उत्तर बंगालको दार्जिलिङ जिल्लामा सिलिगुडीसँगै जोडिएको चिया बगान छेउमा एउटा रातो कार टक्क अडिन्छ । कारबाट एउटा दम्पति उत्रन्छन् ।

अनिर्बान नन्दी र उनकी पत्नी पौलमी चाकीको कारमा भरिभराउ छन् किताब । यी दुई चिया बगानमा बस्ने तर स्कुल नजाने बालबालिकाहरूलाई दिनभर पढाउँछन् र सन्तुष्ट भएर साँझ घर फर्कन्छन् । अहिले भने उनीहरूको चिया बगानका बालबालिका पढाउने अभियानले निकै ठूलो स्वरूप पाइसकेको छ ।

अनिर्बान भारतीय प्रौद्योगिकी संस्थान (आइआइटी) खडगपुरमा सिनियर रिसर्च फेलो छन् र पौलमी भने समाजशास्त्र र अर्थशास्त्रमा रिसर्च एसोसिएट छन् । तर यतिबेला कलेज बन्द भएका कारण घरैमा अल्छीपूर्ण दिनहरू बिताउँदै थिए ।

बन्दाबन्दीका बेला दुवै मिलेर चिया बगानका मजदुरका सन्तानलाई पढाउने प्रयासमा यिनीहरू लागेका छन् । यसका लागि उनीहरूले मोबाइल लाइब्रेरी शुरू गरेका छन् । उनीहरू गाडीभरि किताब लिएर चिया बगान घुम्ने गर्छन् र शितल छहारीमा उनीहरू किताब पढ्न रूचि जगाइदिन्छन् ।

उनीहरूले यी किताब ती बालबालिकाका लागि तीन महिनाका लागि उधारो पनि दिन्छन् ।

यस्तो ठाउँका बालबालिकाहरूसँग स्मार्टफोन छैन, ल्यापटप र इन्टरनेट कनेक्सन पनि हुने कुरा भएन । यस्तो अवस्थामा अनलाइन कक्षाबाट पनि उनीहरू वञ्चित भइरहेका छन् । त्यसो भए आफ्नो पनि फुर्सदिला दिन सदुपयोग हुने र तिनको फुर्सदलाई उपयोग गराइने सोचका साथ मोबाइल लाइब्रेरी शुरू गरिएको हो ।

गरिब बालबालिकाका लागि आवश्यक पर्ने बाल पुस्तकहरू उनीहरूसँग सीमित संख्यामा मात्र थिए । बाँकी पुस्तक उनीहरूले साथीभाइ तथा पुस्तक पसलेहरूसँग पनि उधारोमा ल्याएका छन् ।

तर यस्ता पुस्तकले मात्र ती बालबालिकाको पठन सहज हुन्छ त ? पक्कै पनि हुँदैन । त्यसैले यी दम्पत्तिले ‘दस टाकार ट्युसन’ अर्थात् दस रूपैयाँमा ट्युसन अभियान पनि शुरू गरेका छन् । सामाजिक दुरी कायम राखी उनीहरूले ट्युसन पढाउने गरेका छन् ।

कसरी आयो यस्तो सोच?
कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण भारत सरकारले लकडाउन (बन्दाबन्दी) नै शुरू गर्यो । यो लकडाउन तीन महिना त पक्कै हुन्छ भन्ने आँकलनका साथ उनीहरूले यो सोचलाई अघि बढाएका थिए । तर कोरोना कहर यति बढ्यो कि स्कुल कहिले खुल्ने हो, अहिलेसम्म पत्तो छैन । यस्तो अवस्थामा अनलाइन कक्षा लिन नसक्ने समुदायको पहिचान गरी उनीहरूले १० रूपैयाँ भारूमा ट्युसन पढाउन पनि थालेका हुन् । ट्युसनमा उनीहरूले कम्प्युटर विज्ञान, अर्थशास्त्र, भूगोल र राजनीतिशास्त्र पढाउँछन् ।

चिया बगानका क्षेत्रमा बस्ने आदिबासी बालबालिकामा पढाइप्रति रूचि देखेर उनीहरूले ट्युसन पढाउन थालेका हुन् । उनीहरूको यस योजनाका लागि कयौँले आर्थिक सहयोगसमेत गरेका छन् । पुस्तकालयमा प्रतियोगी परीक्षाको तयारी गर्नका लागि आवश्यक पुस्तकहरू पनि उपलब्ध गराइएको छ ।

यस्तो सोच यो दम्पत्तिमा आयो कसरी त ? बिबिसी हिन्दीसँग कुराकानी गर्दै अनिर्बान भन्छन्, ‘म पनि यही ग्रामीण क्षेत्रको बासिन्दा हुँ । मलाई बालापनमा आफ्नो पठन जारी राखन निकै गाह्रो थियो । लामो बाटो भएर स्कुल जानु पर्थ्यो । त्यत्र बेला महानन्दा नदीमा पुल बनेको थिएन । यसका अतिरिक्त स्कुलमा उति राम्रो पढाइ हुँदैनथ्यो । राम्रो पढ्नका लागि ट्युसन पनि गर्नुपर्थ्यो तर राम्रो ट्युसन पढ्ने ठाउँ पनि त्यो बेला थिएन । त्यसैले हामीले हाम्रो बालापनमा जे कुरा भोग्यौँ, वरिपरि शिक्षित समाजका बावजूद पनि अहिलेका बालबालिकाले त्यही कुरा भोग्नु भनेको राम्रो कुरा होइन भन्ने लाग्यो ।’

