धरान, उप महानगरपालिका, सुनसरी, प्रदेश नम्बर १ का तीर्थ निरौला अहिलेका पुस्ताका चर्चित चित्रकार हुन् ।

सानै उमेरदेखि कलामा संलग्न भई विभिन्न किसिमले नेपाली कलाकारिताको विकास, विस्तार तथा उत्थानका निम्ति २०४० सालदेखि नै सार्वजनिक रूपमा कलाको क्षेत्रमा निरन्तर सक्रिय भूमिका खेल्दै, नेपाली कलाको क्षेत्रमा विशिष्ट योगदान दिँदै आएका छन् । कक्षा एकमा पढ्दादेखि नै चित्र कोर्ने गरेका निराैलामा त्यही बेलादेखि कलामा मोह बसेको बताउँछन् ।

‘स्कूले जीवनमा चित्र काेर्दाका बेला स्कूल र घरमै कला प्रदर्शनी गरेजस्तै चित्रहरु भित्तामा झुण्डाउँदा मलाई बडाे आनन्द लाग्थ्यो,’ साहित्यपोस्टसँग कुरा गर्दै निराैला भन्छन्, ‘त्यो बेला नै म सुन्दर चित्रहरु बनाउथेँ। यस्तो सुन्दर चित्रहरु कोरिरहने मेरो बानी देखेर स्कूलका साथीभाइले मलाई हौस्याउँदथे ।’

गुरुहरुले पनि राम्रो भन्दै प्रेरणा दिने गरेकाले उनी उत्साहित हुन थाले । उनी आफ्नो यस कार्यमा घरमा आमाबुबाले समेत मौन समर्थन गरेको र चित्र कोर्न कुनै बन्देज नलगाएकाले प्रतिभा हुर्कन सहज भएको उनी बताउँछन् ।

तीर्थ निरौला

निरौलाले चित्रहरु त अनगिन्ती बनाएका छन् तर उनका गणेश शृंखलाका र महिला शृंखलाका चित्रहरु ज्यादै चर्चित छन् ।

उनी भन्छन्, ‘मैले समय समयमा बनाएका सम्पूर्ण चित्र र तिनको प्रदर्शनीले मलाई उचाइ दियो । तीमध्ये पनि धरानमा बनाएको काल चक्र विशेषतः टर्निङ पोइन्ट बन्न पुग्यो ।’

यही कारण पनि उनी चित्रकला क्षेत्रमा अझै सक्रिय भएर लाग्नका लाग्न प्रेरित हुन पुगे ।

कुनै पनि चित्र कोर्नुअघि निरौला कुन विषयवस्तु प्रस्तुत गर्ने वा आफूलाई कस्तो भावनाले छोएको छ, त्यसको अभिव्यक्तिका लागि आफूलाई सबल बनाउँछन् र के बनाउने भनेर विषय छनोट गर्ने गर्दछन् ।

‘हुन त, म जस्तोसुकै चित्रहरु पनि बनाउँछु तर पनि म आधुनिक कला अन्तर्गतको अर्धअमूर्त शैली भावमा रहेरै चित्र कोर्छु,’ उनी भन्छन्, ‘चित्र कोर्ने विधि, प्रक्रिया र शैली मेरो आफ्नै प्रकारको छ । अर्थात् मेरो चित्र मौलिक छ । आफ्नै पनको छ ।’

निरौलालाई समाजमा घट्ने बाह्य घट्नाक्रमको साथै उनी भित्रको अन्तर मनमा स्वाभावतः घट्ने घट्नाक्रमले चित्र कोर्न प्रेरित गर्छ, उक्साउँदछ ।

उनी चित्र कोर्दा विशेषतः नितान्त निजी शैली वा मान्यतामा ध्यान दिन्छन् । उनी भन्छन्, ‘चित्र कोर्नुअघि चित्रभित्र विषयवस्तु छनोट, क्यानभासमा स्थान विभाजन, रङको प्रभाव, संयमित रेखा र टेक्स्चर इफेक्टलाई ध्यान दिन्छु ।’

निरौलाको चित्र कोर्ने कुनै निश्चित समय भने छैन । ‘मुड बनेपछि म राति, बिहान, दिउँसो जुनसुकै समयमा पनि चित्र बनाउँछु,’ उनले भने, ‘एउटा चित्र बनाइसक्न जतिसुकै दिन रात लागे पनि चित्र कोरेर नसकिँदासम्म त्यसैमा लागिरहन्छु । त्यस समयमा चित्र कोर्नु मेरा लागि एउटा ध्यान गर्नुजस्तै हुन्छ । जब चित्र पूर्ण हुन्छ, त्यसपछि मनमा आनन्दको सागर दौडन्छ ।’

निरौलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा एकल चित्रकला प्रदर्शनी र सामूहिक कला प्रदर्शनी गरेका छन् । साथै, उनले नेपाल, भारत, कोरिया, बेलायत लगायत विभिन्न देशमा भएका अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनीहरुमा पनि भाग लिएका छन् ।

निरौलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट धेरै अवार्ड तथा पुरस्कारहरु पनि जितेका छन् ।

निरौलाले आफ्ना पेन्टिङमा जुनसुकै रङको पनि प्रयोग गर्ने गर्दछन् । उनी भन्छन्, ‘म चित्रमा हल्का र आवश्यकीय रङको छनोट गर्छु । प्रायः मलाई रातो, नीलो, खैरो र पहेलो रङ मनपर्छ ।’

निरौला चित् रकोर्ने कामबाहेक नेपाली कलाको विकास विस्तार र सम्बर्धनका लागि कला क्षेत्रमा कलम पनि चलाउँछन् । उनी भन्छन्, ‘कलामा समीक्षक भएर पनि अघि बढिरहेको छु । साथै यदाकदा कविता पनि कोर्ने आदत छ मेरो । मेरो कला निबन्धको पुस्तक पनि नेपाल प्रज्ञा प्रतिष्ठानबाट निस्किएको छ ।’

अहिलेसम्म निरौलाले देश विदेशमा गरेरे थुप्रै चित्रहरु बिक्री गरिसकेका छन् ।