त्यसबेला म किशोर नै थिएँ र मैले आफ्नो जीवनको बाटो खोज्न बाँकी नै थियो । एक साँझ मलाई न्युयोर्कका एकदमै दानी र धनी व्यक्तिको घरमा रातिको खाना खाने निमन्त्रणा आयो । खाना खाएपछि हामीलाई निमन्त्रणा गर्ने महिलाले आफ्नो घरको विशाल ड्रइङ रुममा लगिन् । कैयौँ अतिथिहरु अझै पनि आइरहेका थिए । त्यहाँको भव्य वातावरण देखेर त मलाई पसिना नै आयो ।

कार्यक्रम हुनै लाग्दा एक जना नोकरले एउटा ठूलो कोठामा एकपछि अर्को कुर्सीहरु मिलाइरहेको देखेँ । भित्ता छेउमा अड्याएर वाद्ययन्त्रहरु राखिएका थिए । अब मलाई बल्ल थाहा भयो, म एउटा साङ्गीतिक कार्यक्रमको निम्तालु पो रहेछु ! मलाई दिक्क लाग्यो किनभने अब मैले कति लामो अवधिसम्म सङ्गीत कार्यक्रममा ‘हाई’लाई नियन्त्रण गर्दै सहभागी हुनु पर्ने भो !

‘हुनु पर्ने भो’ भन्दा यहाँ बाध्यात्मक ध्वनि सुनिन्छ किनभने सङ्गीतमा मलाई कुनै रुचि थिएन । सङ्गीतको बारेमा मलाई सानो धागो जत्तिको ज्ञान पनि थिएन । साँचो भन्ने हो भने, म त सङ्गीतका विषयमा बहिरो नै थिएँ… । सहज किसिमको धुन पनि म गुन्गुनाउन सक्तिन थिएँ र गम्भीर किसिमको सङ्गीत त मेरा लागि हल्ला सिवाय केही थिएन । यस्तो अवस्थामा अरुले के गर्छन्, मलाई थाहा छैन तर म चूपचाप बसेँ । सङ्गीत शुरु भएपछि भने, आफू सङ्गीतको गम्भीर श्रोता हुँ भन्ने भान पार्न अनुहारलाई अझ बढी गम्भीर बनाएँ । भित्रबाट चाहिँ कान बन्द गरेँ र म सङ्गीत सुन्नुको साटो अरु नै कुरामा मन डुलाउन थालेँ ।

केही समयपछि जब मैले वरिपरिका मानिसहरुले सङ्गीतलाई ‘वाह, वाह’ भन्दै कराउन थालेको देखेँ, मलाई लाग्यो– अब म पनि बन्द गरेको कानलाई खोल्न सक्छु । यही बेला दायाँतर्फ नरम तर भित्रै छुने आवाज मैले सुनेँ– “तिमीलाई बाखको सङ्गीत मन पर्छ ?”

मलाई बाखको बारेमा त्यति नै जानकारी थियो, जति न्युक्लियर विखण्डनको ! अर्थात्, नाम मात्र सुनेको ! तर संसारभर बहुचर्चित अनुहारमध्येको एउटा अनुहार मेरै छेउमा थियो र उनको नमिलाइएको सेतो कपाल र मुखमा चेपिएको पाइपका कारण उनलाई राम्रैसँग चिन्दथेँ । हो, हो… म अल्बर्ट आइन्स्टाइनकै छेउमा थिएँ !

“मन पर्छ”, अहसजता र हिच्किचाहट मिश्रित मेरो आवाज मुस्किलले निस्कियो ।

मलाई आइन्स्टाइनले निकै सरल प्रश्न सोधेका थिए । त्यो सरल प्रश्नको उत्तर पनि सहज तरिकाले दिनु थियो तर मेरो छेउको यो छिमेकीको असाधारण आँखामा जुन भाव थियो, त्यसबाट मैले बुझेँ- उनी कुनै औपचारिक शिष्टताका कारणले यसो भनिरहेका छैनन् । यो मौखिक आदान–प्रदान मेरा लागि चाहे जस्तो महत्त्व राखेको होस्, म के जान्दथेँ भने– यी व्यक्तिका लागि यो कुरा ज्यादै महत्त्वपूर्ण छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त यति प्रख्यात व्यक्तिसँग कोही कसरी झूटो बोल्न सक्ला ! चाहे त्यो झूट बोल्न खोज्ने व्यक्ति कति नै सानो किन नहोस् !!

“म बाखको बारेमा केही पनि जान्दिनँ,” मैले बडो सङ्कोच मान्दै भनेँ, “मैले अहिलेसम्म बाखको कुनै सङ्गीत सुनेको छैन ।”

आइन्स्टाइनको सम्वेदनशील अनुहारमा असमञ्जस भरिएको आश्चर्यको भाव तीव्रतापूर्वक देखियो । उनले भने, “तिमीले बाखलाई अहिलेसम्म सुनेका छैनौ ?”