ग्रामीण क्षेत्रमा उनले एउटा शोध कार्य पनि गरेका थिए र त्यसका लागि उनले यही क्षेत्र रोजेका थिए । आफ्नो शोध कार्यकै क्रममा उनलाई यस क्षेत्रको गरिबी, शिक्षाको स्तर र सामाजिक अवस्थाबारे धेरै कुरा जान्ने अवसर पाए ।

सोही बेला उनले यी ग्रामीण स्कुले बालबालिकाका लागि केही गर्न पाए हुन्थ्यो भन्ने उनीहरूलाई लागेको थियो । अनिर्बानलाई लाग्यो, थोरै सहयोग र प्रोत्साहन दिन सक्यौँ भने पनि उनीहरूको जीवनमा ठूलो प्रभाव पार्न सकिन्छ ।

आदिवासी बालिकाहरूमा पठन आकर्षण
शुरूमा त अनिर्बानलाई यी बालबालिकाहरूलाई पुस्तक सित्तैमा दिनुपर्छ भन्ने लाग्यो तर उनीसँग सीमित पुस्तक थिए । पुस्तकको आवश्यक पर्ने बालबालिका निकै थिए । यस्तोमा सबैले पढ्न पाऊन् भनेर उनलाई मोबाइल लाइब्रेरीको सोच पलाएको हो । जसमा बालबालिकाले तीन महिनाका लागि पुस्तक पढ्न लैजान्छन् र पढेपछि फिर्ता ल्याइदिन्छन् ।

यसको सफलतापछि अनिर्बानलाई ट्युसन पनि पढाउनु पर्छ भन्ने लाग्यो । त्यसपछि उनीहरूले १० रूपैयाँ शुल्कमा पढाउन थाले । अनिर्बान भन्छन्, ‘हुन त सित्तैमा ट्युसन पढाउने भनेको भए पनि हुन्थ्यो तर सित्तैमा पढाउने भनेपछि यसको महत्त्व उनीहरूले नबुझ्लान् भनेर १० रूपैयाँ लिने गरेको हो । उनीहरूका बा-आमाले १० रूपैयाँ तिरेकाले जसरी भए पनि पढ्न पठाउनुपर्छ भन्ने सोच्छन् भनेर नै शुल्क लिएको हो ।’

हिजोआज उनीहरू कुनै निश्चित बारमा कुनै एक ठाउँ गएर पढाउँछन् भने अर्को बार अर्को ठाउँमा ।

तीन महिनाभन्दा बढी समय ट्युसन पढाइसकेपछि यी बालबालिकाको पठनस्तर सुदृढ भएकोमा अनिर्बान खुसी व्यक्त गर्छन् ।

यसबीचमा यो दम्पत्तिले ३० गाउँ र १६ चियाबगान घुमिसकेको छ । उनको मोबाइल लाइब्रेरीका सदस्यहरू १६ सयभन्दा बढी पुगिसकेका छन् ।

रोचक त के छ भने लाइब्रेरीका सदस्यहरूमध्ये ८० प्रतिशत भने बालिकाहरू छन् । ट्युसन योजनामा भने लोहासिंग चिया बगानका ८० बालबालिका पढिरहेका छन् ।

पौलमी भन्छिन्, ‘यसरी पढ्ने कुरामा बालिकाहरूको रूचि बढी देखिएको छ । यत्र देख्दा मलाई आनन्द आइरहेको छ । शुरूमा उनीहरूले पढ्न त्यति रूचि देखाएका थिएनन् तर क्रमशः उनीहरूको स्तर पढ्दै जाँदा चासो पनि बढिरहेको छ।’

मेरी भ्यु चिया बगानकी रानीमा आफ्नो पाँच महिनाको सन्तान बोकेरै पढ्न आउने गरेकी छन् । उनी भन्छिन्, ‘बिहेभन्दा पहिले अभावका कारण चार कक्षाभन्दा बढी पढ्न पाइएन । यतिबेला छुटेको पढ्न पाउँदा ज्यादै खुसी लागिरहेको छ ।’

अनिर्बानको अभियानलाई सघाउन आइपुगेकी तथा गंगाराम चिया बगानमा ट्युसनसँगै बालबालिकाको रेखदेखसमेत गरिरहेकी आइलिन मिन्ज भन्छिन्, ‘कोरोना शुरू भएपछि यस क्षेत्रको एउटै स्कुल बन्द छ । यस्तोमा बालबालिकाहरू लामो छुट्टीका कारण दिक्दार भइरहँदा र यसरी पढ्न पाउँदा निकै खुसी देखिन्छन् ।’