भालेको डाकैमा छोडियो तिप्ल्याङ ।

राति सल्लाह सुनिएथ्यो—‘मास्तिर गर्मी लागिसक्यो । भएका बाक्ला लुगा थान्कोमान्को लगाऔँ !’

तर जतिजति बिहान हुँदै गयो, उतिउति काम छुट्न थाल्यो । अनि मैले बेस्करी खापेँ लुगा । राति झोलामा कोचेका लुगा बिहानीपख लाएको देख्नेहरु हाँसे निकै खित्काएर ।

हाँस्नेहरुलाई भनेँ—‘अरुका कुरा खान्न म !’

अहिले तिप्ल्याङ छोडेको बीस पाइला नहुँदै भारी भयो जिउलाई । पछाडि बोकेको झोला त छ झन् घच्चीको ।

यसो पूर्व हिँडिनसक्तै कालीगण्डकीको गर्जन चर्को भएर आयो झन्झन् । अँध्यारै छ । बथान छ तिर्थालुको । हुलको माझैमा छु म । हल्ला र चप्पल बजेको स्वर मिसमासिएर नयाँ अनुभूति छड्किँदैछ मनमा ।

दुई पहाडको चेप छ डरलाग्दो ।

काठको फड्के तरेपछि दक्षिणी भीर बाटोमा उक्ल्यौँ हामी । चिप्ला ढुङ्गा र साँगुरो बाटोको असजिलो जति छ–बढ्ता छ अत्याउने कालीगण्डकीको भीर । छाँगाछुर भीर र उर्लेको कालीको गडगडाहटले छाती ढुकढक्याउँछ बेस्सरी । अन्धकारमा काली उर्लेको सुनिन्छ, काँ देख्नु ?

युवराज नयाँघरे

अँध्यारो भगाउँदै हिँडिरहेका छौँ । रिमरिम उज्यालो ओर्लेको छ ।

तेर्छियो स्वाँस्वाँ उकाली । चढ्दै थियौँ उकालो–एककासि हल्लाखल्ला मच्चियो ।

‘मार्यो, मार्यो !’

‘लौ, खस्यो !’

हल्लीखल्ली मच्चियो बेपत्तासँग ।

अलिक पछि थिएँ म त । होहल्लाले सातै लियो । खुट्टा कामे अचाक्ली । ठाउँ छोड्ला–छोड्ला जस्तो भयो मुटुले । एक खालको रनभुल्ल भयो । भयो के, कसैलाई थाहा थिएन !

सुइँय्या सिटी बजे ।

हामी सबैसबै आत्तियौँ ।

छिनभरमै मास्तिरबाट गुडुडु आए खच्चडका बथान । रित्ता टिनका भारी कसेका, बोर लादिएका र टुन्न स्याउ बोकाइएका खच्चडका लर्कन ओर्लिरहेका भेटिए । तिनलाई खोलातिर पारी भित्तातिर हामी बस्नुपर्ने रैछ । पत्तो पाउने जोगिए, नजान्नेहरु थिचिए, लडे । भोक र बोझको किचाघानमा परेका खच्चडका पेलाइमा पिसिए, हामी मध्येकै कति तिर्थालुहरु ।

जहाजमा जोमसोम जाने अनि मुक्तिनाथ पैदलै उक्लिने सपना त्यतिखेर तुहियो, जब पानी परेकैपरेको भयो पोखरामा । लगेको पैसा अनि अन्नपात पोखरामै रित्तिने भएपछि चोलेन्द्र र मन्जु अधिकारी, नयाँघरे र सुनिता सुवेदीले कठोर निर्णय ग¥यौँ—‘पैदलै उक्लिने अब मुक्तिनाथ !’

चारपाँच गाडी साटफेर गर्दै हामी झमक्क साँझमा पुगेथ्यौँ तिप्ल्याङ ।

‘बाबु तीर्थ गर्दा चोखो ओच्छ्यान, चोखो मन र चोखो भान्छा गर्नु पर्छ !’ मन्जु भाउजूको इच्छा सुनिन्थ्यो पटकपटक ।

त्यसकै जोहो गर्न लाग्यौँ चोलेन्द्र दाइ र म ।

बल्लतल्ल पाएको होटेलकी साहुनीलाई सोध्यौँ—‘के थरी तपाईं ?’

‘हामी त भण्डारी !’

उनको उत्तरले रमायौँ हामी ।

तर साँझ डुल्न गएका बखत होटेल्नीको छोराले भेद खोल्यो—‘हामी त घर्ती ?’

अब यतिखेर झोलाझ्याम्टा सार्ने कालबेला थिएन । तैँ चूप, मै चूप भयौँ । भाउजूलाई यो कुराको कुनै सुइँको दिइएन । हो, त्यहीँ भेटघाट भएथ्यो पूर्व विराटनगरको यो ठूलो तिर्थे डप्फासँग ।

हामी चारलाई यी चालीस जना बूढाबूढी र त्यसमा पनि कट्टर वैष्ण्वीहरुको साथले ठूलै भरथेग हुने भान भयो ।

घाम झल्मलाएपछि थाहा भयो—खच्चडको पेलपालमा परिछन् एउटी वृद्घा । उनी खुट्टो खोच्याउँदै हिँडदैछिन् । जानेको ‘बोली’ दिएँ, ओखती दिने औकात थिएन । बेलाबेला बोलेर आँट दिएँ, साथ दिएँ ।

देब्रेपट्टिको खोला कलकलाइरहेथ्यो मच्चीमच्ची । गहिरिएको कालीका लहर उत्ताउला थिए, आवाज जस्तै चर्को । अक्करे भीर र काला पहाडहरु आँखालाई म्वाइँ खाएर परिरहेथे पछाडि । दिन छ चिसोचिसो । धरधरी रोएको लागिरहेछ रुखपात । अचम्मका डाँडामास्तिर कुइरोले घेरेको र खोलाले परीपरीका आवाज निकालेको सुन्छु ।

तेर्छो र उकालोमा ओइरो थियो फर्किरहेका मान्छेको । खुट्टा सुन्नाएर, रोगाएर अनि खुइ्यय खुइय्या गर्दै ती झरिरहेका थिए । मर्लान्त देखिन्थे ती । अधमरो ज्यानमा बोलीसम्म फुटेको देखिँदैन्थ्यो तिनको । मन मेरो बाउँडियो तिनको हालत देखेर ।

‘कति दिन भो जोमसोमबाट हिँडेको ?’

