शिक्षणकलामा रमाइरहेका कवि दीपेन्द्र आचार्य नेपालको सुदूरपूर्वी भूगोल इलामको सूर्योदय नगरपालिका फिक्कल–पशुपतिनगर आसपासमा बसेर कविता लेख्ने युवा कवि हुन् । उनको ‘व्यापार पृथ्वीको’ नामक कविता कृति भर्खरै बजारमा आएको छ । कृतिभित्र जम्मा ६५ ओटा गद्य कविता रहेका छन् । संख्यात्मक हिसाबले हेर्ने हो भने ‘व्यापार पृथ्वीको’ कविता कृति, बृहत् कविताकै संग्रह मान्नुपर्छ । तर यति धेरै कविता भए पनि कृति भने १२१ पृष्ठमा संरचित छ । जसमा छोटा छोटा कविता छन् । ४ हरफको ‘माटो’ शीर्षकको कवितादेखि ६२ हरफको ‘व्यापार पृथ्वीको’ शीर्षकको कवितासम्म छन् । व्यापार पृथ्वीको कविता नै कृतिको शीर्ष कविता पनि हो ।
‘व्यापार पृथ्वीको’ कृतिको महत्त्वपूर्ण पक्ष भनेको विषयवस्तुगत विविधता हो । कविले देश, माटो, राजनीति, मानवीय जीवनशैली, विज्ञान र प्रविधि, समकालीन समाजको चित्र, प्रकृति, प्रेम, दर्शन आदिलाई कविताको विषयवस्तु बनाएका छन् । ‘ईश्वर’, ‘काँच’, ‘मेरो देश’, ‘रंग’ जस्ता शीर्षक संग्रहमा दोहोरिएका छन्, तथापि उठाइएको विषयवस्तु भने शीर्षक एकै भए पनि केहीमा भिन्न विषयवस्तु छन् त केहीमा अघिल्ला कवितामा नअटेको विषयवस्तुको निरन्तरता देखिन्छ । जसले गर्दा सबै कविता भिन्न नै लाग्छन् । कविले कविताका शीर्षकमा पनि पाठकलाई लोभ्याउन खोजेका छन्, जसकै कारण पाठक यस कविताभित्र के होला भनेर पढ्न उत्प्रेरित हुन्छन् । ‘चुपचाप’, ‘ट्याटु, ‘टाट पल्टिएको वीर्य’, ‘काँच’, ‘फलेदो’, ‘डोजर’, ‘व्यापार पृथ्वीको’, ‘माक्स’, ‘हस्तग्रहण’ जस्ता शीर्षकहरू सुन्दै पनि पाठकलाई कौतुहलता सिर्जना पक्कै हुन्छ नै ।
कविले नेपाली वर्तमान समाज कहिले धर्म, कहिले जात, कहिले वर्गका नाममा समस्यामा पर्दै गएको संकेत गर्दै मिलेर बसेको समाज पनि आजभोलि विभाजित हुन खोज्दै गरेको प्रसंग कवितामार्फत उठाएका छन् । उनी समतामूलक समाजको परिकल्पना गर्छन् । ‘तिमी र म’ कविता यौटा एकताको कविता हो । यस कवितामा कवि लेख्छन् :
…कसले लडाउन खोज्दै छ
हामीलाई एकअर्का विरुद्ध ?
