जतिबेला सरकारले पहिलो लकडाउन गर्‍यो, त्यतिबेला लकडाउनको आवश्यकता धेरैले महसुस गरेकै थिएनन् । कतिलाई भने लकडाउन गरेर ठिकै गरेर भन्ने लागेको थियो । एसइई पनि नरोकेको भए हुन्थ्यो भनेर धेरैले भने । कतिले भने, संक्रमण फैलिएर विद्यार्थीहरु नै संक्रमित भए त्यसको जिम्मा कसले लिने ? लकडाउन गरेर ठिकै गर्‍यो भने । मान्छेको जातै अपजसे । गर्दा पनि जस छैन, नगर्दा पनि छैन । गर्‍यो, अहिले आवश्यकतै थिएन भन्ने । नगरे, सरकारले लकडाउन नगरेर सबैलाई संक्रमित बनाउने भयो भन्ने तपाईं हामी नै हो ।

समय त अहिले पनि फरक छैन, उस्तै पनि होइन । झन् भयावह बन्दैछ । संक्रमण दिनानुदिन बढ्दै गएको छ । यो रोकिने छाँट पनि छैन । जनस्वास्थ्यविद्हरु अझै बढ्ने भएकाले सर्तक रहन आग्रह पनि गरिरहेका छन् । पहिलेजस्तो लकडाउन पनि छैन । न त भौतिक दूरी नै छ । मास्क पनि के छ भन्नु ? हिँड्दा या गन्तव्यसम्म पुग्दा लगाउँछन् तर जब मानिसबीच भेट हुन्छ, कुराकानी सुरु गर्दा भने मास्क खोलेर चिउँडोमा ल्याएर गफ गर्छन् ।

जतिबेला मास्कको आवश्यकता हो, त्यतिबेला खोलेर कस्तो स्वास्थ्य मापदण्ड अपनाउँदैछौ हामी ? हुन त कतिपयले मास्क पनि जरुरी छैन भनिरहेका छन् । यसका राम्रा वा नराम्रा पक्ष जे भए पनि अहिलेको अवस्थामा कुराकानी गर्दा भने संक्रमणबाट जोगिने एउटा उपाय यो जरुर हो । बस चलेकै छन् । बजार र पसल खुलकै छन् । सबैसबै खुला छन् तर हामी उपभोक्ता कति सचेत छौं त ?

बजार, पसल र यत्रतत्र भीडभाड उस्तै देखिएकाले सरकारले संक्रमण रोकथामका लागि केही गरेन भन्दा पनि हामी आफैँ संक्रमण फैलाउन कतै उत्तिकै जिम्मेवार त छैनौं ?

अहिले चाडबाडको मौसम छ । सरकारले संक्रमण बढिरहेको र चाडबाडमा अझै बढ्न सक्ने भएकाले यस वर्षको दशैं जहाँ छौँ, त्यही बसेर मनाऔं भनिरहेको छ । तर, अवस्था त्यस्तो छैन । चाडबाडमा गाउँ-घर आउनेको लर्को छ । यससँगै संक्रमण पनि बोकेर आएको हुनसक्छ भनेर सायदैले सोचेका होलान् ।

यतिबेला जो कोही पनि संक्रमित हुन सक्ने अवस्था छ । आफ्ना कारणले अर्को संक्रमित हुने जोखिम पनि उत्तिकै छ । तपाईं हाम्रो घरमा ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिकाहरु पक्कै छन् । तपाईं हाम्रै कारणले उनीहरुमा संक्रमण सर्ने खतरा छ । तपाईं बाहिर हुनुहुन्छ । मलाई लक्षण पनि छैन, केही भएको छैन भनेर तपाईं आउनु हुन्छ । घरमा पनि केही भएको छैन भन्दै घुलमिल गर्नुहुन्छ । तर लक्षण नदेखिने भाइरसबाट तपाईं संक्रमित भइसकेको तपाईं स्वयंलाई थाहा हुँदैन । तपाईंबाट सिंगो परिवार संक्रमण हुन सक्छ । एउटाका कारण सिंगो परिवार संक्रमित भएका छन् । मृत्यु पनि भएको छ ।

