Chovar Blues Mobile Size

युवती आफ्नो चालले आफैँ विभोर भएर हिँडिरहेकी थिई । हिँड्दाहिँड्दै उसलाई लागिरहेको थियो कि उसको आफ्नै अनुहारको छाया एकदम गालासित टाँस्स्एिर, एकदम टाँस्सिएर हिँडिरहेछ ।

गाेविन्दबहादुर मल्ल “गोठाले ”

एकछिनपछि युवतीले फर्केर हेरी जरसाहेबको बैठके ऊभन्दा अलि पर पछिल्तिर चुरोट तान्दै आइरहेको थियो । बैठकेले आँखैआँखाले इशारा गर्यो –“ अगाडि बढ्दै जाऊ” । यति गरेर बैठकेले चारैतिर सशङ्कित भएर हेर्यो –कसैलाई त थाहा भएन ऊ युवतीलाई लिएर आइरहेको छ भनेर ।

युवती सुस्तरी हाँसी । अघिसम्म बैठके दाइले रतन दाइको घरमा उसलाई कसरी लोलुप दृष्टिले हेरिरहेको थियो र उसोउसो निहँु झिकेर छुन छुन खोजिरहेको थियो । ऊ बैठकेतिर फर्केर फेरि हाँसी ।

उसले आफ्नो जीउको पुष्ट छातीदेखि खुट्टासम्म सरसरी निहारी । जर्जेटको सारी खुट्टाको चालसित सरसराइरहेको थियो । ऊ आफैँ मुस्कुराई । उसले देखी, बाटोमा आँखैआँखाहरू उसको जीउलाई केन्द्रीभूत गरी पल्याकपुलुक चम्किरहेका थिए । ती धेरै प्रकारका आँखाहरू थिए– बूढा आँखा, सोझा आँखा, गम्भीर आँखा, नक्कली आँखा । ऊ फेरि मुस्कुराई । उसलाई प्रतीत भयो कि कोही उसको पिछा गरिरहेछ । केही थाहा नपाएको बहाना गरी, यताउता ऊ अघिल्तिर बढिरहेकी थिई । मानिस उसको पछि लाग्नु उसको लागि नयाँ कुरा थिएन । तर उत्कुसकता रोक्न नसकी उसले फर्केर हेरी । उसको आँखा यन्त्रवत् नाच्यो र ऊ यन्त्रवत् हाँसी । पछिल्तिर हिँडिरहेको, एक किताब बोकेको युवक टक्क रोकियो र विस्फारित नेत्रले हेर्न लाग्यो ।

युवती गइरहेकी थिई । उसले फेरि पछिल्तिर फर्केर हेरी र बैठकेलाई आँखालाई सोधी– “अझ कति जानु छ ?”बैठके पछिल्तिरै थियो, आँखाले नै भन्यो, “हिँड्दै गर न ।”

“ यिनीहरूलाई जति स्वास्नी भए पनि नपुग्ने ए !”

एउटा सुनसानजस्तो सडक आइपुग्यो, जहाँ फाट्टफुट्ट घरहरू थिए । घाम अस्ताइसकेको थियो र अँधयारो क्रमशः बढ्दै गइरहेको थियो । अब युवतीले एक तमासको बेमज्जा अनुभव गर्न थाली । बाटोमा हिँड्ने फाटफुट मान्छेहरूको आकृति पनि अस्पष्ट हुँदै गइरहेको थियो । उसले फेरि आफ्नो जीउलाई निहारी । लुगाको रङ पनि अस्पष्ट हुँदै गइरहेको थियो । बाटोमा आँखाको पल्याकपुलुक पनि देखिँदैनथ्यो । अब उसको आँखासम्मुख गालासित टाँसिएको अनुहारको छाया पनि लुप्त भयो । हिँड्दाहिँड्दै एक तमासको शिथिलता उसमा छायो । ऊ सुस्तरी हिँड्न लागी । एकछिनपछि कोही ऊसित टाँस्स्एिकोजस्तो उसलाई लाग्यो र ऊ झस्केर हटी । बैठके हाँस्यो र भन्यो, “ऊ आइपुग्यो, यहाँ कोही पनि छैन केको डर ?”

कोही थिएन, सुनसान थियो र सडकको किनारामा एक एकान्त घरबाट धमिलो प्रकाशमा बैठकेको लोलुप आँखा चम्क्यो । बैठके युवतीलाई समात्न जाइ लागेझैँ युवतीनेर फेरि पुग्यो । युवती फेरि उछिट्टेर पर पुगी । अहिले युवतीमा छाएको शिथिलता हरायो र बैठकेतिर गर्वले कर्के आँखाले हेर्न लागी ।

त्यसैबखत परबाट बत्तीको उज्यालो देखियो । त्यो बत्ती नजिक बढ्दै आइरहेका थियो । दुवै सामसुम फेरि अघिल्तिर बढे । एकछिन चारैतिर उज्यालो पार्दै बत्तीसहित साइकल पास भयो । बैठकले भन्यो,“जरसाहेबले त्यहीँ बस मर्जी भयो भने त्यहीँ बस्छ्यौँ ?”

युवतीले जवाफ दिइनँ । बैठके एक्कासि आइलाग्छ कि भनी होसियार भएर ऊ हिँडिरहेकी थिई ।

बैठकेले मानो भर्खर सत्य पत्ता लगाएझैँ हाँस्यो र भन्यो, “ यिनीहरूलाई जति स्वास्नी भए पनि नपुग्ने ए !”

