घनश्याम राजकर्णिकार एउटा त्रिवेणी व्यक्तित्व । त्रिवेणी पहिचान । स्थापित नियात्राकार, प्रतिष्ठित व्यवसायी, सहृदयी समाजसेवी । नेपालमा पहिलो पटक नयाँ उद्यम भित्र्याउने घरानाका सदस्य । त्यही व्यवसायलाई निरन्तरता दिने पात्र उहाँलाई परिचय दिने विभिन्न आयाम छन् तर नेपाली नियात्राका पाठक भने घनश्याम राजकर्णिकार भन्ने बित्तिकै मीठा नियात्राका सर्जक सम्झन्छन् । चिन्दछन् । अल्प तथा मृदुभाषी धनश्याम दाइ साँच्चै धेरैका लागि धेरै हुनुहुन्छ । झण्डै असी वर्षे उमेरमा पनि उहाँको सक्रियता हेर्दा लाग्छ उहाँ बुढो हुनुभएन र कहिल्यै हुनुहुने छैन । भरखरै उहाँले आफ्ना पिताजी अर्थात् नेपालमा पाउरोटी व्यवसायको उद्योग स्थापना गर्ने प्रथम व्यक्ति कृष्णबहादुर राजकर्णिकारबारे पुस्तक लेखिसक्नु भएको छ । ‘उहाँले भोग्नु भएका अवहेलना, दुःख कष्ट र संयोगबाट कसरी पाउरोटी उद्यम नेपाल भित्र्याउनु भयो भन्ने तथ्य तथा सत्ययुक्त पुस्तक लेखेर सिध्याएँ’ वरिष्ठ सर्जक राजकर्णिकारले आफ्ना वर्तमान दैनिकी सुनाउनु भयो । उहाँका पिता कृष्णबहादुर राजकर्णिकारले कलकत्ता पुगी पाउरोटी बनाउने सीप सिकेर वि.सं. २००५ मा नेपालमा पहिलो पटक पाउरोटी (केकबेक) संस्कृति भित्र्याउनु भएको थियो । पिताजीले गर्नुभएको दुःख तथा मिहिनेत उद्यमशील नेपाली युवाका लागि प्रेरणादायी हुनसक्ने र व्यवसायमा नयाँ सम्भावना खोज्नु पर्छ भन्ने आवश्यकता बोध गर्न सकुन् भनेर यस्तो पुस्तक तयार गरेको उहाँ बताउनुहुन्छ । उहाँको विचारमा पाउरोटी स्थानीय नामाकरण हो, यही चरणबाट नेपालमा एउटा अन्तर्राष्ट्रिय खानाको संस्कृति भित्रिनु नेपालका लागि ऐतिहासिक काम थियो । यस्तै उहाँ बाल नियात्रा सङ्ग्रह र आफ्नो थर ‘राजकर्णिकार’ बारे अनुसन्धानमूलक संस्मरणात्मक कृतिहरूलाई पूर्णता दिने काममा पनि लागि पर्नुभएको छ । ‘लेख्दै छु, खोज्दै छु यो सकिने काम होइन, लेखन र अध्ययन मेरो जीवन नै भइसक्यो’ उहाँ भन्नुहुन्छ । साहित्य जीवनका लागि हो र जीवनबाटै साहित्यको सिर्जना हुन्छ भन्नेमा विश्वस्त उहाँ जीवन र साहित्य एक अर्कासँग अभिन्न र अन्योन्याश्रित भएकाले आफू लेखनमा रमिरहेको र आगामी दिनमा पनि हात चलेसम्म लेखिरहेने साहस व्यक्त गर्नुहुन्छ । केही चिन्तन केही मन्थन (वि.सं.