“यसरी सोसल डिस्टेन्स कहिलेसम्म मेन्टेन गर्ने हो, सर ?”, उनको यो प्रश्नमा गम्भीरतासँगै भावुकता मिसिएको थियो । कताकता मार्धुय थियो । अलिकति चञ्चलता थियो । अझ भनौं, केही कामुकता थियो ।

नत्र यस्तो प्रश्न गर्नुको अर्थ के हुन्छ ? यसै कोरोनाको प्रसंग कोट्याउने हो भने त ठिकै हो । तर, जब यो प्रश्नलाई जीवनसँग जोड्छौं तब यसको उत्तर दिन गाह्रो पर्छ ।

सायद सोसल डिस्टेन्स मेन्टेन गर्नु नै जिन्दगी हो ।

चाहे सामाजिक दूरी भन्नूस्, चाहे भौतिक दूरी । आखिर कुरा उस्तै हो भने आज मान्छेको मन यसैमा अडिएको छ । कसैले चाहेर मात्र हुने कुरा रहेन यो । आजसम्म कसैले पनि समाजमा मनमा लागेको कुनै काम र कुरा गर्न पाएको छ र ? पक्कै छैन । हो, त्यही नै सामाजिक दूरी हो । भौतिक दूरी हो । नैतिक दूरी हो ।

कसैले कसैलाई कुनै विषयमा विनाकारण आक्रमण वा प्रत्याक्रमण गर्न सक्छ ? अहँ…सक्दैन । हो, त्यही हो भौतिक दूरी ।

उसले हल्कारूपमा लिँदै यस्तो उत्तर दियो । तर, त्यसअघि नै उनले धारे हात लगाइन् । र, भनिन्, “काँ…को कुरा काँ…पुर्याको ?”

सायद यस्तै प्रश्नले होला उसको मनले पनि निक्कै आरोप प्रत्यारोप गर्यो । उसले आज किन यस्तो प्रश्न गरी ? सामान्यरूपमा लिने हो भने त ठिकै छ, नत्र यो प्रश्नले ठूलो अर्थ राख्छ । किनभने आज मान्छेले चाहेर पनि साथीसंगीसँगको भेटघाटलाई दूरीमा राख्नु परिरहेको छ । आफन्त, नातागोताको कुरा त परै छाडौं, आफ्नै घरपरिवारसँग पनि कतिपय अवस्थामा अलग्गै बस्नु परिरहेको छ । यतिसम्म कि श्रीमान् श्रीमती पनि परपर हुनु परिरहेको छ ।

तीर्थ सिग्देल

कोभिड १९ को त्रास र आसमा बाँकी जीवन बिताउनुलाई सायद वर्तमानसँग तुलना गर्ने हो भने अब धेरै केही गर्न सक्ने छाँटकाँट देखिदैन । न नयाँ कुनै काम गर्न सक्ने सम्भावना छ न पुरानै कामलाई निरन्तरता दिने नै । तैपनि मानिस हस्याङ्ग र फस्याङ्ग गरेर दौडिरहेको छ । मुखमा मास्क लगाएर, हातमा सेनिटाइजर दलेरै भए पनि बाँकी जीवन बिताउन चाहिरहेको छ मान्छे ।

एउटा सरकारी कार्यालय

त्यही नियति भोग्दै महिनौंदेखि उनीरू काममा छन् । आज पनि अलिक परपर बसेर काम गरिरहेका छन् । कस्तो समय आयो ? मान्छेदेखि मान्छे डराउनुपर्ने ? कसैले सडकमा बोल्दै हिँडेको सुनिन्छ । कसैले फेसबुकमा लेखेको भेटिन्छ । आममानिस त्यही मनोदशाले ग्रसित छन् ।

एउटै कोठा, जोडिएको टेबल । जति जति कोठामा सेवाग्राहीहरूको भिड लाग्छ, उनीहरूको मनले त्यही पीडाबोध गर्छ ।
यो कोरोनाको महामारीमा पनि किन मान्छेहरू घरबाट निस्किराछन् ?

अनि … सरकारी कार्यालयमा उतिकै भीड छ । बैंकमा लाइन उस्तै छ । बिजुली अफिसमा त मानिसहरूको ठेलामठेल नै चल्छ । सरकारलाई पनि यहीबेला नै जनतालाई कर तिराउनु छ । जनता सरकारको उर्दी मान्दैनन् । सरकार जनताले भनेको सुन्दैन । नत्र यस्तो संकटको बेला किन कर लिन हतारो गर्नु ? यो महामारीको समयमा किन सरकारी अड्डा खोल्नू ?

