ऊ सहरमा बस्थी, मन भने गाउँमै ! त्यो पनि शास्त्रीय पाराको पुरानो घरमा ! समयले मन जहाँ हुन्छ, त्यहीँ पुर्याउँछ भन्ने कुरा सत्य निस्कियो । लोग्नेको देहान्तपछि ऊ त्यही सम्पत्तिको रेखदेख गर्न गाउँ जान्छे । त्यो सुन्दर घर, जसलाई सहर हुँदा सम्झिरहन्थी, त्यस घरलाई ऊ एउटा पुस्तक पसलका रूपमा सजाउन चाहन्छे ।
पुस्तक पसल ? हो, त्यो पनि गाउँमा । अपच हुनु स्वभाविक थियो ।
त्यो गाउँको काउन्सिल-सदस्यहरू भने घरलाई कब्जामा लिने र अरू नै व्यवसाय चलाउने ध्याउन्नमा छन् । घर पुरानो भएकाले जुनसुकै बेला ढल्ने हुनाले पुस्तक पसल त्यसका लागि अनुपयुक्त रहेको सुझाइन्छ पनि । तर ऊ जीवनको बाँकी समय आफूलाई मनपर्ने काममै लगाउन चाहन्छे । दिमागमा पैसै मात्र भएका राजनीतिक प्राणी काउन्सिलका सदस्यहरूलाई थाहा छ, यो उडन्ते सपना देख्नेलाई तह लगाउनैपर्छ । तर उसको घर खुस्काउन अनेक तानाबाना बुन्नुपर्छ । द्वन्द्व सुरू हुन्छ । किताबघर विरूद्धको षडयन्त्र असफल पार्न उसले एक पुस्तकप्रेमी बूढो व्यक्तिको सहयोग लिन्छे । लाग्छ, उसको सपना पूरा हुन्छ तर जसै त्यो बूढोको निधन हुन्छ, बाध्य भएर उसले त्यो घर छाड्नु पर्छ ।
‘द बुकसप’ फिल्मको कथा यत्ति नै हो तर फिल्मले समयको परिवर्तनसँगै पुस्तक पसलको महत्त्व सकिएको र पुस्तकलाई प्रेम गर्नेहरू एक्लिदै जान थालेको दुःखद् कथा कहन्छ ।
पुस्तकहरू शहरमै अलपत्र परिरहेका छन्, गाउँका त झन् के कुरा ! पुस्तकलाई माया गर्नेहरू अहिले यही नियति बाँचिरहेका छन् ।
यतिबेला पुस्तक पसलहरू बेवारिसे भएका छन् । हिजोसम्म देखापरेका पसल भोलि कुन बेला बन्द हुने हुन्, त्यसको पत्तो छैन । शहर दिनदिनै महँगो हुँदै जानु र गाउँ दिनदिनै रित्तिदै जानुले कतै पुस्तकको ‘डिस्टोपियन पिरियड’ शुरू हुनै लागेको त होइन ? मन एक किसिमले भरंग हुन्छ ।
हुन त किताब ज्ञान वा जानकारीको एउटा माध्यम मात्र हो तर पुस्तक प्रेमीहरूका लागि किताब ज्ञानको माध्यम मात्र होइन, विशेष किसिमको लत हो । समयसँगै उनीहरूको रूचि फेरिनुपर्ने हो तर पुस्तकका लतीहरूलाई यस्ता कुरासँग खास मतलब हुँदैन भन्ने कुरा कसले बताउने ?
एक समय ज्ञान गुफाका भित्तामा कोरिन्थे, पछि बाँस र काठमा कोरिन थाले, त्यसपछि कागजमा बेरिन थाले । हुँदाहुँदै ती छापिन थाले । र, यतिबेला डिजिटलाइज्ड हुन थाल्यो । हरेक संक्रमणकालमा ज्ञानले आफ्नो बाटो आफैँ खोजेको छ । नयाँ-नयाँ माध्यम यसले पत्ता लगाइरहेको छ ।
अँ, म ‘द बुक सप’की विधवाको कुरा गर्दै थिएँ, जसले आफ्नो एक्लोपनको निरसता हटाउन किताबलाई छनोट गरेकी थिई, किताब पसल चलाएर एक्लोपनलाई जितेकी थिई । तर एक्लोपन जित्ने माध्यम किताब होइन, पैसा हो भन्ने बुझेकाहरूसँग ऊ पराजित हुन पुगी ।
फेरि अर्की एक जना छे, क्याथरिन द ग्रेट ! रूसी इतिहासकी एक मात्र महिला शासक ! इतिहासले उसलाई द ग्रेटको पगरी गुथाएको छ, जो भोल्तेयरको लेखनीलाई असाध्य प्रेम गर्छे । ऊ पनि त जब-जब अप्ठेरो पर्छ, पुस्तकलाई लाञ्छना लगाउँछे ! किनभने उसले कमाएको एउटा समयको ज्ञान अर्को समयलाई काम लाग्दैन ।
भन्छे, ‘युवाकालमा भोल्तेयरको आगो लेखनीबाट जीवनको रमरमी पाएको थिएँ, बेफ्वाँक जीवन बाँच्ने चाह राख्थेँ र बाँचेँ पनि । अब त त्यो समय पनि गुज्रियो । सधैँ त्यही क्रान्तिकारी हुन नसकिदोरहेछ !’
