आजबाट शुरू भएको जर्मनीको फ्य्राङ्कफर्ट पुस्तक मेला यतिबेला सुनसान छ । त्यसो त केही तयारी नभएको भने होइन । मेला नरोकियोस् र उद्घाटन भने राम्रै होस् भनेर संसारभरिबाट जम्मा २५० जना सहभागीहरूलाई निम्त्याइएको छ ।
यसअघिको पुस्तक मेलामा पहिलो दिन नै तीन लाखभन्दा बढीले सहभागिता जनाएका थिए ।
तर यसअघि हुने गरेका छलफल कार्यक्रम, भेटघाट तथा पत्रकार सम्मेलन भने टुटेका छैनन् । अनलाइनमार्फत यी सबै कार्यक्रम र छलफल गरिएका छन् ।
यो पुस्तक मेलाको इतिहासमा पहिलो पटक यसरी भर्चुअल प्रदर्शनी, छलफल तथा पत्रकार सम्मेलन भइरहेको हो ।
पुस्तक मेलाका प्रखुम युर्गेन बोस भन्छन्, ‘केही दिनअघि स्थानीय अधिकारीले मेलाका सबैजसो हलमा स्वास्थ्य र सरसफाई जाँच गरेका थिए । उनीहरूले हामीलाई त्यसमा उत्तीर्ण गराइसकेपछि मात्र हामीले २५० जनालाई निम्तो पठाएका हौँ ।’
मेलामा निम्तालुबाहेक सर्वसाधारणले भने छिर्न नपाएका कारण हलहरू खालीखाली देखिएका छन् ।
विगत ४० वर्षदेखि यो मेला आयोजन भइरहेको छ र शुरूदेखि नै यसमा सहभागी भएका प्रकाशक योआखिम उनसेल्ड भन्छन्, ‘मलाई त यस मेलामा सहभागी हुन नपाउँदा मेरो हातै काटेर फ्याँकिदिएजस्तो भइरहेको छ । मेलामा घुस्न नपाउने निर्णय गर्नु ज्यादै दुःखद् हो ।’
त्यसो त मे महिनादेखि नै जर्मनीका अधिकांश मेलाहरू रद्द भइरहेका थिए । तर पुस्तक मेलाले भने आफ्नो योजना रद्द गरेन । गएको अगस्तसम्म यहाँ सहभागी हुन जम्मा ७५० कम्पनीले निवेदन दिएका थिए । अघिल्लो वर्षको तुलनामा यो जम्मा १० प्रतिशत मात्र थियो । तर पछि क्रमशः प्रकाशकहरू बढ्दै गए । यतिबेला ३७७६ प्रकाशकहरू आफ्नो स्टल रूँगेर बसिरहेका छन् । मेलामा ९४ देशका प्रकाशकहरू भेला भएका मेला आयोजकको भनाइ छ ।
सीमित रूपमा सञ्चालन भइरहेको रेल तथा अन्य सवारीका कारण पनि सबै प्रकाशकहरू आउन गाह्रो भएको बताइन्छ ।
यस्ता मेलाले पुस्तक बिक्री बढाउँछ तर मेला नै नभएपछि बिक्रीमा ठूलो असर परिरहेको छ । यसको भरपाई आउँदो पुसमा हुने अपेक्षा धेरैको छ । खासमा पुस महिनामा पर्ने क्रिसमसका बेला सर्वसाधारणले पुस्तकमा पनि निकै राम्रो रकम खर्च गर्ने गर्छन् ।
आज साेमबारबाट शुरू भएको संसारकै सबैभन्दा ठूलो पुस्तक मेला आइतबारसम्म सञ्चालन हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।