सन् १९८५ । कोलम्बिया ।
पूर्ण रूपमा बूढो नभैसकेको तर जवानी पनि गैसकेको गाब्रीयल गार्सिया मार्खेज आफ्नो रकिङ कुर्सीमा बसेर घोत्लिरहेका थिए । उनी यसरी घोत्लिन थालेको कैयौं दिन र रात बितिसकेको थियो । एक विश्व विख्यात लेखकले सिगारको धुवाँसँगै समयको धुवाँ उडाउनु पक्कै पनि शुभसंकेत थिएन । झ्यालमा बसेर घण्टौ टोलाइरहेका मार्खेजलाई देख्नेजति सबैको मनमा एउटै प्रश्न उब्जिरहेको थिया– आखिर मार्खेज पहिलोपटक यति लामो सोचमा किन डुबिरहेको छन् ?
वरिपरिका सबैलाई थाहा थियो कि मार्खेज जहिल्यै पनि कुनै नयाँ कथा लेख्नु अघि यसरी सोचाइमा डुब्छन् । तर यस प्रकृतिको व्यवहार उनीहरूले योभन्दा पहिले देखेका थिएनन् । यसैगरी एक महिना बितेपछि एकदिन उनी कुर्र्सीबाट जुरुक्क उठे र आफ्नो निजी कोठामा गए । त्यस कोठालाई उनी लेख्नको प्रयोग गर्थे ।
खासमा विगत एक महिनादेखि उनी प्रेम आख्यानको निम्ति कथा बुनिरहेका थिए । उनी यस्तो प्रेम कथा लेख्न चाहन्थे जुन पढेर वर्षौंपछि पनि मान्छेहरूले भनून्– मार्खेज बूढाले यो कस्तो खालको रोमान्टिक कथा लेखे !
तर प्रेमको बारेमा लेख्न उनले आफूलाई रित्याउनु प¥यो । मस्तिष्कलाई पन्छाएर लगाम मनको हातमा सुम्पिनु पर्यो । यति गर्दा पनि उनी कथालाई लिएर पूर्ण विश्वस्त थिएनन् । उनले सानो झिल्को समाते र लेख्न थाले ।
यसरी सुरु भयो फ्लोरेन्टिनो अरिजा र फर्मिना दाजाबीचको अनन्त प्रेमयात्रा ।
वि. स. २०४२ । नेपाल ।
भैगोलिक कठिनाइ र प्राकृतिक मनोरम दृश्यको माझमा अवस्थित विकट पहाडी गाउँमा छिरिङ र म्हेन्दो प्रेमको यात्रामा हिँड्न थालेको दुई वर्ष भएको थियो । ख्यालठट्टामा बसेको माया मर्ने बाच्ने कसमसम्म पुगेछ उनीहरूले थाहै पाएनन् । वर्तमान खुसी साथ बितिरहेको थियो । एक अर्कामा उनीहरू चुर्लुम्म डुबेका थिए । उनीहरूको सम्बन्धको बारेमा गाउँमा सबै जानकार थिए ।
केवल भविष्यले उनीहरूलाई चिन्तित बनाउथ्यो । विशेष गरेर छिरिङ आउने दिनहरू सोचेर टोलाउथ्यो । साहुको ऋण, गरिबीले जेलेको पारिवारिक वातावरण, कथित उपल्लो जातको सधैंको हेपाइ र आफ्नो भन्ने सम्पत्तिको नाममा केही नहुनु । यी कुराहरूले उसको मन सधैं बिझाउँथ्यो ।