‘चार दिन भो बाबु !’

‘हामीलाई कति लाग्ला पुग्न ?’

‘एक हप्ता लाग्ला कि !’

तल झरिरहेकाहरुको बोली सुनिन्थ्यो । भरङ्ङ हुन्थ्यो मन । सातो जान्थ्यो । ढक्क फुल्थ्यो मुटु । खुट्टा गलेर आउँथे । रगत जम्लाजम्ला जस्तो हुन्थ्यो ।

म त टक्क अडिएर भन्थेँ—‘धोखेबाज जहाज !’

खुब आउँथे खच्चडका बथान । तिनलाई देखेपछि बिहानैको आतङ्कले चिथोरिएको मन फेरि बल्किन्थ्यो बेस्सरी । अनि त म हत्त न पत्त बाटो छोडिदिन्थेँ । टाङटाङटुङटुङ घन्टी बजाउँदै बड्किहाल्थे ती । अनि हलुकिन्थ्यो मन ।

रातभरिको शीतले सारा जङ्गल देखिन्थे लछप्रै भिजेको । चुच्चा ढुङ्गा झन् चिल्ला र तिखा देखिन्थे । अड्बेखड्बे बाटो त झन् निर्दयी भएर तेर्सिन्थ्यो हाम्रा सामु ।

तेर्छो बाटो निकै हिँडेपछि पुल तरियो धार खोलाको । लगत्तै कृष्ण गण्डकीको झोलुङ्गे पुलमा उभिएर मैले भनेँ—‘म्याग्दी जिल्लाको एक छेउ कटियो होला, मुस्ताङ त कैलेकैले !’

गलेर नीलोकालो अनुहार बनाइरहेकी सुनितामा मेरो प्रश्नको उत्तरभन्दा घरमा छोडिआएका साना नानीहरुको ख्याल आएको देखिरहेथेँ म ।
थोरै उत्तर लागेपछि बस्ती भेटियो झुरुप्प र गुजुमुजे ।

घर र पसलको उपस्थितिमा यहाँ जीवनको थोरै गति थियो, प्रगति थियो र सङ्गति थियो ।

खोलाको तीरैमा तातोपानीको कुण्ड रै’छ । सबै त्यतै लर्किए । लहसिएँ मै नि ।

पाँच–पाँच रुपियाँको टिकट काटी कुण्डमा पसेँ झ्वाम्म ।

चर्मरोगले विरुप भएका र हाडनसाका रोगले कुँजिएका बूढाबूढीहरु नाम मात्रका लुगा लगाई कुँडुलिएका थिए कुण्डभरिभरि । मुन्टो मात्र देखाएर जिउ सबै पानीमै डुबाएर बसेकाहरुको बगाल देखिए ।

‘आहालमा बस्ने मान्छेहरु !’

चोलेन्द्रका जोडी हाँसे ।

रातभरिको अनिँदोलाई स्नानले केही सजिलो पा¥यो । पारि देखिएका राता डाँडा र पर देखिएका सेता हिमालको आइजाई मिलिरहेका छन् बिछट्टै ।

‘रातभरि भारी त छाँटेकै हुँ मैले तैपनि ग¥हुँगो छ !’

‘अनि छाँटेका लुगा चैँ आँफैले लगाएपछि, मिल्यो कसरी ?’

कुरा हुन्छन् हामी जोईपोइका ।

खाना खाइयो तातोपानीमा । म्हेन्दु साङ्गेको होटेलमा मोटा चामलको भात लडाइयो मज्जाले । भाउजूले आँफैले माझेको भाँडोमा भात छड्काउनुभो । अनि दाल उमाल्नुभो । उहाँको थेगै थियो—‘बाबु, साग परक्क पाउन पाए !’

हो नि, त्यो परक्क काँ पाउँनु यो अन्कन्टारमा ।

एकोहोरो तेर्छो भेटियो । फेरि उकालोमा मरीतरी पाइला राख्यो हाम्रो हुलले । सानो बस्ती भेटियो । घोडा, खच्चड र भरियाको बिसौनी रै’छ यो ठाउँ ।

चोलेन्द्र दाइ अघिदेखि बेपत्तिनु भा’थ्यो, निकै पछि दुई मनुवा फकाईफुलाई लिएर आइरहेको देखेँ ।

एक तरुण विद्यार्थी, अर्को कपाल फुलेका अधबैँसे । तिनलाई गतिलै खर्चबर्च दिएर बोकाइयो हाम्रो भारी । अब फुक्काफाल भो ज्यान । धेरैका अनुहार हाँसे । खट्टा लम्के, गालामा लाली चढ्यो मुस्ताङे ।

गुठे पुगेपछि अधबैँसे भरिया दलेले भने—‘तेल कम भो !’