बैठकेले मानो सुस्केरा हालेर फेरि भन्यो, “ आज एक रात बस्छ्यौ, भोलि म तिमीकहाँ आउँछु, हुन्न ?”

युवतीले भनी, “आइपुगो ?”

जरसाहेबको ढोका आइपुग्यो ।

क्याम्पाभित्र पस्ने ठूलो सिङ्गारिएको मूल ढोकामा पुगेर युवती टक्क् रोकिई र वाल्ल परेर भित्र हेर्न लागी । भित्र बिजुली बत्तीले झलमल्ल विशाल महलको अघिल्तिरको भाग देखिन्थ्यो ।

बैठकले सुस्तरी भन्यो, “हिँड्”

त्यसैबखत ढोकासँगै टाँस्सिएको दुई तल्ले घरबाट ढोकेले सोध्यो –“ को हँ ?”

“म !”

“ए तुल्सीदाइ, अर्को को नि ?

“जो भए पनि तिमीलाई के वास्ता ।”, बैठकेले ङिच्च हाँसेर जवाफ दियो ।

युवती अहिले ढोकाको किनारमा अडेस लाग्न पुगी । एकतमासको डर उसको शरीरमा व्याप्त भयो । यति धनी र यति ठूलो घर । ऊ चलहल गर्न सकिन । जरसाहेबको यति ठूलो घर हुन्छ । जरसाहेब कस्तो होला झन् । उसलाई अकस्मात् त्यहाँबाट फनक्क फन्केर भागुँभागुँजस्तो लाग्यो । त्यसैबखत ढोका अझै उज्यालो भयो र बाहिरबाट मोटर दगुर्दै ढोकाभित्र पास भयो । युवती तर्सेर त्यहाँबाट हटी ।

“ आज एक रातलाई मात्रै नानीसाहेब कि, भोलि पर्सिलाई पनि ?”

ढोकेले भन्यो, “रानीसाहेब सवारी भएको रहेछ, हिँड् ।”

युवतीले बैठकेको अनुहार केही कुराको याचना गरेझैँ हेरी र उसको पछिपछि लागी । ठाउँ ठाउँमा बिजुलीका लठ्ठाहरू थिए र त्यसैको प्रकाशमा सल्लाका रुखहरु र बगैँचाका झाडीहरू सामसुम देखिन्थे । महलभित्र पस्ने ढोकानिर एउटा सानो पोखरी थियो । त्यहाँ पुगेर युवती फेरि वाल्ल परी र एकटक पोखरीको मध्य भागमा स्थित नग्न स्त्रीको मूर्तिलाई निहार्न लागी । मूर्तिको टाउकोबाट पानीको फोहरा निस्किरहेको थियो र पानी त्यो सामसुम ठाउँमा सङ्गीतकै शब्द निकालेर पोखरीमा झरिरहेको थियो ।

पानीको झरझर बिजुलीको चमकमा नाचिरहेको थियो, मूर्तिका दुई पुष्ट स्तन चुच्चिएको थियो अनि कम्मर छिनिएलाजस्तो, अनि हातले अघिल्तिर मानिसलाई ईशारा गरिरहेझैँ थियो । मूर्तिको समग्र भङ्गिमाले त्यही भनिरहेको थियो,“ आऊ मलाई अङ्गाल र कहिल्यै नछाड ।”

युवतीले आफ्नो सारा जीउलाई सरसरी निहारी, मानौँ ऊ मूर्तिझैँ त्यही पोजमा एकछिन उभिन चाहान्छे ।

बैठकेले हाँसेर भन्यो, “भित्र हिँडन ।”

युवती झस्की र फर्केर बैठकेलाई हेर्नासाथ उसमा फेरि त्यही एक तमासको सरम र भय व्याप्त भयो ।

भित्र एउटा ठूलो बरण्डा थियो । त्यहाँ एउटा मानिस उँघिरहेको थियो । त्यो झस्केर उठ्यो र भन्यो,“ ए तुल्सी दाइ पो रहेछ, अर्को को नि ? ”

“नयाँ नानी साहेब ।”

“सत्ते ?”

ढोकेले मुस्कुराएर युवतीलाई माथिदेखिन् तलसम्म हेर्यो र सोध्यो, “आज एक रातलाई मात्रै नानीसाहेब कि, भोलि पर्सिलाई पनि ?”

“कुन्नि त्यो त जरसाहबलाई थाहा होला ।”

ढोके मुस्कुराएर युवतीलाई नै हेरिरहेको थियो । त्यसको मुठे जुँगा, टोपीबाट निस्केको जिङ्रिङ्ग कपाल, चोसिएर निस्केको दुई माथिल्लो दाँत र त्यसको मुस्कुराहट । युवतीलाई फेरि भाँगुजस्तो लाग्यो ।

भर्याङ सामसुम भयो र सारा महल एकदम सामसुम थियो । रहस्यझैँ निस्तब्धता त्यहाँ छाएको थियो । रोगनको गन्धले युवती अविभूत भइरहेकी थिई । भर्याङका भित्तामा अनेक किसिमका तस्बिरका ताँती थिए । ती तस्बिरहरू आँखा अड्न नपाउँदै युवतीको आँखाबाट पास हुन्थे । माथि पुगेर बैठकजस्तो एक सुनसान ठूलो कोठामा पुगेपछि बैठकले भन्यो, “ यहीँ एकछिन बस्नुस् । ”

