काठमाडौँमा जाडोले बिदा लिइसकेको छ । गर्मी आफ्नो पूर्ण क्षमता देखाउने मुडमा अझै छैन । यसपालि किन हो, पानी निकै परिरहेको छ । पानी पर्दा गर्मी पनि हारिदिन्छ । पानीको सौन्दर्यसँग उसको पौरखको केही जोर चल्दैन । आज पनि यस्तै भा छ । बिहानभरि परेको पानीले गर्मीको तुजुक धेरै मत्थर पारिदिएको छ । त्यसैले रमाइलो छ, यहाँ बाहिर बस्न । दस बजेतिर एउटा असजिलो क्लाइन्ट आइलागेको थियो । उसको टिकट मिलाउँदा मिलाउँदै लन्चलाई ढिलो भइहाल्यो । त्यसैले अहिले एक्लै लन्च खान आउनु परेको छ ।
यही परिवेशले होला मलाई बियर खान उक्साएको । मगभरिको बियर मेरो अगाडि छ । सुनौलो रंग । सुनै पगालेर राखेजस्तो । चिसो बियर । हेर्न अनि खान दुवै आनन्ददायक । आत्मादेखि नै तृप्त हुने ।
छेउको टेबुलमा एक्लै बसेर वरिपरि नियाल्न रमाइलै लागिरहेको छ ।
“एक्सक्युज मी, म यो खाली कुर्सीमा बस्न सक्छु ? तपाईँ यहाँ अरूलाई कुरिराख्नु भएको पो हो कि ?” अनुहारमा मानौं सय वाटको बत्ती बालेकी एउटी महिलाले मलाई विचारको संसारबाट वास्तविक संसारमा ओरालिन् । कुनै खजाना भेटेजत्तिकै गरी उनको बत्तीसै दन्त उज्यालिएको थियो । अकस्मातै अनुभूत भयो खुसी र मस्तीको एउटा ताजा झोक्का भर्खरै मलाई स्पर्श गरेर गयो । त्यो ताजापन सके त्यही हो, जो यतिखेर मेरो अगाडि दंग परेर उभिएको छ । मलाई लाग्यो, कोही कोही मान्छे आफ्नो वरिपरि खुसी र ताजाप

ईल्या भट्टराई
नको तरंग लिएर हिँड्छ । जहाँ पुग्छ वातावरण नै ताजा र मिठासपूर्ण बनाइदिन्छ ।
तरै पनि भडकिलो लाग्यो उसलाई तिनको श्रृंगार अनि तिनको पहिरन । आत्तिएँ । गणिकाहरू दिउँसै ग्राहक खोज्दै हिँडछन् भन्ने कुरो सुनेकै हो । “तिनै मध्ये कि पो हो कि तिनी ! मेकअप र लुगा चटकिलो छ । सबैको आँखामा आफू एकै दृष्टिमा परुँ भनेरै यिनले यस्तो लुगा लगाएकी होलिन् । छि ! सस्ता नगरवधुहरू ! कतै मेरो पछि लाग्न पो आएकी हो कि ! उमेरले त निकै माघ कटाएकीजस्ती देखिन्छिन् । यस्ती अधवैंसेले पनि के ठानेकी हो कुन्नी आफूलाई ! आफूजस्तै बूढोको टेबलमा जानु नि ग्राहक फँसाउन । म त यीभन्दा निकै कान्छो पो छु त !”
अलमल्ल परेर एकोहोरिएका मस्तिष्कमा यिनै विचारहरू ओहोर-दोहोर गर्न थाले ।
मैले हुन्छ हुन्न भन्नुभन्दा पहिले नै उनी मेरो अगाडिको कुर्सी तानेर बसी पनि सकेकी थिइन् ।
“हेर्नुस् न, कुनै कुर्सी खाली रहेनछ । तपाईँको मान्छे आउन्जेुल कुनै कुर्सी खाली भै हाल्ला अनि म उठिदिउँला नि, है !” उत्फुल्लता अहिले फेरि उनको दाँतभरि छरिएर आयो ।
“पीर मान्नु पर्दैन, यहाँ कोही आउँदैन । म एक्लै छु ।”
“त्यही त तपाईँ लोग्नेमान्छेहरूलाई रमाइलो ! आफूलाई मन लागेको कुरा गर्न पाउने । आफू एक्लै पनि रेस्टुरेन्ट आउन पाउने । तपाईँहरू त राजा, आफ्नो ईच्छाको मालिक ।” वाणीभन्दा पहिला फेरि बत्तीसै दन्त बोल्यो । गालामा खोबिल्टो पनि पर्दोरहेछ । साह्रै सुहाएको !
