१. विषयप्रवेश

लक्ष्मणप्रसाद गौतम (२०२०) आत्मपरक शैलीका प्रभावपूर्ण र कलात्मक निबन्ध लेख्ने नेपाली साहित्यको उत्तरवर्ती चरणमा देखापरेका स्रष्टा हुन् । उनले नेपाली साहित्यको विशेष गरी समसामयिक धारामा रहेर सृजना र समालोचनाका क्षेत्रमा कलम चलाएको पाइन्छ । कविता, कथाका क्षेत्रमा समेत सक्रिय रहेका गौतमको समालोचनाका क्षेत्रमा विशेष योगदान रहेको छ । निबन्धका विषय र शैलीमा आफ्नो छुट्टै पहिचान बनाएका गौतमको समवेत निबन्धसङ्ग्रह प्रकाशित छ र यो उत्तरवर्ती नेपाली निबन्धमा आत्मपरक निबन्ध हो । उनका नन्दनको काव्यिक परिवेश (२०५२), सान्दर्भिक समालोचना (२०५७), समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण (२०६०), नेपाली साहित्यका उत्तरआधुनिक समालोचना (२०६६), समकालीन नेपाली कविताका प्रवृत्ति (२०६६) र मुक्तकको रचनाविधान (२०८२) लगायत झण्डै दुईदर्जन जति समालोचनाकृति, ऊहापोह (२०७४) कथासङ्ग्रह प्रकाशित छन् । उनले रत्न बृहत् नेपाली समालोचना (२०७६) जस्ता थुप्रै समालोचनाकृतिको सम्पादनसमेत गरेको पाइन्छ । नेपाली समालोचनाका क्षेत्रमा स्थापित गौतमको पहिलो निबन्धसङ्ग्रह समवेत (२०८२) नेपाली आत्मपरक निबन्धको इतिहासमा पृथक् विषय र शैलीका कारण उल्लेखनीय छ । यस सङ्ग्रहभित्रका निबन्धहरूमा समसामयिक सन्दर्भ, जीवन र जगतप्रतिको दृष्टिकोण, वैयक्तिक जीवनका स्वअनुभूति, पूर्वीय वैदिक दर्शन, सामाजिक, सांस्कृतिक परिदृृश्यको सूक्ष्मविवेचन, राजनैतिक विसङ्गति, मानवीय संवेदना, देशप्रेम, आत्मसम्मान, उत्तरआधुनिक चिन्तनलाई लालित्यपूर्ण काव्यात्मक भाषाशैली एवं विविध विषयबाट बिम्ब लिएर निजात्मक शैलीशिल्पका माध्यमबाट प्रस्तुत गर्नु उनको विशेषता हो । समवेत निबन्धसङ्ग्रहका निबन्धमा जीवन र जगतका अनुभव र अनुभूतिलाई निजात्मकतामा रङ्ग्याएर प्रस्तुत गरिएको एक उत्कृष्ट निबन्धकृतिका रूपमा आएको छ ।

२. ‘समवेत’ निबन्ध कृतिगत परिचय र आयाम

समवेत निबन्धसङ्ग्रहले आत्मपरक निबन्धको परम्परालाई अगाडि बढाउने काम गरेको छ । नेपाली निबन्धको इतिहासमा आत्मपरक निबन्धलाई स्थापित गर्न लक्ष्मणप्रसाद गौतमको यो योगदान महत्त्वपूर्ण रहेको छ । प्रस्तुत कृति मध्यम आयामको रहेको छ । यो २२० पृष्ठमा संरचित छ । यसमा उपासना, भावना–स्पर्श, ऋचदृष्टि, प्रत्यास्मरण र विसंलाप गरी पाँचओटा शीर्षक रहेका छन् । यी शीर्षकभित्र जम्माजम्मी एक्काइसओटा निबन्ध समावेश गरिएका छन् । निबन्धहरूको आयामगत वितरणमा समानता पाइँदैन । कुनै पनि निबन्ध छोटा आकारका छैनन् । ती कुनै ८ पृष्ठका छन् भने कुनै बाह्र पृष्ठसम्मका लामा रहेका छन् । 

