सामाजिक सञ्जालमा शुभकामना आदानप्रदान गरेको देखेर यो वर्षको दशैँले छोपिसकेको थाहा पाइयो । हरेकपटक फोनमा टिङ्गरिङ्ग गरेर आउने शुभकामनाले मलाई आश्चर्य मिश्रित खुशी प्रदान गर्छ । सामान्य अवस्थामा फुटेको आँखाले पनि हेर्न नरुचाउनेहरुले पनि के कारणले उन्नति प्रगतिको शुभकामना दिएका हुन् भनेर र पंक्तिकार जस्तो सामान्य सामाजिक आर्थिक हैसियतको व्यक्तिलाई पनि शुभकामना आउँदो रहेछ भनेर आश्चर्य लाग्नुको साथै सम्झना गरेर साथी भाइले शुभकामना दिएछन् भनेर खुसी लाग्नु स्वाभाविक हो । अब यस्ता शुभकामना कतिहदसम्म लाग्छ त्यो अर्कै बहसको विषय हो, अहिले त्यतातिर नजाँदा उचित होला । तर चाहिने समयमा फोन नलाग्ने नेपाल टेलिकम, मिसावटयुक्त पेट्रोलियम पदार्थ बेच्ने नेपाल आयल निगम र समयमा प्लेन नउडाउने नेपाल एअरलाइन्सलगायतका निकायहरुले पत्रपत्रिकामा दिएको शुभकामनालाई आधार मान्ने हो भने यस्ता शुभकामनाहरु पूरा हुँदैनन् र यी निकायहरुले आफ्नो कर्तव्य मात्र इमान्दरिपूर्वक निर्वाह गरिदिए त्यो नै असली शुभकामना हुन्थ्यो ।
व्यक्तिगत रुपमा मलाई यो चाडसँग त्यति आत्मीयता छैन । कुनै खास कारणले होइन, त्यसै यो चाडप्रति त्यति रुचि नभएको हो । मान्छेहरुले महिनौं दिन अगाडिदेखि दशैंमा यस्तो र उस्तो गर्ने भनेर योजना बनाएको नै मलाई अच्चम लाग्छ, तर त्यो उनीहरुको स्वतन्त्रता हो त्यसमा मलाई राम्रो वा नराम्रो भनेर टिपण्णी गर्नु छैन । केटाकेटी छँदा लामो छुट्टी हुने, चङ्गा उडाउन पाइने र नयाँ लुगा लगाउन पाइने बाहेक मलाई दशैँको अरु कुनै कुराले पनि तानेन् । मासु खानेप्रति त्यति रुचि नभएको कारणले पनि हुन सक्छ यो चाडप्रति मलाई त्यति आकर्षण नभएको । दशैँको अवसरमा र अरु सामान्य अवसरमा मैले खाने पदार्थ वा भोजनमा कुनै फरक नहुने कारणले पनि दशैंमा खाने पिउने भनेर उत्तेजित हुनुपर्ने कुरा आएन ।
नयाँ लुगाको हकमा इन्द्रचोकको भित्र रहेको वटु मुबाहलस्थित हनुमान साहुको पसलबाट किनेर ल्याएको एक थान कपडाबाट आवश्यक सबै लुगा सिलाउने चलन थियो, यसको बेफाइदा के थियो भने लुगा सिलाइसके पछि मात्र थाहा हुन्थ्यो, आफ्नो कमीज र आमाको चोलो एउटै भएछ भन्ने । यदि घरैमा लुगा नसिलाएको अवस्थामा भने पोलिस्टरको लुगा सिलाउनु पर्यो भने साउनेपाटीमा रहेको जीएन टेलर्स (सुट स्पेसलिस्ट) र खद्दरको लुगा सिलाउनु पर्यो भने नयाँ बजार स्थित गुरुमा (वास्तविक नाम थाहा छैन) को पसल हुन्थ्यो । जीएन टेलर्समा सिलाएको पाइण्ट र कमिज लगाउनु भनेको आजको समयमा प्रबल गुरुङ्ले डिजाइन गरेको लुगा लगाउनु जस्तै थियो । तर त्यसमा पनि एउटा ठूलो समस्या थियो, पाइण्टमा जिपर राख्यो भने सिलाइ खर्च दुई