“तिमी भारी बोक्छौ हो …? मेरो सामान घरसम्म पुर्याउनुछ, लगिदेऊन् ।”, सायद मेरो हातमा नाम्लो देखेर प्रश्न गरेको हुनुपर्छ ।

“कहाँसम्म लग्ने हो ?”

“ती पर ………. ।”

“कति समय लाग्छ ? टाढा छ कि नजिक ?”

“धेरै टाढा छैन, त्यस्तै २० मिनेट जति लाग्ला, कति लिन्छौँ ?”

“५० रुपैयाँ ।”

५० रुपैयाँ त बढी भएन र ? ३० रुपैयाँ दिन्छु, हुन्छ ?”

३० रुपैयाँमा त लान सक्दिनँ । यति सामन बोकेको पनि ३० रुपैयाँ रे ! भयो अर्को मान्छे खोजौँला ।”

सन्जु सुवेदी

लगभग ५००० जतिको सामन किनेकी थिइन् तिनले, पसलेले भने जति दाम तिरेर । त्यही ५००० को सामन मेरो पिठ्यूले २० मिनेट बोकेको ५० रुपैयाँ मागेको थिएँ, मैले । तर उनले दिन मानिनन्, उनीजस्ता धेरैले यस्तै गर्छन् । मेरो कुनै खास काम गर्ने स्थानको ठेगान छैन । अरूको पसलको वरिपरि बस्यो, कोही सामन किन्न आउछ, उनीहरूकै सामान घरसम्म पुर्याउने काम गर्छु । थोरथोरै सामान लिनेले आफैं लान्छन् । दशैंको मुख कोरोनाको महामारी पहिलाजस्तो मारामार काम छैन । कोरोना सर्ने डरले धेरैले सामान आफैं लान्छन् । सामन बोक्दाबोक्दै फाटिसकेको नाम्लो फेर्न पनि सकेको छैन ।

१० वर्ष भयो काठमाडौँ आएर नाम्लोको साहाराले बिहान बेलुकाको हात–मुख जोड्ने व्यवस्था गरेको गाँउमा धेरै खेतिपाती थिएन । अरूको ज्याला मजदुरी, अधियाँ कमाइ गरेर जिन्दगी चलाइरहेको थिए । खोलाको छेउमा भएको थोरै जग्गा १० वर्ष अगाडि नै बाढीले लग्यो ।

अधियाँ गरेका खेत पनि प्लटिङ् गरेर घडेरीका रूपमा बिक्री भए । जग्गा बिक्री गरेर धेरै मानिसहरू सहर छिरे । कोही गाँउमै सानोतिनो व्यवसाय गर्न थाले । गाँउमा काम पाउन छोड्यो, ज्याला मजदुरी गर्न पनि गाँउमा निक्कै गाह्रो भयो । भएको जग्गा घडेरी बनाएर बिक्री गरेपछि गाँउमा पनि के काम पाउछ र ! मानिसहरूले काम गर्न बोलाउन छाडे ।

२ छोरा, ३ छोरी, श्रीमती र बुबाआमा गरी ९ जनाको परिवार, निकै कठिन थियो जिन्दगी चलाउन । बुवाको मृत्युपछि काजक्रियाको ऋण पनि थपियो । केही साथिहरू विदेश गएका थिए, मैले पनि विदेश जाने मन त गरे, तर खर्च जुटाउन सकिनँ । गाउँकै एक जना काका काठमाडौँमा तरकारी पसल गरेर बस्नु हुन्थ्यो । दशैं मनाउन घर जानुभएको रहेछ । उहाँले, “काठाडौँमा काम पाउँछ ज्यालादारी गर्न, बिहान बेलुका म केही सब्जी दिऊँला बेचेर सामानको पैसा दिनु, नाफा तिम्रो भयो” भनेपछि पछि लागेर म काठाडाँै आएँ ।

सामान बोकेको पैसाले मेरो खर्च पुगिहाल्थ्यो । राम्रै कामाइ हुन थाल्यो । अलि अलि गर्दै पैसा घर पठाउन थालेँ । लागेको ऋण एक वर्षमै तिरेँ ।