२०३५) विदेशको यात्रा ः स्वदेशको सम्झना (नियात्रा, २०३७), देश प्रदेशको भ्रमण (नियात्रा, २०४३), सम्झनाको लहरमा लहरिंदै जाँदा (संस्मरण, २०५२), पवित्र सम्झना आमाको (संस्मरण, २०५५) बौद्ध तीर्थयात्रा ः नालन्दादेखि लुम्बिनीसम्म (नियात्रा, २०६०) गजराज राजकर्णिकारको वंशावली (अनुसन्धान, (२०६१) अनुभव र अभिव्यक्तिमा घनश्याम राजकर्णिकार (अन्तरर्वार्ता, २०६२) बुद्ध ज्योतिका केही रश्मि (निबन्ध सङ्ग्रह, २०६४) यात्रा अमेरिकाको माया नेपालको (नियात्रा, २०६९), यात्राको लहरीमा हिउँफूलकी रानी (नियात्रा, २०७४) घनश्याम राजकर्णिकारका प्रतिनिधि नियात्रा (२०७६) प्रकाशन गरिसक्नु भएका अग्रज सर्जक राजकर्णिकारले ’बुद्धको सम्झना कल्याणको कामना’ (वि.सं.२०३९) को सम्पादन पनि गर्नुभएको छ । विभिन्न पत्रपत्रिकाहरूमा साहित्यिक, औद्योगिक, आर्थिक तथा सांस्कृतिक विषयका रचनाहरू प्रकाशित भएका छन् ।
लेखनलाई जीवनको एक पाटो बनाउनु भएका राजकर्णिकारले कहिल्यै पनि प्राप्तिको साधन वा माध्यम बनाउनु भएन लेखनलाई तर उहाँले खेलनमा लागेकाहरूको राजनीतिक भागदौड, नियुक्तिको खेलोफड्को देख्नुभएको छ । उहाँ यस्ता प्रवृत्तिलाई अविकसित मनोवृतिको चरम खेलवाड एवं सुकर्मको हार र कुकर्मको असभ्य नाच भन्न रुचाउनु हुन्छ । लेखकहरूले आफ्नो मर्यादा आफै राख्नुपर्नेमा उहाँ स्पष्ट हुनुहुन्छ । लेखनले चिनिने हो भन्दै उहाँ थप्नुहुन्छ ‘ढोकाढेकामा गएर लेखकीय धर्म बिसाएर प्राप्तिको खेलोफड्को गर्नुहुँदैन ।’ पुरस्कारको बाढी, नियुक्तिको बिस्यारी, चर्चाको हुरीमा उहाँ आफूलाई शून्यस्थानमा पाउनुहुन्छ । यस्ता प्रवृत्तिलाई उहाँले दया लाग्दो बिडम्बना ठान्नुहुन्छ । पाठकलाई चित्त बुझाउन सक्नु नै उहाँ आफूले पाउने सबैभन्दा ठूलो पुरस्कार हो भन्नुहुन्छ तर उहाँले पाएका पुरस्कार, तथा सम्मानको लर्को हेर्दा यस्तो लाग्छ उहाँलाई खोज्दै ती पुरस्कार, तथा सम्मान कृष्ण पाउरोटी चोक आएका हुन् । धाएका हुन् ।
रत्नश्री सुवर्ण पदक (वि.सं.२०४२)सयपत्री राष्ट्रिय सम्मान ( वि.सं.२०५८), एकिकृत पौरख सम्मान (वि.सं.२०५९)पुगताभूमि जेतवन विहार सम्मान ( वि.सं.२०५९), राष्ट्रिय नागरिक सम्मान (वि.सं.२०६१), नन्दी विद्यार्थी कल्याण कोष सम्मान (वि.सं.२०६१) राजकर्णिकार समाज हना–पौ (सम्मानपत्रहरू), नेपाल संवत् ११२५ (वि.सं.२०६१), ने.सं. ११२८ (वि.सं.२०६४), ने.सं. ११३० (वि.सं.२०६६), ने.सं. ११३५ (वि.सं. २०७१), ने.सं. ११३७ (वि.सं.२०७३) जस्ता पुरस्कार तथा सम्मान पाउनु भएको छ । यसैगरी बुकफिल्ड इन्टरनेशनल कलेज कदरपत्र (वि.सं. २०६२), उपत्यका बाल कविता प्रतियोगिता सम्मान–पत्र (वि.सं. २०६२) दीपा–जनमत सम्मान (वि.सं. २०६३), अन्तर्राष्ट्रिय शान अवार्ड (लिट्रेचर) (वि.सं.२०६५) महाकवि देवकोटा शताब्दी सम्मान (वि.सं.२०६६),दायित्व वाङ्मय सम्मान (वि.सं.२०६७), धर्म–विजय–पदनम सम्मान (वि.सं२०६७) भानुभक्त द्विशताब्दी पुरस्कार (वि.सं.२०७१), भानुभक्त द्विशताब्दी स्वर्णदक (वि.सं.