साउनको दोस्रो हप्ता एक्कासि मेरो दाहिने खुट्टाको गोलीगाँठो दुख्न थाल्यो । सुरूमा त त्यतिकै दुखेको होला भनेर त्यसलाई मैले सामान्य मानेँ । घरायसी जडीबुटी प्रयोग गरेँ । तर दुखाइ झनै बढ्न थाल्यो । गाउँघरमा गरिने स्थानीय उपचार पनि गरेँ । केही लाग्यो होला भन्ने जनविश्वास अनुसार धामी झाँक्री पनि लगाएँ । केही गर्दा पनि दुखाइ कम हुन सकेन । त्यो बेला गाउँमा हेल्थपोष्ट पनि थिएन । एउटा जिल्ला अस्पताल सदरमुकाम भोजपुरमा मात्रै थियो । दुखाइ क्रमशः बढ्दै गएर कम्मरसम्म पुग्यो । मलाई ज्यादै पीडा हुन थाल्यो । दुखाइ बढेपछि जिल्ला अस्पताल भोजपुरमा पनि देखाएँ । त्यहाँबाट औषधि लगेर खाएँ पनि । तर मेरो दुखाइ कति पनि कम भएन । झनै चैतको आगो बनेर दुखाइ फैलिन थाल्यो । बर्खे बिदा सकिएर स्कुल पनि लाग्यो ।

लालबहादुर कार्की

म लौरोको सहायताले स्कुल जान थालेँ । केही दिनपछि लौरो टेकेर पनि म स्कुल जान नसक्ने भएँ । केटाकेटीहरू सानै थिए । म सङ्घर्षको मैदानमा थिएँ भर्खर । श्रीमती पाँच जना बच्चा जन्माएर पनि उनी कर्ममा खटिइरहेकी थिइन् । आपूm जन्मिएको घरबाट छुटिएर श्रीमती र छोराछोरीसहित म आफ्नो संसार बनाउने प्रयासमा थिएँ । बल्लतल्ल घर बनाइसकेर अलिकति सन्तोषको सास फेर्न खोज्दै थिएँ । साउनको महिना थियो । असारको पहिलो हप्तादेखि साउनको पन्ध्रसम्म स्कुल बर्खे बिदा थियो । त्यही बिदामा मैले घरायसी अनि बालीनाली लगाउनु पर्ने काम सकिसक्नु पथ्र्यो ।

म घरमा छोछ्यानमा मुढो बनेर ढलेँ । श्रीमती आत्तिन थालिन् । केटाकेटीहरू सानै थिए । ठूलो छोरो नै १३ वर्षको मात्र थियो । म ठूलो आपत्मा परेको थिएँ । आज ठिक हुन्छ भोलि ठिक हुन्छ भन्दा भन्दै मेरो रोग निको हुने लक्षण मैले देखिनँ । मेरो एक पाटो नचल्ने भयो । मलाई सुताइदिनु पर्ने, उठाइदिनु पर्ने भयो । मेरो एक पाटो यति धेरै दुख्थ्यो कि छोराछोरी नजिक थिएनन् भने म संसार थर्काउने गरेर रुन्थेँ । तर, दुखाइलाई पैतालामुनि राखेर मेरा वरिपरि बसेका अबोध बच्चाहरूका आँखामा हेरिरहन्थेँ अनि भर्खरै सुत्केरीको पीडा चपाएकी केटाकेटीकी आमालाई हेर्थेँ । मनले के के सोच्थ्यो के के । मलाई केही भयो भने ? यी लालाबाला र यो सुत्केरी महिलाले के गर्ली ? म मनमनै भगवान्सँग प्रार्थना गर्दै भन्थेँ, ‘मलाई केही नहोस्, मेरो यो रोग चाँडै निको होस् ।’ मन भारी भएपछि सहन सक्दैनथेँ अनि बच्चाहरूले देख्छन् कि भनेर भित्तातिर फर्किएर सिरकको खोल मुखमा हालेर रुन्थेँ । केही समयपछि मन थाक्थ्यो अनि बच्चाहरूतिर फर्किन्थेँ । उनीहरू मलाई रुँघेर बसिरहेका हुन्थे । कान्छो छोरो कोक्रोमा थियो । महेश बुझ्ने भएकै थिएन । तर ऊ मेरो नजिक आएर मेरा आँखा, मुख र नाकमा छुन्थ्यो र बुबालाई ऐया भएको छ भन्थ्यो । ठूली छोरी निर्मला र सानी छोरी उर्मिला नजिक आएर बुबालाई कहिले निको हुन्छ होला है ? भन्दै बाल खुलदुली एक आपसमा साटासाट गर्थे । ठूलो छोरो हरि पनि मेरो त्यो अवस्था देखेर चिन्तित हुन्थ्यो ।

 

यो इन्जेक्सन हान्ने रोग होइन । यो त नसा सम्बन्धीको रोग हो । यो रोग त औषधि खाएपछि ठिक भइहाल्छ नि । किन आत्तिनु भएको तपाईँ ?

