एउटा दाजुको बिहेमा समेत आउन नपाएकी सखिला केही दिनको छुट्टी मिलाएर नेपाल माइत आइन् । त्यस अवधीमा आमालाई तीनपटक विदेशमै बोलाएर न्यास्रो मेटिन्, दाजुसँग भने गएदेखि भेट हुन पाएन । भाउजूलाई त झन प्रत्यक्ष दखेकै थिइनन् ।
निकै वर्षको अन्तराल पछि आएकी सखिलाको त्यो घर, अब माइती घर थियो । आफूसँगका साथीसँगीहरू बिहे भएर आ–आप्mनै संसारमा वा गरिखान अन्तै गइसकेका थिए । ती मध्ये स्कुल पढ्दाको उसको मिल्ने साथी सुधीर मानसिक सन्तुलन गुमेकाले मानसिक अस्पतालमा छ भन्ने सुनिन् । सुधीर मानसिक सन्तुलन गुम्यो भन्ने सुनेर त्यसबेला सखिला छक्क परिन् । रात परिसकेकाले भोलि बिहान अस्पताल नै गएर भेट्छु भन्ने सोच्दै रातभर उसलाई सम्झिरहिन् ।

लक्ष्मी उप्रेती

बिहान छिट्टै खाना खाएर सुधीरलाई भेट्न मानसिक अस्पताल भाउजूसँग गइन् । सुधीरलाई यस्तो अवस्थामा भेट होला भन्ने कल्पना समेत नगरेकी सखिला उसलाई देखेर एकाएक हत्तासिइन् । खाइलाग्दो, हट्टकट्टा, हँसिलो त्यस्तो सुन्दर सुधीरलाई यस्तो दुब्लो जिङ्रिङ्ग परेको, कुरुप पुरुष देखेर उनी स्तब्ध भइन् । पहिला सखिलालाई देख्ने बित्तिकै रमाउँदै छेउ आएर कुरा गर्न हत्तारिने सुधीर कुनै प्रतिक्रियाविहीन परै बसेर टोलाएको छ । सखिलाले बोलाउँदा पुलुक्क हेर्छ मात्र अरु केही प्रतिक्रिया छैन । उसको त्यस्तो दयनीय अवस्था देखेर सखिला सोचमग्न भइन् । “किन सुधीर पागल भयो !” सुधीरलाई हेरेर आए पछि उनको मनमा आँधी चल्न थाल्यो । सुधीरको स्थिति देखेर उनमा एक किसिमको शून्यता नै छायो । त्यसपछि उनको पनि हाँसो हराउन थाल्यो । पहिलेको सुधीर र अहिलेको सुधीरमा तुलना गर्दै मनमा अनेका कुरा उब्जदै, हराउँदै अनि फेरि उब्जदै गरेर उनि तनावग्रस्त भइन । “किन सुधीर पागल भयो !” मनमनै प्रश्नै प्रश्नका पाहाडले थिच्न थाल्यो । यसपछि छोरीको हालत देखेर आमा चिन्तित भइन् । तर केही भन्न सकिनन् । एकदिन सखिलाले आश्चर्य जनक तरिकाले आमालाई सोधिन्, “आमा, के भएर सुधीर पागल भयो !”

अचानक छोरीले यसरी सोध्दा आमा एकछिन निःशब्द भइन् । जवाफ पर्खिएर निरासिएकी छोरीले “आमा तपाईँ मेरो असल साथी पनि हो । मैले आफ्नो मनलाई दह्रो पार्ने अनकौ उपाय गरँे । यसैका लागि कति कुराहरू मनमनै अस्वीकार पनि गर्न खोजँे तर मेरो केही चलेन् । मेरो मनको कुरा तपार्इँ जति अरु कसैले बुझ्न सक्दैनन् । विदेशमा पनि कुनै कुराले सताउँदा तपाईँको अभाव खड्किन्थ्यो । कसैको अभावमा, कसैको यादमा बाँच्न कति पीडा हुन्छ भन्ने कुरा धेरथोर सबैले बुझ्छ नै । सुधीरको जिन्दगी कुनै असफलतासँग साटिए जस्तो लाग्छ । त्यही भएर होला ऊ नराम्ररी लड्यो । एउटा माधुर्य हराएको सपना जस्तो मात्र भयो उसको जिन्दगी । ऊबारे तपाईँलाई केही न केही त थाहा छ । भन्नु न आमा सुधीरबारे सबै कुराहरू । तपार्र्इँका कुरामा मात्र विश्वास लाग्छ मलार्ई र मेरो आत्मबल बढ्छ !” मार्मिक रुपले आमालाई पगालिन् । छोरीलाई अब सुधीरका कुरा भन्न आमा बाध्य भइन् नचाहँदा नचाहँदै पनि ।