३. ‘समवेत’ निबन्धसङ्ग्रहमा निजात्मकता

निजात्मकता भनेको निजी अनुभूति हो । यसमा निबन्धकारका स्वअनुभूति प्रकट भएका हुन्छन् । निबन्धकारले आफू बाँचेको समाज, समय र आफ्ना जीवन र जगतप्रतिका अनुभूतिलाई नै निबन्धको विषय बनाएका हुन्छन् । यसमा विचारतत्त्वको प्रधानता रहन्छ । समवेत निबन्धमा निबन्धकारका निजी अनुभूति निबन्धका माध्यमबाट प्रकट भएको छ । यसको पुष्टि तलका निबन्धांशबाट गर्न सकिन्छ : 

“म पाइरहेछु – तिम्रो पुस्तकमा एउटा असामान्य पृथक् चरित्रको कथा ! तिम्रो यही पृथकता र असामान्यता प्रिय लाग्छ मलाई ! रहस्यमयता लोभ लाग्छ मलाई ! तिमीभित्रका लाखौँ पृष्ठहरू पढ्न फेरि आँखा बन्द गर्छु ! एउटा ध्यानास्थ दशामा छु म ।” (पुस्तकमा ध्यानास्थ छु म, पृ. १८)

प्रस्तुत निबन्धांशमा पुस्तकलाई बिम्ब र प्रतीकका रूपमा लिएर ब्रह्म (पुरुष वा आत्मा)को रहस्यमयतालाई देखाइएको छ । पुस्तक आफैँमा रहस्यपूर्ण छ जुन ब्रह्म (पुरुष वा आत्मा) जत्तिकै रहेको छ भन्दै निबन्धकारले ब्रह्म (चेतन पुरुष) पृथक् रहेको दृष्टिकोण औँल्याएका छन् । यहाँ पुस्तकलाई मानविकीकरण गरी ब्रह्म वा चेतन पुरुष नै आत्मा हो र यो सम्यक् ज्ञानबाट मात्र प्राप्त गर्न सकिने हुँदा अगोचर, शाश्वत, सत्य, ब्रह्म सामान्यभन्दा पृथक् रहेको दृष्टिकोण प्रस्तुत भएको छ । यसमा पुरुष (आत्मा वा ब्रह्म) रहस्यपूर्ण भएकाले अगोचर पुस्तक अर्थात् पुरुष आत्मीय लाग्नुका साथै आफूलाई लोभ लाग्ने कुरा निबन्धकारले बताएका छन् । ध्यानद्वारा आत्मसाक्षात्कारका अवस्थामा मात्र आफूले चैतन्य पुरुष वा ब्रह्म वा पुस्तकलाई प्राप्त गर्न सक्ने भएकाले ध्यानमुद्रामा बस्न रूचाएको दर्शनपरक स्वानुभूति यस अंशमा अभिव्यक्त भएको छ ।

निबन्धकारले आफ्ना भावना वा विचार प्रस्तुत गर्ने क्रममा पूर्वीय वैदिक दर्शनका विविध आयामलाई निबन्धका विषय बनाएको पाइन्छ । उनले ब्रह्म, आत्मा वा ईश्वर एकमात्र सत्य हो भने अरू सबै अवास्तविक हुन् भनेका छन् । ‘म’ नै ब्रह्म, आत्मा वा ईश्वर भएको बताउँदै त्यो आफूभित्रै छ भन्ने विचार व्यक्त गरेका छन् । अविद्याको नाश भई शास्त्रज्ञानद्वारा ब्रह्म, आत्मा वा ईश्वरलाई साक्षात्कार गर्न सकिन्छ भन्ने निबन्धकारका वैचारिक चिन्तन प्रस्तुत भएका छन् ।

“…‘म’लाई राम्रो बनाएर स्थापित गराउन कसले चाहँदैन र ? म पनि चाहन्छु –सारा भौतिकभन्दा पृथक् रहेर, सुखसुविधाका पछि नदौडेर, घरघरी व्यवधान बनेर आउने अनेक प्रपञ्चहरूबाट टाढै रहेर आफैँलाई चिन्ने र आफैँभित्र रमाउने अनि आफ्नो स्वतन्त्र संसारको निर्माण गर्ने चाहना पनि सल्बलाउँछन् । निर्माणका चाहनाहरू पूरा नहुँदै निर्वाणको मुखमा पुग्न थालेपछि बल्ल बोध हुँदो रहेछ जिन्दगीको स्वाद ।” 

(म अर्थात् विकीर्ण, पृ. ५२)