 

असोज महिना लाग्यो । मेरो रोग ठिक भएन । भोजपुर अस्पतालबाट ल्याएको औषधिले काम गरेन । धामीझाँक्रीले पनि केही गर्न सकेनन् । मेरो घरमा मान्छेहरू आउन थाले मलाई हेर्न । गाउँ हो गाउँका मान्छेले अनेक अड्कल काटे मेरो बिमारको । दशैँको चहलपहल सुरू भएको थियो । गाउँमा दशैँका लागि सबै मान्छे तयारीमा जुटेका थिए । सबैका घरबाट चिउरा कुटेको ढिकीको आवाजले हाम्रो घरलाई पनि गुञ्जायमान बनाएको थियो । घरमा म बिरामी भएर थला परेपछि मेरी जहान र केटाकेटीलाई दशैँको रमाइलोले छुन सकेन । मेरी जहान रोइरहन्थिन् ।

अष्टमीको दिन गाउँमा खसी काटे मान्छेहरूले । दशैँको रमाइलोमा गाउँभरिका केटाकेटी पिङ खेल्न मेरै घरको आँगनबाट हिँड्थे । सानी छोरी उर्मिला सात वर्षकी मात्रै थिइन् । गाउँमा अरुले खसी काटेर मासु खाएको उनले पनि थाहा पाएपछि मेरो छेउमा आएर ‘बुबा हाम्रोमा चँै खसी कहिले काट्ने ?’ भनिन् । ठूलो छोरो हरि र ठूली छोरी निर्मला केही बोल्न सकेका थिएनन् । उनीहरूको बालमनोविज्ञान बुझेको थिएँ मैले । गाउँका साथीहरूले गरेको रमाइलोसँग उनीहरूले आफ्नो रमाइलो थप्न सकेका थिएनन् । अरूले खाएको मीठो खानेकुराको स्वादसँग आफ्नो स्वाद मिसाउन पाएका थिएनन् । मेरी जहान श्रीमान्लाई केही नहोस् चाँडो रोग निको होस् भनेर प्रार्थनारत थिइन् । उनले बुबा बिरामी भएको बेला खसी नकाट्ने भनेर छोराछोरीलाई भनेकी थिइन् । तर, उर्मिलाजस्ता साना बच्चाहरूको बालमनोविज्ञानमा मेरो कारणले कति ठूलो चोट पुगेको थियो । मैले त्यो बेला मेरा लालाबालाको अनुहारमा हेरेर भनेको थिएँ—‘भोलि नवमी हो, भोलि काट्ने है ।’ त्यसपछि मैले टाउको भित्तातिर फर्काएँ । छोराछोरीले नदेख्ने गरेर सिरकको खोल मुखमा खाँदेर धीत मरुञ्जेल रोएँ ।

नवमीको बिहान अचानाक मेरो पिता लौरो टक्दै आउनुभयो । पक्कै पनि बिरामीको घरमा किन खसी काट्नु भनेर खसी काटेनन् होला भन्ने अनुमान उहाँको रहेछ । उहाँ आएर यी केटाकेटीको रहरलाई हामीले मारिदिनु हुँदैन भन्दै मान्छेहरू बोलाएर खसी काट्न लगाइदिनुभयो । मेरा बच्चाहरूको मुहारबाट अस्ताएको घाम फेरि झुल्कियो । मेरो दुखिरहेको घाउ पनि बच्चाहरूको खुसीले अलिक कम भएको जस्तो महसुस भयो । टीकाको दिन पिताजीले मलाई सुतेकै ठाउँमा आएर टीका लगाएदिनुभयो । गहभरि आँसु पार्दै ‘नौ दुर्गा भवानीले यसलाई रक्षा गरुन्, चाँडै रोग निको होस्, रोग लाग्छ मान्छेलाई, नआत्तिनू, निको हुन्छ’ भन्दै आशीर्वाद दिनु भयो । मैले पनि सुतेकै ठाउँबाट छोराछोरीहरूलाई टीका लगाइदिएँ । जहानले पनि सबै छोराछोरीलाई टीको लगाइदिँदै ‘बुबालाई चाँडै निको होस्’ भन्दै आशीर्वाद दिइन् ।

दशैँ सकियो । मेरो रोग ठिक हुने कुनै लक्षण थिएन । मैले उपचारका लागि काठमाडौँ जाने विचार गरेँ । आफन्तहरूलाई प्लेनको टिकट काटिदिन आग्रह गरेँ । त्यतिबेला भोजराज राउतले मेरा लागि प्लेनको टिकट मिलाइदिए । मलाई गाउँका ३०, ३५ जना मान्छे मिलेर स्ट्रेचरमा बोकेर एअरपोर्टमा पुर्याए । म उपचारका लागि काठमाडौँ पुगेँ । मैले उपचारका लागि पैसा बोकेको थिएँ । मेरो हेरचाह गर्नका लागि मेरो साथमा मेरो दाजुको छोरो पनि थियो । काठमाडौँको एअरपोर्टमा मलाई लिन रविबहादुर खड्का र पदम बहादुर राउत आउनुभएको थियो । यी तिन जनाले मेरो जीवनमा लगाएको गुण म कहिल्यै पनि बिर्सन सक्दिनँ ।

