जब कुनै लेखकलाई समीक्षकले एउटा ट्याग छुण्ड्याइदिन्छन्, लेखक त्यसबाट उम्कन सक्दैन । यसको उदाहरण बनेकी थिइन्, नेपाली साहित्यमा ‘महिला यौन लेखक’ प्रेमा शाह । अतिशय सुन्दरी प्रेमा शाहले आफ्नो कलिलो भर्रभराउँदो उमेरमा यौनका विषयमा लेख्दा त्यसले नेपाली समाजमा हलचल मच्चाएको थियो । उनलाई जहाँतहीँ यौन लेखिकाका रुपमा प्रस्तुत गरियो । यसलाई उनले आफ्नो प्रशंसा ठानिन् र लगातार यौनकै वरपर रहेर कथा रt कविता लेखिन् ।
उनी यौन लेखिकाका रुपमा यति प्रख्यात बनिन् कि सार्वजनिक ठाउँमा समेत उनी खुलारुपमा यौन समागम आह्वान गरिएका कविता वाचन गर्थिन् । त्यसको उदाहरणमध्ये एक यो पनि होः

प्रेमा शाहको कविताः

आऊ, मलाई सम्भोग गर

प्रेमा शाह

आऊ कोही, अग्रसर होऊ
आऊ मेरा आलिङ्गनमा,
आफूलाई प्रयोग गर ए !
आऊ, मलाई सम्भोग गर ।

फैलन लागिरहेछ मस्त यो साँझ शान्त,
दृश्यहरूबाट चियाउन लागिरहेको छ वनको एकान्त,
सही नसक्ने, सही-सही नै रहन नसक्ने
आकांक्षाको उन्माद-बेला
आऊ कोही, सहयोग गर ए !
आऊ, मलाई सम्भोग गर ।

राष्ट्रिय नाचघरमा भएको वृहत् कवि गोष्ठीमा प्रेमा शाहले यो कविता वाचन गरेकी थिइन् । यो कविता वाचनपछि उनी राष्ट्रिय चर्चामा रहिन् । ५० वर्षअघिको नेपाली समाजमा यस किसिमको कविता त्यो पनि भव्य कवि सम्मेलनमा वाचन गर्नु उसै पनि दुस्साहस थियो । त्यसपछि त उनी जीवनपर्यन्त यौन लेखिकाका रुमपा स्थापित बनिन् ।

नेपाली भाषासाहित्यमा प्रेमा शाह यस्ती भाग्यमानी लेखक हुन्, जसले जीवनको अन्तिम केही वर्षबाहेक सधैँ चर्चामा रहिरहिन् । २००२ सालमा वीरगंजमा जन्मेकी प्रेमा शाह १४ दिनको शिशु अवस्थामा आमा बुबाबाट छुट्याइएर काठमाडौँको मावली घरमा ल्याइएकी थिइन् । उनी सँगैका दाजुभाइले वीरगंजमा दुःख गरिरहँदा यिनी भने काठमाडौँको सुविधा सम्पन्न स्कुल र कलेजमा पढिन् । चर्तित व्यक्तिहरुसँग संगत गरिन् र नामूद यौन लेखिकाका रुमपा आफ्नो परिचय बनाइन् ।

उनको ‘पहेंलो गुलाफ’ नामक कथाले नेपाली साहित्यमा हलचल मच्चाएको थियो । आज जस्तो साहित्य पढ्न नपाउने जमानामा उनको यो कथाका पानाले देशभरिका मुख्य सहरहरुमा परिक्रमा गरेको थियो । यही कथाको लोकप्रियतापछि वि.सं. २०२३ सालमा ‘पहेंलो गुलाफ’ शीर्षकमै आठ कथाको सङ्ग्रह रत्न पुस्तक भण्डारले प्रकाशन गर्यो । यसका तीन संस्करणपछि पुनः १० कथाहरू थपेर चौथो संस्करण छापिएको थियो । आज पनि यो कथा संग्रहका केही कथाहरु पठनीय मानिन्छन् ।

उनको ‘विषयान्तर’ नामक अर्को कथासङ्ग्रह पनि यौन मनोवैज्ञानमाथि लेखिएको छ । शाहको यौन मनोविज्ञानका कथा र कविता पढेर धेरै लेखकले त्यस्तै कथा कविता लेखे तर उनी जति प्रसिद्ध बन्न सकेनन् । राष्ट्रिय नाचघरको भव्य कवि गोष्ठीमा प्रेमा शाहले सम्भोग गर भनी सार्वजनिक आह्वान गरिएको कविता वाचनलगत्तै धेरैले उनको कविताको जवाफ दिएका थिए । तीमध्ये त्यो बेलाका अर्का मदन पुरस्कार प्राप्त कवि कञ्चन पुडासैनीको यो कविता भने प्रख्यात उत्तर बनेर रह्यो ।

मैले तिमीसित सम्भोग गरिसकेँ
कञ्चन पुडासैनी

कञ्चन पुडासैनी

खुलेआम त्यस मञ्चमै
मैले तिमीलाई अँगालामा भरिसकेँ
ए पर्ख,
(म त्यस मञ्चमा नउक्लेको नउक्ल्यै)
मैले तिमीसित सम्भोग गरिसकेँ
तिमीले जब गरिसक्यौ आह्वान
म कसरी रोकिन सक्थेँ नगरी प्रतिदान
मेरो शरिरले तिम्रो शरीरसँग
भित्रभित्रै साक्षात्कार गरिसक्यो,
रन्थनीको झङ्कार गरिसक्यो ।
हो,
मैले तिम्रो अनुरोधलाई
यस्तरी उपयोग गरिसकेँ कि,
म त परैबाट अनुभूति भोगेरै छक परिसकेँ
ए पर्ख,
मैले तिमीसित सम्भोग गरिसकेँ ।