साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वावधानमा हरेक साता फोटो कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ ।
यस चरणमा साहित्यपोस्टले फोटोसँगै “यात्रा ” वा “गन्तव्य ” विषय दिएर कविता आह्वान गरेको थियो । फोटोका साथमा विषय पनि दिँदा प्राप्त कवितामा विशिष्टता आएको निर्णायक मण्डलले जनाएको छ ।
यो साता ऐश्वर्य श्रेष्ठ, चण्डिका भट्टराई, पार्वती पहारी गरी तीनलाई उत्कृष्टमध्येबाट सर्वोत्कृष्ट चयन गरिएको छनोट समितिले जनाएको छ । निर्णायक मण्डलका अनुसार दया शिवाकोटी, रोशन न्यौपाने, कमल आले, निर्मा कंडेल भने केही अङ्कको अन्तरले मात्र सर्वोत्कृष्ट हुनबाट वञ्चित भएका छन् । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो ।
प्रतियोगिताको रीत पुर्याई १८ वटा कविता प्राप्त भएका थिए । त्यस्तै नियमविपरीत फेसबुक पेजकाे म्यासेन्जर र मेलका माध्यमबाट १५ कविता प्राप्त भएका थिए । नियमविपरीत रहेर आएका कविताहरू प्रतियोगितामा समावेश भएनन् ।
कवितालाई प्रथम, द्वितीय र तृतीय भनेर वर्गीकरण नगरी उत्कृष्टमध्येबाट तीन सर्वोत्कृष्ट कविता छनोट गरिएको छ । उत्कृष्टबाट प्रथम, द्वितीय र तृतीय छान्न गाह्रो भएकाले सर्वोत्कृष्ट घोषणा गरिँदै आएको साहित्यपोस्टका काव्य विभाग प्रमुख निरज दाहालको भनाइ छ ।
फोटो कविता प्रतियोगिताको सत्राैँ शृंखला भोलिदेखि सुरू हुनेछ ।
यस्ता छन् पुरस्कृत कविका कविताहरूः
१.
गन्तव्य
( ऐश्वर्य श्रेष्ठ )
कुन बाटो भएर जाउँ
चढेर म जीवनको रेल
अन्तिम स्टेशन भेटन
छुटेर गए भेटनु पर्नेहरू
नभेट्नु पर्नेहरू भेटिए बाटैमा
कसले चिनाइदिने म पुग्ने अन्तिम गन्तव्य
रेलको जस्तो मानिसको कुनै गन्तव्य हँुदैन
किनकि मानिस सोझो होइन बाङ्गो हिँड्छ
बाङ्गो हिँडेर छिटो कहाँ पुग्नु ?
खाली सपना भिरेर, गाउँ हुँदै सहर
सहर हँुदै गाउँबस्ती
क–कसको मुटु छेडेर
रातको सिरेटोमा मान्छेहरूलाई
पोको पारेर
जिउँदै बोकी हतार हतार
कसैलाई टिपी
कसैलाई छाडी
भेन्टिलेटरमा अन्तिम आस बोकेर
जोडिएको सास जस्तो
चाउरिएको ओठ बोकेर
समयको झ्यालबाट
उकालो भएर ओरालो लागेको
लिकभन्दा बाहिर उभिएको छ
बाटो बोकेर सडक
चिसो, तातो अक्सिजन पिएर हिँडछ
सपना पछ्याउँदै गोरेटो
कुरुवा कुरिरहेछ आँउछ कि
पालो भनेर
बाटो त्यही कुरिरहेछ
गन्तव्य नभेटेर
कहाँ जाने ? सोध्छ मान्छे
मान्छेलाई बाटो
जब कि थाहा छैंन
आफू पुग्ने अन्तिम गन्तव्य ।
२.
बाटोको कथा
( चण्डिका भट्टराई )
निष्प्राण, लम्पसार छ यो बाटो
धेरै परसम्म छ आँखा अनि
आँखालाई पछ्याउँदै दौडिन्छन् पाइला
जति हिँड्छु झन् उति लाग्छ गन्तव्य टाढा
सजिलो बाटो पनि पार गरेँ
कटाइसकेँ कति बाटाका अफ्ठ्यारा
घुम्ति कटे , दोबाटो कटे , छुटाइसकेँ कति गोरेटा ,
थाहा छैन सुरु कहाँबाट भयो कहिले नटुङ्गिने यो यात्रा
भेटायो कति साथी, सहयात्री यो बाटोले
देखायो सहयात्राको रङ्गिन दुनियाँ
फेरि भारी मुटु र भरिएका आँखा पार्दै
छुटायो यही बाटोले सबैको रङ्गहीन छाया
बटुवालाई उसको गन्तव्यसम्म पुर्याउने, यो बाटो
यात्रीको हरपल साथ रहने, यो बाटो
कसलाई थाहा नहोला यो बाटोको कथा ।।
३.
यात्रा
( पार्वती पहारी )
हिजो जस्तै लाग्छ
खाली पैतालाले
पत्थर नभनी
काँडा नभनी
बाको पछि लाग्दै
इँटा भट्टी पुगेको
खुट्टामा खिल भएपनि यात्रामा
खुब आनन्द थियो मनमा
भट्टीबाट निस्केको धूँवा हेर्दै
धुवाँ जस्तै अनन्त आकाशमा
यात्रा गर्ने सपनामात्र
बुन्न जानेको थिए
धुवाँ भै उड्न आकाशमा
आगोमा खारिनु पर्छ भन्ने जानेको थिइन
हिजो जस्तै लाग्छ
आमाको धोतीको फुर्को समाउदै मेला धाएको
आमाले पटुकीमा थापेको
भुटेका मकै चपाउँदै
बारीका पुतली हेर्दै
पुतली जस्तै अनन्त आकाशमा यात्रा गर्ने
सपना मात्र बुन्न जानेको थिए
पुतली बनि उड्न झुसिल्किरा
र प्युपामा यात्रा गर्नपर्छ भनेर बुझेको थिइनँ
आज वर्षौ भइ सकेछ
आफैँ धुवाँझैँ भएर
अनन्त आकाशमा उडेको
आफँै पुतलीझैँ बनेर
समस्त धरतीमा यात्रा गरेको
खाली खुट्टा र खिलको प्रवाह नगर्ने,
मनभरी खुसी बोकेको त्यो बालक
आज जवान भएको छ
खुट्टामा ब्रान्डी जुत्ता छन्
तर पनि मन उदास उदास छ
यो बिरानो मुलुकमा
खोजिरहेछ बाआमाको
प्रतिविम्ब,
पैतालाका पुराना खिलहरू सुम्सुम्याउँदै
प्रत्येक बिहानीको सूर्योदयसँगै
जहाजमा यात्रा गरे पनि
सुबिधा सम्पन्न बस र मेट्रोट्रेनमा यात्रा गरे पनि
अझै गन्तव्य भेटिएको छैन
ठानिरहेछु
खाली खुट्टामा
बाको इँटा भट्टी धाएको
र
आमाको मेला धाएको
यात्रा जस्तो प्रिय यात्रा
जिन्दगीमा अरु कहिल्यै भएनन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।