सायद उनको मनमा केही यस्तै विषयले घरबार जमायो होला । केही भनूला जस्तै गरेर, अलिकति चञ्चलता मिश्रित उनको अनुहार ऊतिर फर्कियो । उसले केही सुन्ने आस र साहस बटुल्यो तर बीचैमा कुनै सेवाग्राहीले मेरो टेबलमा फाइल पछार्यो ।

र भन्यो, “यस्तो संकटको समयमा पनि जनताको काम गरिराछौं । तपाईंहरू केही सुन्नुहुन्न । यसरी कसरी काम गर्न सकिन्छ ?”
उसले सोध्यो, “किन ? के भो र ?”

“यही तरिका हो भने अब केही नयाँ काम अगाडि बढ्न सक्दैन । बजारमा एक रुपैयाँ बाँकी पाइँदैन । कोरोना महामारीपछि सबै पसलले क्यासमा मात्र काम गरिरहेका छन् । यहाँ भने सम्पन्न गरेको कामको पैसा लिन पनि यो सास्ती बेहोर्नु पर्छ ।”

ती सेवाग्राहीको गुनासो जायज लागे पनि उसले कुनै प्रतिक्रिया जनाएन । बरु भन्यो, “मेरो फाँटबाट मैले सबै काम सकेर पठाइदिएकै हो । बाँकी भुक्तानी दिने काम त लेखाको हो ! तपाईं उतै जानूस् ।”

प्रसंग उतै मोडियो,

“बाँकी जिन्दगीलाई कोरोनाबाट मुक्त राख्ने हो भने, आधा जीवनलाई कोरोनाको त्रासबाट छुटकारा दिलाउने हो भने, आजको हाम्रो भौतिक दूरीलाई कायम राख्नु नै उत्तम हो ।”, अब चाहिँ केही नबोली नहुने देखियो ।

फेरि उस्तै ? खोई … पूरा जवाफ त आएन नि !”, उनले माथिकै मूल प्रश्नको पूरक प्रश्नको रूपमा भनिन्, “सर त खाली आधा उत्तर दिनुहुन्छ । कुरै नबुझिने ।”

ऊ बोल्न बाध्य हुन्छ, “हरेक कुरा आधा छ । जीवनदेखि ज्ञानसम्म । कसको जीवन पूर्ण छ र कसको ज्ञान पूरा ? हरेक मान्छेले आफूलाई ज्ञानी ठान्ला, पूर्ण छु भन्ला । आफूलाई जान्ने भन्ठान्ला । तर, ज्ञान कहिल्यै पूर्णरूपमा ग्रहण गर्न सकिँदैन । जसरी हामी पूरा जीवन बाँच्न सक्छौं । जतिन्जेल बाँचिन्छ, त्यतिन्जेल राम्रो गर्ने मात्र हो । जस्तो, आजको कारोनाको संकटबारे कसले सोचेको थियो र ? यस्तै अझै कतिथोक देख्दै भोग्दै अगाडि बढ्नु छ । जिन्दगी भनेकै यही हो । भोग्नुपर्छ, अझै कतिथोक ।”

उनले कुरा नबुझेकोजस्तो अभिनय गरेको उसले राम्ररी बुझ्यो ।

कुरा नबुझ्नुका दुई कारण हुन्छन् । एउटा कुरा राम्ररी नसुन्नु वा मन स्थिर नहुनु । सायद उनी यतैकतै थिइन् वा जानीजानी अनजान बनेको नाटक गरिरहेकी थिइन् ।

परिस्थिति जस्तो छ, परिवेश त्यस्तै छ । माहोल जस्तो छ, समय उस्तै छ । कार्यालयमा अझै भीड घटेको छैन । लामालामा कुरा गर्ने समय पनि छैन र खुलेर बोल्ने अवस्था पनि छैन । ताकि कसैलाई बुझ्ने गरी कुरा गर्न सकियोस् । के यो कुनै रेष्टुरेन्ट हो र ? जहाँ घण्टौं कुरा गर्न सकियोस्, स्वतन्त्र भएर । जहाँबाट परसम्मको क्षितिज नियाल्दै बाँकी जीवनको बारेमा र अब लिने निर्णयको बारेमा ।

….