प्रस्तुत निबन्धांशमा ‘म’ भनेको आत्मा वा ब्रह्म हो । यो नै बन्धन र मोक्षको कारण भएको उल्लेख गरिएको छ । निबन्धकारले ‘म’ नै आत्मा हो र आत्माको अस्तित्वबोध हुनु नै आत्माको साक्षात्कार हो अर्थात् आत्मा स्थापित हुनु हो भन्ने विचार व्यक्त गरेका छन् । ‘म’ नै आफू हो, आफूले आफूलाई चिन्नु भनेको आत्मालाई चिन्नु हो । भौतिक सम्पत्ति बन्धन र क्षणिक भएकाले ती मोक्षका बाधक भएको निबन्धकारका वैचारिक चिन्तन प्रस्तुत भएको छ । यसमा निबन्धकारले भौतिकताप्रतिको वितृष्णा र आत्माप्रतिको आकर्षण नै आफ्नो स्वतन्त्र संसार निर्माण गर्न, आफूले आफैँलाई चिन्न शास्त्रज्ञान आवश्यक पर्ने कुरा बताएका छन् । आफूले स्वतन्त्र संसार निर्माण गर्ने चाहना हुँदाहँदै पनि ती पूरा नभएका र निर्वाण वा मुक्तिको तहमा पुग्दा नपुग्दै बोध हुन पुगेका निबन्धकारका विचार प्रस्तुत भएका छन् । 

निबन्धकारले यस निबन्धमा आफ्नै मौलिक संस्कार र संस्कृतिको अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । आफ्ना वैयक्तिक अनुभव र अनुभूति प्रकट गर्ने क्रममा अर्काको नक्कल गर्ने प्रवृत्तिले आफ्ना मूल्य, मान्यता बिर्सिंदै गएको विचार व्यक्त गरेका छन् । 

“हाम्रो आफ्नै सभ्यता र संस्कृति, सम्बद्ध  र वैज्ञानिक छ । हामीले आफ्नै समृद्ध, वैज्ञानिक सभ्यता र संस्कृतिलाई अवलम्बन गर्न सक्यौँ भने मात्र पनि निकै परिस्कृत बन्नेछ समाज । तर हामी पश्चिमा देशहरूले पठाएका अनेक विकृतिहरूलाई अन्धानुकरण र अन्धानुसरण गरिरहेका छौँ । छिमेकी देशले धार्मिक र सांस्कृतिक आवरणमा पठाएका विकृतिहरूलाई तामझामका साथ स्वीकार गरिरहेका छौँ । यो अन्धानुकरण र अन्धानुसरणले भुलिरहेछौँ हामीले आफ्नोपन पहिचानलाई ।” 

(खरानीको न्यानो, पृ. १२०)

प्रस्तुत निबन्धांशमा आफ्ना मौलिक संस्कृतिप्रति आक्रमण हुँदै गएकोमा निबन्धकार चिन्तित देखिएका छन् । हाम्रा आफ्ना मौलिक संस्कृति सम्बद्ध र वैज्ञानिक भएकाले ती परम्परित मूल्यवान् संस्कृतिको अनुसरण गर्नुपर्ने त्यसलाई बिर्सन नहुने उल्लेख गर्दै यिनको अवलम्बनबाट मात्र समाज सभ्य र परिष्कृत बन्ने विचार व्यक्त भएको छ । पश्चिमाहरूको नक्कल र देखासिकीले वर्तमानमा नेपाली संस्कृति प्रभावित हुँदै गएको, विकृति भित्रिएको तर्क निबन्धकारको रहेको छ । यस्तो अन्धानुकरण र अन्धानुसरणले आफ्नोपनलाई भुल्दै गएको प्रति निबन्धकार असन्तुष्ट देखिएका छन् ।

प्रस्तुत निबन्धसङ्ग्रहका निबन्धमा देशप्रेमका भावना छताछुल्ल पाइनुका साथै शैक्षिक एवम् राजनैतिक विसङ्गति, वर्गीयता, विश्व परिवेशको चित्रण गरिएको छ । यसमा भूगोल, प्रकृति, यातायातको असुविधा र कष्टकर यात्रालाई पनि स्मरण गरी आफ्ना अनुभव र अनुभूतिलाई निबन्धकारले विषय बनाएका छन् । माटोप्रतिको श्रद्धा, विश्वको कुनै पनि ठाउँमा पुगेपनि आफ्नो देशप्रतिको सामीप्यता र आत्मविश्वास नमर्ने विचार व्यक्त भएका छन् । यसका साथै उत्तरआधुनिक प्रवृत्ति, विसङ्गतिवादी–अस्तित्ववादी चिन्तन यहाँ प्रकट भएका छन् । ऋग्वेदको उषस् सूक्तको पुनर्पठन गरी ‘उषा–आमन्त्रण’ निबन्ध लेखेको देखिन्छ । यसमा उषाको महिमागान गाइएको छ ।

