“होइन यो कहिले मर्छे, हँ ! यसको घिड्घिडो बसेको यति धेरै भयो ! किन परान् चाहिँ नगएको ? अहिले मर्ली, भरे मर्ली, भोलि मर्ली भनेर हेर्दा हेर्दै हप्तौं बितिसके ! फुस्स उडे त सन्चो हुन्थ्यो नि ! थामिएको छ, थामिएको छ ! बेलाबेला त रिस पनि उठ्छ, झोंक पनि चल्छ ! यसले मलाई कति पिरेकी ?” अलखनाथ गनगनायो । उसको छोरो भाद्रु बिमारी आमाका छेउमै बसेर पङ्खा हल्लाइरहेको थियो ।

पुण्यप्रसाद खरेल

सेतै फुलेकी, दाँत पनि फुक्लिसकेर गालासाला मुखभित्रै पस्ने भएकी आमा, महिनौंदेखिको बिमारले थाङ्निएर अब चाहिँ बाँच्दिनँ भन्ने ठेकान भएको छ । आमाको उमेर सोध्दा ऊ आमाको त कुरै छाडौं आफ्नो पनि उमेर बताउन सक्दैन । बाबुआमाले उसको जन्ममिति उसलाई बताउनै सकेनन् । बिर्सिए ! उसको बाबु, अलखनाथलाई उमेर सोध्दा गाउँको कुनै वयोवृद्धलाई देखाएर ऊ र आफू दौंतरी भएको बताउँछन्, त्यति हो । “ठूलो भैंचालो आएको सम्झना छ, मधेसै बगाउने बाढी आएको थाहा छ भन्छन्, तर कति सालमा वा कति वर्षको हुँदा हो भन्न सक्तैनन् ।”

अलखनाथ स्वास्नीलाई गाली गर्छ, सराप्छ ! यो सुनेर अरुअरु छक्क पर्छन्, तर भाद्रु यादै गर्दैन । बाबुको बानी नै त्यस्तै ठान्छ ऊ । उसले बाबुले मिठो मसिनो गरेर आमालाई बोलाएको थाहा पाएन । अचम्म एउटै थियो कि उसकी आमाले बाबुलाई कहिल्यै मुख फर्काइन ।

आज उसकी आमा मृत्यु शैयामा छे । उमेर त हेर्दा बाबुआमा दुबै अब बेला हुन लागेका जस्ता छन्, तैपनि माया बूढो हुँदो रहेनछ । उसकी आमाको त्यो अन्तिम अवस्थामा अझै केहीजेल बाँचे हुन्थ्यो भन्ने भाद्रु ठान्थ्यो, तर बिमारी हेर्ने सबैलाई विश्वास भैसकेको थियो कि ऊ अब एकैछिनकी पाहुना हो । त्यो एकैछिनकी पाहुनाको मुख हेर्न बीरेन, बीरेनकी बूढी, चम्पे, सुरेश, अनजीत, गोलढुङ्गा, बैसाखु, किसनलाल, सुबानी, लाइलन सब आएका छन् । सबैका मुखमा ‘रामनाम सत्य हो ! रामनाम सत्य हो !’ छ, तर अलखनाथ स्वास्नीलाई गाली गर्न मात्र व्यस्त छ– “किन ढिलो गर्या ? भरे आज फेरि नभ्याइने हुन सक्छ ! बासी राख्नु हुँदैन ! यसको सास नगए नजाओस् ! जा ! भाद्रू बाँस काटेर ले ! यहाँ मलाई पिरोल्न पाइरछे अनि सास थामिरछे ! बाँसमा बाँधबुँध पारेपछि अनि जान्छ आफैं साससास ! आज पूर्णे होला ! आज त यसले उम्किनै हुँदैन ! यसलाई आज त राख्नै हुँदैन ! उठ् न भन्या भाद्रु ! जा गएर त्यही देउनीयाका झाङबाट भए पनि ले ! अलिक राम्रो सलक्क परेको हेरेर ! यसलाई लगेर “हरिबोल !” गरेपछि मात्र मलाई अलिक हलुङ हुन्छ ! जा जा !

हेर्नेहरूका आँखा डब्डबाए । भाद्रुकी आमाले पक्क पक्क मुख बाई । तनक्क तन्किई । लामो हाइ काढेझैं गरेर निसास भई । हेर्नेहरू सब हतारहतार आफ्ना घरतिर लागे । भाद्रुले डाको छाड्यो । उसका दुबै बहिनीहरूले रोएर घरै उचाले झैं भयो । अलखनाथ पनि बोल्यो– “मरी ! मरी ! ए ठीक भयो ! अब छिटछिटो गर्नु पर्छ !” उसले नाती टिकेनको नाम लिएर बोलायो र ठाकुर लिन पठायो । भाद्रुलाई गाली गर्याे– “के रुन्छस् नाथू ! तैंले रोएर यो निठुरी अब बौरिन्छे र ! ऊ ! त्यहाँ ताम्बुलहरू छन्, गएर बिरेन्, नरेन्, परेस्, असुनी, किसनलाल, बैसाखु सबैलाई भक्ति दे ! छिट्छिटो गर्नु पर्छ ! जा ! जा ! उठी हाल् जा !.”