उनले दिएको प्रतिक्रिया यस्तो थियो कि मानौँ मैले उनलाई भनेको होऊँ– मैले आजसम्म नुहाएको छैन !

मैले प्रष्टीकरण दिन थालेँ, “म बाखलाई नरुचाउने होइन अथवा म उनलाई मन पराउन नचाहने पनि होइन । खासमा भन्ने हो भने सुरतालको हिसाबले म एकदमै बहिरोजस्तो छु । सत्य त के हो भने, मैले आजसम्म कसैको पनि सङ्गीत सुनेको छैन ।”

मेरो कुरा सुन्नेबित्तिकै ती बूढाको अनुहारमा चिन्ताको बादल देखियो । तत्कालै उनले भने, “तिमी मसँग हिँड र अहिल्यै हिँड ।”

अल्बर्ट आइन्स्टाइन

उनी उभिए र मेरो हात समातेर तान्दै अगाडि बढ्न थाले । भिडले भरिएको त्यो विशाल कोठामा जब उनले मलाई तान्दै कहीँ लैजाँदै थिए, लाजले मेरा आँखा जमिनतिर गाढिए । भव्य साङ्गीतिक कार्यक्रमको बीचैमा हामी उठेर हिँडेको देखेर केही मानिसहरु चकित भएर गाईंगुईं गर्न थालेको मैले सुनेँ र आइन्स्टाइनले पनि सुनिरहेका थिए । तर उनलाई तिनको कुनै मतलब थिएन र खुइँखुइँती मलाई तान्दै हिँड्दै थिए ।

लामा–लामा पाइला चाल्दै उनले मलाई सिँढी चढाएर एउटा कोठामा छिराए । आइन्स्टाइनलाई यो घरको कुना–कुनाका बारेमा थाहा हुनुपर्छ ।
सबैभन्दा माथिको कोठामा गएर उनले एउटा ढोका खोले । त्यहाँ मिलाएर किताबहरु राखिएका थिए । उनले मलाई कोठाभित्र लगे र ढोका बन्द गरे ।

“लु,” उनले हल्का चिन्ताजनक मुस्कान फ्याँक्दै मलाई भने, “अब भन त, सङ्गीतका बारेमा तिम्रो यस्तो सोचाइ कहिलेदेखि जन्मिएको हो ?”

“थाहा पाएदेखि नै,” मैले डराउँदै उनलाई भनेँ, “डा. आइन्स्टाइन, मेरो विचारमा हामी तल जानु नै राम्रो हुन्छ किनभने मलाई सङ्गीत मन पर्नु र मन नपर्नुले खासै फरक पार्दैन ।”

उनलाई मेरो भनाइ बिल्कूलै मन परेन र त्यो उनको टाउको हल्लाईले बताइरहेको थियो । उनले आँखी भौं पनि तन्काए मानुँ मैले कुनै वाहियात कुरा भन्दिएँ ।

“तिमीलाई मन पर्ने कुनै सङ्गीत ?”

“मलाई त शब्द भएका गीत मन पर्छन् । त्यस्ता सङ्गीत मन पर्छन्, जसका धून मैले पक्डन सकूँ,” मैले डा. आइन्स्टाइनलाई भनेँ ।

उनी मुस्कुराए र खुसी हुँदै गर्धन हल्लाए, “कुनै उदाहरण दिन सक्छौ त ?”

“सक्छु,” मेरो साहस फर्किन थाल्यो, “बिङ क्रस्बीका जुनै पनि गीत मलाई मन पर्छन् !”

अनि उनले पुनः जोडले गर्धन हल्लाए, “गज्जप !” उनी कोठाको एउटा कुनामा गए । फोनोग्राम खोले र छेउमा राखिएको रेकर्ड निकाल्न थाले । मैले अहसज हुँदै उनको क्रियाकलाप हेरिरहेँ । अन्ततः उनी खुसीले उफ्रँदै भने, “अँ, भेट्टाएँ !”

उनले रेकर्ड लगाए र केही क्षणमै कोठामा बिङ क्रस्बीको एउटा मन्द, मधुर गीत ‘ह्वेन द ब्लु अफ द नाइट मिट्स द गड अफ द डे’को स्वरलहरी गुञ्जिन थाल्यो । आइन्स्टाइनले मतिर हेरे र मुस्कुराए । उनले आफ्नो पाइपको नली ट्याकटुक मिलाए । रेकर्ड बजेको तीन चार वाक्याङ्शपछि उनले ग्रामोफोन बन्द गरिदिए ।

“अब मलाई भन त, तिमीले भर्खरै के सुन्यौ ?”