अलिअलि लकडाउन खुकुलो भयो । मानिसहरू अब उन्मुक्त भएझैं ठान्दै सडकमा निस्किए । काममा फर्किए । मानौं, अब कोरोनाले हारिसक्यो । नभन्दै केही समाचारहरू आए, फलानाले कोरोनालाई जिते, चिलानाले कोरोनालाई पछारे भन्ने शैलीका । पत्रकारको जात पनि अचम्मकै हुन्छ । कोरोनालाई जित्नु भनेको अब यो देशमा, यो महादेशमा कोरोनाको अन्त्य भइसक्यो भनेको जस्तो त होइन न नि !
तैपनि मान्छेको मन न हो । अलिकति मनोरन्जन चाहिहाल्छ । अलिकति मजा लिन मन गर्छ । घरभित्रै लुकेर बस्नुको पीडा कति हुन्छ, भन्नूस् त ? यो सम्भव हुने कुरा हो र ? कुनै दिन यस्तोसम्मका दिन आउलान् भनेर कसैले सोचेको थियो ? पक्कै थिएन ।

बल्लतल्लको समय । कतिन्जेलसम्म उही गति र उही नियति दोहोर्याउनु ? उनका ती यक्ष प्रश्नहरु थाक लागेर बसेका थिए, उनको सरका मनमा । एकपछि अर्को, अर्कोपछि अर्को गर्दै, पत्रपत्र बनेर । एउटा खोल्दै गर्दा अर्को निस्कने, क्रमशः… क्रमशः…

उनले आज उन्मुक्त शैलीमा भनिन्, “खासमा म नै उस्तै हो सर ! हजुरलाई एउटै कुराले धेरैपटक हैरान बनाएँ । आज पनि मेरा मनभित्र यस्ता अनेकन् प्रश्नहरू छन्, जसलाई मैलै दबाएर राखेको छु । जसको उत्तर तपाईंले नै भनेजस्तो आधा दिएर पुग्दैन । जीवन आधा हो भनेर मात्र हुँदैन । ज्ञान कहिल्यै पूरा हुँदैन भनेर अल्मल्याउन पाइँदैन । किनभने गिलासमा आधा पानी नहुनु भनेको आधा हुनु पनि हो । जसरी आधा जीवन बाँकी हुनु भनेको आधा बिताइसक्नु पनि हो । तसर्थ, आधा आधाको तर्क र सिद्धान्तभित्र म रुमल्लिन चाहन्नँ । म रित्तिएको गिलासजस्तो बन्न चाहन्नँ । म बाँकी आधा जीवन शान्तमनले बाँच्न चाहन्छु ।”

सायद उनी आज उन्मुक्त थिइन् । आज उनका लागि कुनै बन्धन र सीमाहरू थिएनन् । नारी बन्धनबाट मुक्त भएर हाँस्न चाहन्थिन् उनी । जसरी कार्यालयमा एउटा परिधिमा बस्नु पथ्र्यो, कसैको हुकुमका भरमा चल्नु परेको थियो, त्यो आज उनले बिर्सेको भान हुन्थ्यो । सम्भवतः विगतका पर्खाइहरू, विगतका नैतिक बन्धनहरू, सामाजिक दूरीदेखि भौतिक दूरीलाई आज उनले नाघेकी थिइन् ।

लाग्थ्यो, उनी आज त्यो प्रश्नको सपाट उत्तरको खोजीमा थिइन् । उनी सोसल डिस्टेन्सको बनिबनाऊ परिधि नाधेर अगाडि बढ्न चाहिरेहेकी थिइन् । यो कुरा राम्ररी नै प्रकट हुन्थ्यो । उनको त्यो भावले र हाउभाउले बताइरहेको थियो कि यहाँ कुनै घटना हुनेवाला छ ।

… त्यो गोधूलि साँझ । त्यो एकान्तपन । त्यो नजिकपन । सबै कुराले उनलाई साथ दिएको थियो । त्यतिबेला सरकारले घोषणा गरेको लकडाउनको सीमारेखालाई उनले तोड्न लागेकी थिइन् । त्यसबेला कोरोना जो कोहीलाई पनि लाग्न सक्छ… भनेर हरेकका मोबाइलमा बज्ने आवाजले उनलाई छेकेन । रोकेन उनलाई सामाजिक बन्धन र रीतिरिवाजले । न उनले सामाजिक दूरी कायम राखिन् न भौतिक दूरी । विस्तारै… विस्तारै… विस्तारै । उनीहरूले भौतिक दूरी तोडे । मौलिक मूल्य र मान्यताहरूलाई भत्काए । घरपरिवार र समाजप्रतिको दायित्वलाई भुले । देशप्रतिको कर्तव्य बिर्से । अर्थात्, उनीहरू अब टाढाका भएनन् । झन् नजिकका भए… ।

त्यसपछि उनले प्रारम्भमा गरेको प्रश्नको उत्तर आफैं भेटिन् । उतिबेला उनले “यसरी सोसल डिस्टेन्स कहिलेसम्म मेन्टेन गर्ने हो, सर ?” …भनेर सोधेको प्रश्नको उत्तर उनी आँफैभित्र रहेछ ।

उसको सरले नदिई राखेको त्यो प्रश्नको उत्तर थियो, जहिलेसम्म सकिन्छ त्यहिलेसम्म … ।