बेलाबेलामा पुस्तकहरू प्रतिबन्धमा पर्ने गर्छन् । तिनले उठाएका विषयवस्तु, लेखकीय शैली तथा अन्य कारण सामान्य देखिए पनि राजनीतिक तथा सामाजिक कारणले ती पुस्तकहरू प्रतिबन्धमा पर्ने गरेका छन् । यहाँ त्यस्ता पुस्तकको चर्चा गरिँदैछ, जुन बेलाबेलामा बिना कारण पनि प्रतिबन्धमा पर्ने गर्छन् । आउनुस्, आज प्रतिबन्धमा परेका अनेकन् किताबहरूबारे रोचक जानकारी लिऔँ ।
१. ह्यारी पोटर, जेके रोलिङ
जेके रोलिङ लिखित यो पुस्तकले २००० देखि २००९ सम्म सबैभन्दा बढी बिक्री हुने पुस्तकको कीर्तिमान बनाएको थियो तर यसको लोकप्रियताबाट धार्मिक गुटहरू यति चिढिए कि उनीहरूले यस पुस्तकमाथि प्रतिबन्ध लगाउने माग गरे । अमेरिकाका कयौँ क्रिश्चियन पाठकहरूले यसलाई शैतानी सिर्जना भन्दै कयौँ प्रति जलाएका थिए । संयुक्त अरब इमिरेट्सका स्कुलहरूले पनि यसमाथि प्रतिबन्ध लगाएका थिए ।
२. द ब्रदर ग्रिम्स फेरी टेल्स, ग्रिम दाजुभाइ
परी कथालाई पनि कसैले प्रतिबन्ध लगाउला त ? तर यस्तो पनि हुन्छ । ग्रिम दाजुभाइले संकलन गरी प्रकाशन गरेको यो पुस्तक १९८९ ताका अमेरिकाको क्यालिफोर्नियास्थित एक स्कुलले पढ्न प्रतिबन्ध लगाएको थियो । एउटा कथामा हजूरआमाले ल्याएको रक्सीले उसलाई निकै आनन्दित तुल्यायो भन्ने शब्दका कारण बालबालिकाले रक्सी पिउन थाल्लान् भन्ने डरले प्रतिबन्ध लगाइएको थियो ।
३. जेम्स एन्ड द जायन्ट पिच, रोआल्ड डाल
१९६१ मा प्रकाशित बालबालिकासम्बन्धी रोमाञ्चक यो कथाले प्रतिबन्ध झेल्नु परेको थियो । सन् १९९० मा यस पुस्तकमा प्रयोग गरिएका शब्दहरू तमाखू, ह्विस्की र अन्य केही शब्दलाई लिएर पाठकहरूले आपत्ति जनाएका थिए । यसका अतिरिक्त ओहायोका एक बिक्रेताले पुस्तकले कम्युनिस्ट विचारधारा प्रचार गरेको भन्दै यसमाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज उठाएका थिए । उनले आफ्नो पसलमा भने यो पुस्तकलाई वर्जित श्रेणीमा राखेका थिए ।
४. लज्जा, तस्लिमा नसरिन
१९९२ मा भारतको अयोध्यास्थित बाबरी मस्जिद भत्काइएपछि छिमेकी मुलुकमा पनि दंगा भएको थियो । बाङ्लादेशकी लेखिका तस्लिमा नसरिनले सोही विषयमाथि पुस्तक लेखिन्, लज्जा । यो पुस्तक यति विवादित भयो कि प्रतिबन्ध नै लगाउनु पर्यो । उनलाई ज्यान मार्ने धम्की दिइएपछि उनले बाङ्लादेश पनि छाडिन् । कयौँ वर्ष उनी विदेशी मुलुक भौँतारिएपछि अचेल केही वर्षयता कोलकाता बस्ने गरेकी छन् ।
५. ह्वेयर द वाइल्ड थिङ्स आर, मौरिस सेन्डेक