जसरी ज्ञानको संक्रमणकाल हुन्छ, त्यसैगरी मानिसको भोगाइको संक्रमणकाल हुन्छ । जीवनको एउटा मोडमा आडभरोस दिने पुस्तकले अर्को संक्रमणकालमा बिल्कुलै नछुने हुनसक्छ । क्याथरिन द ग्रेट सोही संक्रमणका बेलामा देशभरि नै भएभरका किताब जलाउने निर्णयमा पुग्नु कुनै अनौठो कुरा होइन ।
त्यसैले त देशभरिका फ्रान्सेली किताबहरू खरानी बनाउँछे । शायद निराशाको गर्तमा जाकिएका बेला सबैभन्दा उज्याला किताब पनि अँधेरा लाग्दा हुन् मानिसलाई !
०००
एक दिनको काठमाडौँ रणभूमिमा परिवर्तन भएको धेरैलाई याद हुनुपर्छ । इराकमा काम गर्न गएका १२ नेपालीलाई त्यहाँका अतिवादीहरूले हत्या गरिदिए । त्यो पीडालाई ‘बहादुर नेपाली’ले नेपालका मस्जिद, म्यानपावर कम्पनी र मिडियाहाउसमा ध्वस्त पार्न खर्च गरे । हरेक टोलमा आगो लागेको थियो । तोडफोड पछिका पर्सिपल्टको उराठलाग्दो काठमाडौँमा अफिस जाँदो थिएँ । बाटाको एउटा तोडफोड गरिएको कार्यालय छिर्न मन लाग्यो । केही मानिस वाल्ल परेर बाहिर असमञ्जसमा क्वारक्वारी हेरिरहेका थिए । केही भित्रबाट सामान झिकिरहेका थिए, शायद अफिस सार्दै होलान् !
अनायाश म त्यो कार्यालयभित्र छिरेँ । सामान तोडफोड भएका थिए । केही सग्ला चिजबिज पनि थिए । कार्यालयका पिउनहरू ती सग्ला सामान ओसारिरहेका थिए, अर्कै ठाउँमा प्रतिस्थापन गर्न ।
भूइँमा एउटा किताब त्यसै पसारिएको थियो । त्यत्रो तोडफोड भयो, लूटपाट चल्यो तर त्यो किताब असरल्ल भूइँमै पसारिएको थियो । कसैले पनि त्यसलाई उठाउने प्रयास गरेन ।
त्यो किताब देखेपछि मलाई उठाउँ-उठाउँ लाग्यो । उठाएँ । धुलो टक्टक्याएँ । किताब राम्रै अवस्थामा थियो । किताबको शीर्षक पढेँ, समाजसेवी पृथ्वीबहादुर सिंह । त्यसपछि मैले ढाडको पछाडिपट्टि किताबलाई सिउरिएँ र कार्यालयबाट बाहिर निस्केँ । किताब उठाएको सबैले देखे, कसैले केही भनेनन् । सायद त्यो मूल्यहीन थियो । हेरेर नै धेरैले यो किताबलाई उपेक्षा गरेका होलान् । ‘पिरियड अफ एङ्गर’का बेलामा समाजसेवा ! कसले सोचोस्, त्यसतर्फ ?
यसअघि पनि यस्तै दृश्य मैले देखेको थिएँ । एउटा कुनै पुरानो घर सरेको थियो । म त्यो खाली घरमा काम विशेषले पुगेको थिएँ । सबैथोक लगिएको थियो तर केही थान किताब बाहिर गेटनेर असरल्ल छाडिएको थियो । लामो समयदेखि त्यत्तिकै बसेर होला, बाक्लो धुलो जमेको थियो ।
धुलोले पुरिएको किताबको त्यो हालत देखेर दया लाग्यो । उदेक पनि लागेर आयो, धुलोमा किताब ! तीमध्ये एउटा किताब उठाएँ । किताबको शीर्षक पढेँ, जीवन बाँच्ने कला ! शीर्षक पढेपछि सोचेँ, जसले यो किताब यसरी धुलोमा फ्याँकेर आफू मात्र बसाइँ सर्नेहरूले जीवन बाँच्ने कला कसरी सिके होला ? अथवा बेकामे किताबलाई छाडेर हिँड्नु नै जीवन बाँच्ने कला पो हो कि ?
