कविता विधामा नै विद्यावारिधि गर्नु भएका विप्लव ढकालको स्मार्ट पोयम्सको यो सत्रौँ श्रृड्खला हो । साहित्यपोस्टसँगको सहकार्यमा अघि बढेको यो श्रृड्खलामा नेपाली साहित्यका मानक छोटा कविताहरू प्रस्तुत गरिन्छन् । पुराना र नयाँ कविका लुकेका कवितालाई यसले बढी महत्त्व दिइएने कुरा डा. ढकालले साहित्यपोस्टलाई बताएका छन् । यसपटक डा. विप्लव ढकालले नेपालका मानक कविहरुको कविता प्रस्तुत गरेका छन् ।

१. प्रश्नचिन्हहरू

मनप्रसाद सुब्बा

मनप्रसाद सुब्बा

उत्तर सुन्नलाई
कान ठाडो पारेर उभिएका
यी प्रश्नचिन्हहरू
? ? ? ? ?
तिमीले जबरजस्ती तानेर
तन्काएर सीधा पार्न खोज्दैमा
सीधा हुने छैनन् ।
यिनीहरू चाहन्छन् नाङ्गो उत्तर ।

के तिमी नाङ्गिन सक्छौ सबको सामुन्ने ?
नाङ्गोपन नै पो छ के तिमीसित ?

 

२. कोपिला

मनोज बोगटी

मनोज बोगटी

साना कोपिलाहरू छन्
मौसम विभागले खबरदार गरेको छ
आँधी आउनेछ

प्लिज कोही नजानुस् काउन्सिलर बनेर
कोपिलाहरूको गाउँ

उनीहरू आफैँ लडून् आँधीसित ।

३. सानो सानो दुनियाँमा

राजा पुनियानी

राजा पुनियानी

एक दिन
एकातिर झरेको थियो
आँसु

अर्कोतिर
तारा !

कहिलेकाहीँ
सानो सानो दुनियाँमा
एकाबिहानै
साँझ हुने गर्छ !

 

४. परिस्थिति

प्रदीप लोहागुण

बिछोडका अग्ला पर्खालहरूबीच
यतिखेर म कैद छु ।

हातमा घडीको काँटा बोकेर
मूल ढोकामा पहरा दिइबस्छ
निष्ठुरी समय ।
सम्झनाहरू बेला कुबेला पस्छन्
र, बेस्सरी यातना दिइराखेर जान्छन् ।
तिमीलाई बिर्सिएँ भन्ने
झुठो बयान लेखाउन
दवाव दिइबस्छ मलाई
अफिसर समय ।

परिस्थिति भन्ने बूढो अधिकारीले
अनाहकमा फसायो मलाई !

 

५. ग्यालिलियोको मृत्यु

निमा शेर्पा

मनमनै गाली सोहोर्दै भए पनि
त्यसले हात उठाएरै सलाम ठोक्यो
अनि भन्यो—
हो महोदय,
पृथ्वी चेप्टो छ !

ठीक त्यही बेला
डोकाले छोपेको त्यसको आफ्नै स्वाभिमान
काम्रो भाँच्दै बाहिर निस्किएर
एउटा शोकगीत गाउन थाल्यो
ग्यालिलियोको मृत्युमा !