यो प्रश्नको सरल उत्तर दिनका लागि मैले तिनै पंक्तिहरु सुनाइदिएँ, गुन्गुनाउँदै । मैले गुन्गुनाउँदा भरसक धुनमै रहेर आवाज टुक्रिन दिइनँ । मैले गाएको सुनेर आइन्स्टाइनको अनुहार सूर्यझैँ तेजिलो देखियो ।

“तिमीले देख्यौ त ?” यसो भन्दै उनले खुसीले उफ्रिए, “तिमी सङ्गीतमा बहिरो हुनै सक्तैनौ र छैनौ पनि । तिमीले यहीँका यहीँ प्रमाण दिइसक्यौ ।”

उनलाई मैले मधुरो स्वरमा भनेँ, “यो मेरो सबैभन्दा प्रिय गीत हो र मैले कम्तिमा सय पटक भन्दा बढी सुनिसकेको छु । त्यसैले यसले म सङ्गीतमा बहिरो छु कि छैन भन्ने कुरा साबित हुँदैन नि !”

“वाहियात् !” उनी अलि कडा रुपमा प्रस्तुत भए, “तिमीलाई स्कुलमा पढाइएको गणितको पहिलो पाठ याद छ ? मानिलेऊ, संख्याहरुका बारेमा थाहा हुनेबित्तिकै पहिलो पटकमै तिम्रा शिक्षकले तिमीलाई जटिल भागा वा घटाउने वा गुणनको समस्या हल गर्न दिएको भए तिमीले गर्न सक्थ्यौ त ?”

उनले खाइरहेको तम्बाकूको पाइप मुखबाट निकालेर पुनः मुखमै राखे र मलाई तिखो नजरले हेरे । म पनि उनको कुरामा उत्सुक भएँ ।

“स्कुलको पहिलो दिन कुनै पनि शिक्षकले कठिन किसिमको हिसाब दिने मूर्खता गर्न सक्तैन । हरेक विद्यार्थीलाई शुरुमा छोटा र सजिला हिसाब समाधान गर्न दिइन्छ । अनि, सरल गणितमा दक्षता हासिल गरिसकेपछि मात्रै ठूला–अप्ठेरा समस्या समाधान गर्नका लागि अह्राइन्छ,” उनले भने ।

“सङ्गीत पनि पनि त्यस्तै हो,” आइन्स्टाइनले बिङ क्रस्बीको रेकर्ड उठाए र भने, “यो सहज र सुललित गीत साधारण ‘जोड–घटाउ’जस्तै हो । तिमीले यसमा दक्षता पाइसकेका छौ । अब हामी थोरै जटिल सङ्गीततिर अघि बढौँ ।”

उनले एउटा अर्को रेकर्ड उठाए र बजाउन थाले । जोन म्याककरमेकको मखमली आवाज अब पूरै कोठामा गुञ्जन थाल्यो । केही क्षणपछि आइन्स्टाइनले रेकर्ड बन्द गरे ।

“अब फेरि तिमी यो गीत मेरा लागि गाइदेऊ न !” बूढाले अनुरोध गरे ।

मैले बडो सङ्कोच मान्दै गीत गुन्गुनाउन थालेँ । मैले निकै राम्रोसँग गाउन सकेँ र यसमा म आफैँलाई आश्चर्य लागिरहेको थियो । यतिबेला आइन्स्टाइनको अनुहारको भाव यस्तो थियो, त्यो देखेर मलाई मेरो बुवाको अनुहार याद आयो । स्कुलको ग्राजुएसन पार्टीमा भाषण गर्दा मेरा बुवा खुसीले यस्तै रातोपिरो हुनुभएको थियो ।

जब मैले गीत पूरा गरेँ, आइन्स्टाइनले भने, “आहा ! कति राम्रो !… अब यो है त !”

बूढाले अर्को गीत लाइदिए तर यो गीत मेरा लागि एकदमै नजानेको थियो । थाहै नपाएको यो गीतलाई पनि मैले गुन्गुनाएर सुनाएँ । आइन्स्टाइनले मेरो गुन्गुनाहटलाई मुस्कुराउँदै सहमति दिए ।

अल्बर्ट आइन्स्टाइन भ्वाइलिन बजाउँदै

‘करुसो’को यो गीतपछि आइन्स्टाइनले मलाई कम्तीमा एक दर्जन गीत सुनाए । यो बूढोको यो महान् व्यक्तित्वप्रति मलाई अति श्रद्धा जागेर आयो । म यी बूढासित अनाचकै भेटेको थिएँ तर उनी मलाई सङ्गीतको गुह्य कुरा सिकाउन यति मग्न थिए कि मानौँ उनको एक मात्र चिन्ता नै यही मात्र थियो !