“बुझ्नु भो, हामी स्वास्नीमानिस भनेको दोस्रो दर्जाका, अझै दोस्रो के भन्नु ? तेस्रो, चौथो कुन दर्जाको हौं कुन्नी ! आफ्नो हकहितबारे पटक्कै सचेत छैनौँ । अरूले नदिएको आफ्नो भाग आफूले खोसेरै भए पनि लिनुपर्छ भन्ने हामीमा चेतनै छैन,” कुर्सीमा बस्दाबस्दै तिनले आफ्नो असन्तोष पोखिन् ।
उनको अनुहार गहिरिएर नियाल्छु । निकै राम्री रहिछन् । मेकअप त्यति भडकिलो त होइन रहेछ, सुरुचिपूर्ण नै रहेछ । अगाडिको कपाललाई हलुको बुफे बनाएर सिनित्त पारेर पछाडि लगेर पोनीटेल बनाएकी रहिछन् । तरुनी केटीहरूले जस्तै ! फेरि उनलाई सुहाएको पनि छ ! यो उमेरमा पनि यस्ती छन् भने उमेरदार छँदा कति राम्री थिइन होला ! तर कताकता नसुहाएजस्तो उनको निधारको टीका छ । पुरानो हिन्दी सिनेमाका हिरोइनहरूले निधारको बीचमा लगाएको यही टीकाले उनलाई पहिलो दृष्टिमा भडकिलो र सस्तो देखिएको रहेछ । यस्तो हेर्दै भद्दा देखिने गरी यिनले बीच निधारमा टीका किन टाँसेकी होलिन् ? त्यो पनि कस्तो कस्तो रंग, सुगा रंग ! म किन हो कुन्नी एकदमै सहज भएर उनलाई नियालिरहेको रहेछु ।
यतिखेर वरिपरि चारैतिरका टेबल खचाखच भरिएका छन् । ती टेबुलमा बसेकाहरू आपसमा मग्नमस्त भएर गफ गरिरहेका छन् । खानाको सर्भ गराई, वेटरहरूको ओहोरदोहोर, टेबुलमा ठोक्किएका काँटाचम्चाको आवाजले वातावरणमा एउटा रमाइलो चहलपहल ल्याइदिएको छ । एउटा बेग्लै रौनक थपेको छ । सँगैका झ्याम्म परेका रुखहरूले यस कौसीको धेरै ठाउँमा साँझ ओरालिदिएका छन् । सिरसिर चलेको बतास पनि सके यहीँको परिवेशको रमझमले होला अलिक उत्ताउलिएकीजस्तो भएको ।
वातावरणकै प्रभाव होला, मलाई ती आइमाईसँग कुराकानी गर्न झ्याउ लागेन । जो सुकै होऊन्, यो दिउँसै के पो गरिहाल्लिन र ! देह व्यापार यिनको पेशा नै भएता पनि हेर्दा यिनी त्यस्ती देखिएकी छैनन् । यस्सो दुईचार कुरा गर्दैमा के पो बिग्रिहाल्ला र !
