मान्छेकै वरिपरि चियो चर्चा गरिहिँड्छ ।

सौरको बोटले भन्यो, ‘सारै चलाख जाति । नकराई, नहेरी, नघुमी, नउफ्री बस्नै नसक्ने जाति ।

मैले घाँटि तन्काएर भनेँ, ‘भनेको रुपान्तरण जरुरी छ । अब आकाश कसैको कब्जामा हुने छैन । न त धर्तीबाट देशले हडपेको लागू हुनेछ । न त आकाश कब्जा गरेको स्वाङ गर्ने कागको । कसैको दया चल्नेवाला छैन ।’

अब कागले अरु जातिहरुको लागि लड्ने दिन आउँछ । उसले झगडा, युद्ध गरिबसेर मात्रै हुँदैन । सारै रिसाहा, असहिष्णु भएर मात्रै हुँदैन । मान्छेलाई चाकडी गरेर अरुलाई धपाउने काम छोडनु पर्छ । शारीरिक रुपमा बलियो भएँ भन्दैमा त्यो जन्मजात सुविधा या संरचनाको लाभांश लिएर उसले निर्धाहरुलाई हेप्न पाउने छैन । ऊ जन्मजात बलियो भएकाले निरीहहरुको पक्षमा पनि काम गर्नुपर्ने हुन्छ । ऊ जन्मजात कालो भएकाले यसको फाइदा उसले धेरै उठाउन पाइरहने छैन ताकि सेतोहरुको पक्षमा पनि उसले काम गर्नुपर्छ । उसले आफ्नो लागि मात्रै हैन, अरुकै लागि उभिनुपर्ने हुन्छ । यस्तो विधान बन्दैछ काग सम्बन्धमा । यसका लागि कागले यो कथाको सूत्रधारमा सहमति दिनुपर्छ । सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्नेछ ।

लेप्मुहाङ र कागबीच यस्तो सम्झौता हुने भयो। यसका लागि उनले सक्तो मिहिनेत गरिरहेको छ । फकाइरहेको छ । कागहरु हात पार्ने को हो त लेप्मुहाङ ? अघिल्लो पृष्ठ या मुन्धुम नपढनेहरुका लागि लेप्मुहाङ मुन्धुमका एक धर्माति पुरुष हुन् । जसले जलप्रलयबाट मानव र प्राणी जगतलाई जोगाएको थियो । हालैको पुनसंरचनामा लेप्मुहाङ यस कथाको नायक । इन्द्रेणी गाउँ निर्माणकर्ता ।

उनका अनुसार कल्लौरी काग र उनको टिम बन्दै मानिरहेको छैन । कल्लौरी काग भने अलि अउलतिर बस्ता रैछ । कागमा पनि अलि सानो जिउडालको हुदा रैछ । अलि बढी नै रिसाहा । उसले एक जमात स्कुलिङ गरेको रहेछ । उनको कुरो चाहिँ मान्छे केही हैन, फटाहा हो भन्छ रे ! त्यो लेप्मुहाङ त झन् फटाहा हो, मैले तेसलाई छोडदिन भन्छ रे ! उनले भन्यो, ‘खै, कागे भाषा उनले नै बुझ्ने हो !’

उसो त लेप्मुहाङले वार्तामा बसौँ भनेर चिमे खोलादेखि माथिको वनमा स्थान मिलाएको छ। ढुङ्गेको ठूलो ढुङ्गा, जहाँ कुर्सी टेबल राखेर पनि उभ्रिने । वरिपरि रुखका बोटहरु । पहिला मानव जातिको तर्फबाट लेप्मुहाङले सही गर्ने अनि पालैपालौ कागहरु ध्वाँसे, कल्लौरी, निक्खुरी, पखेटे, कण्ठे, कचिंगले लगायतले सही गर्ने कार्यक्रम पनि क्यान्सिल भयो रे ! दुःख मान्दै थियो रे लेप्मुहाङ । उसले जे जति शर्त मान्न तयार छु यो कथालाई बढाइदेऊ भन्दा पनि मानेर रे ! कल्लौरी त वार्ता स्थलमै आएन रे ! किन चित्त दुखाएको रैछ, बुझिदिनू भनेर लगाएको छ रे !

लेप्मुहाङ दुःखी मोडमा पुगेको छ रे ! कथा अगाडि नबढने हो कि ? जीवन गन्तव्यमा नपुग्ने हो कि ? जीवन यसै खेरो जाने हो कि ? कागले आफ्नो रोल पूरा नगरिदिने हो कि भन्ने पीर । त्यसकारण उसले ध्वाँसेलाई फकाएको छ रे !