युवती पुलुक्क बैठकेलाई चकित भएर हेरी, अघिसम्म “बस” भन्थ्यो । अहिले “बस्नोस !” बैठकेको मुख रातो भयो। भकभकाउँदै भन्यो, “ हो, एकैछिन बस्नोस्, म बिन्ती चढाएर आउँछु ।” बैठके गइसकेको थियो । महलभरि स्तब्धता अझै छाएको थियो । कतै टाढा टाढाबाट जस्तो, कतै केही खसेको, कतै कोही कराएको अस्पष्ट शब्द आयो ।

फेरि स्तब्धता छायो । फेरि कसैले सास फेरेर कुरा गरेझैँ उसको कानमा पर्यो । फेरि निस्तब्धता । अनि अकस्मात् ऊ झस्की । अघिल्तिर एउटा अनुहार उसलाई त्रस्त आँखाले हेरिरहेको थियो । त्यो युवतीकै प्रतिबिम्ब भित्तामा अडाइएको ठूलो ऐनामा परेको थियो । युवती आफैँ हाँसी र त्यो प्रतिविम्ब पनि हाँस्यो । अनि युवतीले आफूलाई ऐनामा निहारिरही । कपाल अलि तल झरेर गुजमुजिएको थियो, त्यसलाई मिलाई । ऐनामा कोठाको फर्निचर , फूलदान र तस्बिरहरूको प्रतिविम्ब परेको थियो र त्यसैको पृष्ठभूमिमा उसले आफूलाई मुस्कुराएको हेरिरही । उसलाई लाग्यो कि ऊ पनि अब महलकी सुकुमारी सुन्दरी भई, जसलाई ऊ बराबर मोटरमा हुर्र पास भएकी देख्दथी । उसले उच्छवास् फेरी – जरसाहेब !

केही हिँडेको शब्द आयो, उसको मुटु ढुकढुक गर्न थाल्यो । अनि शब्द ढोकामा आएर रोकियो र युवतीले महसुस गरी कि कोही उसलाई एकटक निहारिरहेछ । स्वास्नीमान्छेले बोलेको उसको कानमा पर्यो, “ माथि हेर त ।”

युवतीले यन्त्रवत् टाउको उठाई । एउटा तरुनी नानीसाहेब ढोकामा उभिएर व्यङ्ग्यपूर्वक मुस्कुराइरहेकी थिई । युवतीले फेरि टाउको झुकाई ।

एकै पलकमा युवतीले त्यो नानीसाहेबले लगाएको लुगा सबै देखी, आस्मानी रङको साडी, सेतोमा कालोथाप्ले बुट्टा भएको चोलो । कपाल मीमको जस्तो कोरेको र ओठ लाली लगाएको एकदम रातो । नानीले फेरि भनी, “मुख देखाउन । केको लाज ?”

युवतीले टाउको उठाई र शरमलाई जबर्जस्ती रोकेर अघिल्तिरकी नानीलाई हेरी । नानीलृ सोधी, “तिम्रो नाम के ?”

“रम्भा”

“ए, नाम पनि त राम्रो रहेछ ।”

एकछिन टोह्लाएर उसले फेरि भनी, “ तिमीलाई यहाँ बस्न मन लाग्छ ?”

जवाफ दिन नसकेर युवती नानीलाई जिल्ल परेर हेररही । नानीले भनी, “बस्न किन मन लाग्छ त ? आफूखुसी भएर हिँड्न छाडेर, फेरी फेरीकन प्रेम गर्न छाडेर ।”
युवतीले नानीलाई वाल्ल परेर हेरि नै रही । नानीले ठट्टा गरेको हो कि साँच्चै साँच्चै भनेको हो, उसले बुझ्न सकिन ।

त्यसैबखत कोठाबाहिर बरण्डामा एउटा अर्की स्वास्नीमान्छेको आवाज आयो, “ ए रोजेट, रोजेट !”

नानीले कराएर भनी, “हँ, दी, यहाँ आउनोस्न ।”

एउटी उमेर अलि घर्केकी नानी ढोकामा देखा पारी । युवतीले अर्कैतिर ताकी । रोजेटले भनी, “असफ दी, राम्रो छैन त ? जरसाहेबले जा हेरेर आ मर्जी भएर ।”

असफपरी खोइ त भनेर अघिल्तिर बढी र लोग्नेमान्छेले जस्तै युवतीको च्युँडो उठाएर आँखासित आँखा जुधाएर भनी, “ निकै राम्रो छ । यो रूप कहाँ पायौँ, के जाती रे तिमी ?”

रोजेटले भनी, “उसको नाम रम्भा ।”

युवतीले आँखा फर्काएर कोठाको कुनातिर हेरी । आँखा फर्काउँदा ऊ आफ्नो भङ्गिमाले आफैँ विमोह भएकी थिई । उसको रूप यो महलमा बसेका नानीभन्दा केही कम छैन । असफपरी राम्री छ हो , तर मोटाएकाले त्यसमा त्यो निखार र त्यो मादकता रहन गएन । रोजेटको बराँठिएको शरीरमा जवानीको मस्तीमात्रै थियो ।

“हेर के अनुहार लाएको, डराएको । लोग्नेमान्छे भनेको के हो ? र यो हातको चरो ।”

असफपरीले भनी, “ जरसाहेबले तिमीलाई नजर गरिबक्स्यो भने यही कैद गरिबक्सनेछ । बस्छौँ ?