२०७१) महाकवि देवकोटा पुरस्कार (नगद राशि रु. १,००,०००।–सहित) सम्मान पत्र, नेपाल सरकार (वि.सं.२०७१) प्राप्त गनुृभएको छ । एक वडा जात्रा व्यवस्थापन सम्मान (वि.सं.२०७२), प्रहरी द्वैमासिक सम्मान (नगदसहित, वि.सं. २०७३), समी साहित्य साधना सम्मान (वि.सं.२०७३ (नगद राशि रु.१,००,१०१।– सहित) बैजयन्ती स्रष्टा सम्मान (वि.सं. २०७३), प्रशंसापत्र, लियो क्लव अफ काठमाडौं, विशाल बजार (वि.सं.२०७३), लीलाध्वज थापा साहित्य प्रतिष्ठान स्रष्टा–सम्मान (वि.सं.२०७४), नेपाल भाषा सकिपाकासा सुभाय पौ (नेपालभाषा छोटो चलचित्र प्रशंसापत्र), (वि.सं.२०७५), कमलपोखरी छटपूजा समाज सम्मान (वि.सं.२०७५), कदरपत्र, कमलपोखरी स्पोर्टस क्लव (वि.सं.२०७५) हलिं नेवाः दबू सभाय पौ (कृतज्ञता ज्ञापन, वि.सं.२०७६) नेपाल रेयुकाई कृतज्ञता (वि.सं.२०७६) ले विभूषित सर्जक राजकर्णिकार निरन्तर लेखनलाई नै सम्मानतथा पुरस्कारको आधार भन्नुहुन्छ ।
पिता कृष्णवहादुर राजकर्णिकार र माता प्राणमाया राजकर्णिकारका पुत्र घनश्याम वि.सं.१९९८ माघ ३ जन्मनु भयो । कमलपोखरी, वडा नं. १, काठमाडौँमा जन्मनु भएका उहाँ हुर्कदै जाँदा कमलपोखरी चोकले थप पहिचना बनाएको थियो ‘कृष्ण पाउरोटी चोक’ । वर्तमान पुस्ताले रेडियो नेपालबाट बज्ने विज्ञापन ‘जति खायो उति खाउँखाउँ लाग्ने कृष्ण पाउरोटी’ डाडाकाँडामा सुनेका भए कमलपोखरी नजिक कृष्ण पाउरोटीको दुकान देखेर सत्य अनुभव गर्दाहुन् ।
नियात्रा, निवन्ध र संस्मरणमा बढी कलम चलाउने उहाँको पहिलो रचना ‘मिलनको क्षण’ (एकाङ्की) २०२४ असार १० गतेको गोरखापत्रको शनिबार परिशिष्टाङ्कमा प्रकाशित भएको थियो । नियात्राकार घनश्याम राजकणर््िाकारका नियात्राले विविध स्वाद दिन्छन् । नियात्रा लेखनमा केही वैशिष्ट्य पक्ष स्थापना र उजागर गरेका छन् । उहाँका नियात्रामा वर्णित स्थान र घटना शब्दमा भन्दा चित्रमा देखिन्छ । लेखकका अनुभवलाई स्वःअनभूति गर्छ सकिन्छ । पाठकलाई आफैँसँग हिँडाउन सक्ने अनुभवी वरिष्ठ नियात्राकार राजकर्णिकारको लेखन कौशलमा नै उहाँको सफलता सन्निहित छ । यो उमेर अर्थात् ७९ वर्षे बूढ्यौलीमा आइपुग्दा उहाँले विगतलाई हेरिरहनु भएको छ र देख्नुहुन्छ–बल, बुद्धिले भ्याएसम्म धेरै सिक्नुभयो, धेरै गर्नुभयो र केही कमाउनु भयो केही गुमाउनु भयो । धेरै देख्नुभयो, केही लेख्नुभयो । यसैलाई उहाँ समग्रमा जीवन भन्न रुचाउनु हुन्छ । जीवनलाई परिभाषामा व्यक्त गर्न सकिदैन भन्दै उहाँ जीवनलाई जानी नसक्नु, बुझी नसक्नु अनुभव गर्नुहुन्छ । जीवनका बाँकी समयमा भगवान्ले जे जति दिएका छन् छ त्यसैमा सन्तुष्ट र सुखी भएर राष्ट्रप्रतिको आफ्नो दायित्व निर्वाह गर्दै बिताउने निश्चय गर्नुभएका सर्जक राजकर्णिकार सहज जीवनका लागि शान्त रहनुपर्ने बताउनु हुन्छ ।
