१. पहिलो लघुकथा
सबैभन्दा थोरै शब्दको
डा. कपिल लामिछाने
एउटा बूढो थियो । सानैमा म-यो ।
#
(लघुकथामा थोरै शब्द हुनुपर्ने पहिलो सर्त हो । त्यसपछि कथानक, पात्र र वीजवाक्य आउँछन् । यी कुराहरूमा विशेष ध्यान दिई कथाकारले लघुकथालाई पूर्ण बनाउनु पर्छ ।
डा. कपिल लामिछाने सिद्धहस्त लघुकथाकार हुनुहुन्छ । उहाँको जन्म २०१५ सालमा भएको हो । उहाँ प्रध्यापन र साहित्यमा संङ्लग्न हुनुहुन्छ । अन्यथा, जलमानव, बोन्साई र विस्थापन गरी उहाँले चार वटा लघुकथा संग्रह नेपाली साहित्यमा अर्पण गर्नु भएको छ ।
प्रस्तुत लघुकथामा पाँच शब्दहरू छन् । कथामा पात्र, परिवेश र कथानक पूर्ण छ । कथाको वीजवाक्यले हाँसो र झड्का एकैसाथ प्रदान गर्छ ।)
२. स्वर्णकालीन लघुकथा
अन्याय/न्याय
विजय बजिमय
रुँदै । दौडिदै प्रहरी चौकीमा पुगिन् ।
“किन रोएको नानी ? के भयो ?”
धुस्री, फुस्री, मैली रुँदै गरेकी युवतीलाई देखेर थानेदारले उत्सुकता पोख्यो ।
“म चिथोलिएँ । लुटिएँ । बर्बाद भएँ । मेरो अस्मितामाथि खेलवाड भयो । ममाथि दुर्व्यवहार भयो । रातभरि मलाई बलात्कार गर्यो ।”
थानेदार थप उत्सुक भयो । बिस्तारै अगाडि आएर उभियो ।
कसले गर्यो ? कसरी गर्यो ? भनभन नलजाई भन, कहाँ गर्यो ?”
उनी नाजावाफ भइन् ।
“कसरी भन्नु, कसरी गर्यो । कहाँ गर्यो ।
केमा गर्यो ?”
निहुरेत सुक्सुकाई रहिन् ।
थानेदार अरू अगाडि आयो ।
“भन नानी भन । अरु के के गर्यो ? कहाँ गर्यो ?”
थानेदारले उसलाई गम्लङ्ग अङ्गालो हालेर सोध्न थाल्यो ।
“यसरी गर्यो हो नानी …. ?”
उसले आँखा खोलेर हेरिन् । प्रहरी चौकीमै थिइन् । यतिबेला निस्तब्ध रात परेको थिएन ।
#
(कथाकार विजय बजिमयको परिचय मूलत: कवि हो । उहाँले पोख्रेली साहित्यिक माहोल उकास्न ३० को दशकमा संस्थागत काम जोडतोडका साथ गर्नु भएको थियो । त्यसो त उहाँले “सडक कविता क्रान्ति” मा सकृय सहभागिता जनाई समग्र नेपाली साहित्यमा नै योगदान गरिरहनु भएको छ ।
प्रस्तुत लघुकथामा नारीपात्रको निरीह अवस्थामा पनि पुरुषपात्रले गर्ने यौन मजाकलाई पूर्ण नाटकीय पारामा प्रस्तुत गर्नु भएको छ । कथाले वर्तमान समयको बोध चुस्त/दुरुस्त गर्न सकेको छ ।)
३. मलाई मन परेको लघुकथा
कविको दशैं
गंगा कर्माचार्य पौडेल
“दशैं आइसक्यो, पैसा नि छैन । केटाकेटीलाई नयाँ लुगा सामालतामाल किन्नुपर्थ्यो,” कवि पत्नी फतफताइन् ।
कविले सुनिरहे, केही जवाफ दिएनन् ।
“हैन, तपाईं किन बोल्नुहुन्न ?” छिमेकीका घरमा म्याँम्याँ खसी कराइसक्यो सुन्नुभएन ?”
कवि घोरिएर बसे, बोलेनन् ।
“हैन ! तपाईलाई त खाली … कविता लेख्न पाए पुग्छ । भान्छामा के छ, के छैन मतलबै गर्नुहुन्न । मैले मात्र कसरी घर धान्नु ?” दुखेसो पोखिन कवि पत्नीले ।
ध्यानमग्न कविले सुनिरहे । केही भनेनन् ।
कवि पत्नीलाई खपिनसक्नु भयो । तिनले झर्कंदै अलि ठूलो स्वरमा भनिन् – “चाडबाड मनाउन नसक्नेले किन बिहे गर्या होला ? व्यर्थै ।”
फेरि पनि कविले कुनै प्रतिकृया जनाएनन् ।
अब त सही नसक्नु भयो कवि पत्नीलाई । उसले पतिलाई घचघच्याउँदै भनिन्, ” हैन, तपाईं त अब सास फेर्ने मूर्ति बन्नुभयो कि क्या हो ? क्यै बोल्नुहुन्न । दशैंजस्तो ठूलो चाडको तपाईंलाई कुनै चिन्ता छैन ?”
पत्नीको घचघचाईले कवि झसङ्गै भए उनले पत्नीतिर हेर्दै भने, “छ प्रिय, मलाई दशैंको ठूलो चिन्ता छ । त्यसैले त यति बेला दशैं शीर्षकमा एउटा कविता लेखौं कि भनेर सोचिरहेको नि !”
#
( गंगादेवि कर्माचार्य पौडेल २०११ सालमा स्याङ्जा जिल्लामा जन्मनु भएको हो । उहाँ मूलत: आख्यानको विविध आयामहरूमा खेल्न रुचाउनु हुन्छ । कथा, बालकथा, उपन्यास र लघुकथा गरी उहाँका २५ कृति प्रकाशित छन् ।
प्रस्तुत कथामा कथाकारले साहित्यको मोहमा घरगृहस्थीमा देखिएको सामान्य द्वन्द्वलाई बढो मज्जाले उतार्नु भएको छ । दशैंको यो माहोलमा यो लघुकथा पढ्दा समयसान्दर्भिक हुने अपेक्षा पनि गरिएको छ ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