ऊ म्हेन्दोलाई सुखी जीवन दिन चाहन्थ्यो । ‘म्हेन्दो, म तिमीलाई यो दुःखबाट झन् नर्कमा कसरी लैजाउ ?’, ऊ लामो सुस्केरा हाल्थ्यो । बदलामा म्हेन्दो उसलाई सम्झाउने प्रयास गर्थी । धनभन्दा मायाको मूल्य धेरै हुन्छ भन्थी । यस्तो फिल्मी डायलगले छिरिङलाई छुदैन्थ्यो । म्हेन्दोले जति भन्दा पनि ऊ मान्न तयार हुन्थेन । ‘अहिले पो हामी माथि कुनै जिम्मेवारी छैन र माया नै सबथोक लाग्छ । भोलि बिहेपछि पारिवारिक बोझ काधँमा आउँछ । त्योबेला मायाले पेट भरिन्न होला, पक्कै । उसमाथि लालाबाला हुन्छन् । तिनीहरूलाई पनि हुर्काउन, बढाउन पर्यो ।’
‘म हाम्रै भविष्यको लागि जाँदैछु । गह्रौ मन नगर है म्हेन्दो ! म छिट्टै फर्किनेछु । त्यसपछि हामी बिहे गरेर सधैं साथ हुनेछौं ।’
छिरिङको प्रत्यक शब्दले म्हेन्दोको मनमा गाठो पार्यो । उसको आँखाबाट आँसु बगिरह्यो । मुखबाट शब्द फुटेन ।
त्यसको भोलिपल्ट छिरिङ बम्बै गयो ।
कुर्सीमा बसेर आफ्नो मनपर्ने कलमले प्रेमिल उपन्यास लेखिरहेका मार्खेजलाई फ्लोरोन्टिनो र फर्मिनाको टुसा पलाउदै गरेको प्रेमलाई लम्ब्याउन मन लागेन । तसर्थ कथामा प्रवेश गर्छ डाक्टर उर्बिनो ।
मार्खेजलाई लाग्छ प्रेमको नाम पीडा हो । अपरिचित युवा र युवती भेट्नु, प्रेममा पर्नु, विवाह गर्नु । उनलाई यस्तो प्रेम साह्रै सस्तो लाग्छ । उनी चाहन्छन्, सम्बन्धमा अथाहा प्रेम होस् तर त्यसमा पीडा, छट्पटी, तड्पन्, बेचैनी आदि दुःखका सम्पूर्ण तत्वहरू पनि होस् ।
उनलाई क्रूर कथाकार बन्ने इच्छा हुन्छ । त्यसैअनुसार काहानी अगाडि बढाउन थाल्छन् ।
दोर्जेको साथ लागेर छिरिङ बम्बै पुग्छ । बीस वर्षे उसको मनमा अनेक जिज्ञासा हुन्छ । सबैभन्दा बढी म्हेन्दोप्रतिको माया हुन्छ ।
धेरै वर्षदेखि बम्बैमा रहँदै आएको दोर्जेले छिरिङलाई तत्कालको लागि सामान्य काम लगाइदिन्छ । चाहे दिनभरी काम गर्दा होस् वा रातको समयमा उसको आँखा अगाडि केवल म्हेन्दोको मुहारमात्र देखापर्छ ।
दिनहरू हप्तामा बदलिन्छ । हप्ताहरू महिनामा । यसरी एक वर्ष बित्छ । छिरिङले सोचेअनुरूपको काम पाउँछ । ऊ खाइनखाई हाड घोटेर पैसा जम्मा पार्न जुट्छ । म्हेन्दोको यादले जति सताए तापनि उसँगको भविष्यका दिनहरूको कल्पना गर्दै उसले चित्त बुझाउँछ ।
मार्खेज छुट्टी मनाउन निस्किन्छन् । ऊनको अनौठो प्रेम उपन्यासले बजार तताइरहेको बेला उनी भने कोलम्बियाको समुन्द्री तटमा बसेर भुतिया पानीजहाजको अन्तिमा यात्रा हेरिरहेका छन् । तर उनको मनमा “लभ इन् द टाइम अफ् कलेरा”ले उकुस्मुकुस पार्छ । उनलाई किताबमा कता के नमिलेको जस्तो लाग्छ । हेर्दाहेर्दै उनको आँखा अगाडिबाट जहाज विलीन हुन्छ ।