“भाउजू, जीवनलाई प्रेमले जति सुन्दर बनाउन सक्छ त्यो भन्दा बढी कुरुप पनि बनाउने रैछ ।”

 

“नानी, सुधीर तँसँग एकलौटी प्रेम गर्ने पागल प्रेमी रहेछ । तँलाई उसप्रति कुनै चासो नभएपनि तेरो प्रेममा नै पागल थियो ऊ । तँ गएपछि निकै समयसम्म तेरो सोधिखोजी गर्न आइरहन्थ्यो । पहिलोपटक विदेशबाट तेरो बिहे गरेर म आउँदा उसले तँबारे निकै उत्साहित हुँदै चासो राखेर सोधिखोजी गर्यो । उसको मनको कुरा थाहा नभएकी मैले तेरो बिहे भएको कुरा भने । मेरो कुरा सुनेर एकाएक अँध्यारियो र आँखा भरि आँसु भरेर केही नभनी चुपचाप उठेर हिँड्यो । त्यसपछि ऊ आउँदै आएन । पछि दोस्रो पटक तँलाई भेटेर फर्किदा उसको हालत बिग्रन थालेको रहेछ । त्यसबेला अर्धपागल भएपनि एकपटक आएर सोध्यो । “सखिला खुसी नै छिन् होला नि आमा आफ्नो दाम्पत्य जीवनमा । आमा, यो जन्ममा भएन अर्को जन्मका लागि सखिलालाई मेरै हुने आशीर्वाद दिनुस है । भनेर मलाई अन्यौलताको घेरोमा पछार्दै मेरो हात तानेर आप्mनो शिरमा राखेर हिँडेको मान्छे त्यसबेलादेखि नै अस्पतालको अस्पतालमा नै छ ।” बोल्दा बोल्दै संवेदित आमाको आँखामा टिलपिल भएका आसुका थोपाहरू अनुहारमा पोखिए । कति दिनदेखि आँसु बग्न नसकेका सखिलाका आँखाबाट पनि अविरल आँसु झरे । त्यसक्षण आमालाई अंगालेर हिक्कहिक्क रुँदै उनी आमासँग नै एकाकार हुन खोजिन् ।

समय बित्दै गयो । अब सुधीरलाई भेटाँै कि नभेटाँै उनका मनमा अनेक तर्कना आउन थाले । विगतका दिनहरूमा सुधीरले भनेका कुरा सम्झेर सखिला झस्कन थालिन् । सुधीरसँग भएका हरेक दिनका कुरा ऊसँग छुट्ने बित्तिकै बेवास्ता गर्ने सखिला यसबेला ग्लानी भयो । उसको भावनाको वास्ता नराखेर होला कहिले कुनै छनक सम्म नपाएकी सखिलाले अब अनुभूत गर्न थालिन् । यस्ता कुराले उनी भित्रभित्रै जेलिदै गइन् । यो जालोबाट कसरी उम्कने उपाय सोचिन् । अब ऊबारे आमासँग कुरा गरेर आमालाई अझ दुःखी बनाउने पक्षमा उनि थिइन । आफ्ना साथीहरू कोही थिएनन् । एकदिन दाजु र आमा नभएको मौका छोपेर भाउजूसँग सुधीरको कारणले आप्नो मनमा भरिएका वेदना सबै फुकाउने निधो गरिन् । त्यसपछि सखिलाले मनमा रहेका जीवन र प्रेमका गाँठो फुकाउन थालिन् ।