 

आज किन हो, बाबुलाई अलिक बढी असन्तुलित झैं भएको कुरा भाद्रुले पनि ठान्यो ।

 

मलामीहरू बीस–तीस जना भेला भए । ठाकुर आइपुगे । आइमाईहरूको रुवाइले मरुमारु भएको घर छर्लङ्ङै चिनायो । अलखनाथको मरेकी स्वास्नीमाथिको गाली हटेकै थिएन, रोकिएकै थिएन । ऊ ती उपस्थित ठाकुरहरू, मलामीहरूलाई समेत हतार लाउँदै थियो– “होइन ! तपाईंहरू किन ढिलो गर्नुहुन्छ ? बाँचुन्जेलसम्म पनि यस पापीनीले मलाई कहिल्यै एकलै हुन दिइन ! यसलाई मरिसकेपछि पनि किन तपाईंहरू यहाँ राखिरहनु हुन्छ ? मलाई त आगैका ज्वालामा पसेजतिकै भएको छ ! यसलाई कति बेला लाने ? राम्ररी छोपछाप कति बेला गर्नु र मलाई शीतल हुन्छ ! लौन ! मेरो व्यथा बुझिदेओ ! … छिटछिटो गर ! कि म आफैं उठाउँ हँ ? ”
आफ्नै शरीर उठाउन भारी भैसकेको अलखनाथ लास उठाउन तर्याङ्मर्याङ् गर्यो । उसलाई सबैले समाए ! हाड र छाला भएको झिव्रmो जस्तो उसको जराजीर्ण शरीर साधारण धक्काले नै नउठ्ने गरी ढल्छ जस्तो देखिन्थ्यो । आज किन हो, बाबुलाई अलिक बढी असन्तुलित झैं भएको कुरा भाद्रुले पनि ठान्यो ।

लास उठाए । सबै मलामी घाटतिर लागे । अलखनाथ पनि लठ्ठी टेकेर पछिपछि लाग्यो । लास बिसाएको एक छिनमा ऊ पनि पुग्यो । पुग्नासाथ ‘यता खन र उता खन !’ भनेर चिहान खन्ने ठाउँ देखाउँदै हतार लाउन थाल्यो । उसले आफ्नी आमाको चिहानको छेउमा ठाउँ रोजेर देखाउँदै भन्यो– “यहीँ खन ! यहीँ ! सासूबुहारी गफ गर्दै एकै ठाउँ बसून् ! यो सासूलाई खुब माया गर्थी !”

मलामीहरू पालैपालो खाडल खन्न थाले । अलखनाथ लासका छेउमा बसेर कर्कर् गरिरह्यो– “अब त मेरो मासु खान पाउँदिनस् नि, बुझिस् ! तँलाई दस फुट गहिरो खाडलमा पुरेपछि अनि स्वाद पाउँछेस् ! मलाई पिर गरेर ! …” उसले खाडल खन्नेहरूलाई भन्यो– “खन ! छिटछिटो खन ! छिटोछिटो छोपिहाल्नु पर्छ यस पापिनीलाई ! … लु लु ! भयो खाडल ! ए ठाकुर ! ल तिम्रो पुजाआजा के छ गर ! लु लु छोपिहाल्नु पर्छ यसलाई ! … यसलाई छोपिसकेपछि अनि मात्र मलाई हलुङ हुन्छ ! मलाई शीतल हुन्छ !”

मलामीहरूले लास उठाए । उसले पनि हात लगाए झैं गर्याे । लासलाई खाडलभित्र राखे । माटो दिए । सबै ‘हरिबोल !” कराए । ऊ पनि उच्चस्वरमा सँगसँगै ‘हरिबोल !’ करायो । माटो सबैले दिए । उसले पनि माटो दिँदै भन्यो– “दरो गरेर है ! यो फेरि निस्किन नसकोस् है ! यतापटि … यतापटि … अलिक थिचेर ! फेरि निस्की भने त फजिति हुन्छ ! निस्किन नपाओस् ! फेरि स्यालकुकुरहरू हाँस्छन् नि ! यसले मेरो बिजोक पार्छे !” ऊ बड्बडाइ रह्यो ।

मलामीहरू सबैले नुहाइधोइ गरे । सबै “हरिबोल !” कराए र घरतिर फर्कन लागे । भाद्रुको कपाल मुडियो । उसका गलामा धागो बाँधियो । अलखनाथ चुपचाप चिहान छेउ बसिरह्यो । उसलाई पनि नुहाउन धुन लगाइयो र हतेर्दै घर ल्याइयो । बिरेन र किसनलाले उसलाई हतेरेर नै घर ल्याइपुर्याए ।