रोजेटले भनी, “ऊ किन बस्छे र ? ऊ त गल्ली – गल्लीमा पोइ खेलाउन सक्ने ।”

युवतीले फेरि पुलुक्क रोजेटले हेरी । ठट्टा गरेको हो कि साच्चै साँच्चै भनको हो उसले बुझ्न सकिन । असफपरीको बाटुलो अनुहार केही बेर मुस्कुराइरह्यो र एकछिनपछि त्यो अनुहार हेर्दाहेर्दै चिन्तित भयो । उसले भनी, “रानीसाहेब जरसाहेबकहाँ सवारी नभएर सोझै आफ्नो खोपीमा सवारी भइबक्स्यो क्यारे, हो ?”

“ हो, बाहिरबाट सवारी भए देखिन् रिसानी भएको छ रे । त्यसैले म दर्शन पनि गर्न गइनँ । मेरो अनुहार देखे कि त्यसै पनि च्याँठ्ठिबक्सिन्छ । उहाँको जरसाहेबलाई मैले नेल ठोकेर राखेको छैन क्यारे । ममात्रै को हुँ र ? रोज नयाँ नयाँ आउँछन् होइन त असफ दि ?”

“हो”

“हामी के र ? जरसाहेबको मर्जी । हामी केटी त हौँ अरू के र ?”

युवती पक्क परेर कुरा सुनिरही । कुरा बुझेजस्तो नबुझेजस्तो । तैपनि रोजेटको बोलाइएको ढङ्गले उसभित्र एकतमासको निराशा फैलिरहेको थियो र उसलाई सुस्तरी उठेर जाउँजस्तो लागिरहेको थियो ।

केही बेरपछि टपरीमा युवतीको निमित्त खानेकुरा आयो । च्यूरा, मासु, काउलीको तरकारी, आलुको अचार । मासु साह्रै पिरो थियो । युवती खाँदै थिई । रोजेट बाहिर गइसकेकी थिई । त्यहाँ असफपरी मात्रै थिई ।

असफपरी कुरा गर्न चाहान्थी सोधी, “रम्भा, तिम्रो घरमा कोको छ ?”

युवतीले एकछिन् हच्केर बिस्तारै भनी, “आमा !”

“अनि अर्को ?”

“अर्को कोही पनि छैन ।”

“तिम्रो बिहे भइसक्यो ?”

युवतीले असफपरीको अनुहार जिल्लिएर हेरी र खालि “अँहँ” सूचक टाउको हल्लाई ।

“किन ?”

युवती अवाक् भएर असफपरीको अनुहार हेरी नै रही । एउटा केही कुराले घोचेझैँ उसको अनुहार विवर्ण भयो । चुठीओरी सकेपछि युवती बसेकी मात्रै थिई, रोजेट आई र त्यस्तै व्यङ्ग्यपूर्ण हाँसेर भनी, “जरसाहेबले मर्जी भयो ।”

युवती कालो निलो भएर असफपरीको अनुहार हेर्न लागी । रोजेटले भनी, “हेर के अनुहार लाएको, डराएको । लोग्नेमान्छे भनेको के हो ? र यो हातको चरो ।”

यति भनेर खित्का छाडेर हाँस्न लागी र भनी, “सत्ते यी लोग्नेमान्छे एकदिन स्वास्नी मान्छे पाएनन् भने त्यसै माछाजस्तै फत्र्याक फत्र्याक हुने होला हगि दी ?”

“कस्तो लाज नभएको ।” असफपरीले हाँस्दै भनी ।

युवती हाँस्न सकिन । एकछिनपछि असफपरीले फेरि भनी, “ यी लोग्नेमान्छेका जात कहिल्यै बूढा हुँदैनन् । जरसाहेब पचास वर्ष भइबक्स्यो, म भर्खर पैतीस । म बूढी, जरसाहब तरुनो रे । तँ, यो रम्भा उहाँलाई ठीक्क रे ।”

युवती अहिले झन हाँस्न सकिनँ । रोजेटले भनी, “ए साँच्चि, पर्खिबक्सेको होला ।”

युवती बिस्तारै उठी । रोजेटले भनी, “डराउनु पर्दैन । केको डर । हिजोअस्ति पनि त आईमाई डराई डराई भित्र पस्थी, हाँसी हाँसी बाहिर निस्कन्थी । हिँड ।”

रोजेट अघिअघि हिँड्दै थिई । युवती जबर्जस्ती तानिएझैँ पछिपछि लागी । ड्वाङ ड्वाङ्ती महलमा चारैतिर प्रकाश र छायाको बीच हुँदै अर्को भर्याङ चडी र एउटा लामो बरण्डामा पुगी । त्यहाँ भित्तामा भएका तस्बिरहरू उसको चालअनुसार झल्याकभलुलुक्क हुँदै पास भए । त्यसको उल्टा झ्यालबाहिर देखिने एकै तारापुञ्ज हरेक झ्यालमा त्यस्तै अडेका थिए । युवती जकडिएर विवशझैँ हिँडिरहेकी थिई । कोठाको एउटा बन्द कोठामा पुगेर रोजेट रोकिई र युवतीतिर हेरेर त्यसै व्यङ्ग्यपूर्ण मुस्कुराई । अनि आँखा नचाएर भनी, “ आऊ”

रोजेटले ढोका खोलिदिई । युवती फनक्क फन्केर भित्तामा अडेस लाग्न पुगी र चारैतिर ट्वाल–ट्वाल्ती हेर्न लागी । रोजेटले युवतीको हात समाती र घिसार्दै भनी, “ लाज मान्न लाज छैन ? जरसाहेब बाघ होइन भालु होइन । मान्छे त हो नि ?”