केहि सब्जी दिनुभयो । बटोमा बसेर त्यही सब्जी बेच्न थालेँ । बिहानभरी सब्जी बेच्थेँ, नाफा आएको पैसा राख्थेँ र बाँकी पैसा काकालाई बुझाउँथेँ । दिउँसोमा अरूको सामान बोक्ने काम गर्थेँ । सामान बोकेको पैसाले मेरो खर्च पुगिहाल्थ्यो । राम्रै कामाइ हुन थाल्यो । अलि अलि गर्दै पैसा घर पठाउन थालेँ । लागेको ऋण एक वर्षमै तिरेँ ।

आफ्नै पैसाले सब्जी किन्न सक्ने भएँ । कमाइ राम्रै हुनथालेपछि छोरा छोरीलाई पढाउन पनि सजिलो, सबै मिलेर काम गर्दा कमाइ पनि बढ्ने । परिवार एकै ठाँउ बस्न पाइने सोचेर परिवारलाई पनि काठमाडौँ नै ल्याएँ । छोराछोरीलाई यहीँको स्कुलमा भर्ना गरेँ । अनि त श्रीमतीलाई पनि काम सिकाएर सब्जी बेच्न लगाएँ । दुई जना दुईतिर जान्थ्यौँ । निक्कै राम्रो भयो । एउटा सानो सटर लिएर सब्जी व्यापार सुरु गरेँ । तर बाटोमा जति सटरमा बिक्री हुँदैनथ्यो । बिहान बेलुका बाटोमा नै जानु पथ्र्यो । विस्तारै बाटोमा सरकारले सब्जी व्यापार गर्न दिन छोड्यो । लुकेर व्यापार गर्नुपर्ने भयो । लुकेर नै भए पनि व्यापार गर्नुपर्ने बाध्यता थियो । केही गरी नगर प्रहरीले देखिहाले सबै सब्जी खोसेर लग्थ्यो । तैपनि घर खर्च राम्रै चलेको थियो ।

एक दिन पसलमै बसिरहेको थिएँ, प्रहरीको गाडी आएर पसल अगाडि रोकियो । केही प्रहरीहरूले पसल पसलमा आएर भने, “कोरोना भाइरसले महामारीको रूप लियो, विदेशतिर धेरै मानिसको ज्यान लियो । नेपालमा कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको छ । अहिले त नेपालमा १/२ जनालाई मात्र देखिएको छ । एक हप्ता पसल बन्द गरेर घरभित्रै बस्नूहोस् ।” उनीहरूले पसल बन्द गर्न लगाए । सबैले पसल बन्द गर्न थाले ।

विश्वभरी फैलिएको महामारी नेपालमा फैलिनसकेको हुनाले १/२ हप्ता पसल बन्द गर्दा सबै बचिन्छ भने गरौँ न त भनेर पसल बन्द गरेर नै बसियो । २/४ दिन त घरमा बस्दा रमाइलै हुने । छोराछोरी पनि वर्षौँदेखि सँगै घरमा बस्न नपाएका, सँगै दिनभरी घरमा बस्न पाउँदा निक्कै खुसी भए ।

महामारीले बिकराल रूप लिँदै गयो । एक हप्ता, दुई हप्ता गर्दै महिनौंसम्म लकडाउन भयो । व्यापार ठप्प नै भएपछि आम्दानीको बाटो रोकियो । सटरको भाडा, कोठा भाडा, दाल, नुन, छोराछोरीको स्कुल फी, पैसाको अभाव हुँदै गयो । दालचामल नै किन्ने पैसा नभएपछि कति दिन त एक छाक मात्र खायौँ । भाडा तिर्न नसकेपछि सटर छोड्नैपर्ने भयो, छोड्यौं । यसैबीचमा छोराछोरीको अनलाइन कक्षा सुरु भयो । न नेट, न कप्युटर, न मोवाइल ! कसरी अनलाइन कक्षा सुरु गर्ने र ………?

बाच्नै गाह्रो भएपछि गाँउ फर्कने निधो गर्यौं । अलि अलि भएका लुगाफाटो, भाडाकुडा पोको पारेर गाउँतिर लाग्यौँ । गाँउमा पनि बस्ने ठाँउ गतिलो त कहाँ थियो र ! भएको सानो छाप्रो पनि भत्किसकेको रहेछ । सबै मान्छे सहरतिर बसाइँ सरेकोले गाँउका खेतबारी बाँझै, जंगलमा परिणत भएका रहेछन । गाँउमै बसेका २/४ घरका मानिसले पनि खेतीपाती गर्न छोडिसकेका रहेछन् । विदेशतिर गएका छोराछोरीले पठाएको पैसाले सहरबाटै खाद्यन्न किनेर ल्याएर खाँदा रहेछन् ।

काठमाडौँको जस्तो अनलाइन कक्षा गाउँमा सम्भव छैन । छोराछोरीको पढाइ त डामाडोल नै भयो । पैसा नभएपछि खाने कुरा पनि कसरी जुटाउनु ?

