‘द ह्वाइट गडेस’ जस्तो प्रख्यात कविताकृतिका सर्जक रोबर्ट ग्रेभ्सले जीवनभर यति गरिबीमा जीवन बिताए कि उनले लेखेको एउटा कविता निकै चर्चित बन्यो ।
कविता थियो-
काव्यमा दाम छैन
तर दाम कमाउनुमा पनि
कुनै काव्य देख्दिनँ
सामान्यतः संसारभरि नै काव्यमा दाम नदेख्नेहरूकै बोलवाला छ । तर महामारीका कारण यतिबेला काव्यमा दाम देखिन थालेको छ । बेलायती टेलिभिजन मिडियामा ठूला कम्पनीका विज्ञापनमा कविताहरू घुस्न थालेका छन् । अहिलेका चल्तीका बेलायती कविका आवाजमा कोकाकोला, फेसबुक मात्र होइन, पिज्जा बनाउने कम्पनीले समेत कवितामा रस देख्न थालेका छन् ।
जताततै दुःख, पीडा, शोक गुञ्जिरहेका बेला ती कम्पनीहरूले काव्यलाई मुख्य आधार बनाएर विज्ञापन बनाउन थालेका कारण कविताका दिन फिरेको जस्तो देखिएको हो ।
जर्ज द पोएट नाउँले विख्यात नयाँ पुस्ताका कवि जर्ज पाङ्गाले आफ्नो कविता कोकाकोलाको ओपन लाइक नेभर विफोर विज्ञापनका लागि वाचन गरेका छन् ।
[embedyt] https://www.youtube.com/watch?v=aKa0hqu28jc[/embedyt]
त्यस्तै कवि तथा उपन्यासकार तथा गायिका केट टेम्पेस्टका कविता पनि फेसबुकले विज्ञापनका लागि प्रयोग गरेको हो । वि आर नेभर लस्ट इफ वि क्यान फाइन्ड इच अदर शीर्षकको विज्ञापनमा उनको कविता प्रयोग गरिएको हो ।
[embedyt] https://www.youtube.com/watch?v=Q4zd7X98eOs[/embedyt]
यस्तै ७२ वर्षीया कवि पाम एयर्सले ३२ वर्षीया सुली ब्रेक्ससँगको सहकार्यमा एउटा कविता बनाएका छन् । यो कवितालाई बैंक तथा वित्तीय कम्पनी सान्टेन्डरले प्रयोग गरिरहेको छ । बैंकले पछिल्लो समय बढिरहेको आर्थिक अपचलनप्रति सचेतना बढाउनका लागि यी दुई कविको सिर्जनालाई आफ्नो विज्ञापनको आधार बनाएको हो । सान्टेन्डर्स स्क्याम सनेट्स शीर्षकमा गएको राष्ट्रिय कविता दिवस (१ अक्टोबर)को अवसर पारी यो विज्ञापन जारी गरिएको हो ।
[embedyt] https://www.youtube.com/watch?v=KrbGh063OS8[/embedyt]
कवितालाई लामो समयदेखि प्रयोग गरिरहेको संस्था भने नेसनवाइड बिल्डिङ सोसाइटी हो । विभिन्न समयमा विभिन्न कविलाई यसले प्रयोग गरिरहेकोमा यस पटक नयाँ विज्ञापनका लागि २६ वर्षे सुगर जेको कवितालाई प्रयोग गरेको छ ।
त्यस्तै ७१ वर्षे पंक कविको ख्याति बटुलेका जोन कूपर क्लार्कले क्राकेन रक्सीको विज्ञापनका कवितापंक्ति कोरेका छन् । उनले भ्यालेन्टाइन्स डे विशेषका लागि भनेर कविता कोरेका छन् । उनले त यस वर्ष सुगर पफ र डोमिनोज् पिज्जा कम्पनीका लागि पनि केही हरफ कोरेका छन् ।
‘क्याम्पेन’ म्यागेजिनका अनुसार पछिल्लो समय देशभरि यति धेरै शोकको अवस्था सिर्जना भयो, मान्छेले यति धेरै प्रियजनहरू गुमाउनु पर्यो, त्यसलाई सही र सटीक रूपमा कविताले नै भाव अभिव्यक्त गर्न सक्छ भन्ने बुझाई विज्ञापकहरूमा देख्न सकिन्छ । त्यसैले यसअघि कहिल्यै नदेखिएको कवितामोह यस पटक ठूला कम्पनीहरूले देखाइरहेका छन् ।
मोबाइल फोन कम्पनी इइले पछिल्लो समय कवितामार्फत नै आफ्ना ग्राहक बढाउने अभियान शुरू गरेको छ । पोएट्री सोसाइटीकी निर्देशक जुडिथ पाल्मर भन्छिन्, ‘विज्ञापनमा काव्यको प्रयोग त धेरैअघिदेखि हुन थालेको हो तर यो शोकका बेलामा यस प्रति चासो चाहिँ ह्वात्तै बढेको मान्न सकिन्छ ।’
कवितामा भएको आत्मस्वीकृतिका भाव, हृदयबाटै प्रस्फुटन हुने शब्दहरूका कारण यी लोकप्रिय हुन थालेको पाल्मर बताउँछिन् ।
त्यसो त यस किसिमको कार्यको विरोध गर्नेहरू पनि छन् । जब कोकाकोलाजस्तो हानिकारक पेयका लागि गम्भीर शब्दहरू प्रख्यात कविका तर्फबाट उपयोग गरिन्छ भने इमान भएका व्यक्तिले यस्तो गर्न मिल्छ कि मिल्दैन भन्ने विवाद पनि उत्तिकै उठिरहेको छ । कविले आफ्नो इमानबाहिरका प्रडक्टलाई आफ्ना कविता बेच्न नहुनेतर्फ केहीको धारणा छ । खासगरी रक्सी र हानिकारक पेयको विज्ञापन बनाउँदा पैसा आउँछ भन्दैमा कविहरू हाम्फाल्न नहुने केहीको धारणा छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