रोजेटले जबर्जस्ती युवतीलाई भित्र हुलेर ढोका बन्द गरिदिई । युवती एकै पलकमा कोठाभित्र पुगी, भित्रपटिटको बन्द ढोकामा अडेस लाएर । काँप्दै उभिरही र विस्फारित नेत्रले कोठामा भएको काँच, टेबल, दराज इत्यादि सामानहरूलाई हेरिरही । गलैँचामा टेक्तै आइरहेको पाइलाको शब्द क्रमशः बढ्दै आइरहेको थियो । एकछिनपछि रातो कपडाको चट्टी लाएको दुइवटा खुट्टा देखिए । ती दुई खुट्टा कहिले दायाँ कहिले बायाँ अघि हुँदै, बढ्दै युवतीतिर आइरहेको थिए । युवतीको अघिल्तिर आएर दुवै खुट्टा टक्क रोकिए । छिनभर रोकिरहे । अनि एउटा हात विस्तारै विस्तारै युवतीको अनुहार अघिल्तिर बढ्यो र उसको च्यूँडोलाई विस्तारै स्पर्श गर्यो । त्यो हात चिसो थियो । त्यसमा कुनै छटपटी थिएन । युवतीले बिस्तारै टाउको उठाई र आफ्नो अनुहारको अघिल्तिर एक अधबैँसे मर्दको अनुहारलाई देखी । त्यो अनुहारका दुई आँखा उसमाथि परिरहेका थिए । उसले अर्को दिशातिर हेरी ।

जरसाहेबले सुस्तरी भने, “ पहिले तिमी मकहाँ आएजस्तो लाग्छ, कहाँ देखेजस्तो ! हो ?” युवती आश्चर्यचकित भएर जरसाहेबतिर पुलुक्क हेरी अकस्मात् उसभित्र व्याप्त शरम र भय हराएजस्तो भयो ,

जरसाहेबले भने, “ होइन होला, तैपनि ।” केही स्मरण गर्न खोजेझैँ उनी टक्क अडिरहे । अनि अचानक फर्केर भने, “आऊ ।”

युवतीलाई कतै केही खस्केझैँ कतै केही फुस्केझैँ भइरहेको थियो । ऊ विस्तारै अघिल्तिर बढिरहेकी थिई । जरसाहेबले दराज खोलेर ह्जिस्कीको बोतल झिकेर ल्याएर सानो टेबलमाथि राखे , अनि फेरि दुइटा सानो सानो पेगको गिलास झिकेर टेबिलमाथि राखे । अनि आफू कौचमा बसेर भने, “बस ।”

युवती उताउती बस्ने ठाउँ हेर्न लागी । जरसाहेबले भने, “कौचमै बसन”

युवती केहीबेर अनकनाई र जरसाहेबको सम्मुखको अर्को कौचमा बसी जरसाहेबले आफू बसेको लामो कौचको खालि ठाउँमा बस्न जोड गरेनन् ।

जरसाहेब सिसी खोलेर गिलासमा रक्सी खन्याउन लागे । खन्याएको आवाज कोठाभरी फैलियो, युवतीले जरसाहेबलाई अहिले माथि देखिन् तलसम्म हेर्ने मौका पाई । रक्सी दुवै गिलासमा खन्याइसकेपछि टेबिलमथिको बट्टाबाट चुरोट झिकेर सलाई कोर्दा जरसाहेबको आँखा युवतीमाथि पर्न गयो । त्यो आँखा यत्ति सुक्खा थियो कि युवतीले आँखा ओराली ।

जरसाहेबले भने, “चुरोट खान्छ्यौ ? लौ ।”

युवतीले सुस्तरी भनी, “खान्न ।”

जरसाहेबलाई फेरि भने, “रक्सी लौ ।”

युवतीले खालि “ नाइँ ” सूचक टाउको हल्लाई ।

“उसो भए तिमी खान्नौ, बेस ।”

युवतीलाई फेरि केही कुराले झट्का दिएजस्तो भयो । मानो उसको गालामा टाँसिएको अनुहारको छाया अकस्मात कतै बिलायो ।

युवतीले अघिल्तिरको भरिएको गिलासलाई एकटक हेरीरही, जसमा खैरो खैरो रङको रक्सी गिलासलाई एकटक हेरिरही, जसमा खैरो खैरो रङको रक्सी टलपल गरिरहेको थियो । अहा, अघिल्तिरको त्यो मर्दले जोड गरेन– खाऊ, खाऊ न । जरसाहेब सोच्दै, युवतीलाई हेर्दै थामी थामीकन घुट्का पिइरहेका थिए ।

युवतीले आफ्नो सारा हिस्सी सौन्दर्यलाई ओठमा केन्द्रीभूत गर्न खोज्दै मस्कुराई । त्यो मुस्कुराहट कति मीठो कति राम्रो । त्यस मुस्कुराहटलाई कति मान्छेले तारिफ गरेका थिए । तैपनि मर्द उठेन र जर्बजस्ती त्यो रक्सीलाई उसको ओठमा खन्याइदिएन ।