छाप्रोलाई टालटुल पारेर टाउको लुकाउने ठाउँ बनायौँ । बाँझा रहेका खेतबारी खनेर अन्नबाली पनि लगायौँ । सासाना एक दुई बाख्राका पाठा किन्यौं पाल्नको लागि । एक महिनामै धान हरियो भएर आयो । अब मंसिरसम्म बाचियो भने त बाचिन्छ भन्ने आस पलायो ।
तत्कालको समस्या त छँदै थियो । छोराछोरीको पढाइसमेत छुटाएर गाउँ छिरेका हामी । काठमाडौँको जस्तो अनलाइन कक्षा गाउँमा सम्भव छैन । छोराछोरीको पढाइ त डामाडोल नै भयो । पैसा नभएपछि खाने कुरा पनि कसरी जुटाउनु ?

लकडाउन केही खुकुलो हुँदै गयो । परिवारलाई घरमै छोडेर कामको खोजीमा फेरि काठमाडौँ आएँ । यसो २/४ पैसा कमाउन सकिन्छ कि भनेर । नजिकै दशैं आउँदै छ । दशैं खर्च जोहो गर्न पनि परिगयो ।

नाम्लो साथमै ल्याए । केही नभए पनि भारी बोकौँला भनेर ।

पहिला जस्तो चलपहल कहाँ रहेछ र काठमाडौँमा ! आउनेबित्तिकै काम के पाउनु र ! २ दिनपछि एउटा ठेकेदारले ज्यामीको काममा बोलायो । एक हप्ता काम गरेपछि काम सकियो । २/४ दिनमा काम पाउला भनेर बसियो तर कामको कुनै अत्तोपत्तो भएन । ठेकेदारले अर्को काम सुरु भएपछि बोलाउँला त भनेको छ । तर कुर्दाकुर्दै ७ दिन काम गरेर कमाएको पैसा सकिगयो । यही नाम्लोको भरमा भारी बोकेर भए पनि गुजरा चलाउँला भनेको थिएँ । मेरो पिठ्यु र नाम्लोको मोल छँदै थियो २०/३०/४०/५०…………… यस्तै यस्तै । जसले जति दियो हात थाप्यो, हिँड्यो ।

सन्चो भएन । टाउको दुख्न र ज्वरो आउन थाल्यो । हस्पिटल गएँ । कोरोना पोजेटिभको रिपोर्ट हात लाग्यो ।

एउटा हातमा कोरोना पोजेटिभ रिपोर्ट, अर्को हातमा फाटेको नाम्लो ।

छोरोले फोन गरेर भन्दै थियो, “घरमा पालेको पाठो ठूलो भएको छ । दशैमा काट्नु पर्छ है बा ! पैसा लिएर आउनु दालचामल किनौँला, मासुभात खाऊँला । धान पाक्नै लाग्यो । राम्रै फलेको छ । दशैं सकिना साथ काट्नु पर्छ । पैसा छ भने नयाँ लुगा पनि ल्याउनु ल ……… ।

आमाले घर लिपपोत गरेर चिटिक्क पार्नु भएको छ । बारीभरी तरकारी फलेको छ । पिङ लगाउन लठा बाट्दैछौँ । पल्लो घरको ठूलो दाइ पनि आउनुभएको छ । लिङ्गे पिङ लगाउने रे !”

गाँउ पुग्न पाए त अन्नबाली फलेको रहेछ , बाचिएला जसोतसो ।

खोकी निक्कै बढेको छ, ज्वरो पनि छ । अस्पताल बस्ने बेलामा चीसो सडकको बास छ । पैसा कमाउन आएको म हातमा कोरोना पोजेटिभ रिपोर्ट र फाटेको नाम्लो बोकेर कसरी घर फर्कौं ? दशैंको मुखमा ।

मर्ने वा बाँच्ने कुनै ठेगान छैन , तैपनि कोरोना पोजेटिभ रिपोर्ट र फाटेको नाम्लो बोकैरै भए पनि दशैंको शुभकामना !