लिभरपुल केन्द्रीय पुस्तकालय

यतिबेला सारा संसारका स्कुल कलेज बन्द छन् । पहिलो विश्वदेखि तेस्रो विश्व भनिनेसम्मका देशका शिक्षण संस्थाहरू बन्द छन् । तर पहिलो विश्व भनिने देशहरूका स्कुल कलेज बन्द भए पनि पठनपाठन भने रोकिएको छैन । विद्यार्थीहरूले आफूलाई रूचि लाग्ने पुस्तकहरू पढ्नका लागि इपुस्तकको प्रयोग यसबीचमा अत्यधिक प्रयोग गरिरहेको र यसका लागि इपुस्तकालयको सदुपयोग चार सय प्रतिशतभन्दा बढी भइरहेको एउटा अध्ययनले देखाएको छ । यो अध्ययन बेलायतका इपुस्तकालयहरूमा सबैभन्दा के बढी पढिए भन्ने विषयमा गरिएको थियो ।

गएको मार्चदेखि मध्य अगस्तसम्म इपुस्तक अध्ययन गर्ने जमात बढेको र थप ३५ लाख जना इपुस्तकालयमा गाँसिएको अध्ययनले देखाएको हो । यसरी इपुस्तकालयसँग गाँसिने पाठकको संख्या १४६ प्रतिशतले बढेको देखिएको हो । यसमा अडियोबुक र इकमिक्सका पाठकहरूसमेत जोडिएको छ ।

के पढ्दैछन् विद्यार्थी ?

बन्दाबन्दीमा उसो भए विद्यार्थीहरू के पढ्दैछन् त ? लाइब्रेरिज् कनेक्टेडकी इसोबेल हन्टर भन्छिन्, ‘बेलायती युवा पाठकहरूको रूचिमा सबैभन्दा माथि गिलियन गलब्रेथको ब्लड इन् द वाटर छ । सन् २००७ मा प्रकाशित यो उपन्यास एलिस राइस नामक पात्रले गर्ने हत्या अनुसन्धानमा आधारित छ ।

रूचाइएको अर्को पुस्तकमा अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामाको आत्मकथा ‘बिकमिङ’ पनि हो । टेलिभिजन कार्यक्रमका निर्णायक डेभिड विलियम्सको पुस्तक पनि सूचीमा परेको छ ।

बन्दाबन्दीका बेला अनलाइनमा लाइब्रेरीको सदस्य बन्ने र पढ्नेको संख्या ६ गुणाले बढेको छ । किलिप नामक लाइब्रेरी सूचना केन्द्रका प्रमुख निक पुले भन्छन्, ‘यत्तिका सदस्य बढेको आजसम्म मलाई थाहा थिएन । यसरी ६ सयदेखि ७ सय प्रतिशतले पाठक बढ्नु भनेको अचम्म नै हो ।’

बन्दाबन्दी लम्बिएपछि विश्वविद्यालय तथा सार्वजनिक पुस्तकालयहरूले अनलाइन पढ्ने व्यवस्था मिलाएकाले यस्तो सम्भव भएको हो । त्यसो त यस्तो व्यवस्था पहिले पनि नभएको भने होइन तर बन्दाबन्दीले यो उच्च बिन्दुमा पुगेको पुलेको भनाइ छ ।

अडियो बुक सुन्नेको संख्या अचम्मैसँग बढेकामा पनि अध्ययनमा संलग्नहरू उदेकमा परेका छन् । ११३ प्रतिशतले यो संख्या बढेको छ । म्यागेजिन, पत्रपत्रिका र कमिक्स पढ्नेको संख्या पनि क्रमशः ८०, २२३ र ४९७ प्रतिशतले बढेको पाइएको छ ।

पुस्तक मात्र होइन, पुस्तकका लेखकले चलाउने कतिपय सेसन, पठन कार्यक्रम र छलफलमा सहभागी हुने विद्यार्थी वा बालबालिकाको संख्या पनि सोचेभन्दा बढी रहेको देखिएको छ ।

अधिकांश पुस्तकालयले पछिल्लो समय अनलाइन सेवा नै दिइरहेका छन् । पुस्तकालयहरूमा प्रति दिन २० हजारभन्दा बढी भ्युज हुने गरेको लाइब्रेरिज कनेक्टेडको अध्ययनले देखाएको हो ।

त्यसो त पुस्तकप्रतिको मोह भने हराइसकेको छैन । पुस्तकालयमा अध्ययनका लागि तुलनात्मक रूपमा पुस्तकहरू सस्तो पर्ने तर तिनै शीर्षकका इपुस्तक भने महँगो पर्ने हुनाले पुस्तकप्रतिको आकर्षण अझै छँदैछ ।

अनलाइनमा पढ्ने वा उधारो लिने पुस्तक र त्यसको मूल्य ४० लाख पाउन्ड स्टर्लिङसम्म पुगेको छ । यही दरमा अनलाइन पुस्तकको माग बढ्ने हो भने इपुस्तकालयले तिर्ने रकमको संख्या बढ्ने र घाटा चुलिने पनि देखिएको छ । हालको लाइसेन्स लिने प्रावधान महँगो किसिमको भएकाले यस्तो बेलामा घटाउन जोड दिन थालिएको छ । सर्वसाधारणलाई मर्कामा नपार्न लाइसेन्स शुल्क घटाउने माग पनि बढिरहेको छ ।

केही प्रकाशकले भने यही मौकामा केही पुस्तकको लाइसेन्स शुल्क घटाएको लाइब्रेरिज कनेक्टेडले जनाएको छ ।

 

के के मन पराइए त ?

इपुस्तकालयमा सबैभन्दा धेरै पढिएका पुस्तकहरूको सूचीलाई लाइब्रेरिज् कनेक्टेडले जारी गरेको छ । जसअनुसार युवा पाठक तथा किशोरकिशोरीहरूको छनोट बेग्लाबेग्लै छ ।

युवा पाठकले रूचाएका १० पुस्तकहरूः
१. ब्लड इन द वाटरः गिलियन गल्बर्थ
२. भेन्जेनेन्सः लि चाइल्ड
३. फर्स्ट थ्रिल्सः लि चाइल्ड
४. अ स्मल विपिङः एलेक्स ग्रे
५. बिकमिङः मिसेल ओबामा
६. द मिरर एन्ड द लाइटः हिलारी मन्टेल
७. द फ्रेन्च हाउसः निक अलेक्जेन्डर
८. नर्मल पिपलः स्याली रूनी
९. द गेस्ट लिस्टः लुसी फोली
१०. ट्रबल्ड वाटर्सः गिलियन गल्बर्थ

किशोर किशोरीले रूचाएका पुस्तकहरूः
१. ह्यारी पोटर एन्ड द फिलोसोफर्स स्टोनः जेके रोलिङ
२. डायरी अफ एन असम फ्रेन्डली किडः जेफ किन्ने
३. द बोय इन द ड्रेसः डेभिड विलियम्स
४. माई बेबीसिटर इज अ रोबोटः डेभ कजिन्स
५. ह्यारी पोटर एन्ड द च्याम्बर अफ सेक्रेट्सः जेके रोलिङ
६. द बिस्ट अफ बकिङ्घम प्यालेसः डेभिड विलियम्स
७. अर्माडिलो एन्ड हेयर एन्ड द वेरी नोइजी बियरः जेरेमी स्ट्रङ
९. लिटल वुमेनः लुइसा मे एल्कट
१०. ह्यारी पोटर एन्ड द अर्डर अफ द फोनिक्सः जेके रोलिङ