यस पुस्तकको एउटा पात्र म्याक्सको नराम्रो व्यवहारका कारण उसका अभिभावकले म्याक्सलाई खाना खान नदिई भोकै ओछ्यानमा सुत्न पठाउँछन् । भोकै सुतेको म्याक्सले आफ्नै कोठालाई एउटा रहस्यमय जंगलमा परिवर्तन भएको देख्छ । १९६३ मा प्रकाशित सेन्डकको यस तस्बिरपुस्तकमा ३३८ शब्द मात्र भए पनि यसमा भएका विषयवस्तु बालबालिकाको पठनका लागि उपयुक्त नभएको भन्दै प्रतिबन्धित गरिएको थियो । ३-४ वर्षका बालबालिकालाई समेत यसले मनोवैज्ञानिक असर पार्ने बताइएपछि पुस्तक पसलबाट यो पुस्तक हिजोआज पनि गायब छ ।
६. द वन्डरफुल विजार्ड अफ ओज, एल फ्रांक बाउम
१९०० मा पहिलो पटक प्रकाशित एल फ्राक बाउमको यस उपन्यास शृंखलाले अमेरिकामा निकै आलोचना खेप्नु पर्यो । सन् १९२८ ताका यस पुस्तकलाई शिकागोका सार्वजनिक पुस्तकालयमा राख्न प्रतिबन्ध लगाइएको थियो । आरोप थियो, महिलालाई सशक्त नेतृत्वको भूमिकामा देखाइएको । सन् १९५७ मा तिनै आरोप लगाएर डेट्रोयट शहरमा पनि प्रतिबन्ध लगाइएको थियो । अहिले पनि कयौँ समूहले पुस्तकले जादूटुनालाई बढावा दिएको भन्दै आरोप लगाउने गरेका छन् ।
७. मेफिस्टो, क्लाउस मान
जर्मनीमा नाजीहरू सत्तामा आएपछि एक जना महत्त्वाकांक्षी अभिनेता हेन्ड्रिक हफगेन फाइदाका लागि कसरी उनीहरूसँग मिल्छ भन्ने विषयमा लेखिएको उपन्यास पहिलो पटक नेदरल्यान्डमा १९३६ मा प्रकाशित भएको थियो । जर्मनीमा भने १९५६ सम्म यो उपन्यास पाइँदैनथ्यो । ६० र ७० को दशकमा मुद्दा हालेर यसलाई सर्वव्यापक बनाइएको थियो । एक रिपोर्टका अनुसार, त्यसबेलाका प्रभावशाली अभिनेता गुस्ताफ ग्रुन्डगेन्सको जीवनीमा आधारित उपन्यास हो ।
८. हर्ट अफ डार्कनेस, जोसेफ कोनराड
पोल्यान्डमा जन्मिएका बेलायतीटे लेखक जोसेफ कोनराडले १९०२ मा प्रकाशन गरेको यो पुस्तकले बेल्जियमले कसरी कंगोलाई उपनिवेश बनाएको थियो भन्ने विषयमा आधारित छ । आत्मकथात्मक शैलीमा लेखकले आफ्नो जीवनी पनि सँगै कहन्छन् । रंगभेद र साम्राज्यवादमाथि यसले दह्रो प्रहार गरेका कारण अमेरिकाका कितपय विद्यालयमा यो पुस्तक प्रतिबन्धित छ । स्कुलले भने यसमा भएका हिंस्रक विषयवस्तुका कारण स्कुलमा प्रतिबन्ध लगाएको जनाएका छन् ।
९. सटानिक भर्सेज, सलमान रूस्दी
पुस्तक प्रकाशन हुनेबित्तिकै भारतमा प्रतिबन्ध लगाइएको यो पुस्तक त्यो बेला चर्चामा आयो, जब इरानी नेता आयोतुल्लाह खुमेनीले रूस्दीको हत्या गर्नेलाई ठूलो रकम दिने घोषणा गरे । कयौँ वर्षपछि रूस्दी भारत फर्केर एक कार्यक्रममा भाग लिएको कारण पनि निकै समय विवाद चलिरह्यो ।
१०. एनिमल फार्म, जर्ज अर्वेल
१९४५ मा प्रकाशित यो पुस्तक राजनीतिक व्यंग्य र रूसी क्रान्ति तथा सोभियत इतिहासको चर्चा गरिएका कारण यसलाई रूसमा प्रतिबन्ध लगाइएको थियो । अमेरिकी जासुसी संस्था सिआइएले शीतयुद्धताका यस उपन्यासको खुब प्रचार गरेको थियो ।