“तिमीबाटै सिकेको हो संसारले ब्युँझन ! तिमीबाटै जानेको हो लोकले उठ्न जाग्न । तिमीबाटै सिकेको हो मान्छेले जीवनको यात्रा गर्न र अनन्त यात्रा थाल्न । हो उषा ! मैले पनि तिमीबाटै सिकेको हुँ, तिमीबाटै जानेको हुँ संसार बुझ्न, उठ्न, जाग्न र संवेदनाका अनेकौँ यात्राहरू गर्न ।…’     

(उषा–आमन्त्रण, पृ. २३)

प्रस्तुत निबन्धांशमा निबन्धकारका हार्दिक र आत्मिक भावना प्रस्फुटन भएका छन् । सृष्टिको कारकत्व नै उषा अर्थात् ईश्वर भएको विचार व्यक्त भएको छ । सूर्यको उपासनासँगै उत्पत्ति र अन्त्य सम्भव भएको औँल्याउँदै संसारले ब्युँझन, उठ्न र जीवनको यात्रा गर्न उषाबाटै सिकेको कुरा बताइएको छ । उषाको यात्रासँगै मान्छेले अनन्त यात्रा प्रारम्भ गरेको बताउँदै निबन्धकारले उषाबाटै ज्ञान आर्जन गरेको, संसार बुझेको र संवेदनाका अनेकौँ यात्रा गर्न र जीवनलाई श्रुतिमधुर बनाउन सकेको वैचारिक दृष्टिकोण प्रस्तुत भएको छ ।

“विसङ्गतिका कोणबाट मात्र जिन्दगीलाई हेरियो भने यसको बतास कहिलेकाहीँ चर्को हुरी भएर आउँछ । उडाएर लैजान्छ जिजीविषाका बचेखुचेका र चुँडिएका तार । यदि जिन्दगी बुझियो भने र यसलाई सङ्गतिका कोणबाट हेरियो भने चुँडिएको तारबाट पनि दिन सकिन्छ सारङ्गीले जस्तै मीठो धून ! तार चुँडिएको खोक्रो सारङ्गीबाट मीठो धून निकाल्नु नै त हो जिन्दगी !”

(असङ्गत–विसङ्गत, पृ. १८९)

प्रस्तुत निबन्धांशमा विसङ्गतिवादी–अस्तित्ववादी चिन्तन प्रस्तुत भएको छ । निबन्धकारले निराशाका बीच आशाको सञ्चार र भविष्यप्रति आशावादी चिन्तन प्रस्तुत गर्दै जीवनलाई विसङ्गतिका कोणबाट हेर्न नहुने धारणा प्रकट गरेका छन् । जीवन रहस्यपूर्ण रहेकाले जीवनलाई सङ्गतिपूर्ण तरिकाले हेरेमात्र आशाहरू नमर्ने, जिन्दगीका तार नचुँडिने र सारङ्गीबाट निस्किएको मधुर धून वा लय नै जीवन बन्ने आशावादी दृष्टिकोण प्रस्तुत भएको छ । 

समवेत निबन्धसङ्ग्रहमा यी माथिका वैचारिक चिन्तन वा प्रवृत्तिका अतिरिक्त बन्धन, मोक्ष, सृष्टिचिन्तन, जन्म, मृत्यु, पुनर्जन्म, पञ्चतत्त्वलगायत पूर्वीय वैदिक मान्यता विषयका रूपमा आएका छन् । यस कृतिमा मानवीय अस्तित्व, व्यक्तिका द्वैद्य चरित्र, स्वैरकल्पना, मानवीय स्वतन्त्रताका भाव व्यक्त भएका छन् । यसैगरी श्रमको महत्त्व, जीवनको अर्थ, जीवनका सफलता, असफलता, इमानदारीता, यथार्थको प्रकटीकरण, औपनिवेशिकता, धर्म, संस्कृति, साइबर संस्कृति, जिजीविषा, समयको महत्त्व, फ्रायडवादी मान्यता, छिमेकीका मिचाहा र हेपाहा प्रवृत्ति, दुई छिमेकीका भिन्नता, भाषाप्रतिको श्रद्धा, स्थानीयता, नेपाली भूमिको महत्त्व, नेपालीपनलाई समेत निबन्धकारले आफ्ना अनुभूतिका रूपमा उजागर गरेका छन् । 