कसले भत्काउन खोज्दै छ
हाम्रो एकताको पर्खाल ? (पृ.१७)
नेपाली माटो छोडेर दिनप्रतिदिन विदेश पलायन हुने साथै परिवारको रङ्गीन सपना बोकेर गए पनि रातो बाकसमा फर्किने नेपाली दाजुभाइहरूको कारुणिक कथालाई ‘पृथ्वीको व्यापार’भित्रका कविताले मार्मिक रूपमा समेटेको पाइन्छ । ‘तिम्रो सगरमाथा’, ‘मानबहादुर र काठमाडौँ’ साथै ‘डोजर’ जस्ता कविताले पाठमा निक्कै गहिरो छाप छोड्छन् ।
कवि आचार्य आफ्ना कवितामा राजनैतिक चेत प्रस्तुत गर्न माहिर छन् । सामान्यभन्दा सामान्य जीवन बाँच्ने भुइँमान्छेहरूको जीवनशैली लेख्न सिपालु छन् । उनी समाजमा जे देख्छन्, जे भोग्छन् त्यसैलाई काव्यात्मक लेप लगाएर शब्दको जालोमा बुनिदिन्छन् । ‘हाम्रा वर्तमानहरू, हाम्रा इतिहासहरू’, ‘गुरुजी’, ‘एउटा अन्धकार समय’, ‘भुइँमान्छे’ आदि कवितालाई उदाहरणका रूपमा लिन सकिन्छ । आर्चायले कवितामार्फत सीमान्तकृत आवाजलाई पनि मुखरित गरेका छन् । राज्यको मूलधारभन्दा पर रहेको समाज अर्थात् इतिहासको कालखण्डमा राज्यसत्ताले अगाडि बढ्न नदिएको कुनै जाति, वर्ग वा समुदायको प्रतिनिधि स्वर यसरी प्रस्तुत गर्छन् :
…आफ्नै पुर्खाको रगतले सिँचेको भूमिमा
अनि खोजिरहेको थियो उसको छातीले
आधुनिक इतिहासको प्वालबाट
चुहिरहेको उसको जिँउदो पहिचान । (पृ.११७)
‘पृथ्वीको व्यापार’ संग्रहभित्रका कविताहरू विज्ञान र प्रविधिसँग पनि जोडिएका छन् । कवि स्वयम् विज्ञानका विद्यार्थी भएर हुन सक्छ, उनका कविताहरू बढी प्रयोगात्मक, तर्कसङ्गत र वस्तुवादी छन् । एकदुई कविताबाहेक आर्चायका प्रायः कविताले पाठकको हृदय हैन मस्तिष्कलाई हलचल गराउँछन् । विज्ञान—दर्शनसँग उनका कविता बढी निकट छन् भनियो भने बढी न्याय होला । ‘टाउको’, ‘मुटु’, ‘भाइरल’, ‘टाट पल्टिएको वीर्य’, ‘पृथ्वीको व्यापार’ आदि कविता पाठले पढ्नै पर्ने कविता हुन् ।
संग्रहमा प्रेमका कविता अन्यन्तै थोरै पढ्न पाइन्छ । हुन त आमा र देशका बारेका लेखिएका कविता पनि प्रेमकै हुन् तथापि प्रेमी र प्रेमिकाका प्रेमिल कविता भने होइनन् । यौटा निक्कै मार्मिक कविता छ ‘ए घाम नअस्ताउनू तिमी’ र अरु कविता छन् ‘तिम्रो नशामा’ र ‘पीडा’ । घामलाई सम्बोधन गरेर क्रान्तिमार्फत शान्ति र प्रेमको गीत गाए पनि ‘ए घाम नअस्तानू’ कविताले प्रेमिल कविताकै आभास दिलाउँछ । कविले कवितामा प्रेमिल भएर यत्तिसम्म चाहिँ पस्कन भ्याएका छन् ।
एक गिलास
लोकल प्रेम पिएर तिम्रो
मातिरहेछ जीवन
तिम्रो नशामा । (पृ.११८)
संग्रहभित्रका अधिकांश कवितामा माटोसँगको सम्बन्ध पढ्न पाइन्छ । देशभित्रको विकृति र विसङ्गतिलाई नजिकबाट नियाल्न पाइन्छ । भूगोल र प्रकृतिसँग परिचित हुन पाइन्छ । जाति, भाषा, धर्म, संस्कृति र संस्कारको गुणगान सुन्न पाइन्छ । देश छोडेर जानेहरूलाई देश फर्कन बाध्य पारिएको छ । राज्य सञ्चालन गर्ने सत्ताधारीहरूलाई खबरदारी गरिएको छ । यौटा कविले यहाँभन्दा धेरै अरु के नै गर्न सक्छ र देशका लागि ? कविले आफ्नो जिम्मेवारी सत प्रतिशत पूरा गरेको देखिन्छ कवितामार्फत ।
