‘हैन पटक्कै देखिन छोड्यो नि बाटो । आँखै फुटेजस्ता भयो नि ठूले ! यस्तो अँध्यारो त्यसमाथि नि यस्तो सिमसिमे पानीमा विरिञ्च्या डरलालाग्दो भिर कसरी छामछाम छुमछुम गरेर काट्नी हो । त्यो चिप्लो फक्र्या तान्द्राँ खुट्टा यसो लिरित्तियो भने आमा भन्न नपाउँदै परान जान्छ ए त्यो भिराँट ठाडै खोलाँ खसेर । लौ न के गर्ने ठूले ! अलि माथि ने यो कुरा मनाँ खेल्या भए बरु एक पाइलो ढिला भए हुन्थ्यो खरीबोट निक्लेर सानीगाउँतिरबाटै जान हुन्थ्यो नि ढुक्कसँग । म त भला धेरै हिँड्या बाटो खुट्टा अड्याई अड्याई हिँडुला यो कान्छीलाई कसरी पार गर्ने हो ठूले ! लौ भन’ बगरको ढुंगामा थ्याच्च बसेर रंतेल्नी कान्छीले भनी ।
‘याे त अगुवा भको मैले नै विचार गर्नुपर्थ्याे अगि नै । हुन्थ्यो नि खरीबोट हुँदै हाम्रो गाउँ जान पा भए । म घराँ घाँसको भारी फालेर राँको लि पुर्याएर आउँथिनी कान्छी भाउजुहरुलाई । पसादै पर्यो ए । कान्छी नानीले कहिल्यै नहिँडेको बाटो । फेरि ठाउँ भीर छ । त्यसमाथि नि यस्तो चिप्लो फुर्केले छोप्या बाटो । खै म के भनौँ र कान्छी भाउजुकै आँट हो । जसरी तसरी यति भीर काट्न पाए त घर पुगिहालिन्थ्यो । यसैले मार्यो’,घाँसको भारी अलि अग्लो बगरको ढुंगामा बिसाएर नेप्टेले भन्यो ।
आफ्नो निम्ति दिदी र नेप्टेलाई साह्रै गाह्रो परेको देदी लाहुर्नी कान्छीले । गोडा गलेका मात्र होइनन् दुखी पनि सकेका थिए उसका । यो निस्पट्ट अँध्यारोमा दिउँसो झलमल्ल उज्यालोमा ओर्लदाँ त ‘राम राम’ भनी काँपेर ओलर्नु परेको भीर, त्यो पनि उमर्को लाग्ने ठाडै उकालो पानीको चिप्लोमा पार गर्नु त साँच्चिकै गाह्रो थियो उसको निम्ति । तर अरु उपाए नै थिएन । त्यसैले ढाढसिलो स्वरमा उसले भनी, ‘हत्तेरी ! कति पिर गर्नु पर्या हाम्री दिदीलाई मेरो । म पो काँ देश विदेशकी हुँ र खोलाटोलाँ हुर्केकी होइन र भन्या । त्यो त दुई चार वर्ष अछाम बसेँ भन्दैमा पहाड देख्दा सातो जाने मदेसिनी जस्तो बना मलाई ? यौटा अघि लागेछि त्यै त्यै पाइला पछ्याएर हिँडिहाल्छु नि म । बरु अलि बिस्तारै गर्नुपर्छ । हतारिएर हिँड्न हुन्न । झन बस्यो झन गोडा कैँडा लागेर उठ्नै हुँदैन् । विस्तारै उकालो लाग्न पाए हुनी । ’