एकप्रकारले ध्वाँसे काग मख्ख । पुस्तकको नाउँ नै ‘ध्वाँसे काग’ रहने भएकोले । उसको त नाम चलिहाल्ने भयो । फोटो पनि आवरणमै आउने भएको छ । हामी पात्र हैन, क्रेता हौँ नि त, यसरी फकाएको छ रे लेप्मुहाङले । आवरण पनि पात्रलाई देखाएर मात्रै फाइनल हुनुपर्छ भन्ने सम्झौता । अनि त हो क्रेता, भनेको ।

कथाको विशेषाधिकारमा रमाएको ध्वाँसे काग नक्कले बनेर गर्मीतिर लाग्यो । आकाशभरि ऊ गुनगुनाउदै गीतः

कल्लौरी हो कल्लौरी मेरो माया तिमीलाई
एक तास सेल्फी खिचौँ न । काब्राको बोटमा उभौँ न ।
को गएको छ पर्देश खोजेर उनको घरमा गुँड लगाऔँ न
कल्लौरी हौ कल्लौरी । मेरो माया तिमीलाई
काग त हामी सारै जाति । खालि आफ्नो लागि लडने जाति
कालै हामी कति राम्रो । बलियो शरीर ढुँड दह्रो
ए कल्लौरी हौ कल्लौरी । मेरो काली । काली मोरी ।
…………
आकाशमा फटफटाइरहेको ध्वाँसेलाई कल्लौरीले कदमको रुखबाट हेरिरहेको थियो । आजभोलि या ध्वाँसे बेसी मान्छेको चाकरीमा लागेको छ भनेर कल्लौरीले बाल दिन छोडेको थियो । उसको नाउँमा गीतै बनाएर फकाउन फुर्के भएर आउँदा पनि रेस्पोन्स गरेको थिएन । यतिबेला सम्ममा त दुई फन्का घुमिसक्नु पर्ने हो तर उनको मन कुँडिएको निको भएकै थिएन । उनलाई लागेको थियो, यो ध्वाँसेले कहाँ लगेर फसाउँछ ! मान्छेको खजाना मात्रै बनाउँछ । तर उनलाई ध्वाँसेले नै बताएको थियो कि आजभोलि मान्छेले चरा मार्यो भने ज्यान मुद्दा लागेर जेल बस्नु पर्छ रे ! कल्लौरीले त्यसबेला मनमनै सोचेको थियो, हे, थेबा किन एति ढिलो त ?

आकाशमा कावा खाँदै निक्खुरीले बतायो कल्लौरी त पर कटहरको बोटमा मुर्मुरिएर बसिरहेको छ । अनि उनले भन्यो, त्यहीँ गएर चुकुल लगाइदिनू । निक्खुरी यति सुन्तला भ्यालितिर लाग्यो, ध्वाँसे र कल्लौरी भएर षडयन्त्र गर्दैछन् है भन्ने पोल लगाउन । ध्वाँसेले कल्लौरीको नाउँमा गीतै बनाएर गाएदेखि अति रिसले मुर्मुरिएको कल्लौरी । उसको पोलले लेप्मुहाङ कागसँगको तर्सेको छ ।

ध्वाँसे काग कदमको टुप्पामा गएर बस्यो । कल्लौरी अनास्था देखाउन अर्को रुखमा उडयो । सँगसँगै ध्वाँसे पनि त्यहीँ पुग्यो ।

ध्वाँसे काग- ऊ त मान्छे मात्रै हैन महात्मा हो ।

कल्लौरी- त्यो त मान्छे पनि हैन, सर्प हो ।

ध्वाँसे- ऊ त सम्पूर्ण कागहरुको मुक्तिदाता हो ।
कल्लौरी- त्यो त कागहरुको हत्यारा हो ।

ध्वाँसे- कसरी तेसो भन्न सक्छौ ?

कल्लौरी- तेसले मेरो बच्चा खाएको छ । त्यो त काग दुस्मन । म तेसको विरुद्ध षडयन्त्र गर्दैछु । तेसलाई मैले निगरानीमा राखेको छु । अपहरण गरेर मेरा लालाबालाहरु लाँदै गर्दा बाबा खोसाउन जाँदा उसलाई पनि गेटिसले हानेर मारेर खायो । तेसले मलाई पनि विधुवा बनायो । अहिले म एकल महिला संघ खोलेर बस्न बाध्य छु । त्यो सूरो छ, होस गर्नु । तेसलाई म जहाँ गए पनि चिन्छु । तेसको हुलिया मैले खिचेर राखेको छु ।

कथा सुनेर ध्वाँसे भावुक बन्यो । उसको मनमा पनि काग जातिकाे श्रेष्ठताको ग्रन्थि उत्पन्न भयो ।