जरसाहेबले आखिरी घुट्को पिइसकेपछि गिलास टेबिलमा राख्दै सम्मुख हेरे । अकस्मात् भर्खर एउटी सुन्दरी प्रकट भएझैँ उनी झस्के । युवतीले जरसाहेबको पछिल्तिर भित्तामा अडाएको तस्बिरमा आँखा पुयाई । तस्बिरमा एक अर्धनग्न स्त्री समुद्रको तरङ्गमा उभिएकी थिई र त्यो स्त्री अलसाएको आँखाले पर एकदम पर हेरिरहेकी थिई ।

तस्बिरमा एकटक हेर्दाहेर्दै युवतीले महसुस गरी कि जरसाहेबको अलिअलि चाउरी परेको गालामा माथिका दुईटा झस्केका आँखा युवतीलाई नियालिरहेछन् ।

“यता हेर !” जरसाहेबले मसिनो स्वरमा भने ।

युवतीले नसुनेझैँ गरी तस्बिरतिर नै हेरिरही । तर त्यो लोग्नेमान्छे उठेन र युवतीको च्यूडो समाएर आफूतिर तानेन ।

“यता हेरन ।” जरसाहेबले फेरि भने अहिले युवती पुलुक्क जरसाहेबतिर आँखा जुधाई ।

“तिम्रो नाम के ?”

“रम्भा ।”

“रम्भा ।” आश्चर्य मानेर जरसाहेबले युवतीलाई क्वारक्पार्ती हेरे, “त्यही रम्भा ?”

युवती वाल्ल परी, मानौँ कसैले उसको गालाको पाउडर लतपाताइदियो । उसले विमुढ भएर जरसाहेबलाई हेरीरही ।

जरसाहेबले फेरि भने, “ए ! त्यो त बूढी भइसकी होली । तिमी कति वर्ष ?”

युवतीले टाउको हल्लाई ।

“अठार ?”

“हो ।”

जरसाहेब एकछिन मुस्कुराए । हेर्दाहेर्दै त्यो मुस्कुराहट गम्भीरतामा बद्लियो ।

उनले रक्सी फेरि आफ्नो गिलासमा खन्याए । अनि टक्क रोकिएर त्यो गिलासलाई हेरिरहे । युवतीले पनि त्यसैगरी, त्यो गिलासलाई नै हेरी नै रही । युवतीको भागको नछोएको गिलासको सम्मुख त्यो गिलास टोह्लाएर बसेझैँ भयो ।

युवतीले हाइ गरी र केही माग्न खोजेझैँ जरसाहेबलाई हेरी त्यसैबेला जरसाहेबले पुलुक्क उसलाई हेरे । त्यो हेराई अघिल्तिरको गिलासलाई हेरे झैँ थियो । आँखाले युवतीलाई खालि निहारिरह्यो । युवतीले सम्मुख भित्ताको तस्बिरलाई हेरी । त्यो तस्बिरको अर्धनग्न स्त्री एकदम मूक थिई र समुद्रको छाल पनि मूक थियो । अनि उसले सँगैको झ्याललाई हेरी । बन्द झयालको खिरखिरे खापाबाट उसको आँखा बाहिर आकाशको झिमिल तारालाई हेर्न नपाई फर्केर आयो र टेबिलमा पर्यो। रक्सीको बोतलमा पर्यो र त्यही आपसमा हेराहेर गरी बसेका दुई गिलासमा । छिनभर आँखा गिलासमा टिकेपछि उसले जरसाहेबलाई हेरी जरसाहेबले त्यसैगरी युवतीलाई हेरिरहेका थिए गिलासलाई हेरेझैँ ।

युवतीले पछ्यौरालाई जानाजान बिस्तारै खस्काई । पुष्ट छाती उदाङ्ग भयो । अनि ऊ शर्माएझैँ मुस्कुराई । तैपनि जरसाहेब उठेनन् । त्यसै हेरिरहेका थिए ।

युवती केही बेरसम्म मुस्कुराई नै रही । अनि यो मुस्कुराहट अकस्मात् थामियो र केही हराएझैँ, हारेझैँ ऊ रातो मुख पारेर बसिरही । बिस्तारै उठी र खास्टोलाई राम्ररी ओढेर उभिरही ।

जरसाहेबले सोधे,“ कहाँ जान्छ्यौ ?”

“अबेर भयो ।”

“बैठकेले भनेन रातभरी भनेर ?”

युवती दीन आँखाले जरसाहेबलाई हेर्न लागी । पछि बिस्तारै उसको आँखामा घृणा नाच्न लाग्यो ।

जरसाहेबले त्यसैगरी भन्यो,“ बैठकेले रुपियाँ दिएन, पचास रुपियाँ ?”