लाहुर्नी कान्छीको हिम्मतिलो कुराले नेप्टेको मनमा असाध्यै असर पर्यो । उसलाई त ‘खै मेरो त क्यै लाग्दैन लौ जे गर्नी हो’ भन्ली भन्ने पो लागेको थियो । यतिका वर्ष अछाममा रेल–मटरमा हिँडेकी मान्छे रंतेल्नी कान्छी भन्दा पनि करेतीली हुनु कस्तो गज्जव । ‘यस्तो रुप यस्तो जमामर्दो कुरा धन्य हो ईश्वर भगवानले नि कसतो सिरिष्टि गरेको’ भन्ने लाग्यो उसको मनमा । ऊ स्पष्ट रुपमा पनि केही भन्न चाहन्थ्यो आफ्नो विचार । तर रंतेल्नी कान्छीले के विचार गरेकी छ त्यो सुनेपछि मात्र बोलौँला भन्ने लाग्यो । यसैले रंतेल्नी कान्छीलाई सम्बोधन गर्दै भन्यो, ‘लाहुर्नी नानीका कुराले मात्र हुँदैन । कान्छी भाउजुको के विचार छ ? लौ जे अठोट गर्नी हो गरिहालौँ । यो खोलाको चिसो स्याँठाँ बस्नु छैन । पानी पनि बढ्ला जस्तो छ । मर्कीले भेट्टाउन बेर लाउँदैन ।’
‘खै के भन्नी ठूले । तिमी मात्रै रित्तो फुंगो भा भए नि कान्छीलाई डोर्याएर लैजान्थ्यौ, त हिँडिराख्या बाटो जसरी नि उक्लन्थेँ नै । तिम्रो नि घाँसको भारी छ । यसैले पो मार्यो । अब खरीबोटैतिर लागौँ भने नि उत्तिकै गाह्रो छ यो अँध्यारो यो पानीमा त्यति लामो बाटो काट्न । यो बाटो त यै भीराँ खुड्किलो मात्रै हो’, कुनै निधोमा पुग्न नसकि रंतेल्नी कान्छीले भनी ।
नेप्टेले रंतेल्नी कान्छीको मनको कुरो बुझ्यो । यसैले लाहुर्नी कान्छीको अगाडि आफ्नो मर्दापन देखाउँदै उसले भन्यो, ‘घाँसा भारीले अड्काउँदैन कान्छी भाउजू । यो भारी हीँ रहोस् । म लाहुर्नी नानी र कान्छी भाउजूलाई माथि डाँडाँ उकाल्चु । तिमारु त्याँ दम लिँदा नलिँदै म एक सासाँ ह्याँ आएर यो भारी लिएर उक्लिहाल्चु । रात–दिन पानी पनेरो गरेर हिँडिराख्या यो जाबो बाटो हाम्लाई त यौटै खुट्किलो जस्तो लाग्च । पोहोर पुसाँ वनाँ भारी हाल्दाहाल्दै कालोनीलो भएर असिना–पानी खनिहाल्यो । साधाँ केप्रुंका हीरी आनीका आमाछोरी थे । लोहोरा जस्ता असिना खस्दा त लौ वनैमा मरिनी भो भनेर डाँको छोडेर रुन थाले । फेरि हत्तपत्त भालु ओडाराँ लगर राखीँ । असिना–पानी बिदा होला अनि जाउँला भन्दाभन्दैमा झमक्क साँझ पर्न लाग्यो । एक मुड्की असिनाले छोप्या च बाटो । पानी परि नै राच । आनीका आमाछोरी त रुन छोड्दैनन् । झन झन फलाक्न पो थाल्चन । मैले चर्चर्या घाँसा भारी बोक्याथेँ । त्यो रहरलाग्दो घाँस छाड्न नि सकिन । घाँसा भारी बोक्या छु । दुईतिर दुईहातले ती आमाछोरीलाई समात्या छु । यता लाग्नी रखरीबोट लाग्नी दोबाटोसम्म हुत्याएर ल्याएँ । अनि त यस्तो असिना सेताम्मे भएर बाटो नदेख्या बखताँ अलिकति घुमाउरो भए नि खरीबोटैतिर जाउँ भन्दा यै छोटोबाटो पुर्याइदे घर भन्चन् । ए हुँदैन बाबा अँध्यारो भैसक्यो यस्तो फुर्केमाथि असिनाले छोपेको यो भीरा बाटो जान हुन्न भनेर कति चिच्याएँ, जुम्लयाहात गरेँ । गुरुङको एकोरो जात ठसको मस हुँदैनन् ए आमाछोरी नै ।’