“यस्तो पितृसत्तात्मक समाजमा हामी नारी जाति सधैं दासको दासै ! सधैँ अरुको दासतामा आफ्नो जीवन समर्पित गर्नुपर्ने । आफ्नो इच्छालाई सधैं अरूको निर्णयको कमारो बनाउनु पर्ने,” तिनी सजिलैसित मसित गफ गर्न थालेकी थिइन् । मानौं हामी त्यहाँ पहिले नै कुरा मिलाएर लन्च खानका लागि भेट भएका थियौं र तिनी बाटोमा आउँदा जाममा परेर ढिलो हुन पुगेकोमा असन्तुष्ट भइरहेकी थिइन् ।
तिनीको कुराकानीमा अनायासै म सामिल हुन पुगेछु । त्यही भएर नचाहँदा नचाहँदै पनि तिनको भावनाको प्रत्युत्तर स्वतस्फूर्त रूपमा मेरो ओठमा आइहालेछ ।
“तर तपाईँ हेर्दा त त्यस्ती लाग्नु हुन्न आफ्नो इच्छा, आकांक्षालाई मारेर परिवारको निर्णयमा चल्ने एकदम समर्पित गृहिणी,” मेरो कुरो सके तिनीलाई दाँतमा ढुंगा लागेजस्तो भयो ।
“कसरी भन्न सक्नुहुन्छ त्यस्तो ? तपाईँलाई मेरोबारेमा के थाहा छ ? तपाईँले मलाई चिन्नु भा को छ र ? ” भावनाको उत्तप्तता अनि घामको रापले होला उसको अनुहार तमतमाउँदो गरी रातो हुनपुग्छ । अगिसम्म जुनबेला पनि ओठको साथ नछोडने चुलबुले मुस्कान यतिखेर खोई कता लागेछ !
“त्यो त तपाईँलाई देखेर अनि तपार्ईँको यहाँको उपस्थिति देखेर लाटोले पनि बुझ्न सक्ने कुरो हो । तपाईँको पहिरन, श्रृंगार अनि यतिखेर काठमाडौंको यो महँगो ठाउँको यस रेस्टोरेन्टमा तपाईँ सके लन्च खान आउनु भएको होला । हुनसक्छ यो तपाईँको पतिदेवको आग्रह होला । तर सबै पतिहरू आफ्नी पत्नीहरूलाई यसरी लन्च खान बाहिर कहाँ बोलाउँछन् र ! यस अर्थमा पनि तपाईँ पुरुषद्वारा शोषित नारी देखिनुहुन्न ।” यसरी एउटा नितान्त बेग्लै परिस्थितिमा भेट भएकी नौली महिलासँग कुन सीमासम्म अनौपचारिक हुने ! कतै मैले उनको भावनामा बढी नै त अतिक्रमण गरिनँ ? मलाई थाहा भएन । उनी रिसाउने पो हुन कि ?
तर एउटा रहस्यमय मुस्कान तिनको ओठबाट फुस्किन खोज्दैथियो । ठूलाबडाको दृष्टिबाट लुकेर बिगो गर्दै गरेकी एउटी बालिकाको चञ्चले मुस्कानजस्तै ! त्यही ओठको मुस्कानलाई बत्तीसैवटा दाँतमा फैलाएर हाँस्दै तिनले भनिन्, “यहाँनेर तपाईँ गलत हुनुभयो । म यहाँ लन्च खान आएकी त हुँ, तर म कसैसँग पनि आएकी होइन । म एक्लै आएकी । आज म एक्लै छु, तपाईँजस्तै एक्लै ।”
“यसले त मेरै कुरामा बल पुग्यो होइन त ? तैपनि यतिखेर तपाईँ स्वभाविक रूपमा निर्धक्क हुनुहुन्छ । यसरी एक्लै लन्च खानु तपाईँको लागि सामान्य होला । फेरि यतिखेर तपाईँ मजस्तो एउटा नितान्त अपरिचित व्यक्तिसँग आफ्ना विचारलाई लिएर तर्क पनि गरिरहनु भएको छ । यसबारे तपाईँको मस्तिष्कको एउटा सानो अंशले पनि असजिलो अनुभूत गरेको छैन होला । सके सोच्दै पनि नसोचेको होला । अझै पनि कस्ता कस्ता मै हुँ भन्ने आधुनिक नारीहरू त यसरी रेस्टुरेन्टमा एक्लै लन्च खान आउँदैनन् तर तपाईँ आउनु भा छ । अनि कसरी तपाईँ पितृसत्तात्मक समाजका पुरुषहरूबाट शोषित नारी हो भन्ठान्नु मैले ?”
