कविता विधामा नै विद्यावारिधि गर्नु भएका विप्लव ढकालको स्मार्ट पोयम्सको यो सत्रौँ श्रृड्खला हो । साहित्यपोस्टसँगको सहकार्यमा अघि बढेको यो श्रृड्खलामा नेपाली साहित्यका मानक छोटा कविताहरू प्रस्तुत गरिन्छन् । पुराना र नयाँ कविका लुकेका कवितालाई यसले बढी महत्त्व दिइएने कुरा डा. ढकालले साहित्यपोस्टलाई बताएका छन् । यसपटक डा. विप्लव ढकालले नेपालका मानक कविहरुको कविता प्रस्तुत गरेका छन् ।
१. सतिसाल मात्र ठिङ्ग उभिन सक्छ
(नेत्रलाल अभागी)
आँधी र हुरी नचलेको बेलामा,
वातावरण स्तब्ध र शान्त भएको घडीमा,
एउटा नरकट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ ।
एउटा कायरले पनि
बहादुरीका लामा लामा कुरा गर्न सक्छ !
तर मेरा मित्र,
आँधी र हुरी चलिरहेको बेलामा,
वातावरण अशान्त र गतिशील भएको घडीमा,
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौँठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।
२. वियोग–वेदनाको हलाहल
(भैरव अर्याल)
टाढा टाढा एउटा गाउँमा
बाजे बराजु मरेकै ठाउँमा
म पनि अचानक अस्ति खसेको छु,
त्यसैले आफू आफ्नै किरिया बसेको छु !
ए ! नआओ कोही बोलाउन मलाई
मभित्र आफ्नै कोलाहल छ
निषेधै निषेधको कोरा बारी बसेको छु
आफ्नै वियोग–वेदनाको हलाहल छ !
३. पहिचान
(जगदीश घिमिरे)
चुच्चे पनि महान् होइन
चिम्से पनि महान् होइन
मुहुडामा जेजे देख्छौ तिमी
त्यही नै मान्छेको पहिचान होइन ।
जे देखिँदैन, त्यो मान्छे हुन्छ
जे सुनिँदैन, त्यो मान्छे हुन्छ
हुङ्कार अहङ्का र आडम्बरले होइन
मान्छेको ढुकढुकीले जे भन्छ,
त्यही नै उसको पहिचान हुन्छ ।
४. धानै रोप्नुपर्छ
(डा. राममान तृषित )
अब त फूलबारीमा पनि फूल होइन,
धानै रोप्नुपर्छ !
जबसम्म पेटभरि खान पाउँदैनन् मालीहरूले
जबसम्म अन्नको व्यापार गर्छन् जालीहरूले
फूलको सौन्दर्यले हाम्रो समस्या हल पनि गर्दैन
निर्बललाई बलियो बनाउने बल पनि गर्दैन
दुईचार जनाको बैठकको फूलदानी सजाउन
किन यत्तिका परिश्रम गर्ने गरिबहरूले ?
साँचै भनूँ भने
अब त फूलबारीमा पनि फूल होइन,
धानै रोप्नुपर्छ !!
५. नाच
(शैलेन्द्रकुमार सिंह)
बैँसालु वर्तमानलाई
स्तन हल्लाई हल्लाई
बीच सडकमा
नाङ्गै नाचेको देख्दा
मलाई अलिकता पनि लाज लागेन ।
किनभने—
म त शासकहरूका
कस्ता कस्ता नाङ्गा नाचहरू
उहिलेदेखि नै हेर्दै आएको छु !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।