‘के गर्या त ठूले ! छोडेर हिँडेनौँ त्यस्ता डेब्रालाई’ रंतेल्नी कान्छीले उत्सुकतापूर्वक सोधी ।
‘हैन कसरी छोड्नी ती दुइटी स्वास्नीमान्छेलाई मात्र । लुगा निथुक्र्क छ, जाडोले थुर्थुर्ती काम्या छन् । झमक्क अँध्याँरो भैसक्या छ । भगवानले हेरेर क्यै नभए नि मेरा मनले काटीकुटी सक्थ्यो एक्लै छोड्या भए । क्यै लागेन लौ भो तिमारुकै जीत भो भनेर घाँसा भारी नै ह्याँ छोडेर आँफू बीचाँ बसीँ । अगाडि बुढीलाई हिँडाएँ । उनको पटुका समाएँ दाइने हातले, देब्रे हात पछाडि दिएँ छोरीलाई समात्न । त्यो फुर्केमाथिको असिना कति चिप्लो भने सिरिङ्ग हुन्च अहिले सम्झन्दा नि । तर भगवानले हात थापे । थाप्लाँ पुर्याएर लौ हिँड्दै रओ तिमारु अब त तेर्सो छ म भारी लिएर आउँचु भनेर आएँ । एकै छिनाँ त पुगिहालेँ । पछि घले ठूल्दाइलाई भन्दिएँ गुरुङको जात यस्तो एकोहोरो भनेर । ऊ त म त गुरुङ भउ नि यस्तो छैन है भनेर बेसरी गाली गरे आमाछोरीलाई नै । पछि त व्यर्थै भनेचु भनेर थक थक लाग्यो आफैँलाई ।’
नेप्टेको कुरामा दिदी चाहिँले केही बोल्नु अगाडि नैलाहुर्नी कान्छीले भनी, ‘दिदी अगाडि लागे म पछिपछि हिँड्छु । मेरो पछि ठूल्दाइ आउनुहुन्च भैहाल्यो नि । काँ भारी छोडेर हाम्लाई माथि पुर्याई फेरि भारी लिन ह्याँ आउनी नि त्यस्तो अँध्याराँ । तेस्तो कुरा त गर्नहुन्न है ।’
‘हो त के को तेस्तो कुरा गर्न हुन्थ्यो । बरु ए ठूले ! छड् छड् म घाँसा भारी बोक्चु । स्वास्नीमान्छेले बोक्ने जत्त्रै दुईटै मुठाको त भारी छ नि । यो कान्छीले भनेर हुँदैन् । तिमी यसको हाताँ समातेर यति उकालो कटाइद्यौ’, रंतेल्नी कान्छी नेप्टेको घाँसको भारीनेर पुगी ।
नेप्टेले मानेन । अब यसो रत्यसोमा कुरा लम्बिन लाग्यो । आखिर फेरि लाहुर्नी कान्छीले दुइटैको कुरा काट्दै भनी, ‘धन्न हाम्री दिदीलाई मेरो माया । त्यो ठूल्दाइ दिदी जे भन्छिन्, मान्दिनोस् नत्र कुराको ख गर्दैमा रात हीँ बित्न लाग्यो । जाडोले नि मरिन लाग्यो
।
नेप्टेले लाहुर्नी कान्छीको कुरा काट्न सकेन । यसैले रंतेल्नी कान्छीलाई घाँसको भारी बोकाउने कुराले कुँडिएको आफ्नो मनलाई फुका हातले लाहुर्नी कान्छीलाई समात्न पाइने खुशीले अगाडि लाग्यो पछाडि देब्रे हात लाहुर्नी कान्छीलाई समात्न दिएर ।