बेलुका भयो । सबै जना आफ्नाआफ्ना घरका काममा लागे । भाद्रु शोकग्रस्त थियो र आज अनौठो बोध गरिरहेथ्यो । सधैं झैं आज मझेरीमा उसकी विमारी आमा थिइनन् । उसको बाबु छेउमा बसेर यो ऊ अन्ठसन्ठ कराइरहेका थिएनन् । उसलाई बाबुको सम्झना आउनासाथ बाबुको टहल गरेको त बाबु घरमा कतै भेटेन । उसले वल्लो घरमा खोज्यो, पल्लो घरमा खोज्यो तर बाबु गाउँमा कतै भेटाएन । खोजखबर गर्दा बिरेनको छोरा मङ्गलुले भन्यो– “गाई वस्तु लिएर आउँदा लठ्ठी टेकेर उता खोलातिर जाँदै देखेँ !”

भाद्रु बाबुको खोजी गर्दैगर्दै आमालाई राखेकै ठाउँमा पुग्यो । जूनको मधुरो उज्यालोमा देख्यो आमाको चिहान छेउमा बाबु त टुव्रmुक्क बसि पो रहेको छ ए ! उसलाई बाबुदेखि रिस पनि उठ्यो, तर उसले केही पनि भन्नै नपाई बाबुले नै भन्न सुरु गर्याे– “यस पापीनीले ठहरै पारी ! मरेर पनि मलाई दुःख दिने नै परी । यस्तो जाडो छ ! न लुगा छन् यसका न कपडा छन् ! न आगो ताप्न नै पाउँछे ! यसले मेरो मासु खाई … के गर्नु के गर्नु ? घरमा पुगेको … यो त यस्ता जाडामा अब एकलै भई भनेर कस्तो पिर पर्याे !”

भाद्रुले बाबुलाई फकाइ फुल्याइ गरेर घरमा ल्यायो । गाउँका मानिसहरू फेरि भेला भए । अलखनाथ केही बोलेन । सुकेका गोबरका गुइँठाको आगो तापेर बस्यो ।

बिहान भयो । भाद्रुलाई १० दिनजति काम गर्न अनुमति थिएन । छोराछोरी चकचक गरिरहेका थिए । फेरि उसकी बहिनी चम्कीले बाबु त कतै नभएको जानकारी गराई ।

बेलुकाको दृश्य उसको आँखामा आयो । दौडेर ऊ आमाको चिहान भएको ठाउँमा पुग्यो । बाबु त चिहानको शिरपटि छेवैमा टुव्रmुक्क बसिरहेकै छ । रिसभन्दा बढी आश्चर्य लाग्यो उसलाई । ऊ पुग्नासाथ उसको बाबु बर्बराउन थाल्यो– “भाद्रु ! के गरुँ तेरी आमालाई ? तैँ भन् ! मलाई यस्तो दुखदिने ! मलाई त घरमा बस्नै नदिने परी तेरी आमाले ! ‘आछुछु आछुछु’ भनेकी छ । भोक लाग्यो भनेकी छ । ऐया र आत्था भनेकी छ । मैले के गरेर सकूँ ? यसलाई बरु … !” उसका आँखामा आज अलिकति आँसु देखा परे । भाद्रुले बाबुका आँखामा आँसु छन् वा आँसु आउँछन् भन्ने कल्पनासम्म गरेको थिएन । उसको पनि भक्कानो फुट्न खोज्यो । उसलाई बाबुले होइन बाबुलाई उसले सम्झाउनु थियो, त्यसैले उसले आफूलाई समाल्यो ।

उसको फकाइबाट पनि बाबु टसकोमस भएन । भाद्रुले “घर जाऊँ !” भनी गरेको ढिपीको उत्तर पनि उसले दिएन । घुँडामा टाउको राखेर टुव्रmुक्क बसि नै रह्यो । जब छोराको ढिपीको पल्ला गरुङ्गो भयो, उसले भाद्रुलाई भन्यो– “मैले किन जानु घर अब ? मलामी बोलाइ दे ! मेरा लागि पनि यही तेरीआमाका छेउमा एउटा खाडल खन् ! … गाउँमा मेरो को छ ? के छ अब ? म कसलाई गाली गरुँ खै ? कसलाई हप्काएर समय काटूँ ? कोसँग म आफ्ना मनका कुरा सुनाउँ ?” उसका आँखाभरि आँसुले पोखरी ढल्पलाए झैं भए । उसले आफूलाई नितान्त एकलो भएको बोध गरेको बुझियो ।

“हामी छौं नि !” भाद्रुले भन्यो तर उसलाई बाबुको यो अवस्थामा आफूले भनेको कुरामा कुनै वजन नभए झैं लाग्यो ।