नेपाली नियात्राको आधुनिक कालको दोस्रो चरणका सशक्त लेखक राजकर्णिकारमा विदेशको वर्णन गर्दैजाने र त्यसका नेपालमैत्री आग्रह, अनुभव तथा शुभेच्छा मिसाउने विशेषता छ । वेलायका नदी हेर्दै गयो, पुल हेर्दै अनि नेपालमा पनि यस्तै हुनुपर्ने इच्छा, आकाङ्क्षा आग्रह व्यक्त गर्नुहुन्छ । तुलनात्मक सन्दर्भले उहाँका नियात्रा सिंगारिएको हुन्छन् । ‘राजकर्णिकारका नियात्राका खास मौलिक पहिचान भन्नु नै राष्ट्रियताको हृदयग्राह्य यात्रानुभूतिको सरलीकृत भाव प्रवण हो’ वरिष्ठ समालोचक प्रा. डा. कृष्णप्रसाद दाहाल सर्जक घनश्याम राजकर्णिकारको लेखकीय मूल्याङ्कन गर्नुहुन्छ । प्रायः सबै विदेश भ्रमणका नियात्रामा नियात्राकार राजकर्णिकारले विदेश र नेपालको तुलनात्मक चित्र प्रस्तुत गर्नुभएको छ । अर्को शब्दमा भन्ने हो भने उच्च व्यासायिक घरानाका सदस्य राजकर्णिकारले विश्वका जति ठाउँ टेक्नु भएको छ त्यहाँ नेपाल भेट्नु भएको छ । देख्नु भएको छ । उहाँका निबन्धले स्पष्ट गर्छन् राजकर्णिकार विश्वका धेरै ठाउँ टेक्ने तर जतातजै नेपाल देख्ने स्रष्टा हुनुहुन्छ ।
आत्मसन्तुष्टिका लागि लेख्ने उहाँ मूलतः आफ्नो अस्तित्व र पाठकका लागि लेख्छु भन्नुहुन्छ । आफ्ना अनुभव, अनुभुति, विचार सम्प्रेषण गर्नको लागि लेख्छु भन्दै नेपाली वाङ्मयमा जीवन्त हुनुको लागि लेख्ने गरेको पनि उहाँ बताउनु हुन्छ । आफूले गरेका अधिकांश विदेश यात्रामाथि नियात्रा लेख्ने नियात्राकार राजकर्णिकारले नेपालमा प्राप्यः सबै नागरिक पुगेका स्थानको वर्णनलाई जीवन्त बनाउने कला देखाउनु भएको छ । लुम्बिनी पोखरा वा कुशीनगर यी स्थानलाई सर्वसाधारणका आँखाले भन्दा भिन्न देख्न सक्नु राजकर्णिकारको लेखन दक्षता हो । काठको एउटा मुढोलाई सुन्दर फर्निचर देख्न सक्ने क्षमता छ नियात्राकार राजकर्णिकारमा । सरल लेखाइमा शाब्दिक चित्रयम प्रस्तुतिले उहाँका नियात्रा पढ्दा रोचकता उत्पन्न हुन्छ । वेष्टमिनिष्टर पुलको अनुभूति पढिदैन, देखिन्छ । यस्तो लाग्छ पाठक आफैँ त्यहाँ पुगेको छ । आर्थिक सम्पन्नताका कारणले पनि हुनसक्छ उहाँको लेखन सम्पर्क, भेटघाट, होटल, बसोबास तथा भ्रमण गरिएका स्थान उच्चस्तरका हुन्छन् तर बनारसको भद्रगोल र स्वम्भूका बाँदरका ‘भाले’ नामजस्ता मसिना पक्षलाई पनि नियात्रामा केलाइएको छ । यसले स्पष्ट गर्छ नियात्राकार राजकर्णिकार हरेक साना घटनामाथि पनि नियात्रा लेख्न सक्नुहुन्छ, हरेक यात्रामा उहाँ नियात्रा लेखन कर्मप्रति सचेत र तत्पर देखिनु हुन्छ । हल्कासँग विषय प्रवेश गरी