अरूको घरबाट ती किताब उठाउन सकिनँ, धुलो पुछेँ र प्रेमपूर्वक त्यहीँ छाडिदिएँ ।
अहिले पनि मलाई त्यस किताबको झल्याकझुलुक स्मरण हुन्छ तर किन हुन्छ, अन्तस्करणलाई सोध्न भ्याएको छैन । मैले त्यसै छाडेकामा किताब दुःखी भएको हो ? किताब त्यसै छाडिएकामा मेरो मन दुःखी भएको हो ? अथवा, किताब मैले त्यहीँ छाडेको हुँदो हुँ तर त्यो किताबसँगै मेरो मन भने त्यहीँ अड्किएको हुँदो हो ! यदि मेरो मन त्यो किताबसँगै अड्किएको हुँदो हो त त्यो अहिले कहाँ पुग्यो होला ?
एक दिन त्यही बाटो हुँदै म पुनः त्यही घरतिर गएँ । घरमा नयाँ मान्छे आएछन् तर किताब त्यहीँ रहेछ ! आँट गरेर मोटरसाइकलबाट उत्रिएर किताब छेउ गएँ ।
भदौको दिन । पानी परेपछि रहेको पानी र तीक्ष्ण गर्मीमा त्यसका पाना अख्रक्क परेका थिए । म त्यहाँ अलमल गरेको देखेर एकजनाले सोधे, के हो ? मैले केही भन्न सकिनँ । किताब सग्लो भए केही भन्थेँ हुँला । केही नभनी मोटरसाइकल चढेँ । अहिले पनि समयमा त्यहाँका किताब उठाउने आँट नगरेकोमा थक्कथक्क लागिरहन्छ ।
मानिस र किताब दुवैको पात्रता हुन्छ । असल पाठकले असल किताब फेला पार्छन् । अथवा यसो भनूँ, मानिसको पात्रताअनुसार उसकहाँ किताब पुग्ने गर्छ । जसले जुन किताब उठाइरहेको हुन्छ, त्यो किताबको पात्रता र स्वयं पाठकको पात्रताका कारणले त्यो उठाइएको हुन्छ । म त्यो किताब उठाएर घर ल्याउन सक्ने पात्र बन्न सकिनँ । के त्यस्तो बाध्यता पर्यो, अहिले पनि सम्झँदा ऐंठन हुन्छ ।
म किताबबारे सामाजिक सञ्जालमा लेखिरहन्छु । बढी नै चर्चा गर्ने हुनाले केहीले मलाई सोधिरहेका हुन्छन्, के पढूँ ?
सोध्न मन लाग्छ, पात्रता छ ? छ भने किताब खोज्दै आइपुग्छ । अथवा, तपाईंको पात्रता छ ? छ भने तपाईंले तपाईंको पात्रताअनुसारको पुस्तक उठाइरहनु भएको छ किनभने मैले खोजेका कयौँ पुस्तक हातैमा आएर चिप्लिएका छन् । कतिपय हातैमा छन् तर ती पढ्न भ्याएको छैन । केही किताब सिरानीमा छन्, तिनीहरू पनि छक्क पर्दा हुन्, हैन यो पागल के गर्छ ? महिनौँ सिरानीमा राखेर पनि हेर्दै नहेर्ने कस्तो पाजी हो यो ? सिरानी छेउमा भएको किताबलाई उदेक लाग्दो हो, म छेउमा छु र पनि ऊ दराजतिर लम्केर अर्को झिक्छ, ओल्टाइपल्टाई गर्छ तर मलाई भने हेर्दा पनि हेर्दैन ।
सिरानीमा छ, रवीन्द्रनाथ टैगोरको आत्मकथा, माई लाइफ इन माई वर्ड्स । महिनौँ ऊ मलाई टोलाएर हेर्छ, म उसलाई । उसको र मेरो झगडा परिरहन्छ, बेलाबेलामा । ऊ भन्छ, मलाई तुरून्त रित्याऊ । म भन्छु, अहिले बेला भएको छैन । यसरी अनेक पटक अनेक पुस्तकसँग झगडा गरेर म बिताइदिन्छु ।
मेरी श्रीमती मलाई सोझो ठान्छिन् । कहिलेकाहीँ त झगडा गर्नुपर्ने मान्छेसँग झगडा नगरेकोमा दुःखी पनि हुन्छिन् । मेरो दाइ पनि मलाई बिल्कुलै ईख नभएको मान्छे ठान्छ तर मेरी श्रीमतीलाई थाहा छैन, जति झगडा गर्नु छ, मैले किताबसँग गरिसकेको छु । अरूसँग गर्ने रहर मलाई छैन ।
मेरो दाइले मलाई ईख नभएको भनेर जतिसुकै भनोस्, पढन्ते जति सबै मेरा ईर्ष्याका पात्र हुन् । उनीहरूलाई म देखिसहन्नँ । जसरी कुनै प्रेमी आफ्नी प्रेमिका आफ्नै अधीनमा होस् भन्ने चाहन्छ, राम्रा किताबसँग मेरो त्यस्तै ईख हुने गर्छ । भलै मेरो पात्रता होस् या नहोस् !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।