नेपाली साहित्यमा केही यस्ता कविता छन्, जुन चर्चित त भए तर कविले त्यसलाई कुन अभिप्रायले लेखे, त्यसके खास मर्म के हो कहिल्यै खुल्न सकेन । यस्तै कवितामध्ये पर्छ, मोहन कोइरालाको कविता, फर्सीको जरा ।

कतिपयले कविता नबुझेरै उनलाई प्रयोगवादी धाराका शीर्षस्थ कविको उपमा दिए । यद्यपि उनले आफू प्रयोगवादी नभएको बरू लेख्ने क्रममा यस्ता कविता लेखिन गएको बताउने गर्थे । जम्मा एसएलसी पास गरेका कोइरालामा नयाँ केही गरौँ भन्ने हुटहुटी थियो । त्यही चाहनाले उनले दुर्बोध्य कविता लेखे, जसलाई पछि समीक्षकहरूले प्रयेगवादी कविता नामकरण गरे ।

‘फर्सीको जरा’ कोइरालाको चर्चित मध्येको एक कविता हो । जसलाई त्रिभुवन विश्वविद्यालको नेपाली भाषासाहित्यमा महत्त्वपूर्ण पाठ्यसामग्रीका रूपमा राखिएको छ । यो कविता सिङ्गैले उनको व्यक्तित्व बोकेको मानिन्छ ।

केहीले यस कवितालाई मदनमणि दीक्षितको माधवी उपन्याससँग तुलनासमेत गरी यसको महत्त्व स्थापित गर्ने प्रयास गरेका छन् । कुनै समीक्षकलाई बौद्धिक चिन्तन गर्नुपर्यो भने यस कवितमाथि समालोचना लेख्ने गर्छन् । यो कविताको रमाइलो पाटो के छ भने यसलाई जुन मुडमा पढ्यो, त्यस्तै अर्थ निकाल्न सकिन्छ ।

मोहन कोइराला

यो कविता फुर्सदमा पढेर चिन्तन गरिने कविता मध्येमा पर्ने भएकाले साहित्यपोस्टका पाठकहरूलागि बौद्धिक चिन्तन गर्ने खुराक मिलोस् भनेर यस पटकको कालजयी कविताअन्तर्गत यसलाई प्रस्तुत गरेका हौँ ।

 

फर्सीको जरा

मोहन कोइराला

अनन्त विडम्बनाले अनन्त हातले
अनन्त चिलले झम्टा मारेको
वर्तमान एक टुक्रा समय, रक्तचापको डिग्रीमा चढेको पारो
जसलाई पर्खिरहेछौँ, चल्ला बनेर।

०००
खल्वाट देखाएर विश्वास दिइरहेछु
पूर्व बिदा विश्वास, आउने विश्वास,
बाँचिरहेको विश्वास,
रंगका विश्वासै विश्वास हामी नै विशवास गर्न सक्तैनौं
विश्वास कहाँ टाँसिएको छ जरा भएर,
मलाई एक विश्वास भए पुग्छ
मलाई एक वर्तमान भए पुग्छ
आउने जाने त्यसैमा, अनन्तको अनुहार हेर्न,

०००
(किनकि समयहीन नै समय हिँडिरहेछ, सडकहीन सडकमा)

०००
यो काँक्रो आफैं थाँक्रोसित पाकेको थाकेर
यसलाई टेबिलमा राख यसलाई टेबिलमा राख
यसलाई टेबिलमा बाँड भेला भएर।
हामी बितेका गीत हामी बितेका समय
भोज गर यसलाई टेबिलमा काट।
एक हतारमा हतार एक जीवनमा जीवन
हात फिँजाएको अनन्तमा ठीटलाग्दो विचार जे हामी
रोप्न लागेका छौँ,
नयाँ कोदालीले माटो नलागेको हातबाट (असफलताका)
वजनबिनाको डल्ला फोरेर
टेबिलको विश्वमा
फर्सीको शान्त बियाँ समयको बारीमा
अस्तित्वको वर्तमान शान्त बिउमा जहाँ पर्खिन सक्तछ
एक मात्र अनन्तका कानो गुदी,
… भोज गर…

०००
लाटीले घुमाएको जाँतोमा पालो छाडेर वर्तमान दौडेको छ।
कानो गोरूको हरियो चौरमा निम्त्याएर वर्तमान फर्केको छ।
चट्टानले मिचेको अगेनोमा रोटी पोलेर वर्तमान लम्बेको छ।
छकिनबाट घटाउ गर अनन्त घट्टको तावा मात्र हो
काट भोज गर बितेको भुङ्ग्रे रोटी मसाने टेबिलमा
किनकि अनन्तले हामीलाई छली चिलझैँ झम्टा मार्छ
भुत्ले नङ्ग्रा लिएर
यद्यपि हामी अनभिज्ञ छैनौँ परमाणुका लागि पनि
ज्ञानले चहचहाइरहेका चाहन्छु, तिमी जे… म जे
हरेक पदार्थ हरेक हरेक अर्थमा अर्थसित विभिन्न अर्थ
बिउजस्तै फराकिला बिउजस्तै फराकिला अनन्तजस्तै
सिङ्गै आकाशजस्तै धर्तीजस्तै समुद्रजस्तै
बिउजस्तै फरासिला।

०००
हामी माटो… हरेक अर्थ माटो अर्थ

०००
हुटिट्याउँको आकाशमाथि आकाश खस्तछ
मलाई हिँड्ने हिम्मत देऊ म फर्सीको मन्टा हुँ
मलाई घुस्रिन क्षितिज देऊ म तोरियाँको जरो हुँ
मलाई उभिन दिशा देऊ म पारिजातको थुतुनो हुँ
मलाई अनन्त फोर्न देऊ म आफैँ समय हुँ
हुटिट्याउँको आकाश अकासिन्छ
झुम्रोको फूल कोरलिनु प्रथम
हुटिट्याउँको आकाशे खुट्टा माटोमा उभिन्छ मलाई हिँड्न देऊ
अनन्त फोरेर
म फर्सीको मन्टा हुँ आकाश छेडिरहेको
म फर्सीको पात हुँ, क्षितिज उचालिरहेको,
म फर्सीको जरा हुँ पृथ्वी पक्रिरहेको।
हामी अनन्त हाँगा अनन्त जरा हामी अनन्त लहरा
मलाई हिँड्न देऊ हुटिट्याउँको आकाश खसालेर,
म फर्सीको मन्टा हुँ म आफैं समय हुँ म आफैँ अनन्त हुँ
प्रुफ रिडर मेरो कानको कानेगुजीको पाप्रा
मेरो कानको कानेगुजी
पेपरवेटको पहाडमा लुकामारी
विचारमाथि विचार अभियान
मसीको अरालो उकालो
कागते कारखानाको स्वर
टाइपराइटरको पदचाप ध्वनि

०००

विश्वास नगर्ने मलाई काट र टेबिलमा…
—विश्वास गर। म फर्सीको जरा हुँ,
आकाश हुँ म, फर्सीको…