त्यसका विविध पक्ष खोतलेर नियात्रामा लेखक राजकर्णिकारको बैद्धिकता देखिन्छ । सङ्ग्रहभित्रको लुम्बिनी नियात्रा केवल ‘नियात्रा’ होइन । यसले उहाँको बैद्धिकता, इतिहासको जानकारी र गम्भीर अध्ययनको पुष्टि गर्छ । वास्तुकलाविद्व् टाँगेले लुम्बिनीको खोज, अनुसन्धान तथा विकासमा दिनुभएको योगदान र ओशो रजनिसले बुद्धलाई ‘अतुलनीय प्रज्ञापुरुष’ भनी व्यक्त गर्नुभएका धारणलाई नियात्रामा उल्लेख गरिएकोछ जसमा साहित्यिक मात्र होइन साँस्कृतिक, सामाजिक, राजनीतिक तथा अन्तर्राष्ट्रिय महत्व, सन्देश तथा चेत छ ।
नेपाली साहित्य विशेष गरी नियात्रा साहित्यमा लागि परेर वि.सं. २०२८- ०२९ देखि हालसम्म यही विधामा केन्द्रित रहेर नियात्राको विकासमा योगदान दिएँ कि भन्ने लाग्छ उहाँलाई तर त्यसको मूल्याङ्कन पाठकले गर्नुपर्ने बताउनु हुन्छ । यस विषयमा लेखक प्रमोद प्रधानले भन्नुभएको ‘घनश्याम राजकर्णिकार २०३७ सालमा विदेशको यात्रा ः स्वदेशको सम्झना प्रकाशित भएपछि निरन्तर यसै क्षेत्रमा समर्पित भएर लागे । यो आफैमा अत्यन्त महत्वपूर्ण कुरा हो । बास्तवमा भन्ने हो भने बेलाइततिर बरालिँदाबाट जन्मिएको नियात्रालाई हुर्काउने र पालनपोषण गरेर अहिलेको स्थितिसम्म पुयाउनमा उनको योगदान अतुलनीय छ । जन्माउनु एउटा कुरा हो , तर हुर्काउनु पनि त्यतिकै महत्वपूर्ण छ । यो दिृष्टले हेर्दा पनि नेपाली नियात्राका क्षेत्रमा घनश्याम राजकर्णिकारको योगदानलाई बिर्सिन सकिँदैन । साथै उनको नियात्रा कृति लोकप्रिय छन् । यी सबै कारणहरुबाट हेर्दा निश्चिन्त भएर भन्न सकिन्छ, घनश्याम राजकर्णिकार नेपाली नियात्राका विशिष्ट प्रतिभा हुन्’ भन्ने मूल्याङ्कन उहाँलाई स्वभाविक लाग्छ । नियात्रा र निबन्धमा स्थापित उहाँ यदाकदा कविता पनि लेख्नुहुन्छ । उहाँले आफैँबारे कविता लेख्नु भएको छ । एउटा विशिष्ट परिवेशमा उहाँले आफँैमाथि कविता लेख्नु भएको हो । परिवारभित्रैबाट कृष्ण पाउरोटी भण्डारको अस्तित्व नामेट गर्न गरिएको दुुष्प्रयासले पीडित उहाँले कवितामा ती पीडा उतार्नुभएको छ । ‘कोरोना (कोभिड–१९)ले समस्त मनुष्य जातिलाई त्रसित तुल्याएको अनुभव सर्जक राजकर्णिकारले गर्नुभएको छ । ‘विश्वलाई भयभित बनाएको छ, असङ्ख्य नरनारीको असामयिक अवशान भएको छ, यो महामारीले विश्व र विज्ञान कति निरीह रहेछ भन्ने देखाउँछ । यसको एउटा सबल पक्ष भनेको–यसले विश्वभातृत्वको संस्कार जगाएको छ र मानिसलाई अझ बढी सिर्जनशील तुल्याएको छ’ सर्जक राजकर्णिकार वर्तमान समयको चित्र उतार्नु हुन्छ ।