“भाउजू, जीवनलाई प्रेमले जति सुन्दर बनाउन सक्छ त्यो भन्दा बढी कुरुप पनि बनाउने रैछ ।” भाउजूले सोच्दै नसोचेको भावनात्मक कुरामा अचानक सखिला बहकिन ।

सखिलाका कुरा सुनेर हाँस्दै “यो उमेरमा प्रेमको यस्तो गहिरो अभिव्यक्ति दिने हजुरलाई प्रेमरोग लाग्यो कि क्या हो ।” केही कुरा नबुझेकी भाउजूले व्यङ्ग्य मिश्रित भाव मजाक मजाकमा व्यक्त गरिन् ।

“मजाक हैन भाउजू म सिरियस छु यसबेला ।”
“प्रेमबारे सुन्दरता र कुरुपताको यस्तो गहिरो कुरा के हो त मैले बुझिन् । प्रेममा कसको जीवन कुरुप भएको देख्नु भो हजुरले भन्नु न त ।”
“सुधीरको जीवन । ”
“सुधीरको कुरामा किन यस्तो गहिरिनु भएको मैया हजुर ।” आश्चर्य चकित मुद्रामा प्रस्तुत भइन् ।
“ भाउजू सुधीरसँग थाहै नपाइ उसको यो अवस्था सिर्जना गर्ने कुरामा म गाँसिएकी रहेछु । ”
“के भनेको हजुरले । ऊ त कसैको प्रेममा धोका पाएर पागल भएको रे त । अनि ऊसँग कसरी गाँसिनु नि, हजुर ?”
“भाउजू उसको पागलपनको कथामा म छुटे भने अधुरो हुन्छ । कसैले धोका नदिई आफैँ बीचको धोकामा परेर पागल भएछ ऊ ।”
“कसरी जान्नु भयो त्यो कुरा ।”
“यसबारे राम्ररी जानेकी छु मैले । ऊ एक्लौटी मलाई प्रेम गरेर पागल भएछ बरा ।”
“के भनेकी सखिला नानी हजुरले…..?” बोल्दा बोल्दै भाउजू अबरुद्ध भइन् ।
“हो भाउजू स्कुल पढ्दादेखि नै सुधीर मसँग एक्लौटी प्रेममा परेको रहेछ । उसको प्रेमलाई मैले मजाक सोच्थे । मलाई आकर्षित गर्ने उसका हरेक क्रियाकलापलाई मैले मतलबै राख्दिनथेँ ।”

बोल्दाबोल्दै लामो श्वास तानेर जुरुक्क उठिन र फेरि थचक्क बसिन् । उनको निन्याउरो अनुहारमा आँसु पोतिन थालका थिए । सखिला बहकिन थालिन , “भाउजू, त्यसबेला ऊ निकै मेधावी र जेहेन्दार विद्यार्थी थियो । स्कुलको पढाइ सकियो । त्यसपछि म पढ्न विदेश गएँ । विदेश गएको केही समयसम्म उसले मसँग सम्पर्क गर्न खोज्यो । त्यसबेला पनि उसलाई मैले कहिले मतलब राखिनँ । ऊप्रति त्यस्तो खालको मेरो कुनै धारणा थिएन । उसले मलाई त्यसरी प्रेम गर्छ भन्ने मेरो सोच पनि कहिले भएन । विदेश बसाईको क्रममा बिस्तारै बिस्तारै ऊ मेरो सम्झनाबाट नै हट्दै गयो । समयसँगै त्यही पढ्ने केटोसँग मेरो प्रेम सुरु भयो । पढाइ सकेर हामी दुबैजना उतै काम गर्न थाल्यौँ । केही समयपछि हाम्रो बिहे भयो । उता हाम्रो दाम्पत्य जीवनको पैयाँ खुसीले बित्दै गयो । यता सुधीर मानसिक रुपमा ग्रसित हुँदै गएको म बेखबर थिएँ । यहाँ आएर एकैपटक सुधीरको अवस्था अचानक देख्दा र बुझ्दा म आहत भएकी छु ।”