छाप्रे भट्टीसामु बटुका रित्याउँदै थिए तिनी । गुनासो गरे दलेले—‘तीनजनाको भारी मै एउटालाई खापिदिएपछि तेल पनि त दिनुप¥यो नि !’

‘लौ त लौ !’

मैले दस रुपियाँको एक बटुको जाँड किनिदिएँ ।

‘अब तपाईंलाई नि बोक्न सक्छु !’

दलबहादुरको फुर्ति व्यक्तियो बोलीमा ।

निकै रमाइलो बस्ती लाग्यो गुठे । फापर फुलेका गरा नाँघ्दै लम्किरह्यौँ हामी । खुट्टाले भर पाउँथे, आँखाले देखेका दृश्यबाट । ज्यानले आड पाउँथे, कानले सुनेका बोलीबाट । शरीरले जोस पाउँथ्यो, मनले पढेका अनुभूतिबाट ।

खच्चडको बथान देख्यो कि तीनकोस परैबाट अडिन्थेँ म । अनि अरुलाई सतक्र्याएर भन्थेँ—‘खच्चड महाराजको सवारी भो है !’

घाम चर्केर जाडो भागे पनि न्यानो थिएन मनमा । ज्यान कक्रिएको थियो बाटो सम्झेर । आँखामा उज्यालो ओर्लिन मानिरहेको छैन । खुलेको छैन आङ ।

जहाजको यात्रा गर्न आएकी पत्नीको मुखमुद्रा छ असाध्यै मधुरो । घुँडा दुखाएर हिँडिरहेकी मन्जु भाउजूको हालत छ झन् हरिबिजोगको । मन अँध्यारिए पनि लम्किरहेछु म लमकलमक ।

दाना पुग्दा घाम निकै तल झर्यो ।

टार, बस्ती र खेतको सुन्दरताले रमाइलो लाग्यो दाना । मगर बस्ती रै’छ यो ठाउँ । जताततै छहरैछहरा । टाङटाङटुङटुङ गरिरहेका खच्चडको बथान खेत, टार र बाटोका दुबै किनारमा थिए । रसिलो थियो वातावरण ।

लिदी सोहोरिरहेका झङ्क मगरले भने—‘मेरो लिदी खच्चड निकाल्छन्, खच्चडको लिदी म निकाल्छु !’

सोहोरेको मल पानीमा घोल्दै बारीमा छर्किंदै थिए उनी ।

खोला तरेपछि जिउ छाडेर थकाइ मारियो । बादल कुदेको अकासमा आफ्नो मनको रङ मैले खोजेँ खुबै ।

बिहानैदेखि बिछोडिएका गोविन्द पोखरेल भेटिए । उनले प्रतिज्ञा गरेका रहेछन्—‘एक टिन घिउ र एक लाख बत्ती आफैले बोकेर मुक्तिनाथ पुर्याई आरती गर्ने !’

हामीभन्दा अघिअघि हिँड्थे उनी जतिखेरै । जस्तै उकालीमा नि पोखरेल नरोकिई लुइँलुइँ लम्किन्थे । उनको लम्काइ देख्ता जाग्थ्यो दया । उनको हबिगत देख्ता करुणा जाग्थ्यो । उनको अड्डी देख्ता हाँसो उठ्थ्यो ।

धर्म, अधर्म र धर्मभीरु यो के हाल थियो ? मैले बुझ्न सकिनँ ।

१० असोज २०६३, आजको मुकाम भो दाना बजारमा ।

हिमाललाई प्रणाम !

बिहान मुखसम्म धोएर बाटो तताई हालियो दानाबाट ।

तेर्पे बाटोमा बस्ती भेटियो बाक्लो र रमाइलो । राति हामीबाट छुट्टिएको बैष्णव टोली बाटैमा भेटियो । हिजो घिउको टिन माथि बत्तीको भारी थियो, आज मुनि परेछ बत्ती । तर अगाडि लम्कने गोविन्दको गतिमा क्यै फरक थिएन । रत्ति नि कम थिएन ।

पहाडको अनौठो गन्ध आउँछ नाकमा । बिहानैको वन । चराहरुको कल्लोल र घामले पुछिरहेको छ पहाडको सुन्दरता । रुखपातमा जीवनको सगबगाइ छ क्रमशः । भेटिन्छ बनेलु फूलैफूलको संसार । लहरा र झाडीको सिँगारपटार छ । कहिल्यै नदेखेका वनस्पति देखिरहेछु बेस्सरी ।

लम्कदै छु पश्चिम उत्तर ।

आँखा चुम्ने पहाड छन् । खुट्टा गल्ने चेप छन् । ज्यान थङ्थिल्याउने गोरेटा छन् । जीवनलाई पाइलापाइलामा परीक्षा लिने खोँच छन् ।
आकाश हेर्दै सुनिताका आँखा बोल्छन्—‘ढटुवारे, जहाज !’