थाहा छैन, किन होला मलाई उनी धेरै पहिलेदेखि कै परिचित कुनै महिला मित्रजस्तै लागिरहेको थियो । त्यसैले म उनको पुरुषविरोधी भावनालाई कम्मर कसेर गलत साबित गर्न लागिपरेको थिएँ । मानौँ हामी बच्चाहरू आफ्नै कुरा ठीक भन्दै जिद्दी गर्दै थियौँ ।
आकाश माथिको घाम कोमल बनेर हामीलाई चारैतिरबाट आफ्नो न्यानो अँगालोमा बेरिरहेको थियो । अघि भर्खर थामिएको पानीले घाम पनि प्यारो लाग्ने बनाइदिएको थियो ।
“यो त मेरो विद्रोह हो बुझ्नु भो । आज मैले मेरो अन्तर्आत्मालाई स्वतन्त्र छाडेकी छु । म भित्रको आकांक्षा यतिखेर फुक्काफाल भएको छ । विद्रोहको आँटले मलाई अहिले कस्तो हलुको बनाएको छ, म के भनुँ ! तर मेरो यो फिलिङ तपाईँले थाहा पाउनु भएन ? मैले पनि हेर्न खोजेको आखिर कस्तो हुँदोरहेछ स्वतन्त्रताको अनुभूति ! कस्तो हुँदोरहेछ आत्मविश्वासपूर्ण एक्लोपनको अनुभव ! म एक्लै पनि पूर्ण छु, केही गर्न सक्दछु भन्ने भावको सोचाई !
“तैपनि यतिखेर तपाईँ स्वभाविक रूपमा निर्धक्क हुनुहुन्छ । यसरी एक्लै लन्च खानु शायद तपाईँको लागि सामान्य होला । यसबारे तपाईँको मस्तिष्कको एउटा सानो अंशले पनि असजिलो अनुभूत गर्दैन होला । सके सोच्दै नसोच्दो हो ।”
अनि बुझ्नु भो आज पहिलोपल्ट म यसरी एक्लै बाहिर निस्किएकी हुँ तर मेरो लागि यो एउटा ठूलो हाँक थियो, आफ्नै मर्यादाको विपरीत ! यतिखेर मैले समाजले हामी महिलाहरूमाथि लगाएका अनेक बन्धनहरूको विरुद्ध एउटा विद्रोह गरेकी हुँ । यतिखेर मैले परिवारका सबैको अहंबाट थिचिएर छिन्नभिन्न भएको आत्मविश्वासलाई बटुलबाटुल गरी त्यसलाई बलियो पार्ने उपक्रम गरेकी छु । मेरो व्यक्तित्वमाथि रजाईँ गर्नेहरूको अस्तित्वको छायाँबाट आफ्नो अस्तित्वलाई अलग्याउँदै यतिखेर म निर्बन्ध हुन चाहन्छु । घरका सबैको आ–आफ्नो इच्छानुसार चल्नु पर्ने मेरो अस्तित्वलाई जुर्मुराएर उठाउँदै आज आफ्नै इच्छाको मालिक बनाउँदै यहाँ ल्याइपुर्याएकी हुँ । त्यसैले म यहाँ आएकी हुँ । ”
“यसको कुनै कारण ?” म अनायासै सोध्न पुग्छु ।
“आजको दिन संयोगले म एक्लै छु । घरभित्रको कुनै पनि कर्तव्यमा बाँधिनबाट मुक्त । आज मलाई कसैको लागि बिहानको भात पकाउनु परेन । न त आज कोही दिउँसो मसँग खाजा माग्दै आउँछ । आज बुझ्नु भो मैले कोठा पनि मिलाएकी छैन । आज म कसैको ईच्छामा चल्नु पर्ने कठपुतली होइन । म, म हुँ । मनभरि इच्छा, आकांक्षा भरिएकी एउटी नारी, जो आफ्नो लागि बाँच्न चाहन्छे । आफ्नो रहर अनि कामनाहरू पूरा गर्न चाहन्छे ।