लाहुर्नी कान्छीको पलपल गर्ने नरम हातले आफ्नो हात समातिएको अनुभव गर्यो । उसको जीउ ढक्क फुल्यो । शरीरमा काँढा उम्रे । अब उसको मनले उसलाई यो रसिलो समय छोट्याउने सल्लाह दिएन । यसैले ‘ल है ह्याँनिर साह्रै अप्ठ्यारो छ’ भन्दै टक्क टक्क अडिन लाग्यो, दुईचार दुईचार कदममा नै । त्यति बेला नजिकै उभिएकी लाहुर्नी कान्छीको स्वाँस्वाँ गरेर उठेको तातो सासले आफ्नो छाला छोएको अनुभव गर्न थाल्यो । केही छिन यसरी नै हिँड्यो । तर विस्तारै उसको पुरुषत्व जाग्यो । उसको हातले सिमित स्थानसम्म रहन खोजेन । क्रमशः नरम पाखुरा समात्दै काँध सुमसुम्याउन पुग्यो । पहिले त लाहुर्नी कान्छीले टाउको भलुकाएर काँधमा राखेको आफ्नो हातमाथि गाला राखिदिएको थाहा पाएपछि उसले सधैँभरको निमित्त आफूले विजय पाएको महसुस गर्यो । अब उसले लाहुर्नी कान्छीका कोमल गाला त्यो मगमग बासना आउने देसी तेल हालेको कपाल सुमसुम्याउँदै समस्त शरीर नै आफ्नो हातको स्पर्शले पगाल्न थाल्यो । कताकता रंतेल्नी कान्छीको त्रासले पनि छोडेको थिएन । यसैले ‘कान्छी भाउजू ! यो गौँडामा टेक्ने ढुंगो अलि हल्यारच है’ भनेर आफ्नो कर्तव्य पूरा गथ्र्यो । प्रत्युत्तरमा ‘भो भो, मेरो पीर नगर कान्छीलाई राम्रोसँग उतार, त्यत्ति हो’ मिल्दथ्यो सुनिरहुँ जस्तो ।
आखिरको डाँडामा उक्लने अग्लो गौँडा आयो । नेप्टे अघि उक्ल्यो हुँ गरेर । अनि अनि लाहुर्नी कान्छीको दुबै हात टप्प समातेर उसलाई तान्यो । उकालोको थाप्लोमा पुगिसकेको हुनाले यहाँभन्दा उता लाहुर्नी कान्छीलाई राम्ररी छुन समात्न पाउने अवसर मिल्छ मिल्दैन भन्ने शंका थियो । यसैले पहिले ‘कान्छी भाउजू, हामी थाप्ल्याँ उक्लिउँ तिमी कहाँ हो ?’ भनेर जान्ने कोशिश गर्यो । रंतेल्नी कान्छीले अलि तलैबाट आएको यस्तो आवाज सुन्यो ‘राम्रो भो राम्रो म आउँदै छु पीर नगर ।’
नेप्टेलाई यत्ति नै चाहिएको थियो । उसले त्यो घनघोर अन्धकारमा पर्याप्त समय पायो, लाहुर्नी कान्छीको समस्त शरीरलाई बाहुपाशले बाँधेर, एकाकार हुन । अब लाहुर्नी कान्छी पनि मौन र निर्जीव रुपकी थिई । उसले पनि पुरुषत्वमा एकाकार हुन खोज्ने नारीत्वलाई समर्पण गरिसकेकी थिई । छिन भरमा एक–अर्काका बाहुपशमा बाँधिएका ती दुई व्यक्तिले आफूलाई समाजको कथाकथित जातभातको बन्धनबाट पार रहेको नर र नारी पाए । उनीहरु छिनभरमा नै यो हैरानलाग्दो संसारबाट पार गरी त्यो संसारमा पुगे, जहाँ भोगको अनुभव हुन्छ, न प्यासको । न भारको ज्ञान हुन्छ न मारको ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