थुप्रै दिनदेखि निसोधार झरी परेको आकाश अहिले खुलेको छ । घमाइलो छ दिन । तातो र न्यानो दिनसँग बातचित गर्न चुक्ने मैले ?
आकाशमा चालचुल छैन जहाजको ।

घनघोर जंगल फाँडेर कोदो र तर्कारी रोपेको देखेपछि लाग्यो, नजिकिँदैछ बस्ती । अजङ्गगद पहिरा र पहाडका तरेली कति हो कति ! खोँच र छाँगाछुर भीर आँखाले हेरिनभ्याइँदा । मनले गुनिनभ्याइँदा । छातीको धड्कनले दगुरिनभ्याइँदा ।

आपट्टे पहाडका चेप भएर गएको सानो गोरेटो नाप्दैछौँ । हिँडिरहेका कोही, उभिइरहेका कोही, थकाइरहेका कोही । कम्मरमा हात राखी सुस्ताइरहेका कोही, कन्पारामा हात राखी खुइ्यय गरिरहेका कोही ।

रुप, अवस्था र स्थिति पर्गेल्छु म । यी सबैसबै धार्मिक मनले गए पनि शरीरले देखिन्छन् दुःखीदुःखी । हो, धार्मिक मनले नगए पनि सुखी छु म ।

आवाजमाथि आवाज छ वनमा । चरा चिर्बिराएको, छहरा सुसाएको, खोला गर्जेको, हावा चलेको, कीरा किरकिराएको अनि पात खसेको । हरेक आवाजको जोडजाडले मेरो तरङ्गलाई घोर शीतलता दिन्छ, रगतलाई थपथपाउँछ, आँखालाई फकाउँछ ।

दिन उकालिएको बेला हामी पुग्यौँ रुप्से छहरा ।

बाफरे कति मोहक छहरा । अद्भूत छहरा । अहो, स्वर्गीय धर्ती । पोसिएको वन थियो त्यहाँ । छहराले धोइएका पहाड थिए । छहराले पुछिएका पहरा आए ।

धेरै पर रहेको छहराको धेरै वरसम्म बाच्छिटा आयो, चीसो स्पर्श आयो अनि मायालु छुवाइ आयो । निकै बेर यो अनमोल परिवेशमा ज्यान छोडेर बसेँ म । आनन्दको उपल्लो भान भयो मलाई ।

‘नेचुरल एसी !’

चोलेन्द्र दाइको बोली सुनियो ।

अनि झसङ्ग झस्किएर लागेँ हुलसँगै ।

आँखै तिर्मिराउने घाम छ । पहाडका टुप्पामा उक्लिरहेका भेडीगोठाला खुब देखिरहेछु यतातिर । ढुङ्गेनी खोपिल्टामा उम्रेका रुखबिरुवा हेरीहेरी शीतल पार्छु मन ।

पश्चिमको चेप सकेर उत्तर लाग्दा देख्यौँ—गजबको थलथले हिमाल ! कस्तो अद्भूत र विचित्रको थियो दृश्य । हिमालका टाउकामा सेतो सिन्दुर !

अनौठो तरङ्गले गुम्सिएको छ छाती । लाट्टिएको छ बोली । उकुसमुकुसमा छन् आँखा । शरीर मात्तिएको छ त्यसैत्यसै गर्माएर ।
सब थोक बेग्लै, हरेक थोक भिन्नै र जम्मै थोक अर्कै । सबै नौलो भएरै यो जीवन सिद्घिन्छ कि क्या हो ? बेछाँटको कुरो आउँछ घरीघरी ।
काभ्रे दाना पुगिएछ ।

अल्मलिने देखियो बाटो ।

खच्चडको खुट्टामा नाल ठोकिरहेका एकजना जब्बर बूढालाई मैले भनेँ—‘जोमसोम जाने बाटो कता पर्यो ?’

‘बिजुलीको पोल हेर्दैहेर्दै जानुस् !’

हामीतिर हेर्दै नहेरी बोले जब्बरे बूढा ।

दुई पाइला हिँडेपछि मैले आँफै भनेँ—‘र, खच्चडको लिदी सुँघ्दैसुँघ्दै पनि जानुस् !’

कुराले हँसायो सबैलाई । हो, नि बाटोभरि खच्चडको लिदी त कति हो कति ! वास्तबमा नसोधेकै भए पनि हुन्थ्यो, बूढालाई । लिदीले

डोर्याएर हाम्लाई पुर्याउँथ्यो नै । तैपनि बाटो झुक्किएला कि भनी डराए हाम्रा गिदी !

एकोहोरो उत्तर लम्केपछि उही कालीको छङछङ गुन्जियो कानमा । कालीमा बसेका गजधुम्म चट्टानलाई पानीका फिँजले धक्का दिन्थे र लुरुक्क तताउँथे आफ्नै बाटो । जीवन, गति र समयका माखेसाङ्ला बन्थे अनि फेरि चुँडिन्थे । भुँवरी परेका रह त कतिकति ! म हेर्दै लम्किरहेथेँ, म अडिँदै हेर्थें, म निहाल्दै अथ्र्याउँथेँ ।

आँखाले नभ्याउने चरन देखिन्थे, फाँट देखिन्थे ।

च्याङ्ग्राका बथान त कति कति ! लगत्तै आइरहेको दशैँका खजाना थिए ती । लाम्पुच्छ्रे भेडा र चिल्ला खसी फाटफुट मिसिएका थिए च्याङ्ग्राका बथानमा ।

‘किन त ती चैँ थोरै ?’

‘बाटबाटाका पुलिसलाई कोसेली !’

भेद खोले च्याङ्ग्रा धपाउनेले ।

पुल तरेपछि एकोहोरो तेर्छो भएर उत्तर लाग्यौँ । बूढाबूढीको लर्कोसँग भेटिने र छुट्टिने क्रम थियो यथावत ।

कोप्चेपानीमा चियापानी गरियो । भरियालाई पसल पछाडि लगेर फेरि थपिदिएँ, ज्वलनशील तेल ।

एउटी त्रिपुण्डक लगाएकी रुपसीले मलाई चनाको सातु दिँदै भनिन्—‘यसले उकाली छिचोल्न सघाउँछ !’