११. द अल्केमिस्ट, पाउलो कोएल्हो
बहुचर्चित पुस्तक द अल्केमिस्ट सारा संसारभर रूचाइन्छ । त्यसैले इरानमा पनि यसको लोकप्रियता हुनु स्वाभाविक थियो । तर इरानमा भने पाउलोका अन्य किताबसँगै यो उपन्यास पनि प्रतिबन्धित छ । यसको कुनै आधिकारिक कारण नबताइए पनि २००९ मा एउटा भिडियोमा यसको कारण खोतलिएको थियो । खासमा के भएको थियो भने कोएल्होका सबै उपन्यासका इरानी भाषामा उल्थाकार तथा सम्पादक अराश जेजाजी जोडिएको एक घटनाका कारण यस्तो हुन पुग्यो । त्यस बेला तेहरानमा चुनावपछि भएको प्रदर्शनका बेला एक महिलालाई गोली लागेको थियो । उनै जेजाजीले ती महिलालाई बचाउने प्रयास गरेका थिए तर तिनको मृत्यु हुन पुग्यो । यही कारण सरकारले जेजाजीलाई प्रतिबन्ध लगायो र उनका कारण पाउलो पनि प्रतिबन्धित हुन पुग्यो ।
१२. डायरी अफ योङ गर्ल, एन फ्र्याङ्क
संसारकै विख्यात पुस्तकमध्ये डायरी अफ योङ गर्ल पनि हो । नेदरल्यान्डकी यी किशोरी बर्गेन बेल्सेनको एक यातना शिविरमा देहान्त हुन पुग्यो । २०१० मा भर्जिनियामा पुस्तकमा कयौँ यौन कुराकानीका कारण चिन्ता व्यक्त गरियो । सन् २०१४ मा पनि अमेरिकाको मिसिगनमा गुनासो सुनिएपछि पुस्तकलाई हटाइएको थयो ।
१३. लोलिता, भ्लादिमिर नवाकोभ
एक जना वयस्क प्रोफेसरको मनमा १२ वर्षकी किशोरीप्रति हुरूक्क हुने कथाले संसारभर हंगामा मच्चाएको थियो । सन् १९५५ मा प्रकाशन भएयता फा्रन्सदेखि अस्ट्रेलियासम्म प्रतिबन्ध लगाइएको थियो । यसको विषयवस्तुका कारण बेलायती रूढिवादी नेता निगेल निकोल्सनको करियर नै धरापमा पारिदिएको थियो । निकोल्सनको प्रकाशन संस्थाले नै बेलायतमा यो पुस्तक प्रकाशन गरेको थियो ।
१४. फ्रंकेस्टाइन, मेरी शेली
बेलायती लेखिका मेरी शेलीको चर्चित उपन्यासमा डा. भिक्टर फ्राङ्केस्टाइनको कथा छ । वैज्ञानिक फ्राङ्केस्टाइनले एउा यस्तो रचना गरे जसले धार्मिक नेतालाई समेत विभाजित पारे । यस किताबको अमेरिकाका विभिन्न धार्मिक समुदायले विरोध गरे र अन्ततः १९५५ मा यसलाई प्रतिबन्ध नै लगाइयो ।
१५. अक्सफोर्ड डिक्सनरी
प्रतिबन्धित पुस्तकको सूचीमा बहुचर्चित अक्सफोर्ड डिक्सनरी पनि पर्छ । अंग्रेजी भाषाको यस शब्दकोशमा सन् २०१० मा क्यालिफोर्नियाका कयौँ स्कुलबाट हटाइएक थियो । बालबालिकाले पढ्नै नहुने कतिपय यौन व्यवहारका बारेमा यसले विस्तारमा लेखेका कारण शब्दकोशलाई विद्यालयमा प्रतिबन्ध लगाइएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।