रुपियाँ बढी हुन्थ्यो, त्यो दुई रुपियाँको बचतको लागि हामीले सधैं टाँक भएको पाइण्ट लगाउनु पर्थ्यो । त्यस्तै गुरुमाले कहिले पनि समयमा लुगा डेलिभरी नदिने कारणले लुगा लिन पटक पटक जानु पर्थ्यो, तर उनी सधैं तनावमा हुन्थिन । उनको बुहारी घर छोडेर भाग्ने र छोराले फेरि नयाँ बुहारी ल्याउने एउटा नियमित आकस्मिकता जस्तै थियो । त्यति छोटो समयमा नयाँ नयाँ श्रीमती खोजेर ल्याउने उनको छोरो सायद त्यो जमानाको “प्ले ब्वाई” हुनुपर्छ भन्ने मेरो अनुमान छ । कैँची तरिकाले साइकल चढेर पटक पटक गएपछि मात्र बल्ल लुगा डेलिभरी हुन्थ्यो र त्यो पनि कच्याक कुचुक भएको अवस्थामा, र उनले सिएको लुगा सधैं साइजमा ठूलो हुन्थ्यो, अहिलेको “बेग्गी” जस्तै । तर समयमा लुगा तयार भएन भने टीका लगाउन जान नपाइने र टीका लगाउँदा पाइने द्क्षिणाबाट हात धुन पर्ला भन्ने डरको अगाडि त्यो समस्या कुनै ठूलो हुन्थेन । यसको साथै त्योबेला सबै दाजुभाइ लाई एउटै र सबै दिदीबैनीलाई एउटै कपडा र डिजाइनको लुगा सिलाउने चलन थियो, त्यो किन होला ?
केही अपवादको रुपमा यस्तो भेदभाव नगर्ने ठूलो ह्रदय भएका पनि होलान त्यसमा उनीहरूलाई हार्दिक अभिवादन गर्न पर्छ ।
मान्यजनबाट टीका लगाएर आशीर्वाद लिने दिने कुरा राम्रो हो, तर आजको जमानामा सयौं पाप सोचेको मन र हजारौं झुट बोलेको मुखले दिएको आशीर्वाद लाग्ला भन्ने कुरामै मलाई शंका छ वा लाग्दैन भन्ने कुरामै ठोकुवा गर्न सकिन्छ । स्वीकार गर्न कठिन होला आजकाल आफूलाई काम पर्ने, धनी र उच्चपदस्थ व्यक्तिको हातबाट मात्र टीका लगाउन तछाडमछाड गर्ने हो, सामान्य सामाजिक र आर्थिक हैसियत भएकाहरुको हातबाट टीका लगाउन कोही जाँदैन । केही अपवादको रुपमा यस्तो भेदभाव नगर्ने ठूलो ह्रदय भएका पनि होलान त्यसमा उनीहरूलाई हार्दिक अभिवादन गर्न पर्छ ।
टीका लगाएर दिने पैसा (दक्षिणा) को रकमले पनि समाजमा एक किसिमको “हाइर्यार्की” खडा गरेको छ । त्यस्तो थोरै दक्षिणा दिनेको घरमा के जानु वा अहो, त्यसले त धेरै पैसा दिन्छ, जसरी भए पनि जानु नै पर्छ; भन्ने जस्ता वा मिल्दाजुल्दा सम्वादहरु पंतिकारले धेरैपटक सुनेको छ । हामी केटाकेटी छँदा छोरीलाई मात्र दक्षिणा दिने चलन थियो । पैसा नपाउने कारणले टीका लगाउन जान त्यति रुचि हुन्थेन । एउटा नाताले हजुरआमा (कार्टुनिस्ट राजेस केसीको आमापट्टिको हजुरआमा) पर्नेले भने छोरालाई पनि पैसा दिने कारणले उनकामा जान छुटिएला कि भनेर चनाखो भएर बसिन्थ्यो । समग्रमा भन्नु पर्दा मेरो लागि दशैँ भनेको ‘रु. एक संकलन’ कार्यक्रमभन्दा माथि कहिल्यै गएन ।