पत्नीसामु अर्की रुपसीले खुसुक्क सातु दिँदा डरडर लाग्यो मलाई त । तर तीर्थालुसँग हिँडेको हुँदा यो सबै ‘माताको ममता’ भन्ठानेँ मैले ।
दम्साइलो उकालो निकै छिचोलियो । सुस्ताउँदै, हिँडदै उक्लेपछि भीरैको बजारमा मज्जाले ज्यान बिसाएँ । पहाडैपहाडको चेप भएर ठडिएको यो उकाली लर्तरोको थिएन, चानचुने थिएन र ख्यालख्यालको थिएन । पारिको भीर हेरेर थाहा भयो—हामी उक्लिरहेको उकालो रै’छ आपट्टे, महाआपट्टे ।

वरपर खुबै देखापरिरहेथे चौरीखर्क, भेडीखर्क । डरलाग्दा भीरमुनि गोठालाहरु जिम्मु टिपिरहेका देखिन्थे । बाबै, अन्कन्टारमा जिन्दगी छ झन् कहालिँदो !

पहिरोमा पाइला !

पूर्वतिर तेर्छिएको भीर नाँघ्दै उकालिइरहेँ म । टुप्पामा फेरि स्वागत गर्यो कीराको र्याइँर्याइँले । मनै उदास, आँखै अत्यास र ज्यानै निरस पार्ने अवस्था छ यतिबेला । भित्ताका हरिया लेउ हेर्छु, झ्याउ हेर्छु र काई उम्रेका छाँगाछुर हेर्छु । परपर देखिएका राता थुम्का हेर्छु । प्रकृतिको विरुपता र कुरुपताको होडबाजीले ठुङ मार्छन् आँखामा । पर पुगेको मन हम्मेहम्मे पर्छ फर्किन ।

‘आजदेखि दिन खुल्यो । जहाज उड्लान् त अब ?’

सुनितालाई भनेँ ।

‘हतारिएर हिँड्नाले पाउनु सास्ती पाइयो !’

दुःखी उत्तर सुनेँ ।

तर खुशी थिएँ म त । चारचौरास हिँड्न पाइएको थियो, दर्गदिशा हेर्न पाइएको थियो । र, हिमालपारिको जिल्लालाई नजिकैबाट छुन पाइएको थियो । हो, खुशी मैले धीत मारेर भन्ने अवस्था थिएन । सबैको दुःखमा सन्तप्त भएर हिँडिरहेथेँ अभिनयसाथ, नाटकसाथ ।
‘अब सुरु भयो मुस्ताङ जिल्ला !’

देउराली पुगेपछि कसैले भन्यो ।

पैराले सबै खाइसकेछ यो गौँडोलाई । यसलाई ‘पैरा थाप्ला’ पनि भन्दा रहेछन् मुस्ताङेहरु । खच्चडका बथान उभिने जत्तिको बचेको ठाउँमा त हामी पो ठडियौँ । हामी पनि खच्चडभन्दा कम्तीका कहाँ र ? सबैका डँडाल्ना, काँध र थाप्लामा क्यै न क्यै छ भारीतारी ।

बाटो गयो चेपैचेप उत्तरतिर । त्यसैमा हामी मिसियौँ । तेर्पे उकालोमा कडा घामले दर्पराएर पोल्दैछ । र, पसिनाको थोपा काखीमा आइरहेको थाहा हुँदैछ मज्जैले ।

कति ठाउँमा काली गण्डकीको गर्जन र कीराको किरकिरको होडबाजी सुन्दा लाग्छ—भइरहेछ—सबालजवाफ । सेपिला खोँचमा पानी उम्रेको देख्छु । निकै निकै माथि छौँ हामी । शरीरमा अलिक भिन्न अवस्था दगुरिरहेको लाग्दैछ ।

खुट्टो खोच्याउने बूढीलाई बोक्नै पर्ने खण्ड परेछ । यसरी नि धर्म गर्नु !

दुई दिन अघिदेखि घिउको टिन बोकिरहेका गोविन्दले आफ्नो चर्तिकलामा ल्याएका छैनन् कुनै कमी । हो, गति चै कम भइरहेको छ । पहिलाका उनी अघि, अब धेरै पछिपछि हुन्थे ।

घाँसा पुल तरियो । बाफरे कस्तो मनै सिरिङ्ग्याउने पुल । छाती बल्किन्छ भनेर—झोलुङ्गे पुलमा घाँस र सुकुल हालेर रिगँटा लाग्नबाट बचाइएको रे !

‘अर्को पालि आउँदा मोटर बाटो चलिसक्छ, नारान !’

एउटी बूढी डोर्याइरहेको किशोरसँग भन्दै थिइन् ।

मलाई लाग्यो—‘जैविक विविधता, प्राकृतिक सुन्दरता र हिमाली वैभवताका दिन घट्ने भए अब !’

हुन पनि विकाशले निम्त्याउँछ विनाश । यी अद्भूत र दिव्य धर्तीका थुप्रै रहस्यपूर्ण निधि सखाप हुनेछन्, नष्ट हुनेछन् र ध्वस्त हुनेछन् । हामी पैसामा सबथोक बेच्नेछौँ, पैसामा सबथोक गुमाउनेछौँ अनि पैसामा सबथोक साट्नेछौँ । हाम्रो पुरानो सभ्यता र संस्कृति, परम्परा र पहिचान, गौरव र गाथामा विकाशका सुकिला पञ्जाले नङ्ग्रा गाड्नेछ ग्वाम्मग्वाम्म । अनि नङ्ग्राले निकालेको रगतमा आउँदो पुस्ताले कति भेट्लान् हाम्रो गर्बिलो गन्ध ?