४. भाषाशैली

भाषा अभिव्यक्तिको माध्यम हो भने शैली लेखकको निजी चिनारी हो । प्रस्तुत समवेत निबन्धसङ्ग्रहमा निबन्धको भाषा प्रवाहशील, लालित्यपूर्ण एवं कलात्मक र काव्यिक शैली रहेको छ । यसमा अमूर्त कलाजस्तो भाषा, मृगका शावक नाचेजस्तै शब्दकला, पन्छीका सामगान एवं झरनाको छङ्छङ सङ्गीतजस्तो शब्द एवं नाद, पदावलीको लयबद्धता र अर्थगत गाम्भीर्यताले सशक्त रहेको छ । 

“…अक्षरका आँगनभरि पोखिनु अनुभूतिका बिस्कुन बनेर र शब्दका आँगनभरि पोखिनु भोगाइका बिस्कुन बनेर । औषधी हो विरेचनका लागि ।”

(पोखिनुको अर्थमा, पृ. ७८)

“नीलो आकाशको छातीमा चलमलाइरहेको बादलको संसार देख्दा लाग्थ्यो, हाम फालेर त्यहीँ पुगूँ र बादलमै भएर नियालूँ पृथ्वीलोकलाई ।…म बादल, पानी, आकाश र समुद्रलाई साथी बनाएर यात्रा गरिरहेछु ।”

(बादल र समुद्र, पृ. १४२)

प्रस्तुत निबन्धांशहरूमा अक्षरका आँगन, अनुभूतिका बिस्कुन, बादल, आकाश र समुद्रलाई बिम्बात्मक शैलीमा प्रस्तुत गरिएको छ । निबन्धकार त्यसैका साथी भएको, विचारका बिस्कुन फिँजाउन पाएको भाव कलात्मक एवं काव्यिक शैलीमा आलङ्कारिक भाषाका माध्यमबाट अभिव्यक्त भएको छ ।

यस निबन्धकृतिमा प्रशस्त सूक्तिमय वाक्यको प्रयोग भएको पाइन्छ । आलङ्कारिक भाषाले निबन्धलाई विशिष्ट उचाइ प्रदान गरेका छन् । पौराणिक बिम्ब र मिथकका साथै प्रकृति, संस्कृति, धर्म, दर्शनबाट मिथक लिएर निबन्धकारले आफ्ना निजी अनुभूति प्रस्तुत गरेको पाइन्छ । यहाँ बाघको लखेटाइ र मृगको कुदाइ, मर्नुभन्दा बहुलाउनु निको आदि उखानको प्रयोगले निबन्ध कलात्मक बन्न पुगेका छन् । 

५. निष्कर्ष

लक्ष्मणप्रसाद गौतमकृत समवेत निबन्धसङ्ग्रहमा निजात्मकता, वैयक्तिकता, वैचारिकता, स्मृतिबिम्बको प्रयोग, भावात्मक अनुभूतिको प्रकटीकरण, पूर्वीय एवं

पाश्चात्य दुवै चिन्तनलाई प्रस्तुत गरिएको छ । प्रायः सबै निबन्धहरू सशक्त, विशिष्ट र खँदिला खालका छन् । पुस्तकमा ध्यानस्थ छु म, उषा–आमन्त्रण, एउटा नदी छ आफैँभित्र, समभाव, आत्मा, स्फटिक र दर्शनलगायतका निबन्ध उच्च कलात्मक मूल्यका छन् । काव्यिक शैलीमा प्रस्तुत गरिएका यस सङ्ग्रहभित्रका निबन्धमा निबन्धकारका आत्मप्रस्फुटन पक्ष तीव्र प्रवाहशील र शैलीगत वैशिष्ठ्यता, विविधताका कारण अन्तर्वस्तु गहन, अमूर्त, साङ्गीतिक झङ्कार अभिव्यञ्जित छन् । यी निबन्धमा पौरस्त्य एवं पाश्चात्य दर्शनको समन्वित प्रभावलाई निबन्धकारका स्ववैयक्तिक अनुभव र अनुभूतिलाई संवहन गरेको प्रतिविम्बित निष्कर्ष प्राप्त हुन्छ ।