विद्युतीय लेखन सामग्रीबारे उहाँको आफ्नै अनुभव छ । उहाँको विचारमा आधुनिक विज्ञानले मानिसको जीवनशैलीलाई धेरै सहजता उपलब्ध गराएका मध्ये विद्युतीय लेखन पनि एक हो । यसले पढ्न संस्कृतिमा अझ विकास भएको उहाँ ठान्नुहुन्छु । नेपाली साहित्य दिनदिनै फस्टाउँदै, झाँगिदै एवम् उन्नतशील र विकसित भइरहेको देख्नु भएको छ उहाँले । आप्mनो समयमा केही विधामा मात्र सीमित नेपाली साहित्यमा अहिले नयाँ नयाँ विधाहरुको आगमन र प्रयोग भइरहेको र यसले नेपाली साहित्यलाई धनी बनाएको अनुभव गर्नुहुन्छ सर्जक राजकर्णिकार । आफूले भर्खर भर्खर नियात्रा लेख्न थाल्दा (वि.सं. २०२८÷०२९ तिर) नेपाली नियात्राका पुस्तक र नियात्राकारहरू हातको औंलामा गन्न सकिने विगत छ उहाँसँग । त्यसबेला यसलाई कौमार्य (भर्जिन) विधा मानिन्थ्यो तर अहिले यस्तो छैन उहाँको विश्लेषणमा । ‘प्रत्येक वर्ष नियात्राका पुस्तकहरू प्रकाशित हुने क्रम जारी छ । ‘स्तरीय नियात्राकारको आगमनले नियात्रा विधाले नेपाली साहित्यमा राम्रो जग बसालिरहेको छ’ उहाँ नियात्रा लेखनको सम्भावनामा आशावादी हुनुनुहन्छ । एम.ए. (अर्थशास्त्र) मा गर्नुभएका सर्जक राजकर्णिकारले जर्मनीबाट प्रोफेसनल एजुकेसन एण्ड एडभान्स ट्रेनिङ लिनुभएको छ । कृष्ण पाउरोटी भण्डार प्रालिका अध्यक्ष तथा प्रबन्ध सञ्चालक उहाँले नेपालका अधिकांश जिल्ला, भारत, जर्मनी, संयुक्तअधिराज्य, हल्याण्ड, फ्रान्स, बेल्जियम, स्पेन,इटली, स्विट्जरल्याण्ड, दुबई, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, हङकङ, डेनमार्क, अष्ट्रिया, सिङ्गापुर, अमेरिका लगायत मुलुकको भ्रमण गर्नुभएको छ । वि.सं.२०३४ मा जापान गएको औद्योगिक अध्ययन टोलीमा नेपालको प्रतिनिधि सदस्यका हैसियतमा सहभागी उहाँले विविध क्षेत्रीय तथा राष्ट्रिय गोष्ठिहरूमा कृष्ण पाउरोटी भण्डारको तर्फबाट प्रतिनिधित्व गर्दै कार्यपत्रहरू प्रस्तुत गर्नुभएको छ ।
विभिन्न सामाजिक कार्यमा संलग उहाँले राजकर्णिकार समाज(वि.सं.२०५७), बौद्ध प्रवचन समाज (वि.सं.२०६८) नेपाल पाउरोटी उद्योग संघ (वि.सं.२०४९) जस्ता सामाजिक संस्थाको संस्थापक सदस्य भई विशिष्ट योगदान दिनुभएको छ । यस्तै उहाँ ‘आखे’ (नेपाल भाषा)साहित्यिक प्रकाशन (वि.सं. २०५४) र मनमती साहित्य समाज (वि.सं. २०७३) को संरक्षक हुनुहुन्छ । जनमत साहित्यिक प्रकाशन (वि.सं.२०५९) मानार्थ संरक्षक उहाँ ‘सितु’ (नेपाल भाषा)साहित्यिक प्रकाशन (वि.सं. २०४३) नेपाल साहित्य मन्दिर (वि.सं.२०५४) को सहसंरक्षक हुनुहुन्छ । नेपाल पर्यटन पत्रकार संघको कोषाध्यक्ष (वि.सं.२०४९–०५१) भानुभक्त द्विशतवार्षिकी समारोह समिति, नेपाल सरकार (वि.सं. २०७१) को सदस्य, नेपाल विपश्यना केन्द्र वि.सं.