तीन कमिला
एक जना मानिस खेतमा गहिरो निद्रामा निदाइरहेको थियो । उसको नाकमा तीन वटा कमिला भेला भए । तीन वटै कमिलाले आफ्नो प्रथाअनुसार एकअर्कालाई अभिवादन गरे र वार्तालाप गर्न थाले ।
पहिलो कमिलाले भनी, ‘मैले यस पहाड र उपत्यकाजस्तो बाँझो जमिन कुनै देखिनँ । म यहाँ सारा दिन अन्न खोजिहिँडे तर एउटा पनि फेला पार्न सकिनँ ।’
दोस्रो कमिलाले भनी, ‘मैले पनि केही फेला पार्न सकिनँ । कहाँकहाँ म अन्न खोज्न गइनँ । एउटा कुनोदेखि अर्को कुनोसम्म पुगेँ तर यो जमिन यति कोमल र अस्थिर छ कि त्यही कारणले यहाँ केही उब्जिन्न भनेर त केहीले भनेका पनि थिए ।’
यी कुरा सुनेपछि तेस्रो कमिलाले आफ्नो टाउको उठाउँदै भनी, ‘मेरा सङ्गीहरू हो, यो बेला हामी सबैभन्दा ठूलो कमिलाको नाकमा उभिएका छौँ । यसको शरीर यति ठूलो छ कि हामीले यसलाई पूरै शरीरमा देख्न पनि सकिरहेका छैनौँ । यसको छायाँ यति विस्तृत छ कि हामीले अनुमान पनि लगाउन सक्दैनौँ । यसको आवाज यति ठूलो छ कि हाम्रा कानले तिनलाई सुन्न सक्दैनन् र यो सर्वव्यापी देखिन्छ ।’
तेस्रो कमिलाको कुरा सुनेर अन्य दुई कमिलाले एकअर्कालाई हेर्दै हाँस्न थाले ।
त्यो व्यक्ति त्यही बेला निद्रामा हल्लियो । कमिलाहरू असन्तुलित भए र लड्ने डरले तिनले आफ्ना साना पञ्जा उसको नाकको मासुमा कस्सिएर पक्डिए । तिनको पक्डाइका कारण मानिसको नाक चिलायो । चिलाई शान्त पार्न त्यस मानिसले निद्रामा नै आफ्नो हातले नाक कन्यायो र ती तीन वटा कमिला त्यहीँ पिल्सिए ।
निर्माता
एन्टओक शहरको एक भागबाट अर्को भागलाई जोड्नका लागि स्थानीय आसी नदीमा पुल बनाइयो । यस कामका लागि पहाडबाट खच्चरहरूको पिठ्यूँमा ठूलाठूला ढुंगा लादियो र ल्याइयो ।
पुल तयार भइसकेपछि एउटा स्तम्भमा कुँदियो र लेखियो, सम्राट एन्टिओक्स द्वितीयद्वारा निर्मित ।
पुल निर्माण भएपछि मानिसहरू आसी नदी वारिपारि सहज किसिमले गर्न सक्ने भए ।
एक साँझ एक जना युवक, जसलाई त्यहाँका मानिसले सन्की, बौलाहा र काम नलाग्ने ठान्थे, उसले स्तम्भमा कुँदिएको ठाउँमा चारकोलले पोतिदियो र त्यसमा लेख्यो, ‘यो पुल बनाउनका लागि पहाडबाट पत्थर ल्याइयो र ती पत्थरलाई खच्चरले ल्याएका थिए । यो पुल होइन । यो त ती खच्चरका ढाड र पिठ्यूँ हो । यो पुलका सच्चा निर्माता त तिनै खच्चर हुन् ।’
जब सर्वसाधारणले चारकोलले लेखिएको लेखोट पढे, केही हाँस्न थाले, केहीलाई आश्चर्य लाग्यो र केहीले भने, ‘ए… यो काम त्यही सन्की केटोको काम हो, होइन त ?’
ठीक त्यही बेला एउटा खच्चरले अर्को खच्चरलाई हाँस्दै भन्यो, ‘तिम्लाई था छ, यी ढुंगा बोक्न हामीलाई कति गाह्रो भएको थियो । कति सकसका साथ यिनलाई हामीले बोकेका थियौँ ! तर पनि मान्छेहरू त यो पुललाई सम्राट एन्टिओक्सले नै बनाएको भनिरहेका छन् । हैन त ?’