कवि आचार्यका कविताहरूमा हर पक्षको अस्तित्व खोजिएको छ । अपनत्व हुनुपर्ने माग गरिएको छ । विज्ञानले नयाँ नयाँ कुराको आविष्कार गरेसँगै मानव अस्तित्व संकटमा पर्दै गएको वास्तविकतालाई चिरफार गरिएको छ । अस्तित्व रक्षाको माग हुनु नै आचार्यका कविताको बलियो पक्ष हो । ‘टाट पल्टिएको वीर्य’, ‘एउटा मान्छे’, ‘ईश्वर’ जस्ता कविता मानव र मानव सभ्यताको अस्तित्व खोजी गर्ने अब्बल कविता हुन् ।
कवि आचार्य थोरैमा धेरै भन्न सक्ने कवि हुन् किनकि उनका प्रायः कविता छोटा छन् । लामालामा कविता पढ्न दिक्क लाग्ने पाठकका लागि ‘व्यापार पृथ्वीको’ कृति यौटा लोभ लाग्दो कृति हो । कवि माधव घिमिरेले भनेझैँ- लेखेको यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ भन्ने अर्थमा कवि आचार्यका कविता मेल खाने देखिन्छन् । कविले आन्तरिक तथा बाह्य दुवै संरचनामा कवितालाई काव्यात्मक बनाउने प्रयत्न गरेका छन् । प्रायः कविताहरू हाइकु शैलीमा संरचित छन् । जस्तै:
ए नवयुग
उपहार तिमीलाई
मैले टेकेको
एक पाइला माटो । (पृ.६४)
कृतिभित्र केही कविता प्रकृति अर्थात् नेपाली भूगोलसँग पनि सम्बन्धित छन् । पर्यावरणको सन्दर्भलाई उठाएका छन् । प्रकृतिसँग मानिसको सम्बधलाई जोड्ने प्रयत्न गरेका छन्, ‘मेरो बेगोनिया’, ‘फूल’, ‘पशुपतिनगरको न्यानो घाम’ प्रकृतिप्रदत्त प्रतिनिधि कविताहरू हुन् ।
संग्रहमा संग्रहित कविताहरू गद्य कविता भए पनि कतिपय कवितामा अन्त्यानुप्रास मिलेको पाइन्छ, जसले बाह्य लयलाई पनि बलियो बनाएको छ । कविले कवितामा प्राचीन तथा नवीव बिम्बको कलात्मक प्रयोग गरेका छन् । ‘व्यापार पृथ्वीको’, ‘टाट पल्टिएको वीर्य’, ‘ल्याप्चे’, ‘बुद्धत्व प्रेम’, ‘प्रेमहरूको मृत्यु’, ‘काँच’ जस्ता कविताहरू बिम्ब नै बिम्बको जालोले बाँधिएका कविताहरू हुन् । आचार्यले कवितामा आगन्तुक शब्दहरूको प्रयोग अत्यधिक गरेका छन्, जस्तै: सिजनथस, ड्रेसिङ रुम, डिब्बा, रिल्स, टिकटक, डोजर, एन्टीरिंकल क्रिम, पिम्पल्स, राइनोक्लस आदि । जसले पाठकलाई कविता पढ्दै गर्दा बिचैमा रोकिन बाध्य पारिदिन्छन् । सामान्य पाठक वा अशिक्षित पाठकले कविता सजिलै बुझ्न सक्ने अवस्था भने देखिँदैन । कविता सरल र बोधगम्य हुनुपर्छ भन्ने मान्यतामा अडिक रहने हो भने कवि यहाँनेर चुकेका छन् । प्रायः संग्रहका कविता समग्रमा मात्र पूर्ण हुन्छन् । अर्थात् पाठकले पुरै कविता पढेमात्र कविताको उद्देश्य प्राप्ति हुन्छ । संग्रहमा भाषिक त्रुटि खास्सै नदेखिए पनि कविता क्रम र विषयसूचीमा भने समस्या देखिन्छ । ‘मेरो बेगोनिया’ नामक कविता विषयसूचीमै छैन, त्यसैगरी विषयसूची अनुसार थुप्रै कविताहरूको पृष्ठ मिल्दैन । यस्ता प्राविधिक त्रुटिहरू आउँदा संस्करणहरूमा सच्च्याउनु पर्ने देखिन्छ ।
अन्त्यमा, नेपाली आधुनिक कविता यात्रामा भर्खरै नेपाली काव्य बजारले पाएको ‘व्यापार पृथ्वीको’ कविता संग्रह यौटा स्वागत योग्य कविता कृति हो । नयाँ नयाँ विषयवस्तुमाथि सूक्तिमय ढगंले लेखिएका कलात्मक कविता पढ्न साथै नेपाली काव्य जगतको यात्रा कतातिर जाँदैछ भनेर थाहा पाउनका लागि पनि युवा कवि दीपेन्द्र आचार्यद्वारा लिखित यो कृति हरेक नेपाली काव्यका पाठकले पढ्नै पर्ने देखिन्छ । यति सुन्दर कृति पढ्न पाएकामा खुसी हुँदै कविप्रति बधाई व्यक्त गर्दछु ।
प्रकाशक: इन्डिगो इन्क प्रा.लि., काठमाडौँ
मूल्य: रु. ३९९।–



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ चैत्र २०८२, मंगलवार 