तपाईं आफैँ आफ्ना परिवारका सदस्यको मृत्युको कारण बन्दै हुनुहुन्छ यतिबेला । यो सामान्य रुघाखोकी हो, मौसमी फ्लु जस्तै हो भनेर बेवास्ता गर्ने बेला होइन । सोच्दै नसोचेका र निरोगी व्यक्तिहरु पनि यसैका कारणले मृत्युवरण गरेका खबरहरु हामीले पढिरहेका छौँ । तर तपाईं यो मान्न तयार हुनुहुन्न ।

त्यसैले यसबारेमा सरकारले सोच्नुपर्छ । सरकार, यो बडादशैंमा लकडाउन गर । हुन त कतिपयले लकडाउन समस्याको समाधान होइन भनिरहेका छन् तर अहिले यस चाडबाडमा भने लकडाउन अति आवश्यकजस्तै बन्न पुगेको छ । अहिले लकडाउन नगर्ने हो भने संक्रमण अझ फैलने निश्चित छ । आफ्नो परिवारमा मात्रै होइन, समुदाय र आफन्तमा पनि उत्तिकै फैलनेछ । त्यसैले पनि अहिले लकडाउन आवश्यक छ । गाउँमा आएपछि नजिकै भएका आफन्तकहाँ जानै पर्‍यो । जाँदा यदि आफू संक्रमित भइएको छ र परिवारका सदस्य पनि संक्रमित भए भने फलानो आएर मलाई रोग सार्‍यो भन्नेछन् ।

बूढाबूढी भएका आफन्त आघौं रहनु हुन्छ वा हुन्न भनेर पनि जाने तयारीमा भएका कतिपय देखिन्छन् । यदि अहिले तपाईं जानु भएन भने आघौं पराघौं पनि तपाईं बूढाबूढी भएका आफन्तका हातको टीका र आशीर्वाद लिन पाउनु हुनेछ तर अहिले जानुभयो भने तपाईंकै कारण, त्यस परिवारको निधार सधैँका लागि खाली हुनसक्छ । उनीहरु नआएको भए म या मेरो परिवार ठीक हुने थियौँ, अरुबेला कहिल्यै आउँदैनथे, यही रोग सार्न आए सम्म भन्ने भनाइ सुन्नुपर्नेछ ।

यसले आफन्तमा फाटो समेत ल्याउन सक्ने छ । त्यसैले पनि अहिलेको समयमा लकडाउन अत्यन्तै आवश्यक छ ।
अस्पतालमा अहिले नै बेड अभाव भइरहेको छ भनी बेलाबेलामा सुनिइन्छ । झन् यो बेलामा संक्रमण फैलिएमा उपचार नै नपाएर ज्यान जानेको संख्या पनि बढ्ने निश्चित छ । हुन त सरकारले जहाँ छौँ, त्यहीँ मनाऔँ भनेर भनिरहेको पनि एक किसिमको लकडाउन हो भनेर हामीले बुझिदिएको भए ? त्यस्तो बुझिदिएको भए अहिले राजधानीबाट बाहिरिनेको संख्या बढ्ने थिएन । जति उपत्यकाबाट हिँड्नेको संख्या बढ्छ, उही दरमा जिल्लामा पनि संक्रमण बढ्नेछ, बढिरहेको छ । टीका लाउने कारणले र घरघर डुलिहिँड्ने कारणले यो झन् बढ्नेछ ।

केही समयअघि जतिबेला पहिलो लकडाउन भयो, त्यसपछि काठमाडौँ फकर्नेहरुले रोग ल्याए भनेर काठमाडौँ छिर्न नदिने गरेजस्तै अहिले उपत्यकाबाट गाउँ आउन दिनुहुन्न भन्नेहरु पनि छन् । त्यसैले यतिबेला सरकार चाडबाड हो भनेर नबसी, कडा लकडाउन लगाउनु हुनुपर्ने हो ।