मूल बाटो छोडेर हामी पुग्यौँ घाँसा बजार ।

यहाँका घर अलिक अग्ला, अलिक सुकिला र अलिक आधुनिक ठानेँ मैले । वरपरका थाप्लामा कुइराको चर्तिकला चर्कै थियो मुटुमा भुँवरी पार्ने । सेतो बादलको लुकामारी थियो उल्काकै । भर्खर भाँचेका मकैका गन्धले बस्तीमा मटक मारेको लाग्थ्यो । फूल खेलेका फापरबारीले अँगालेको थियो घाँसालाई । लम्सालको चुल्होमा पलेँटी मारेर भुँडी उकासियो मज्जैले ।

भातले लघारेपछि निस्केको फुर्तिलाई साथी बनाएर हामी पुग्यौँ कैकु ।

बाटोका दायाँबाँया मकै, फापरको चमक । लहलह बाली देख्ता मन भरिन्थ्यो टम्म । आँखामा आनन्दी मुस्काउँथ्यो मज्जैले ।

उत्तर पसारिएको लेते खोलाको पुल तरेपछि भेटियो ठाडै उकालो । उकालीमा जम्काभेट भो खच्चडको ताँतीसित । आपतमा, महाआपत ।
अहा, सुन्दर लेते !

वरिपरिका थुम्कामा हिउँका रास । सेता हिउँचुली देखिन्थ्यो कालो बादलमा हप्कीदप्कीसाथ । हलुका पानी प¥यो । हिउँ हेर्दै त मन भएथ्यो पानीपानी । अब त झन् पानी नै बिर्बिरायो । मन त फुरुङ्गै ! वरिपरिबाट घेरेर आएको अँध्यारोले घनघोर बादल, हावा र पानीको कोसेली देलादेला गर्यो । तर छिट्टाएर थन्कियो आँफै । मच्चियोमच्चियो अनि थच्चियो हिमाली हुन्डरी ।

सारा हिमाल देखिन थाले दक्षिणतिर । धीमा हुँदै गयो हाम्रो लम्काइ । रामारुमी साँझमा पुगियो कालोपानी ।

‘आजको रात यीँ बसूम् है !’

गोविन्दले उर्दी कसे ।

अनुहारमा ठूलो कोठी भएकी तुलाचननीको होटेलमा पस्यौँ हामी । बासको जोहो गर्न ।

‘हल्ला नगर्नुहोला, कुइरे बिच्केलान् !’

‘तपाईंहरु त सय वर्षमा एक ताल आउने, उनीहरु त एक वर्षमा सयौँ चोटि आउँछन् !’

यी दुबै कुरा थिए तुलाचन मैयाँका ।

स्वाभिमानलाई घुटुघुटु थन्काएर कोठाभित्र छि¥यौँ । हामीलाई बास चाह्एिको थियो । कुइरेको मान, हाम्रो अपमान !

ढोका लाएर साउती मार्यौँ हामीले—‘भोलि बिहान चारै बजे जोमसोमतिर पाइतो सारौँ है !’

रातभरि मन्जु भाउजूको ऐयाआत्थुले हाम्रा आँखामा आएको निन्द्रा पनि खोसेर लगे । बिचरा, चोलेन्द्र दाइ पत्नी सेवामा जाग्रामै बसे सिङ्गो रात । यत्तिको श्रीमती–स्याहारसुश्रुषा मबाट त होलाजस्तो लाग्दै लाग्दैन !

नभन्दै बिहान चारैबजे ट्याक्टर खडा भो हामी बसे होटेलका आँगनमा । कोचाकोच गर्दै खाँदियौँ ट्याक्टरको डिब्बामा । गुन्द्रुक, सिन्की एकै ठाउँ ।

उत्तरपट्टि देखिएको हिमाल हेर्दै मैले भनेँ, प्रणाम !

अरु सबैले एकसाथ प्रणाम भने ।

खोला सेतो थियो, हिमाल सेतो थियो, पहाडका थुम्का सबै सेतै टुप्लुकिन्थे । मुटु कमाउने जाडोलाई काखीमा थन्काउँदै जम्माजम्मी एकचालीस जना ट्याक्टरमा गुन्द्रुकियौँ हामी । चिसोले थरर्र कामे ओठ ।

उत्तरका हिमाल पहेँला भइरहेथेँ । दक्षिणका हिमाल सेतै थिए । घाम नपुगिसकेकाले यस्तो भा’को कि ? अरु थुप्रै हो कि–हो कि, प्रश्नका गुल्टा थिए अनवरत । अब भिन्न भूमि देखिँदा छन् । गर्जना छैन कालीको । शक्ति छैन कालीको ।

एकोहोरो उत्तर लागेपछि टुप्लुकिए अनौठा र उराठ बगर मात्रै । चालकसँगै कुम जोरेर बसेको छु म । सुन्दै छु उसका फतफते कुरा ।
‘छोरा मान्छेको मरन ठेगान हुँदैन, छोरी मान्छेको कर्म ठेगान हुँदैन !’

स्टेरिङसँगै बोली चलिरहेको सुन्छु ।

‘टुरिस्ट चढाउन पाइन्न याँ !’

‘किन नि ?’

अचम्म लागेपछि सोधेँ ।

‘टुरिस्टले गाडी चढे, याँ का मान्छेले के खाने नि ! त्यसैले कुइरेलाई हिँडाएको र डलर झारेको !’

कुरो खोल्छ चालक ।

एउटा चौरमा पुगेपछि सबै पसे जङ्गल । म थालेँ सेरोफेरो पढ्न । घामले सिँगारिएका हिमाल पूर्वदेखि पश्चिम गइरहेथे सुनौलिएर ।

‘वैशाखतिर खुब मान्छे आउँछन् । चौँरीको खुन खान, यै मास्तिर !’