अस्तित्व
लामो समयदेखि म मिश्रको धुलोमा जिन्दगीबाट बेखबर रहेर निष्क्रिय बसिरहेको थिएँ ।
त्यसपछि सूर्यले आफ्नो स्पर्शले मलाई जन्माए, म उठेँ र जिन्दगीको गीत गाउँदै नीलो नदीको तटमा घुम्न थालेँ ।
र, अब त्यही सूर्य चिरिक्क चर्कने किरणले मलाई पेल्छ ताकि म फेरि माटोमा नै मिसिऊँ तर यो कस्तो आश्चर्यको कुरा, जुन सूर्यले मलाई जन्मायो, उसैलाई मलाई पूरै माटोमै धूलिसात पार्न असमर्थ छ ।
म आज पनि दृढ कदमका साथ नीलो तटमा घुमिरहेको छु ।
निद्राजीवी
मेरो गाउँमा एक स्त्री र उसकी छोरी बस्थे । ती दुवैलाई निद्रामा हिँड्ने रोग थियो । एउटा शान्त रातमा, जब बगैँचामा घना कुहिरो व्याप्त थियो, निद्रामा हिँड्दै आमा-छोरीबीच सामुन्ने उभिए ।
आमाले छोरीतिर हेर्दै भनी, ‘तँ ? मेरो दुस्मन, मेरो पूरै जवानी तँलाई लालनपालन र हुर्काइबढाइ गर्नमा बर्बाद भयो । तँ मेरो जीवनको बेल होस्, तैँले मेरो उमंगको वृक्षलाई स्याप्पै सुकाइदिइस् । तँलाई मैले जन्मँदै किन मारिनँ ?’
आमाको कुरा सुनेर छोरीले भनी, ‘ए स्वार्थी बूढी, तँ मेरो सुखको बाटोको पर्खाल होस् । मेरो जीवनलाई पनि तँ आफ्नै जीवनजस्तै उराठलाग्दो बनाउन चाहन्छेस् । तँ किन मलाई जन्माउनेबित्तिकै मरिनस् ?’
त्यसैबखत कुखुरो बास्यो र दुवै निद्राबाट जागे ।
आमाले चकित हुँदै छोरीसँग भनी, ‘अरे ? मेरी प्यारी छोरी तिमी ? यहाँ कसरी ?’
छोरीले पनि आदरका साथ भनी, ‘अरे, मेरी माता ! तपाईं यहाँ कसरी आइपुग्नु भयो ?’
राजदण्ड
राजाले आफ्नी पत्नीलाई भन्यो, ‘वास्तवमा तँ त रानी बन्न लायक पनि छैनस् । तँ यति अशिष्ट र भद्दा छेस् कि तँलाई रानी भन्दा पनि मलाई त लाजै लाग्छ ।’
पत्नीले भनी, ‘तिमी पनि त आफूलाई राजा भनाउँदै हिँड्छौ तर तिमी त दुई जिब्रे, कुरा बनाउने र ज्यादै निम्छरो बुद्धिका मानिस हौ । त्यसभन्दा बढी केही पनि होइनौ ।’
रानीका मुखारबिन्दबाट यस्तो अशिष्ट शब्द सुनेर राजालाई निकै रिस उठ्यो । उसले आफ्नो सुनको राजदण्डले रानीको टाउकामा हान्यो । त्यसै क्षण न्याय मन्त्री त्यहाँ आइपुग्यो र भन्यो, ‘ओहो, महाराज ! यो राजदण्डलाई देशकै सबैभन्दा उम्दा कालिगढले बनाएको थियो । यत्र कटु सत्य हो, एक दिन रानी र तपाईंलाई पनि मानिसले बिर्सिनेछन् तर यो राजदण्ड सौन्दर्यको प्रतीकका रूपमा पुस्तौँपुस्ता सम्हालेर राखिनेछ । महाराज, अब त यत्र राजदण्ड अझै महत्त्वपूर्ण र राज्यको अमूल्य निधिका रूपमा कहलिनेछ, किनभने तपाईंले यही राजदण्डले रानीका टाउकामा हानेर उहाँको रगतले यसलाई सिञ्चित र तिलक लगाइदिनु भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।