कल्लौरीले भन्यो, ‘त्यो जोगी संन्यासी हैन । हत्यारा, अपहरणकारी, अपराधी हो । तेसलाई मैले सारा चिबे, गौँथली, रुपीसमेत लगाएर पानी खेदो गरेको छु। स्कुलमा, बाटामा जहाँ पनि आक्रमण गरेको छु। एक चोटि त त्यो सर्पसँगै बोटबाटै खस्यो । तेति हुँदा पनि चेतेन ।’

ध्वाँसेले अलि सानो स्वरमा भन्यो, ‘तर उसले त सारा मानव जगत र प्राणी जगतको लागि काम गरिरहेको छ नि ! ऊ त राष्ट्रिय पंक्षी डाँफेको विरुद्धमा छ । उसले त भनेको छ । यो चरापाल देशको आकाशमा उडने जति पनि चराहरु छन्, ती सबै राष्ट्रिय चरा हुन् । एउटा चराको जातिलाई राष्ट्रिय घोषणा गरेर अरुलाई अराष्ट्रिय भन्न पाइँदैन भन्ने उनको कुरो छ । जनावर, रङको बारेमा पनि उही धारणा छ।’

कुरा सुन्दा कल्लौरीलाई डाँफेसँग पनि रिस उठ्यो र भन्यो, ‘भोलि उज्यालो भएपछि काँ छ डाँफे तेसलाई पनि खोजेर डाँडा कटाउनु पर्छ । केको त्यो चाहिँ राष्ट्रिय चरा, हामी चाहिँ अराष्ट्रिय ?’

ध्वाँसेले हुन्छ भनेर फेरि कुरा यतै ल्यायो, ‘उसले त तिमीलाई आई लभ यु किस पनि पठाएको छ ।’

कल्लौरी- ‘आइ लभ यु त तिमीले देऊ न । नामर्द ।’

ध्वाँसे- ‘निक्खुरी रिसाएर कता गई कता ?’

कल्लौरी- ‘गई होला नि, नाठो खोज्न । कण्ठे, पखेटे, लङगुडेको माया खान । कम्तिको छ त्यो । अस्ति हाम्रो झन्नै लभ पर्दा पनि तेसले भिलेन गरेको । सक्नुको छ र ?’

ध्वाँसे- ‘जोगीले त काग विषयक पुस्तक पनि छिपाउँदै छ ।’

कल्लौरी- ‘पुस्तक के लेख्छ त छिपाउनु भन्दा पहिले हामीले पडेर पास गर्नु पर्छ । कागको विषयमा लेख्छु भनेर भरे कागलाई नै समाप्त पारेको थियो भने त सह्य हुँदैन ।’

ध्वाँसे- ‘के हाम्रो विरुद्धमा लेख्न सक्नु विचराहरुले ! हेर न, एउटा डिल त उफ्रेर नाघ्न सक्दैन । दुई कान्ला उडन सक्दैन । विचरा मान्छे ! हाम्रो विरुद्ध गए त ठुगेरै सकाइन्छ नि ! तर अब हामीले आफ्नै विषयमा आलोचनात्मक चेत र आत्मआलोचना गर्नुपर्ने हुनसक्छ । किनभने उनले त मानव, पशुपन्क्षी र प्रकृति(वनस्पति)को लागि लोकतन्त्र भनेर नारा घन्काइसक्यो ।’

कल्लौरी- ‘हो त, एक रुख जत्रो पनि शरीर छैन । बिनाकाम्मा गाडी बाइक कुदाई हिँड्छ । त्यो पनि बाटोबाटोमा । हामी जस्तो जताततै उड्न त उनीहरुले अर्को जुनी पाउनु पर्छ । हरे के सारो टेक्पासेहरु हौ । सुपारीको बोटमा झटारो हान्ने । घोडामा चढेर हिँड्ने ।’

ध्वाँसे- ‘चुपचाप मान्छेहरुलाई उड्ने टेक्निक दिनु हुँदैन । त्यही भुइँमा थेचारेर राख्नु पर्छ । तिनीहरु बेलगाम आकाशमा उडन थाले भने ?’

कल्लौरी- ‘मैले त सुनेको उनीहरुको पुर्खा चुक्निबा र लादिप्पा त थेबा (पितृ आत्मं) थेप्मा(देह प्रवेश) गरेर आकाशआकाशमा उडथे रे ! थेबा देह प्रवेश गरेको उनै चुक्मिबा र लादिप्पाले हाम्रो पुर्खा जो मान्छेलाई टिप्तै खान्थे, उसलाई पनि आकाशमा खेदाएर युद्धमा मारेको रे ! त्यसमाथि दुइजना आएर एक जनालाई मारेको रे ! त्यसपछि हामीलाई मान्छे खान वञ्चित गरियो रे ! उनीहरुले दिएको दुःख भनिसाध्य छैन । धेरै हिसाबकिताब मिलाउनु बाँकी छ इनीहरुसँग ।’