धेरैले उनलाई लेखक मान्दैनन् तर डेढ सयभन्दा बढी पुस्तक बेस्ट सेलरमा उनैका पुस्तक पर्ने गर्छन् । उनी हुन्, जेम्स प्याटर्सन । उनै लेखकले अमेरिकी स्कुलमा पठन संस्कृति बढाउने एक अभियानका लागि अढाई करोड डलर दान दिएका छन् ।
अमेरिकाको सबैभन्दा ठूलो पाठ्युपुस्तक प्रकाशक स्कोलास्टिकको बुक क्लबसँगको सहकार्यमा उनले यत्तिका ठूलो रकम दान दिएका हुन् ।
यतिबेला अधिकांश अमेरिकी स्कुलहरू बन्द छन् । घरैबाट अनलाइन कक्षा लिइरहेका छन् । यस्तो बेलामा विद्यार्थीहरूलाई पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तक पढाउँदा पठन संस्कृति कायम रहने विश्वासका साथ स्कोलास्टिकले कोरोनाकहरका बीच बुक क्लब शुरू गरेको हो ।
पाठ्युपुस्तक बाहेक पनि पठन संस्कृति निर्माण गर्ने कार्यमा शिक्षकको ठूलो महत्त्व हुने हुँदा शिक्षकलाई प्रेरित गर्न अभियान सञ्चालन गरिएको क्लबकी अध्यक्ष जुडी न्युम्यानले बताइन् ।
यसका लागि छनोटमा परेका प्रत्येक शिक्षकलाई पाँच सय डलर उपलब्ध गराइएको छ । यस्तो रकम आवश्यक पर्ने शिक्षकहरूबाट निवेदन दिन आग्रह गरिएको थियो । अमेरिकाभरिबाट एक लाखभन्दा बढी शिक्षकले पाँच सय डलरका लागि निवेदन दिएका थिए । आवेदन दिएका शिक्षकहरूमध्येबाट पाँच हजार जना शिक्षकलाई चयन गरिएको थियो ।
यस अभियान २०२०-२०२१ का लागि तयार पारिएको हो ।
रकम प्राप्त गर्ने पाँच हजार शिक्षकलाई सम्बोधन गर्दै लेखक प्याटर्सनले भनेका छन्, ‘यो रकम तपाईंले बालबालिकाहरूलाई मनपर्ने पुस्तक किन्न, तिनलाई छनोट गर्न, तिनको पठन रूचि बढाउन प्रयोग गर्नु होला ।’
‘विद्यार्थीहरूले घरैमा सिकून् या कक्षामा तिनले निरन्तर सिक्नु वा पढ्नु महत्त्वको कुरा हो । हामीले घरमा विद्यार्थीले जे सुकै गरून् भनेर छाड्न हुँदैन । पठन संस्कृतिले बालबालिकाहरूमा सहानुभूति सिकाउँछ, घर र बाहिरका अनेकन् तनावबाट जोगाउँछ, जीवनका ज्यादै अप्ठेरा समयका बारेमा बुझाउँछ र ती भोगाईबाट कसरी जोगिने भनी सिकाउँछ । र, यस अभियानले त म अहिले एक्लो छैन है भन्ने समेत ढाढस दिन्छ । कोरोनाको यस्तो जगजगीका बीचमा साथीहरूबीच अँगालोमा बाँधिन नसकिने अवस्थामा पुस्तक नै एक मात्र साथी बन्न पुगेको छ । गएका ६ महिनामा कोभिड १९ को विश्वव्याधिले निम्त्याएको अप्ठेरोमा मैले पनि कयौँ बालबालिकाहरूसँगै बसेर अनलाइन पढ्ने, छलफल गर्ने अवसर पाएको छु । र, यसले मलाई निकै सहयोग गरेको छ । ठीक यसैगरी शिक्षकसँग अनलाइन पढ्ने, छलफल गर्ने कार्यले तपाईंहरूलाई पनि तनावमुक्तिको समय हुनेछ भन्ने विश्वास लिएको छु ।’
स्कोलास्टिक बुक क्लबकी अध्यक्ष जुडी न्युम्यानले राम्रा किताबमा हराउन पाउनु प्रत्येक बालबालिकाको अधिकार भएको बताउँदै यस अभियानले उनीहरूलाई अझ बढी सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् । ‘यस अभियानले शिक्षकहरूलाई राम्रा पुस्तक छान्न सघाउने उद्देश्य राखेको छ,’ जुडी भन्छिन्, ‘शिक्षकलाई जति बढी सहयोग पुर्याइन्छ, त्यसको फाइदा विद्यार्थीले उति नै बढी पाउँछन् भन्ने विश्वासका साथ यो सहयोग रकम उपलब्ध गराएका हौँ ।’
यो रकमको सहयोगले शिक्षकहरूले विद्यार्थीलाई राम्रा पुस्तकसँग प्रेममा पर्न, आफ्नै घरमा स्वतन्त्र पुस्तकालय बनाउन सघाउ पुर्याउने विश्वास जुडीको छ । ‘यो अभियानले एउटा विद्यार्थीको जीवन नै परिवर्तन पनि हुनसक्छ,’ उनको भनाइ छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।