२०५९–२०६०) ट्रष्टि सदस्यको अनुभव र योगदान छ उहाँसँग । नन्दि माध्यमिक विद्यालय तथा नन्दी रात्री माध्यमिक विद्यालय व्यवस्थापन समिति (वि.सं. २०५०–२०५२), पेन नेपाल (वि.सं. २०७०–२०७५) कार्यकारिणी सदस्य भइसक्नु भएका उहाँले कमलपोखरी टोल सुधार समिति (वि.सं.२०४७ –२०५०) एक वडा जात्रा व्यवस्थापन तथा समाजसेवा समिति (वि.सं.२०७५) सल्लाहकार भई समाजसेवा गर्नुभएको छ । सोसाईटी अफ इण्डियन बेकर्स, न्यू दिल्ली, भारत (सन् १९७८, वि.सं.२०३५) एसोसियसन अफ बेकरी इण्डष्ट्रि, मुम्बई, भारत (सन् १९९८, वि.सं.२०५५) नेपाल रेडक्रस सोसाइटी (वि.सं.२०५१) साहित्यिक पत्रकार संघ (वि.सं.२०४१) सिर्जनशील साहित्यिक संघ (वि.सं.२०४४) नेपाल बाल साहित्य संघ (वि.सं.२०४४) सुनकोशी साहित्य प्रतिष्ठान (वि.सं.२०५०) धर्मकीर्ति (बौद्ध प्रकाशन, वि.सं.२०५१) गीता समुदाय प्रकाशन संस्था (वि.सं.२०५२) सुनसरी साहित्य प्रतिष्ठान (वि.सं.२०५३) धर्मोदय सभा (वि.सं.२०५३) सिस्नुपानी नेपाल (वि.सं.२०५९) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर (वि.सं.२०७३) को आजीवन सदस्य राजकर्णिकारले लेखन, व्यवसाय र समाज सेवालाई त्रिवेणी बनाउनु भएको छ ।
आफ्नै आँखामा
(नियात्राकार घनश्याम राजकर्णिकारको आँखामा कवि घनश्याम राजकर्णिकार)
खङ्ग्रिएको मनको आवाज
ङ्ग्रिएको मनको आवाज
व्यग्रताको तातो रापले
मेरो मन आज खङ्ग्रिँदै छ
बाधा व्यवधानको बाढीले
मेरो आशा आज बग्दै छ ।
चाहनाहरु भत्किँदै जाँदा
ग्लानिका धूवाँहरु उड्दै छन्
शान्ति छैन घायल यो मन
कान्ति सारा हराइरहेछन् ।
कल्पनाको आकाशमा
पन्छी भएर म कति उडूँ
अस्थिरताको जञ्जालमा
यो ढुकढुकी कति अल्झाऊँ ।
यथार्थको परिवेशमा अब
निराशा मात्र म कति अँगालूँ
जीवनका नवीन पानाहरु
खोतलेर अझै अघि बढ्नु छ
हानीनोक्सानीको बादलबाट
सङ्कल्पको घाम लगाउनुछ
गन्तव्य हराएको बटुवा म
मूलबाटो छिटै पहिल्याउनु छ ।
जीवनका पानाहरु सजाएर
उद्देश्यका रेखाहरु कोर्नु छ
प्रदीप्त दियो जगाएर
कार्यशील पाइला चाल्नु छ ।
आस्थाको आँगन सजाएर
चिरनिद्रा अगाडि नै
अपूरा चाहनाहरु आफ्ना
सिर्जनामा उमारेर जानुछ ।
घनश्याम राजकर्णिकार
हामीले यो स्तम्भको नाम ‘त्रिभुवन‘ राखेका छौँ । साहित्यमा त्रिभुवनको अर्थ हुन्छ, सर्जक, सिर्जना र पाठक । संयोगले यो स्तम्भका लेखकको नाम पनि त्रिभुवन नै छ । यो स्तम्भमा हामीले प्रचारबाट टाढा रहेर निरन्तर साधना गर्ने सर्जकलाई उहाँको आफ्नै जीवनमाथि कविता लेख्न लगाएका छौँ भने उहाँको त्रिभुवन जीवनको बारेमा सर्जक एवं पत्रकार त्रिभुवनचन्द्र वाग्लेलाई उहाँको जीवनमाथि टिप्पणी गर्न अनुरोध गरेका छौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।