‘किन नि ?’

‘चरिरहेका चौरीको आलो खुन खाँदा मान्छेलाई तागत हुन्छ । जङ्गलमा ओखतीमुलो हुने घाँसपात खान्छ नि चौरीले । लेकका चौरी अनि पो बलिया भएका !’

कुरा सुन्छु फतफतेका ।

घुम्ती, मोड र बगर नाँघ्दै छौँ, नाप्दै छौँ घरीघरी । हिमाल त गायब !

हिजो राति सुनिएथ्यो—‘पानी खाएर सुते नि पैसा, खाना खाएर सुते नि पैसा !’ व्यापारका अनेक तरिका । ओच्छ्यानको मूल्य भने पनि भित्री मिलान भइहाल्दो रै’छ । जे होस्, ज्यानले तेर्छिने खाट पायो । सन्तोष छ यसमै ।

बोक्सी मिसियो काली खोलामा ।

‘ठूलाठूला देवीदेउता छन् याँ !’

सुन्दै छु कुरा ।

लार्जुङ पुगियो ।

उज्यालो भो दिन । घामले वरपरका पुछेर पहाडलाई चम्कायो, बगर खुलायो अनि बाटो देखायो । वरपरका राता थुम्कामा ससाना प्वाल देखापर्न थाले मज्जैले । परेली खुलिनसक्दै नानी दगुर्थे पहाडका तरेलीतिर ।

घरजस्ता, दरबारजस्ता, गुम्बाजस्ता र पाटीपौवाजस्ता आकारका प्वाल देखिन्थे—नाङ्गे भीरमा ।

‘के हुन् ती ?’

‘ए, ती मान्छे गाड्ने ठाउँ ! यतातिरको पुरानो चलन ।’

चालकको बोली छ गतिमान ।

राता थुम्का, सेता हिमाल र हरिया पहाड । तीन खाले धर्तीको मिलाप देखिरहेछु । थकालीहरुको आफ्नो संसार छ यहाँ । आफ्नो सभ्यता र संस्कृतिले सुवासित छ यो भूमि ।

स्याउ, मकै र फापरका उब्जनी अब मज्जैले आँखासँग जोडिए । जीवन अलिक रसिलो, पोसिलो र कसिलो ठानेँ मैले ।

कोवाङ पुग्दा चर्केको घाम फेरि चिस्सियो । टोपी, गलबन्दी खोल्ने र गुथ्ने गर्छु म पटकपटक ।

‘लेतेमा बढी पानी पर्छ । यताको पानी नि उडेर उतै पुग्छ । याँ त खाली हावा लाग्छ । बाह्रै काल, बाह्रै मास हावा !’

टुकुचे बगरमा कालो आकाश हेर्दा सुनेँ ।

राता पहाडका भीरमा झन् बढे ससाना प्वालैप्वाल ।

थाक टुकुचेमा पुगेपछि भूपी शेरचनको नाउँमा खोलिएको पुस्तकालयमा एउटा किताब छोडेँ ।

चालकले भन्यो—‘उहाँ मेरो बाजेको साथी !’

‘को भूपी ?’

‘अँ, कवि !’

पिँध पोलेर मर्नै आँटे म त । साटफेर गर्ने कुरो थिएन । विशिष्ट सिट थियो यो । सजिलो र अरु आरामदायी खोजे गुम्ने डर थियो त्यै नि । अनि पो जस्तै सकस पनि सहिरहेछु म ।

निकै फाँट छिचोलेपछि आयो, मार्फा ।

बाफरे, स्याउघारी ! खेतभरि जताततै स्याउ लडेपडेका । डोका, डाला, नाङला र थुन्सेभरि स्याउ नै स्याउ । साना बच्चाहरु लात्तले भकुण्डो खेल्दै थिए स्याउदाना ।

‘मार्फा त स्याउ, नास्पाती, ओखर र आरुका लागि प्रख्यात हो नि !’

प्यारप्यार छ स्टेरिङवालाको ।

धेरै आनन्ददायी र सुन्दर लाग्यो मार्फा । साना र आँखा तान्ने घरहरु । सफा र कलात्मक जीवनशैली । परिश्रम र कठोरताबीच हुर्केको थियो मार्फाली संसार ।

आँखानिर टुप्लकिए नाङ्गा डाँडाहरु ।

छानाभरि दाउरा । फापरको लहलह । झ्याप्ले भोटे कुकुर । चौरी धपाइरहेका रातगाले तरुनीका खुब लस्कर थिए बाटाभरि ।

ट्याक्टरमा बोकिएको म हरेक कुरा विचारीविचारी हेरिरहेथेँ । ढुङ्गाले घेरेका बारीमा मकैमुनि गजब देखिन्थ्यो फापर फुलेको । एक मिहिनेतमा दुई प्राप्ति ।

‘ऊ नीलगिरि !’

पूर्वदक्षिणतिर देखाएर चुप भो चालक ।

अद्भूत नीलगिरि ! श्वेत थुम्का नीलगिरि !! हिउँराशि नीलगिरि !!!

मैले हिमाललाई यति नजिकबाट हेरेकै थिइनँ । यति हार्दिकसँग हिउँचुलीलाई पढेकै थिइनँ । यति वरबाट हिमकला पर्गेलेकै थिइनँ ।
बाफ उडिरहेको हो कि ? कुइरो कुदिरहेको हो कि ? बादलको पातलो पछ्यौरी लहराइरहेको हो कि ?