युवती थचक्क बसिसकेकी थिई, जुरुक्क उठी । युवती चिच्याउन खोज्दाखोज्दै थामिई “पचचसि रुपियाँ मात्र ” भनेर ।

“बस न”

ऊ फेरि बिस्तारै बसी ।

“गएर कहाँ जान्छ्यौ, तोप अहिले हो पड्केको । भोलि बिहान मात्र । ”

युवती सुस्तरी भनी, “जान्नँ ।”

युवतीले एकै झम्कामा अघिल्तिर राखेको गिलास उठाई र घुटघुट पिएर तल राखिदिई । ज्साहेबले फेरि युवतीकोमा र आफ्नोमा रक्सी भरे ।

सारा महल निर्जीवझैँ थियो । एक रहस्यको पर्दाले गुसमुस छोपेझैँ सामसुम थियो । कोठामा खालि दुई व्यक्तिको उच्छवास् मात्रै सुनिन्थ्यो । युवतीको आँखा लस्त भइरहेको थियो । केही बिर्सेझैँ कतै केही हराएँझैँ उसले आँखा बन्द गरी । यो उसैको आमाको आवाज हो, उसलाई सुस्तरी भनेजस्तो लाग्यो – “सुत्नेबेला भएन ?” सुतन ऊ झस्की र चारैतिर हेरी । अघिल्तिर विपना भएर जरसाहेब अघिजस्तो हातमा गिलास लिएर कौचमा बसेका बसै नै थिए । जरसाहेबको आँखा बिजुलीको प्रतिक्रियामा चम्क्यो । त्यो युवतीलाई निहारेको आँखा केही हाँस्यो र फेरि मुक भयो । युवतीले आँखा फर्काएर फेरि हेरी तस्बिर, बल्ब, टेबिल । फेरि फर्केर आएर अघिल्तिरको गिलास अनि जरसाहेबको आँखा । त्यो आँखा त्यस्तै युवतीलाई नै हेरिरहेको थियो । युवतीको आँखा फेरि एकछिन अर्को आँखालाई स्र्पश गर्दै बन्द झ्यालको खिटखिटेमा पर्यो । अनि बाहिर हेर्न नपाएर निराश फर्केर आयो । फेरि जरसाहेबकोआँखामा पर्यो । जरसाहेबको आँखा त्यस्तै । त्यसपछि युवतीको आँखा समुन्द्रको छालमा उभिएकी स्त्रीको तस्बिरमा पर्यो । अब मानो त्यो तस्बिरकी स्त्री मूक छैन । पानीको लहरमा नाचिरहेकी छ ।

युवतीलाई अब साँच्चैको निन्द्रा लागिरहेको थियो । केही कुराले थिचेझैँ ऊ सुत्न सक्तिनथी । अघिल्तिर जरसाहेब छ, ठूलो सिङ्गारिएको कोठा छ, टेबिल, कौच र ठूलो महल छ, मानो सबैले यसैलाई पिल्सिरहेछ, ऊ सुत्न सक्तिनथी । उसको आँखा पर कुनामा राखेका तखता घडीमा भर्खर पर्यो । ऊ जिल्लिएर हेरिरही, रातको दुई बजिसकेको थियो । अब उज्यालो हुन दुई घण्टामात्रै बाँकी छ ।

उसले अन्तिम प्रयास गर्न खोजेझैँ दुवै हात टाउको माथि लगेर आपसमा अल्झाई । त्यसो गर्दा उसको बराँठिएको सारा शरीरको सौन्दर्य उभ्यो । तैपनि जरसाहेबको आँखा स्तब्ध, मानो त्यो आँखा भनिरहेछ– म मोह हुन्न क्यारे ।

युवतीले एकछिनपछि कपाल हातले थिचेर भुइँको गलैँचाको बुट्टालाई हेरिरही । तैपनि जरसाहेबले सोधनन्, “टाउको दुख्यो ?”

जरसाहेबले भने, “उसो भए तिमी त्यही रम्भा ?”

युवतीले फेरि पुलुक्क सम्मुखको मर्दलाई हेरिरही ।

जरसाहेबले फेरि भने, “तिमी बराबर यहाँ किन आइनौँ ?”

“तिमी फेरिएछौ ।”

युवती अझै पनि हाँस्न सकिन । सिङ्गारेर बाटेको कपाल आफ से आफ फ्याल्ल फुस्केझैँ ऊ जिल्लिएर बसिरही ।

मानो अकस्मात् ऊ कुरुप भई, मानो ऊ छ्याकटे भई, टोह्लाएर बसिररही । मानो बाटोमा पूजा गर्न निस्केको हुलहुल स्वास्नीमान्छेको बीचमा ऊ बिलाएर गई । अब कोही लोग्ने मान्छे ऊ एक्लै खालि ऊ एक्लैलाई हेर्दैन । उसले विस्तारै गर्धन घुमाएर ढोकातिर हेरी । ढोका डम्म बन्द थियो । त्यही ढोका हेरिरही, मानो ढोका आफैँ खुल्छ र ऊ बिस्तारै निस्कन्छे जरसाहेबले भने, “ किन उता हेरेको यता हेरन ”

युवतीले पट्ट गर्धन घुमाएर जरसाहेबतिर हेरिरही । उसको मुखमा कुरा आएर काँपिरह्यो, “ होइन मलाई केलाई यहाँ बोलाएको ? जे गर्छौ गर, यो जिउ तिम्रै हो । बैठकेले पच्चीस मात्रै थियो, मलाई रुपियाँको लोभ छैन । तर मलाई छोड, जे मन लाग्छ गर र छोड । मलाई निन्द्रा लाग्यो, मलाई छोड म जान्छु ।” तर कुराहरू ओठको ओठमै काँपेर बिलायो ।