आज मैले कसैको आदेश पालना गर्नु पर्ने छैन । आजको दिन म आफ्नोनिम्ति बाँच्नका लागि मुक्त छु । आज एउटा सिंगो दिन म आफ्नो रहरहरूलाई थुम्थुम्याएर बाँच्नेछु । त्यही भएर पूरा उन्मुक्त छु, बिहानैदेखि । अब यहाँ लन्च खाएर दिनभरि म यहीँ दरबार मार्गका पसलहरू चहार्छु । मलाई आइसक्रिम सारै मीठो लाग्छ तर घरमा मेरो इच्छाको कसलाई वास्ता र ! त्यही भएर एकछिनपछि म त्यो पार्लरमा बसेर एक्लै भए पनि आइसक्रिम खान्छु । सके कुनै मलमा गएर एक्लै सिनेमा पनि हेर्छु । आजको एउटा सिंगो दिन म आफ्नो अस्तित्वलाई खुसी पार्न चाहन्छु । म आज मात्र आफू भएर आफ्नो लागि बाँच्न चाहन्छु । अँ साँच्चि म तपाईँलाई मेरोतर्फबाट खानाको अफर गर्न सक्छु ? आज आत्मविश्वासको राजमार्गमा पाइला राखेकी एउटी अपरिचित योद्धाको तर्फबाट आएको यो प्रस्तावलाई अस्वीकार नगर्नु होला ।”
उनको प्रस्ताव मलाई रमाइलो लाग्यो । मेरो सोचाईको विपरीत उनी एउटी सामान्य गृहिणी रहिछन्, जोसित केही क्षण गफ गरेर बिताउन रुचिकारक नै हुन सक्दछ ।
“सके यो नौलो परिचयमा अतिक्रमण गरेको नठान्ने भए म तपाईँसँग एउटा कुरा सोधौँ है- यति सुरुचिपूर्ण पहिरन लगाउनु भएको तपाईँले कतैबाट पनि नसुहाउने यो अनौठो सुगा रंगको यति ठूलो टीका किन लाउनु भएको ? यस्तो भद्दा टीकाले त तपाईंको रुपलाई पनि झन् भद्दा बनाउँछ हैन र ?” अघिदेखि सकसक लागिरहेको जिज्ञासा प्रश्न भएर अनायासै निस्किदियो । एउटा असजिलोपनले मलाई चारैतिरबाट बेर्यो । “धत्तेरी ! चिन्दै नचिनेकी आइमाईसँग बेकारमा मैले यस्तो कुरा किन सोधेँ होला ?”
एकएक रेखा गर्दै उनको गालामा बिस्तारै खाल्टो पर्दै गयो । उनी मुसुक्क हाँसिन् । आँखामा उपद्रो गरेको चञ्चले भाव उम्रियो । बिस्तारै साउति गरेको भाकामा निहुरिएर भनिन्, “यो पनि मेरो विद्रोह हो, बुझ्नु भो ! मेरो श्रीमानको सोचको विरुद्ध । उनी जहिले पनि रातो टीकामात्रै लगा भन्छन् । अब भन्नुस् त मेरो आफ्नो रुचि पनि त हुन्छ नि ! आज उनी छैनन्, त्यही भएर मैले आफ्नो रुचिलाई निर्बन्ध छोडेकी हुँ । मलाई सुहाओस् कि नसुहाओस् के मतलब ! उनको त्यो इच्छाको विरोधमा मैले यस्तो बेढंगे टीका लगाएकी हुँ । कसैले मलाई नराम्रो भने पनि म सुन्दिन क्यारे ! भन्नेले भनिरहन्छ । आजको दिन म आफू खुसी गर्न मुक्त भएकी छु ।”
उनको गालामा फेरि त्यही मोहक खोबिल्टो बन्यो । उनी आफूले चाहेको खेलौना भेटेको बालकसरी मुसुक्क हाँसिरहेकी थिइन् । अनायासै उनी एउटी अबोध बच्चीजस्तै लाग्यो । उनको अन्तर्मनका खुसीका तरंगहरू एउटा ताजा हावाको झोक्का भएर मेरो तनमनलाई उस्तै ताजा बनाइदिएको छ ।
“स्वतन्त्रताको आजको सम्पूर्ण सिंगो दिनको सफलताको लागि शुभकामना छ तपाईँलाई,”उनको हातमाथि आफ्नो हात राखेर अनायासै म बोल्न पुगेछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

