हालैको एउटा भर्चुअल संवादमा उपन्यासकार नील क्रसले आफू लामो समयसम्म मानसिक रोगको शिकार भएको स्वीकार गरेका छन् ।
हालै शुरू हुन लागेको नयाँ टेलिभिजन सिरिज सिस्टरको प्रचारात्मक कार्यक्रम क्रममा उनले आफू लामो समयसम्म ‘फल्स मेमोरी’ (झूटो स्मृति)का कारण निकै दुःख पाएको बताएका छन् ।
बेलायतको ब्रिस्टलमा १९६९ फेब्रुअरी ९ मा जन्मिएका क्रसको ‘अल्वेज द सन’ बुकर पुरस्कारको लामो सूचीमा परेको थियो । उनी मूलतः थ्रिलर तथा क्राइम विधाका उपन्यास लेख्न रूचाउँछन् ।
हालै उनले कार्यक्रममा किशोर अवस्थामा एक जनाको हत्या गरेको बताएका थिए र सो हत्या उनको सबैभन्दा गाढा ‘फल्स मेमोरी’ रहेर जीवनभर सताएको स्वीकार गरेका थिए ।
उनले भने, ‘म त्यो बेला १६ या १७ वर्षको थिएँ होला । ब्रिस्टोलमा मेला लागेको थियो । भर्खरै पिउने र मात्तिने उमेर थियो । त्यो बेला साइडर (कम अल्कोहल मात्रा भएको पेय) ३२ पेन्समा पाइन्थ्यो । गोजीमा पर्याप्त पैसा थियो । मज्जाले मैले साइडर पिएँ । रमरमी मात पनि लाग्यो ।’
उनी पूरै मात्तिएपछि दिदीको घरतर्फ लागे । उनी त्यो बेला दिदीसँग बस्थे । घर फर्कंदै गर्दा लामो बाटो गुन्गुनाउँदै थिए ।
भोलिपल्ट बिहान उनी अत्तालिँदै उठे । उनले सपना देखेर अत्तालिएका थिएनन् । उनलाई लाग्यो, हिजो राति फर्कंदा एक जना सडकमा सुतिरहेको होमलेस मानिसलाई उनले चक्कु हानेर मारिदिए । त्यो बेला उनको उमेरका किशोरहरू चक्कु बोकेर हिँड्नु आफूलाई शूरवीर ठान्थे । उनीसँग चक्कु थियो । हतारहतार उनले चक्कु निकाले । त्यसमा रगत लागेको थिएन । उनले हात हेरे, आफूले लगाएको कपडा जाँचे, कतै पनि हत्याको चिह्न थिएन । केहीमा पनि रगतका टाटा थिएनन् ।
उनी भन्छन्, ‘मलाई स्पष्ट र निकै स्पष्टसँग याद छ, मैले कसरी त्यो मानिसलाई पक्रिएँ । कसरी चक्कु हानेँ । कसरी त्यो मानिस छटपटिदै मर्यो र ऊ मर्दै गर्दा कसरी त्यहाँबाट अघि बढेँ !’
त्यति स्पष्ट चित्र हुँदाहुँदै पनि रगतको टाटो नलागेकामा उनलाई आश्चर्य लाग्यो । यसपछि भने उनी हतारहतार कोठाबाट बाहिर निस्के र दिदीको घरमा दैनिक आउने अखबार खोजे । अन्य बेला सामान्य रूपमा मात्र अखबार हेर्ने भाइ अचानक एक-एक पन्ना घुरेर हेर्न थालेको देखेर उनकी दिदीलाई अचम्म लाग्यो ।
त्यो दिन अखबारमा कुनै पनि हत्याको खबर छापिएको थिएन । उनलाई एक किसिमको सन्तोष लाग्यो, कम्तीमा त्यो मानिस मरेनछ ! पक्कै अस्पतालमा छटपटाइरहेको होला भन्ने उनलाई लाग्यो । त्यो नगरिएको हत्याको डरले उनलाई सधैँ पछ्याइरह्यो ।
उनले घरका मानिसहरूलाई यस घटनाबारे बताउन चाहे तर जेल परिने डरले कहिल्यै कसैसँग यसबारे कुरा गर्न सकेनन् । उनले आफैँमा लुकाइरहे । अहिले पनि उनलाई डर लागिरहन्छ, कुन बेला प्रहरी अधिकारी उनका अघिल्तिर आउने हो र त्यो पुरानो घटनामा आफ्नो संलग्नतालाई लिएर सोधपुछ गर्ने हो !
‘हो, मलाई अझै पनि एक प्रतिशत त यस्तो लागिरहन्छ !’ उनले भर्चुअल संवादमा भने, ‘यस किसिमको फल्स मेमोरी (झूटो स्मृति)ले मलाई अझै पनि दुःख दिइरहन्छ । म त्यो फुटपाथमा सुतेको मान्छेका बारेमा अझै पनि सोचिरहन्छु… के त्यो अस्पतालबाट बौरिएर फेरि त्यहीँ सुत्न थाल्यो होला ? या त्यहीँ गुमनाम मृत्यु बेहोर्यो होला !’
उनको लुथर नामक टेलिभिजन साइकोलजिकल अपराध टिभी सिरियल निकै चर्चित छ । पछिल्लो समय उनको उपन्यास ‘बरियल’मा आधारित ‘द सिस्टर’को चार भागको टेलिभिजन ड्रामा बनाइएको छ । उनले सोही ड्रामाको प्रचारका क्रममा सो झूटो स्मृतिका कारणले पाएको दुःखका बारेमा बताएका हुन् । यो ड्रामा पनि मानिसमा हुने ‘फल्स मेमोरी’मा आधारित छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।