उसले घडीतिर हेरी, घडीको सानो सुई तीनतरि लम्किरहेको थियो । त्यही कुराहरू उसको ओठमा आएर फेरि काँप्न लाग्यो । तर हातमा गिलास लिएको जरसाहेबको आँखा त्यस्तै मूक । कुराहरू गलामा अडकेझैँ ऊ निस्सासिरहेकी थिई । उसको आँखा फेरि घडीतिर फक्र्यो, तीन बज्नै लाग्यो । तर जरसाहेबको आँखा पूर्ववत् मूक थियो ।

एकतमासको रीस युवतीको बदनमा सल्कन लाग्यो । उसले अघिजस्तै झम्टेर आफ्नो रक्सीको गिलास समाती र पहिलेजस्तै घुटघुट सिध्याइदिई । अघिल्तिर तस्बिरमा पानीको लहर उत्ताल तरङ्गले बढ्दै आइरहेको थियो र त्यो अर्धनग्न स्त्रीलाई छोपिरहेको थियो ।

जरसाहेबका आँखा केही मुस्कुरायो मात्र । युवतीको आँखामा घृणा बिजुलीझैँ चम्क्यो । केही फोहोर कुरा बोलेर उसलाई झपार्न उकुसमुकुस भइरहेको थियो ।

जरसाहेबले भने, “ बैठकेलाई फटाहा भनेको त तिमी त रम्भै त रहिछौ ।”

अहिले युवतीले भनी,“म रम्भा होइन ।”

“ होइन ?”

“अँ, होइन, होइन ।”

“को त ?बैठके फटाहा रहेछ ।”

युवती अहिले जुरुक्क उठी, तर सम्हालिएर बसी, जरसाहेबले फेरि दुवै गिलासमा रक्सी खन्याए र भने, “खाऊ ।”

अहिले “नाइँ” नभनीकन युवतीले चुरोट हातमा लिई । बलेको सलाई नाकनिर आइपुग्दा युवती झल्याँस्स भई ।

उसले चुरोट भुइँमा हुत्याइदिई । मानो अब उसलाई कसैले रोक्न सक्द्यैन, ऊ उठी ।

जरसाहेबलाई भने, “किन, कहाँ जान लागेकी ?बसन ।”

युवतीले घुरेर जरसाहेबतिर हेर्दै भनी, “किन ?”

युवती एकछिन अलमलिई र चारैतिर कोठामा हेरी । ढोका अघिजस्तै बन्द थियो र फेरि विवश भएर बसी । त्यस्तै विवश भएर युवतीले आँखा चिम्ली । उसलाई अकस्मात् आफू घरतिर लागिरहेकोजस्तो लाग्यो । बाटोमा भीड धक्कमधक्का थियो र ऊ बाटैमा अलमलिरहेकी थिई । उसले आँखा बन्द गरी । हुल झन्झन् बढ्दै आइरहेको थियो, जात्राजस्तो । खटले मान्छे किच्यो ! किच्यो ! किचिएको उनै थिई । उसले फेरि तर्सेर आँखा खोली । जरसाहेबको आँखा टुल्ल थियो । उसले तर्सेर सम्मुखको तस्बिरलाई हेरी पानाको लहर झन् बेगवान् भएर चारैतिरबाट त्यो अर्धनग्न स्त्रीलाई छोप्न जाइलागिरहेको थियो । त्यो स्त्री डुब्न लागी ।

उसले झट्ट तस्बिरबाट आँखा झिकी । दराज तखता कोठाको पर्दा नाच्न लागे । हूल बाँधेर ऊतिर बढ्दै आइरहेको थिए । उसले हडबडाएर आँखा फर्काई । जरसाहेबको अँधबैँसे निधार तलका दुईटा आँखा त्यस्तै टुल्ल परेका थिए । युवतीले आँखा घडीतिर लगी । घडीका सुई सर्पझैँ, सर्पजस्तै सल्लसल्ल बगिरहेका थिए । उसले केही सहारा खोजेझैँ चारैतिर हेरी । सारा मालमत्ता, टेबिल, मेच, दराज, पर्दा, घडी, अनि फेरि टेबल, मेच, दराज, पर्दा, घडी, गिलास, रक्सीको बोतल । सबैको आ–आफ्नो छाया थिए, छाया हल्लिरहेका थिए, सबै हल्लिरहेको थिए । ती सबको बीचमा एउटा मुर्दाको अनुहार र त्यसमाको भकुण्डोजस्तो अनुहार र त्यसमाको टुल्ल आँखा ! तस्बिरमा पानीको लहरमा परेकी त्यो स्त्री मानो अचानक चिच्याई,“गुहार गुहार ! मलाई बचाऊ !”

युवती अहिले हडबडाएर उठी । टेबिलको गिलास काङ्गलाङ्ग कुलुङकुलुङ् गरेर लड्यो र गुड्केर तल भुइँमा खसेर चुर भयो । युवती हुत्तिएर ढोकामा पुगी । ढोका खोल्न खोजी । तर ढोका खुलेन । जरसाहेबको मखुण्डोजस्तो आँखा युवतीतिर बढ्दै आइरहेको थियो । युवतीले खापालाई कुइनाले ठेली, मुक्कीले हिर्काइ । तैपनि ढोका खुलेन । त्यसैबखत त्यो मखुण्डोजस्तो आँखा एकदम युवतीतिर आइपुग्यो र आँखाको हातले युवतीको हात समात्यो । युवती चिच्याई र भुइँमा पछारिई । ऊ बेहोश भई ।