नीलगिरिको थुम्का वरिपरिको हावा, घाम र बादलको चर्तिकला देखिन्थ्यो अनेकअनेक । दक्षिण, पश्चिम र उत्तरबाट हेर्न पाइरहेको थिएँ नीलगिरिलाई ।

यति भव्य, यति लोभलाग्दो र यति दिव्य मेरा जीवनमा कुनै हिमालले यो उमेरसम्म छोएका थिएनन् । म हेरेको हेरेकै भएँ । आँखै तिर्मिराउने हिमालको उत्ताउलो बैँस ।

स्याङ पुगियो ।

छिद्रछिद्र भएका राता पहाडको लर्कन छ यथावत । आँखालाई लमतन्न नीलगिरिबाट अन्त फर्काउँदा मन मान्ने होइन । मोड्छु बलैले । मनलाई बाँध्न सक्तिनँ म क्यै गरी ।

ढिस्काढिस्की देखापर्न थाले अब त झन्झन् ।
वास्तबमा अचम्मलाग्दो छ यो मुस्ताङ जिल्ला । छक्क पर्दो छ यो हिमाल पारिको भूमि । जिब्रो टोकीटोकी हरेक कुरालाई पढिरहेको छु म ।

बलौटे पहाड, चट्टाने पहाड, रुखा भीर र नाङ्गा थुम्काको बारबेर । यहाँको सभ्यता अहोरात्र छ गतिशील । उराठ, भयानक हावा र अटुटको सङ्घर्षपूर्ण जीवनपद्दतिले यहाँको हातमुख जोडिएको छ ।

तर यी सबै भित्र छ— आदिम र चमत्कारपूर्ण सभ्यता ।

पोथ्रैपोथ्रा छन् फाँटमा । पठार भूमिको फैलावट कति हो कति ! चारैतिर हिमालले घेरेको यो बगरजस्तो ठाउँ । अनौठो रगत कुद्छ शरीरभरि ।

नीलगिरिको बैँसलाई एकलै तनतनी पिउन खोज्ने बादल घरीघरी लघारिन्थ्यो हावाबाट । पटकपटक टुप्लुकिने नीलगिरिको रुपलाई पिइरहेथेँ घटघटी । बेरोकटोक, निरन्तर, बेहिसाब ।

निकै बगर छिचोलेपछि उकालोले भन्यो—‘अब जोमसोम टाढा छैन !’

हो, जोमसोमको भव्य दरबार हामीले देखिसकेका थियौँ अलिक परैबाट । राता घरहरुको लस्कर र फाँटिलो चौरमा छरिएका भवनहरुको उभ्याइले जोमसोमको तिख्खर सुन्दरता आइसकेको थियो मेरो आँखामा ।

झन् चाँडो पुग्न खोज्थ्यो मन ।

मध्य दिनमा पुगियो जोमसोम ।

सडकको किनारमा थन्कियो घ्यारघ्यारे ट्याक्टर ।

एक झोला स्याउ किनेँ मैले । अनि हामी जहाजको टिकट मिलाउन नेपाल वायुसेवा निगमको कार्यालयमा पस्यौँ । त्यसअघि अग्नि र गुणका टिकट काउन्टरमा पसिसकेथ्यौँ हामी ।

दशैँको तामझामले सबै टिकट बेचिएको सुनियो । निकै अनुरोध, बिन्ती र बिलौना गरेपछि हामीले टिकट पाएका थियौँ बल्लतल्ल । त्यसो त सुनिएको थियो पोखरामै—‘कमिसन खाएर एनएका यात्रु अरु नै जहाजमा उडाउँछन् त्यसकै कर्मचारी । जहाज बरु रित्तै उडाउँछन् !’
तै हामीले टिकट पायौँ ।

टिकट पाएपछि एकसरो डुल्ने मन भो । स्याउका दाना कर्याप्प टोक्दै, खुशीले उत्ताउलिएका गोडालाई मनमाफिक छोडिदिँदै, आनन्दले बुर्कुसिएका आँखालाई ढुक्कले फुकाइदिँदै बरालिएँ म जोमसोम बजारमा ।

जानु त मुक्तिनाथ थियो । अझै पर, धेरै पर । कहाँ हो कहाँ पर । तर यतिखेर जोमसोमको सुन्दरताले तानिइरहेको थिएँ म, जोमसोमको मुहुनीले लुटुपुटु भइरहेथेँ म, जोमसोमको सुमसुमाइमा अँगालिरहेको थिएँ म ।

म गतिलै केरकारमा परेँ नीलगिरिको । मुक्तिनाथ जानुअघि मेरो सारा परीक्षा गर्यो नीलगिरिले । हिजोका हिँडाइ र भोलिका लम्काइमा केही खोट देखेर पो केलाइकुलाइमा परेको हुँ कि म ?

दक्षिणपट्टि मुस्कुराइरहेको भव्य, दिव्य र बेजोडको नीलगिरि हिमाल चम्चमाइरहेथ्यो । रौँ ठाडा भइरहेथे मेरा, उसका छरिएका आभा हेर्दा ।

घामको किरणले उसलाई उज्यालो पारिरहेथ्यो झन्झन् । हावाको सुइँसुइँ उसलाई सङ्गीत सुनाइरहेथ्यो । बादलको चञ्चलतामा उत्ताउलिइरहेथ्यो नीलगिरि ।

त्यही सुन्दर नीलगिरिलाई आँखाले पिउँदै पर्सि फर्कने छु म ।

यो भव्य हिमालको एक दिव्यता छातीमा साँचेर जानेछु म । यो हिउँचुलीको एक मीठो मायामा डुबेर जानेछु म । यो हिमराशिको आभाले सिङ्गो चेतना धोइएर जानेछु म ।

मुक्तिनाथ हुइँकिदा जोमसोम ढाकिएथ्यो बादलले ।