यसपछि उनले मलाई गीत बिनाका सङ्गीत सुनाए । तल अघि मैले सुनेको सङ्गीत पनि रेकर्डमा सुनाए । त्यसमा शब्द थिएनन् । सङ्गीतलाई बिस्तारै गुन्गुनाउन अह्राए । मैले पनि धुनअनुसार आवाज निकालेँ । जब उच्च स्वरमा पुगेँ, आइन्स्टाइनले पनि मुख खोलेर आफ्नो टाउकोलाई एकदमै पछाडि लगेँ ताकि म त्यो स्वरको उचाईसम्म पुग्न सकूँ । मलाई यो काम एकदमै कठिन लागिरहेको थियो तर उनको सहयोगले निक्कै हदसम्म पूरा गरेँ । त्यसपछि आइन्स्टाइनले ग्रामोफोन बन्द गरे ।

अनि, मलाई अँगालोले बेर्दै स्नेहपूर्वक भने, “मेरो प्यारो युवक, अब हामी बाख सुन्न तयार भयौँ ।”

ड्रइङ रुममा जब हामी आफ्नो कुर्सीमा फर्कियौँ, सङ्गीतकारले नयाँ धुन शुरु गरिरहेका थिए । आइन्स्टाइनले मतिर हेरेर मुस्कुराए र मेरो घुँडामा हातले थप्थपाए । उनले मेरो कान छेउमा साउती मार्दै भने, “चिन्ता नगर, सङ्गीतमा आफूलाई बग्न देऊ !”

म एउटा अनजान केटो, उनी एउटा प्रख्यात वैज्ञानिक ! मैले यहाँ लेखेजस्तो सजिलो काम थिएन । एउटा बिल्कूलै नचिनेको केटाका लागि विख्यात वैज्ञानिकले जुन मिहिनेत गरिरहेका थिए, त्यो बयान गर्न कठिन छ । त्यस रात मैले बाखको ‘सीप मे सेफली ग्रेज’ सङ्गीतलाई सुनेँ, त्यही गहिराईका साथ मैले कहिले पनि सुन्न सक्ने थिइनँ होला ! त्यो रातपछि नजाने कैयौँ पटक मैले त्यो सङ्गीत सुनेँ… मलाई कहिल्यै यो सङ्गीत सुनेर थाकुँला भन्ने लाग्दैन । किन थाहा छ ? त्यो गीत सुन्दा म कहिल्यै एक्लो हुन्न । नमिलाएको सेतो कपाल भएको, दाँतको बीचमा निभेको पाइप च्यापेको, होचोहोचो–मोटो व्यक्ति पनि मसँगै त्यो सङ्गीत सुनिरहेको हुन्छ, उसको असाधारण स्नेहले भरिएको आँखामा संसारको विस्मय झल्केको हुन्छ ।

जब सङ्गीत कार्यक्रम सकियो, अन्य व्यक्तिले झैँ मैले पनि यो अपूर्व सङ्गीतका लागि कृतज्ञतापूर्वक ताली बजाएँ ।

अचानक हामीलाई यो कार्यक्रममा डाक्ने महिला डा. अल्बर्ट आइन्स्टाइन छेउमा आइन् । मतिर उनले चिसो नजरले हेरिन् र आइन्स्टाइनलाई भनिन्, “डा. आइन्स्टाइन, तपाईंले सङ्गीतको एउटा ठूलो भाग सुन्न पाउनु भएन, मलाई बडो दुःख लाग्यो ।”

आइन्स्टाइन जुरुक्क उठे । उनीसँगै म पनि उठेँ । उनले भने, “अँ, सुन्न नपाएकोमा मलाई पनि दुःख छ तर मेरो यो तन्नेरी साथी र म यस्तो काममा लागिपरेका थियौँ, जसले ईश्वरले हरेक मानिसमा दिएको हुन्छ तर त्यसो गर्न क्षमता उजागर गर्नुपर्ने हुन्छ !”

“हो र ?” ती महिलाको अनुहारमा असमञ्जसको भाव थियो, “त्यो कस्तो काम थियो र ?”

आइन्स्टाइनको अनुहारमा मुस्कान छचल्कियो र स्नेहपूर्वक उनले मेरो काँधमा हात राख्दै सात शब्द भने, ती शब्द मेरो हृदयमा सधैँका लागि कुँदिन पुग्यो– “सौन्दर्यको सीमाको अर्को एउटा ढोका खोल्ने काम !”

(विडम्यान सन् १९६० मा पुलित्जर पुरस्कार विजेता प्रख्यात अमेरिकी साहित्यकार हुन् । यो अंश अच्युत कोइरालाद्वारा लिखित अल्बर्ट आइन्स्टाइनको जीवनीबाट लिइएको हो ।)