समयको संसारमा अर्को एक वर्ष बित्छ । छिरिङ आफ्नो जम्मा पुँजीको थैलो देखेर दंग पर्छ । उसले अबको केही हप्तापछि गाँउ फर्केर म्हेन्दोलाई आफ्नो बनाउने अनि फर्केर हिन्दूस्थान नआउने संकल्प गर्छ ।
यहाँ एकछिन म पाठकहरूलाई रोक्न चाहन्छु । मसँग धेरै समय छैन । मेरो परिचय दिनु आवश्यक म ठान्दिनँ । खासमा म केवल कथावाचक हुँ । यो कथाको लेखक आफ्नो रिसाएकी प्रेमिका फकाउन गएको मौका पारेर म यो कथा तपाईंहरूलाई वाचन गर्दैछु । यो कथा लेखकले बनावटी पारामा लेख्नेछ । त्यसकारण म सत्य बताउन आएको हुँ । मलाई प्रेमसँग कुनै वास्ता छैन । खासमा भन्दा मलाई केही कुराको मतलब छैन । मेरो काम कथा भन्ने हो । यतिचाहिँ भन्छु कि प्रेम चाहे कोेलम्बियाको होस् वा नेपालको, यसको चपाउने दाँत एउटै हुन्छ । भूगोल र परिस्थितिले देखाउने दाँत भने अलगअलग हुन आउँछ । आगे पाठको मर्जी ।
छिरिङ घर जान केही दिनमात्र बचेको बेला गाँउबाट पेम्बा आइपुग्छ । सत्ता र व्यव्स्थाबाट पीडितहरूको कथा लगभग उही हुन्छ । पेम्बा पनि भविष्य खोज्न बम्बै आइपुगेको हुन्छ । उसको साथमा छिरिङको लागि खबर आउँछ । बासी नै भए तापनि खबरले छिरिङको जीवनलाई हुर्कन नपाई निमोठ्छ ।
पेम्बाले ल्याएको दुईवटा खबरयस प्रकार हुन्छः
खबर एकः
छिरिङ यता आएको लगभग छ महिनापछि उसको दाइले गाँउकै कथित उपल्लो जातको केटी भगायो । सजायस्वरूप छिरिङको परिवारको जायजेथा त्यस केटीको परिवारलाई दिने निर्णय गरियो । साथै छिरिङको परिवारलाई कहिल्यै पनि त्यस गाउँ र वरपरका गाउँहरूमा पाइला टेक्न नपाउने गरी गाउँ निकाला गरियो ।
यो बताँउदा पेम्बाको आँखबाट आँसु बगिरहन्छ । दोर्जेसमेत रसाएको आँखाले झ्यालबाहिर हेर्छ । छिरिङ भने केही समय चुपचाप बस्छ ।
मौनतालाई तोड्दै छिरिङ बोल्छ, ‘मेरो परिवार ?’
‘तेरो परिवार जेनतेन गरेर तराईको एउटा गाँउमा बसेको छ’, पेम्बाले गम्भीर भएर उसको अनुहारमा हेर्ने साहस नगरी भन्छ ।
खबर दुईः
म्हेन्दोको बिहे भयो छ महिना अघि ।
अचानक छिरिङको आँखाबाट आँसुको भेल बग्छ । त्यसबखत उसले जम्मा दुईवटा शब्द सम्झिन्छ, ‘म्हेन्दो’ र ‘बिहे’ ।
उसको सपनाहरू केही पलमा बिरानो हुन्छन् । उसलाई विश्वास हुन सक्दैन आखिर के हुँदै छ भनेर । म्हेन्दोविनाको भविष्यको लागि ऊ कुनै पनि हालतमा तयार हुँदैन । यदि दुःख पूर्वजानकारी गराएर आउने भए मान्छे सायद पीडित हुने थिएन ।