आजकाल धेरैले यो चाडलाई “स्केप” गर्न कतै घुम्न जाने वा हाम्रो फलानो मरेको कारण दशैँ नमनाउने भनेर भन्ने गरेको पाइन्छ । आफन्त वा नजिकको व्यक्तिको मृत्यु भएको कारण चाड नमनाउने तर खाने पिउने कुरामा कुनै बन्देज नहुने क्रियाकलापलाई के उपमा दिने यो विद्वतपाठक वर्गलाई नै जिम्मा दिन चाहन्छु । मेरो विचारमा सामान्य आर्थिक हैसियत भएकाहरुलाई त यो चाड दशा नै भएर आउने गरेको छ । आफ्नो हैसियतभन्दा बढी अरुलाई देखाउन खर्च गर्ने कारणले पनि धेरैलाई “आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई” जस्तै हुने गरेको छ । मान्छेले के भन्लान् भनेर देखावटी गर्नु कुनै कोणबाट पनि बुद्धिमानी होइन ।आफ्नो जीवन आफूले बाँच्ने हो र खुशी वा दुःख सबै आफ्नै मात्र हुने कारणले कसैले सम्पन्नताको प्रमाणपत्र देलान् भन्ने झुटो सपना नदेख्दा पनि हुन्छ । अरुको पिठ्यु पछाडि कुरा काट्नेहरुले तपाईंले जे गरे पनि कुरा काट्न छोड्दैनन् । मैले भने त्यस्ता व्यक्तिहरुलाई तलब दिनु नपर्ने तर काम भने अति नै राम्रोसँग गर्ने दासको रुपमा हेर्ने गरेको छु, अर्थात आलोचना गर्ने दास ।
आफ्ना सासाना बच्चाहरुलाई खसीबोका च्याप्न लगाएर बलिन्द्र धारा आँशु बगाएर ‘पशु नमार्नु’ भन्ने आशयको भिडियो सामाजिक सन्जालमा पोस्ट गर्नु नाटक मात्र होइन, बालापनको शोषण पनि हो ।
त्यस्तै पशुबलिको विरोध गर्नेहरुको क्रियाकलाप हास्यास्पद छ । यदि दशैँ मान्ने हो भने पशुबलिलाई पनि मान्नु पर्छ, किनकि यो दशैंकै एउटा प्रमुख अङ्ग हो । यदि पशुलाई मार्नु हुँदैन भन्ने हो भने सबैभन्दा पहिले मासुजन्य पदार्थ खान छोड्नु पर्छ । पशुलाई जिउँदै पोलेर र काटेर हेर्दै मन खल्लो हुने तरिकाले मासु खाने सेतो छाला भएकाहरुको कुरामा लागेर मारकाट गर्नु हुँदैन भनेर रोएर र कराएर सामाजिक सञ्जालहरुमा फोहर गर्नुको कुनै औचित्य छैन । पशुलाई काट्न हुँदैन भन्नेहरुले सबैभन्दा पहिले मासु त्याग गर्नु पर्यो । यदि मासु खाने हो भने चुप लागेर बस्नु उचित छ । आफ्ना सासाना बच्चाहरुलाई खसीबोका च्याप्न लगाएर बलिन्द्र धारा आँशु बगाएर ‘पशु नमार्नु’ भन्ने आशयको भिडियो सामाजिक सन्जालमा पोस्ट गर्नु नाटक मात्र होइन, बालापनको शोषण पनि हो ।
प्रस्तुत आलेखमा कसैलाई व्यक्तिगत रुपमा इङ्गित गर्न खोजिएको छैन, पात्रलाई नभई प्रवृतिलाई मात्र भन्न खोजिएको हो । मेरो विचारसँग सहमत हुनेलाई धन्यबाद छ र असहमत हुनेहरुले पनि अरुको विचारको कदर गर्नुपर्ने सामान्य सिष्टाचार पालना गर्नु हुनेछ भन्ने आशा गर्दछु ।
अन्तमा नजिकिँदै गएको दशैंको सम्पूर्ण पाठकवर्गमा हार्दिक तथा मंगलमय शुभकामनाका साथै हालको महामारीमा आफ्नो ख्याल गरेर दशैं मनाउनु होला भन्ने विनम्र अनुरोध गर्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।