त्यसबेला सम्मका सखिलाका आँखाबाट अश्रुधारा अबिरल बगेका थिए । बोल्दा बोल्दै अनुहारमा दुबै हात लगेर पुछिन् र मौन भइन् । उनको मौनतासँगै वरिपरिको वातावरण पनि सुनसान बन्यो । छिनभरमा नै बादल सिमसिमाएको छ । झ्यालको पर्दा अलिकति सारेर एकपटक कोठाबाहिर हेरिन । आकाश छुने अहम बोकेर टाढा देखिएका पहाडको अस्तित्वलाई बाक्लो कुहिरोले ढपक्क ढाकेर छोपेको छ । नजिकै सडकका दुई छेउमा उभिएका बृक्षहरू आकाशबाट बर्सिएको आँसु झार्दै उदास उदास छन् । बाहिरी वातावरण निर्जीव समयको चोट सहेर सुस्ताइरहेछ । मानिसको चहलपहल शून्य छ । मन औधी विचलित भयो उनको ।

एकैछिनमा मौनता चिर्दै “ मैयाँ हजुरलाई उसको माया लागेर दुःखी हुनुभएको । ” घुटुक्क थुक निल्दै भाउजुले सोधिन् ।
“माया भन्दा पनि दयाले सताएको छ । १५ वर्षदेखि उसले मलाई एकोहोरो प्रेम गरिरहेछ । त्यस कुराले म दुःखी छु । आफ्नो पूर्व जीवन बिर्सिसकेको उसले अस्ति पनि मलाई देखेर कस्तो मायालु भावमा एकोहोरो लोलाइरह्यो । उसले त्यसरी हेर्दा तपार्इँले कसरी गाली गर्नु भएथ्यो । त्यसबेला मलाई भित्र कता हो कता चसक्क भएथ्यो । ”लामो स्वास फेरेर परपर हेर्दै सखिला निरासिइन् ।

त्यसबेला भाउजूले मनमनै सोचिन् एकतर्फी प्रेम पनि कस्तो जीवनवादी हुँदोरहेछ । दुईपक्षको प्रेममा धोका पाएर कसैका विभिन्न कुरा सुनेकी भाउजू पनि एकतमासले दुखिन् ।

स्कुल पढ्दा बिना समर्पण, विना विश्वास, बिना त्यागको प्रेम हुँदैन भन्ने सोचेर मजाक मात्र सोच्दै सुधीरसँग दिन बिताउने सखिला यसबेला निकै चिन्तित भइन्् । ती दिनमा सुधीरसँग गरेका मजाकले उनी अशान्त भइन् । सोचिन् समय फर्कन सक्ने भए सुधीरसँगका सारा मजाकमा सिरियस हुदै भन्थिन् “सुधीर तिमी मेरो असल साथी हौ । त्यो भन्दा पर नसोच है ।”
तर समयकाटा निकै अघि बढिसकेछ । अब सुधीर दन्त्यकथाको पात्र जस्तो मात्र भयो । सखिलाले आफ्नो घर संसार सम्झिन् अनि ती मजाकहरूलाई आफ्नो जीवनको सबभन्दा ठूलो गल्ती ठानिन् र आत्माग्लानीले छटपटाइन् । यसबाट प्रयाश्चित गर्ने निकै उपायहरू सोचिरहिन् ।

यस्तैमा केहीदिन पछि सुधीरको मृत्यु भयो । त्यसपछि उनले हाँगा सहितको एक अंगालो गुलाफका फूल हरू सुधीरको चितामा राखिन र मनमनै संकल्प गरिन् सुधीर यो जन्ममा मैले तिमीलाई जानिन् मलाई माफ गर । अर्को जुनीमा म तिम्रै हुन्छु, तिमीसँग नै प्रेम गर्छु । ” गुलाफका हाँगामा भएका काँडाले घोचेर रक्ताम्मे भएका उनका पाखुरमा कुनै पीडा थिएन । त्यसबेला आफुले प्रेम गरेर बिहे गरेको श्रीमान्को पे्रम पनि फिका फिका लाग्यो उनलाई । बिस्तारै उनको मन अलि शान्त हुँदै गएको अनुभूत गरिन् । सुधीरको चितासँगैे बलिरहेको गुलाफ फूल का पत्र र हाँगाबाट निस्किएको आगाको लप्काको सुगन्धित धुवाँसँगै उनको मन पनि उडिरह्यो ।