छिरिङले आफूलाई दुनियाँबाट अलग गराउँछ । सारा दिन ऊ कोठामा आफ्नो किस्मतलाई धिक्कार्दै बस्छ । जुन प्रेमले उसलाई बाटो देखायो त्यही प्रेमले उसलाई बिरानो टापुमा एक्लो पार्छ । उसको लागि काम, पैसा केहीको महत्व हुँदैन । जीवनको अर्थहिनतामा ऊ भाँसिन्छ । बाच्नु निर्थक लाग्छ । यस्तोबेलामा उसलाई परिवारको समेत वास्ता हुँदैन । ऊ बेहोसीमा रम्न थाल्छ । पीडा उसको नसा बन्छ । उता फर्मिनाको बिहे डाक्टर उर्बिनोसँग भएपछि फ्लोरेन्टिनो आत्माविहिन भएर भौंतारिन थाल्छ ।
उसको जीवनमा प्रेमिकाको स्थान अरु कसैले लिन सक्दैन । ऊ अनेकौं महिलाहरूसँग शारिरिक रूपमा एक हुन्छ तर भावनात्मक स्थानमा फर्मिनाले स्थायी डेरा जमाएकी हुन्छे । दिन प्रतिदिन उसको सेक्स पार्टनहरूको सूची लामो हुँदै जान्छ, जुन उसले डायरीमा टिपेर राख्छ । तर ऊ दोस्रो युवतीलाई प्रेम गर्न असमर्थ हुन्छ ।
ऊ आफूलाई खाली महसुस गर्छ । शारीरिक सन्तुष्टि मिले पनि आत्मीक सुखको खोजीमा ऊ भौंतारिन्छ । सहरमा उसको परिचय स्त्रीलम्पट पीडित प्रेमिको रूपमा हुन्छ ।
यता छिरिङको बैरागी हाल देखेर दोर्जेलाई विरक्त लाग्छ । प्रेमको यो कुरूप रूप अनुभव नगरेको उसले छिरिङको पीडा बुझ्न सक्दैन । उसलाई के लाग्छ भने प्रेमको नाममा तड्पिनु पक्कै पनि बुद्धिमता होइन ।
एकदिन उसले बल्लतल्ल छिरिङलाई घुम्न जानको निम्ति राजी गराउँछ । छिरिङ मान्छेहरूको भीडमा फर्किन मानसिक रूपमा तयार हुँदैन तर पनि दोर्जेको जिद्दी अगाडि उसको जोर चल्दैन । दोर्जेले उसलाई सहरको भीडभित्रको अर्को संसारमा लान्छ । रेडलाइट एरियाको एक वेश्यालयमा छिरेपछि दोर्जे साहुनीसँग मस्केर कुरा गर्न थाल्छ । छिरिङले कुरा बुझिहाल्छ । ऊ केही नबोली त्यहाँबाट जुरुक्क उठेर हिँड्छ ।
उसलाई सहरको कोलाहलले आफ्नो मजाक उडाएको भान हुन्छ । ऊ कोठामा फर्केर म्हेन्दोको यादमा घण्टौं टोलाएर बस्छ । साँझपख दोर्जेको प्रवेश हुन्छ ।
‘आज किन भागेको, छिरिङ ?’ दोर्जे जिज्ञासु नजरले हेर्छ ।
‘म म्हेन्दोलाई धोका दिन सक्दिनँ ।’, छिरिङ मौन हुन्छ, ‘मेरो माया केवल म्हेन्दोको लागि मात्र हो ।’
‘म पनि माया त केवल आफ्नी बूढीलाई गर्छु । यसको मतलब शारीरिक चाहना पूरा नगर्नु भन्ने होइन । लाहुरमा गरेको रमाइलो लाहुरमै सीमित हुन्छ । उमेरमा घोडा चढिएन भने बूढेसकालामा पछुताउनु पर्छ ।’
‘म त्यसो गर्न सक्दिनँ । मन एउटालाई, तन अर्कैलाई ।’
‘मैले म्हेन्दोलाई माया नगर् भनेको होइन । मैले त बेलामौकामा रमाइलो पनि गर्नुपर्छ भनेको हो । यो नाश भएर जाने शरीरको उपभोग नगरे के नै छ र जिन्दगीमा बाच्नलाई । माया र सेक्स फरक हो ।’
