प्रख्यात बुकर पुरस्कारका संस्थापक टम मस्लरको ८७ वर्षको उमेरमा गएको साता निधन भएको छ । साहित्यमा नयाँ खतरा मोल्ने नवप्रतिभाहरूलाई मौका दिने प्रकाशकका रूपमा चिनिएका टम मस्लरको फ्रान्सको लुबेरनमा निधन भएको हो ।
अस्ट्रियाको भियनामा उनका बुबा प्रकाशक थिए । तर अस्ट्रियामा हिटलरको आक्रमणपछि यहुदी धर्मावलम्बी उनीहरू बेलायत पलायन भएका थिए । लन्डन निवासका क्रममा प्रख्यात प्रकाशक जोनाथन केपका जागिरे भए । २६ वर्षको उमेरमा उनी चल्तीका लेखकहरूलाई भित्र्याउन सफल भए । खासगरी उनले ‘क्याच २२’ उपन्यास छाप्नु जीवनकै नयाँ मोड साबित भयो । लेखक जोसेफ हेलरको पहिलो उपन्यास क्याच २२ लाई उनले जम्मा २५० पाउन्ड (७ सय डलर र अहिलेको मूल्यमा ६ हजार ५ सय डलर)मा छापेका थिए ।
यसलगत्तै उनले त्यस बेलाका चर्चित लेखक अर्नेस्ट हेमिङ्गवेले आत्महत्या गरेलगत्तै उनकी विधवा मेरीसँग कुराकानी गरेर संस्मरण ‘अ मुभेबल फिस्ट’ प्रकाशन गरे ।
उनले आफूले जीवनमा गरेका केही उम्दा काममध्ये ग्याब्रिएल गार्सिया मार्खेजलाई आफ्नो प्रकाशनमा भित्र्याउन सफल भएकामा आफैँलाई धन्यवाद दिएका थिए। त्यस्तै नादिन गोर्डिमर, डोरिस लेसिङ, मारियो भेर्गास लोसा र भिएस नयपाललाई पनि उनैले लेखनीमा चिनाएका थिए ।
उनले मार्टिन एमिस, जेफ्री आर्चर, जुलियन बर्न्स, ब्रुस चाटविन, रोआल्ड डाल, जोन फोल्स, क्लिभ जेम्स, इयान म्याकइवान, एडना ओब्रिएन, थोमस पिन्चोन, फिलिप रोथ र कर्ट भोनेगटजस्ता लेखकलाई पनि उनले लेखनीमा भित्र्याएका थिए ।
आफूलाई कहिल्यै पनि विद्वानका रूपमा पत्याएनन् । कतिसम्म भने जब उनले अंग्रेजी साहित्य लिएर पढ्न अक्सफोर्ड विश्वविद्यालयमा निवेदन दिए, उनलाई अस्वीकार गरिएको थियो । उनले आफूले कनेर साहित्य लेख्न प्रयास गरेको तर नसकेको स्वीकार गरेका थिए । उनले सन् २००५ मा पब्लिसर संस्मरण प्रकाशित गरेका थिए । उनको यस संस्मरणलाई समीक्षकहरूले धज्जी उडाउनसम्म उडाएका थिए ।
तर १२ वर्षको उमेरदेखि जीउ पाल्नका लागि संघर्ष गरेका उनले उम्दा साहित्य उत्पादन गर्न जीवन नै लगाएका कुरामा भने कसैले पनि शंका गरेनन् । उनले जुन आख्यानका पुस्तक रोजेर प्रकाशन गरेका थिए, त्यसले एउटा मानक नै बनाउन पुगेको थियो ।
यस्तै डेसमन्ड मोरिसको द नेकेड एप (१९६७) छाप्नुअघि मोरिसलाई उनले भनेका थिए, ‘यो पुस्तक मैले भने जसरी लेख्न सक्यौ भने तिमीलाई वैज्ञानिकका रूपमा भन्दा लेखकका रूपमा बढी चिन्नेछन् ।’ नभन्दै मोरिसलाई बढीजसोले वैज्ञानिकभन्दा उनका पुस्तकहरूको चाङले नै चिन्छन् ।
यसैगरी गायक जोन लेननलाई लेखक पनि उनैले बनाएका थिए । रोचक त के भने उनले पुस्तकहरूमाथि अनेकन् प्रयोग गरेका थिए । पुस्तकलाई थिच्दा पुटुक्क निस्कने जोनाथन मिलर ‘द ह्युमन बडी’ नामक पपअप पुस्तकसमेत प्रकाशन गरेका थिए ।
उनले जीवनको सबैभन्दा महत्त्वपूर्ण कार्य भनेको बुकर पुरस्कारको स्थापना नै हो । चिनी व्यापारी बुकर-म्याकोनेललाई पुरस्कार स्थापनाका लागि मनाएका थिए । खासगरी फ्रान्सेली साहित्य पुरस्कार फ्रेन्च प्रिक्स गोनकर्टको काम उनलाई यति मन परेको थियो कि प्रतिस्पर्धामा यो पुरस्कार स्थापना गर्ने हुटहुटी जागेको थियो । पछि म्यान बुकर पुरस्कार भनिए पनि यतिबेला बुकर पुरस्कारका रूपमा यो चर्चित छ ।
‘मैले जीवनमा गरेको सबैभन्दा उत्तम काम नै बुकर पुरस्कारको स्थापना हो,’ उनले द गार्डियन पत्रिकालाई अन्तरवार्ता दिँदै भनेका थिए । यो पुरस्कारको स्थापनापछि फिक्सन पठनमा एउटा राम्रो लहर छाएको गर्वका साथ बताउने गरेका थिए ।
सन् १९३३ अगस्त १६ मा जर्मनीको बर्लिनमा जन्मिएका मस्लरको वास्तविक नाम थोमस माइकल मस्लर हो । १९३८ मा जर्मनीबाट भियना बसाइँ सरेका उनको परिवार त्यहाँबाट पनि बसाइँ सरी लन्डन भाग्नु परेको थियो । समाजवादी यहुदीका रूपमा आफूलाई चिनाउने उनका तीन जना हजुरबा-हजुरआमालाई यातनागृहमा लगी मारिएको थियो ।
अक्सफोर्डमा साहित्य पढ्न निवेदन दिएका उनलाई त्यो बेला अस्वीकृत गरिएपछि उनले त्यहीँ दर्शनशास्त्र, राजनीति र अर्थशास्त्र पढेका थिए ।
लसएन्जल्स टाइम्स, न्युयोर्क टाइम्स जस्ता पत्रिकामा यात्रा संस्मरण छपाएका उनले पछि १९ वर्षको उमेरमा अमेरिका भ्रमण गरेका थिए । उनका पिताजी र माताजीको पारपाचुकेपछि उनीहरूबीच भेट भएको थिएन । पिताजीलाई भेट्न भनी उनी अमेरिका जम्मा १३ डलर बोकेर निस्केका थिए ।
जीवनमा उनले टूर गाइडदेखि फिल्म निर्देशकसम्मको असफल यात्रा गरेका थिए । सन् १९५५ मा पहिलो पटक म्याकगिभन एन्ड कि, पेइन्गुइन हुँदै जोनाथन केप प्रकाशनमा छिरेका थिए । पछि रेन्डम हाउसले सन् १९९१ मा जोनाथन केपलाई किनेको थियो । सन् नकिन्नुअघिसम्म करिब २० वर्ष उनले जोनाथन केपको नेतृत्व सम्हालेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।