म बिरामी भएर घरमा सुत्दा हेर्न आएका मान्छेले मेरो मनोविज्ञानमा नकारात्मक असर पर्ने कुरा गरिदिन्थे । अब यसको आयु यति नै हो । यी साना केटाकेटीको पो बिजोक हुने भो । यी कान्छीले के गर्नु अब ? यो त जिमी व्यथा हो । यो उपचार गरे तापनि निको हुँदैन भन्थे कोही । कोही चाहिँ यो रोग त प्यारलाइसिस हो । यो रोग निको हुँदैन भन्दै मेरो मृत्युको अपेक्षा गरेझैँ जस्तो गरेर कुरा गर्थे । ती कुरा सुनेर मेरो मन आत्तिन्थ्यो तर म सम्हालेर आपूmलाई आँखा चिम्लिएर पीडा सहन्थेँ ।

काठमाडौँमा पुगेर म पदमबहादुर राउतको डेरामा बसेँ । त्यो बेला काठमाडौँमा मेरा आफन्तहरू त्यति थिएनन् । मलाई जचाउनका लागि ती भाइहरूले धेरै ठाउँमा लगे । खुट्टो सुनिएर जलथल भएको थियो । जुन हस्पिटल जाँदा पनि रोग पत्ता लागेन । यस्तो क्रम हुँदाहुँदै एक हप्ता बित्यो । मैले ती भाइहरूलाई सरकारी हस्पिटलमा नहोला जस्तो छ, मलाई प्राइभेट हस्पिटलमा लगिदिनू जति खर्च लागे पनि तिर्न तयार छु भनेँ । त्यसपछि ती भाइहरूले मलाई डिल्ली बजारमा ३२ जना डाक्टरहरूले खोलेको नर्सिङ होममा लगे । मेरो खुट्टाको तीन पटक एक्सरे गरेर हेरियो । त्यसपछि डाक्टरहरूले ‘तपाईँलाई नसा सम्बन्धी रोग रहेछ’ भने मलाई । मैले दैनिक चेक गर्न जानु पथ्र्यो । दिनको तिन, चार खाले औषधि पाँच पटकसम्म खानु पथ्र्यो । त्यो बेला मेरो खुट्टो ज्यादै दुखेको हुनाले मैले डाक्टरलाई भनेको थिएँ—‘डाक्टर साहेब मेरो खुट्टो ज्यादै दुखिरहेको छ । म त टाढा गाउँबाट उपचार गर्न यहाँ आएको मान्छे हुँ । मेरो घरमा साना बच्चाहरू छन् । त्यसैले मलाई नदुख्ने खालको इन्जेक्सन दिनुहोस् जसको कारणले मेरो रोग निको होस् ।’

डाक्टरहरू एकदमै मजाका हुनुहुन्थ्यो । मेरो मनोविज्ञान बुझेर उहाँहरूले मलाई भन्नुभयो, ‘यो इन्जेक्सन हान्ने रोग होइन । यो त नसा सम्बन्धीको रोग हो । यो रोग त औषधि खाएपछि ठिक भइहाल्छ नि । किन आत्तिनु भएको तपाईँ ? एक हप्ता यहीँ बसेर औषधि खाने अनि औषधि लिएर घर जाँदा हुन्छ ।’

डाक्टरको कुराले ममा बाँच्ने रहर पलाएर आयो । नभन्दै डाक्टरले भनेझैं एक हप्तापछि म आफैँ ट्वाइलेट जान थालेँ । सुन्निएको ठाउँ पनि क्रमशः घट्दै गयो । डाक्टरले मलाई यो तपाईँको रोग निको हुन तिन वर्ष लाग्छ भनेका थिए । त्यसपछि म २२ दिनपछि प्लेनबाट भोजपुर पुगेँ । डाक्टरको सल्लाह अनुसार मैले औषधि नियमित सेवन गरेँ । औषधिको कारण मेरो त्यो रोग निको भयो । त्यसपछि खुट्टामा कहिल्यै समस्या देखिएन । डाक्टरले तपाईँको नसा सम्बन्धीको रोग पूरै निको चाहिँ हुँदैन कतै न कतै असर पारिरहेको हुन्छ भन्नुभएको थियो । त्यो कुरा पनि मिलेको छ । मेरो घरमै आएर प्यारलाइसिस रोग हो । उपचार नगरे हुन्छ । आखिर अब यो मान्छे बाँच्दैन भन्ने मान्छेहरू म निको भएर स्कुल जान थालेपछि मेरो अगाडि शिर निहुर्याएर हिँड्न थाले ।