छिरिङलाई दोर्जेको कुराले झर्को लाग्छ । ऊ पुनः म्हेन्दोको सम्झनामा डुबेर टोलाउन थाल्छ ।
‘तेरो दुःख पाउने मति देख्दैछु है म !’ यति भनेर दोर्जे हिन्दी गीत गुनगुनाउन थाल्छ ।
समयक्रममा छिरिङको घाउमा खाटा बस्दै जान्छ । म्हेन्दोको अनुपस्थितिमा सिर्जित रिक्त स्थान भने खाली नै रहन्छ । ऊ जति गरे पनि म्हेन्दोलाई बिर्सिन सक्दैन । ऊ आफूलाई अपूर्ण महसुस गर्छ ।
लाहुर गएको पाचँ वर्षपछि उसले घर जाने निर्णय गर्छ ।
छोराको हाल देखेर आमाबुवाको मन कुँडिन्छ । एउटा केटीकै कारण आफ्नो छोरोले जिउनै बिर्सेको उनीहरू हेर्न सक्दैनन् । उनीहरू छिरिङको बिहे गर्दिने निधोमा पुग्छन् । ऊ राजी हुन्छ । प्रतिकार गर्नुको अर्थ देख्दैन । सजीव मुर्दामा भावना हुँदैन । यसरी उसको जीवनमा नयाँ मान्छेको आगमन हुन्छ ।
म पुनः पाठकहरूलाई केहीक्षण रोक्न चाहन्छु । लेखक आउनेबेला भैसकेको हुनाले अब मैले छोटकरीमा कथा भनेर सक्नुपर्छ । केही कुरा अधुरो रहनुको पनि आफ्नै मजा छ, तर यो कथा अधुरो रह्यो भने मैले छिरिङ र म्हेन्दोमाथि अन्याय गरेको ठहरिन्छ । त्यसैले म अब बीचको घटनाहरूलाई समावेश नगरी कथाको अन्त्यमा प्रवेश गर्छु ।
वर्षौसम्म मार्खेजलाई कतै फ्लोरेन्टिनोप्रति अन्याय त गरिनँ भन्ने चिन्ताले पिरोल्छ । फ्लोरेन्टिनोको छट्पटी सम्झेर उनको मन भतभत पोल्छ । आफू जालिम लेखक भएको निष्कर्षमा पुग्छन् ।
छिरिङ बूढेसकालामा आफ्ना नातिनातीनासँग दिन बिताउँदै हुन्छ । समयले धेरै लामो यात्रा गरिसक्छ । हिजोका दिनहरू अतितको पोल्टोमा विश्राम गर्दै हुन्छन् । सबैकुरा बदलिन्छ । बदलिँदैन त केवल छिरिङको म्हेन्दोप्रतिको प्रेम । समयको लामो कालखण्डमा उसले सधैं म्हेन्दोलाई अटुट् माया गर्छ ।
पाँच वर्षअघि आफ्नी श्रीमतीको मृत्यु भएपछि छिरिङले निकै एक्लो महसुस गर्छ । मनमा सधैं म्हेन्दोले जरा गाडेको कारण उसले श्रीमतीलाई कहिल्यै आफ्नो ठान्न सकेन । यति हुँदा पनि उनीहरूको दाम्पत्य जीवन सुखद् थियो । अहिले आएर उसलाई श्रीमतीप्रति अन्याय गरेछु भनेर पछुतो लाग्छ । म्हेन्दोको प्रेमले उसको आत्मग्लानिलाई धेरैबेर टेक्न दिँदैन ।
वि. स. २०७७ । विकट पहाडी गाउँ ।
आफ्नो पुर्ख्यौली गाउँ नजिकिँदै जाँदा छिरिङको मनमा अनेक तरंगहरू उठ्छन् । यतिका वर्षपछि त्यस ठाँउमा जानुअघि उसले धेरै सोचविचार गरेको थियो । कोरोना त्रासदिको बीचमा उसले सोच्यो संसार ध्वस्त हुँदैछ । सबै जना मर्दैछन् । यस्तो भयानक रोगले कसैलाई छोड्ने छैन ।
