
द लास्ट इम्पेरियलिस्ट
अक्सफोर्ड विश्वविद्यालयमा उपनिवेशवाद अध्ययन गरेका एक प्राध्यापकले लेखेको पुस्तक ‘द लास्ट इम्पेरियलिस्ट’ सार्वजनिक भएको पुस्तक बजारबाटै फिर्ता लिन विरोधीहरूले चेतावनी दिएका छन् ।
ब्रुस गिलीको ‘द लास्ट इम्पेरियलिस्टः सर एलन बर्न्स एपिक डिफेन्स अफ द ब्रिटिस एम्पायर’को पहिलो भाग सार्वजनिक गर्नै लाग्दा विपक्षी मोर्चाका प्राध्यापकहरूले पुस्तक बढी नै श्वेत राष्ट्रवादी तथा औपनिवेशवादी रहेको भन्दै यस पुस्तकको विरोध गरेका हुन् ।
माओवादी दार्शनिक जोसुआ मोफवाद पलले रम्यान एन्ड लिटलफिल्ड कम्पनीले बजारमा ल्याएको यस पुस्तकलाई राम्रोसँग पुनः सम्पादन गरेर मात्र बजारमा ल्याउन इन्टरनेटमा अभियान चलाइरहेका छन् । यस्ता पुस्तकले एकेडेमिक क्रेडिबिलिटी ध्वस्त बनाउनेदेखि उपनिवेशवादी प्रपोगन्डालाई सहयोग पुर्याउने भन्दै एक हजार जनाको हस्ताक्षर संकलन गरिएको थियो । चेन्जडटओआरजी मार्फत हस्ताक्षर संकलन गरी पुस्तकलाई रद्द गर्न प्रकाशकसँग आग्रह गरिएको हो ।
यता क्यानडा पोर्टल्यान्ड स्टेट युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक गिलीले आफ्नो पुस्तकले युरोपेली उपनिवेशवाद संसारकै राम्रो चिज नभनेको र त्यसले संसारलाई निकै फाइदा पुर्याएको बखान नगरिएको बताएका छन् । कुनै ठोस कारण बिना नै किताबविरोधी माहोल बनाउन खोजेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले भने, ‘के कुरामा चित्त नबुझेको हो, ठोस कुरा र कुन पंक्तिमा उनीहरूको आपत्ति हो, यसमा उनीहरूले कुनै प्रतिक्रिया जनाएका छैनन् । मात्र पुस्तकले उपनिवेशवादलाई बढावा वा प्रशंसा गरिएको भनेर सामाजिक सञ्जालबाट हौवा फैलाइएको छ ।’
उनले कुनै पुस्तक बजारमा आउनुअघि नै पुस्तकलाई रोक्न खोज्नु वाक स्वतन्त्रताको खिल्ली उडाइएको भनी आपत्ति जनाएका छन् ।
आफूलाई ‘एकेडेमिक लेफ्ट’का रूपमा चिनाउने गिलीले यसअघि २०१७ मा एउटा शोधपत्र पेश गरेका थिए । ‘केस फर कोलोनियलिज्म’को सो शोधपत्रमा उपनिवेशकालका फाइदाहरू उल्लेख गरेका थिए । सो बेला भएका नरसंहार, दोहन, शोषणका विषयमा भने उनी मौन रहेको र हाल बजारमा ल्याउन लागिएको पुस्तकमा सोही कुराको महिमामण्डन गरिएको भन्दै केहीले विरोध गरेका हुन् ।
केहीले भने शोधपत्रमा विविध फराकिला विषयमा अध्ययन मौन रहेकाले यसको सीमित अध्ययनका कारण खासै महत्त्व दिइन नहुनेसमेत टिप्पणी गरेका छन् । सो शोध थर्ड वर्ल्ड क्वाटर्ली म्यागेजिनले प्रकाशन गरेको थियो ।

ब्रुस गिली
पाँच वर्षभन्दा बढी समय लगाएर लेखिएको आफ्नो नयाँ पुस्तकमा यसरी समूह नै खनिनु र पुस्तक प्रतिबन्ध लगाउन उद्यत रहनुलाई प्राध्यापक गिलीले निको मानेका छैनन् । उनले वाल स्ट्रिट जर्नलमा एक लेख लेख्दै यस किसिमको प्रवृत्तिले बौद्धिक क्रियाकलाप अवरूद्ध हुने बताएका छन् ।
यो पुस्तक यसअघि पनि विवादमा आएकाले औपनिवेशिक इतिहासका दुई महाविद्वानहरू जेरेमी ब्ल्याक र तीर्थांकर रोय स्वयंले यसको पियर समीक्षा गरेपछि बजारमा ल्याइएको लेखक गिलीले बताएका छन् ।
त्यसो त पुस्तकलाई यतिबेला बजारमा ल्याइसकिएको भए पनि फिर्ता पठाउनका लागि केहीले दबाब समेत दिन थालेका छन् । हस्ताक्षर अभियान त्यसैको एक अंग रहेको बताइएको छ ।
अभियान शुरू भएपछि प्रकाशकले आफ्नो वेबसाइटबाट पुस्तकबारेको जानकारी नै गायब गरेको र त्यसका लागि आफूसँग एक शब्द पनि नसोधिएको भन्दै लेखक गिलीले प्रकाशकसँग चित्त दुखाएका छन् ।
‘औपनिवेशिक कालका समस्या’ नामक पुस्तक शृंखलाअन्तर्गत उनको यो पुस्तक बजारमा आएको हो । यसले त्यस समयलाई राम्ररी बुझ्न सघाउ पुग्ने गिलीको धारणा छ । यस पुस्तक शृंखलाका अन्य पुस्तकसमेत उनले सम्पादन गरेका थिए ।
चीन विशेषज्ञका रूपमा समेत चिनिने ब्रुस गिलीले ‘चाइनाज् डेमोकेटिक फ्युचरः हाउ इट विल ह्यापेन एन्ड ह्वेयर इट विल लिड’, ‘मोडेल रिबेल्सः द राइज एन्ड फल अफ चाइनाज् रिचेस्ट भिलेज, चाइनाज् न्यु रूलर्सः द सेक्रेट फाइल्स’ तथा एडवार्ड फ्राइडम्यानसँग मिलेर ‘एसियाज् जायन्ट्सः कम्पेयरिङ चाइन एन्ड इन्डिया’ पुस्तक लेखेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