विविध धर्म, संस्कृति, जाति, भाषाको धर्म निरपेक्ष राज्य नेपालका लागि सबै चाडपर्व उत्तिकै महत्त्वका हुन्, हुनुपर्छ पनि । जहाँ-जहाँ बसेर जुन-जुन धर्म, संस्कृति माने पनि हामी नेपाली हौँ । त्यसैले सबैलाई उत्तिकै स्थान र महत्त्व दिनु पनि राज्यको कर्तव्य हो । जनता सबै बराबरी हुन् भन्ने लाग्छ भने पनि सरकारले अहिले लकडाउन गर्नुपर्छ । कारण, यसअघि धेरै चाडपर्व गए । जतिबेला कोरोना भाइरसको संक्रमण यति धेरै फैलिएको थिएन, संक्रमित पनि यति धेरै थिएनन्, त्यो बेला कडा लकडाउनका कारण कयौँ जातजाति, धर्मसंस्कृतिका जनसाधारणले चाडपर्व मनाउन पाएनन् । मनाउनेले पनि घरैमा मनाए । उदाहरणका लागि रक्षा बन्धन नै लिन सकिन्छ । जसरी हाम्रो दशैंतिहार सबैभन्दा ठूलो चाड हो । त्यसैगरी मधेशी समुदायको पनि हाम्रो तिहारजस्तो ठूलो चाड हो, रक्षा बन्धन अर्थात राखी । उनीहरुले परिस्थितिलाई स्वीकार गरेर मनाए ।
यस्तै मुस्लिम समुदायको महान पर्व इद पनि केही समय अघि गयो । मस्जिदमा नगई घरघरमै बसेर नमाज पढ्न मुस्लिम आयोगले पटक-पटक अनुरोध नै गर्‍यो । एक महिनासम्मको लामो व्रत मुस्लिम समुदायका लागि हाम्रो दसैँ बराबर नै हो । तर त्यतिबेला उनीहरू मस्जिद जान पाएनन् ।

अझ पर्सा र झापामा मुस्लिम समुदायमै सुरुमा संक्रमण देखिएकाले मुस्लिम समुदाय झन् अप्ठ्यारोमा पर्यो । उनीहरुले अत्यन्तै संयमता अपनाएर आफ्नो पर्व मनाए । इद मनाइरहँदा पनि त्यति धेरै संक्रमण थिएन । अहिले त देशभरिका शक्तिपीठ खुला छन् । दशर्नार्थीका लागि नभए पनि नियमित पूजापाठका लागि भनेर खुला गरिएको छ । यस्तो संक्रमण मच्चिएको भए र इदका बेला एक महिनासम्मको व्रतका बेलामा पनि यस्तै भिडभाड गरेर नमाज पढ्न भेला भइदिएको भए ?

खै कहाँ रहेछ त धर्म निरपेक्ष ? अहिलेको अवस्था त्यो भन्दा भयावह छ । संक्रमितसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । यस्तो बेला बडादशैँभरि लकडाउन गर्दा के हुन्थ्यो ? अहिले रहे चाडपर्व अर्कोअर्को वर्ष पनि आउँछ । अहिले स्वस्थ रहे आउने वर्ष रमाइलो गरी मनाउँला नि ! आफन्त भेटौँला नि ! खुशियाली बाढौँला नि ! त्यसैले अहिले सरकारले जहाँ छौ त्यही मनाओ भनेकोलाई लकडाउन नै सम्झौँ न । अनि सरकारले पनि टीकाको दिनदेखि मात्रै भए पनि लकडाउन गरे संक्रमणबाट धेरै जोगिन र जोगाउन सकिन्छ । यो तपाईंहाम्रै लागि होइन र ?