अनेक टिकाटिप्पणीसँगै सरकारले लकडाउन घोषणा गरेपछि उसलाई लाग्यो– अब साँच्चै नै भयावह स्थिति आउँदै छ ।
उसको मनमा भने एउटा चिन्ताले डेरा जमायो– मर्नुअघि म्हेन्दोको अनुहार हेर्ने रहर अधुरै हुने भयो ।
यही कुराले ऊ बेचैन हुन थाल्यो । पूरा महिना छट्पट् गरेपछि अन्ततः उसले म्हेन्दोलाई भेट्न जाने निर्णय गर्यो । तर म्हेन्दो कहाँ छिन् भन्नेसमेत थाहा थिएन । उसलाई प्रेमले प्रेरित गर्यो त्यो उमेरमा सबेरै झोला बोकेर अनिश्चित गन्तव्यतर्फ लम्किन ।
गाउँमा खासै परिवर्तन आएको थिएन । भौतिक सम्पन्नता बढे तापनि गाउँलेहरूको दःुख उस्तै थियो । पुस्ता बदलियो । पिर बदलिएन ।
गाउँको स्वरूप भिन्न भएकोले छिरिङले म्हेन्दोको माइती घर ठम्याउन सकेन । यत्रो वर्षपछि आफ्नो जन्मथलो पुग्दासमेत उसको ध्यान सिर्फ म्हेन्दोको बारेमा जान्नुमा थियो । गाँउको मुखमै भेटिएको व्यक्तिसँग उसले म्हेन्दोको बारेमा सोधीखोजी गर्यो ।
थप अरु केही व्यक्तिसँग पुछताछ गरेर उसले म्हेन्दोको माइती घर फेला पार्यो । पिँढीमा बसिरहेकी म्हेन्दोलाई चिन्न उसलाई बेर लागेन । आधी कपाल फुलेर सेतै भएकी म्हेन्दोको अनुहारमा मुजाहरू प्रष्ट देखिन्थ्यो ।
पाठकहरू, म अब उनीहरूको वर्षौंपछिको मिलनको व्याख्या गर्दिनँ । यतिचाहिँ भन्छु – उसको बिहे गरेको केही वर्षपछि नै श्रीमानको मृत्यु भएपछि म्हेन्दो माइती घरमा आएर बस्न थाली । उसको मनमा अलिकति पनि आसा थिएन कि कुनै दिन छिरिङ यसरी आइपुग्छ होला भन्ने । घन्टौं बातचित् पछि मुर्झाएको प्रेमले नयाँ जीवन पायो ।
म्हेन्दो छिरिङसँग जान तयार भई । अबको बाँकी समय उनीहरूले साथ बिताउने निर्णय गरे । हराएको प्रेम फिर्ता आयो, दुई प्रेमिहरूको मनमा गडेको घाउ पुर्न ।
लोरेन्टिनोले फर्मिनाको लागि ५१ वर्ष ९ महिना ४ दिन कुर्छ ।
छिरिङ र म्हेन्दोको मिलन हुन ३५ वर्ष लाग्छ ।
उनीहरू त्यसैदिन छिरिङको घरतर्फ लाग्छन् । आधी बाटो पुगेपछि झमक्क साझ पर्छ । पाहाडको ठाँउमा बल्लतल्ल एउटा घर देखिन्छ । उनीहरू त्यहीँ वास बस्छन् ।
त्यस रात जोडले पानी पर्छ । उनीहरू वास बसेको घरलगायत वरिपरिका घरहरू पहिरोमा पुरिन्छन् । दुई दिनपछि उद्धारकर्ताहरूले उनीहरूको लास एक अर्काको हात समातेको अवस्थामा भेट्छन् ।
प्रिय पाठकहरू, मैले जतिसक्दो इमान्दार भएर यो कथा वाचन गरेको छु । अबको केही दिनमा तपाईंहरूले लेखकको भर्जन पढ्नुहुनेछ ।
अलविदा !
शुभरात्री !!
खुदा हाफिज !!!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

