पर्खिनु भनेको…
अँध्यारो कोठाका भित्तामा उभिएको तस्बिरझैँ,
मनको भित्री कुनामा पनि थुप्रिनु रहेछ।
पर्खिनु भनेको…
सपनाको तेलमा जलाएको दीप,
आँखाले नदेख्ने उज्यालोको प्रतिबिम्ब
बर्सातले निथ्रुक्क भिजाउँदा
मन पखालिन नसकेको लमतन्न सडक रहेछ।
पर्खिनु भनेको…
चिसो हावाले टाउको छाम्दा
स्मृतिका पातहरू काँचै भेटिने
बाहिर सग्लो देखिँदा-देखिँदै
भित्र प्वाल परेको खोक्रो सिमल रहेछ ।
पर्खिनु भनेको…
फर्किने कोही नआउँदासम्म समयका खुट्टा भाँचिए जस्तो
मनको उचाइ ताछिए जस्तो
आशालाई अलमलमा पारेर अवसरहरू चोरिनु रहेछ ।
साँच्चै पर्खिनु भनेको त…
साँझको सुस्त सूर्यको हात पृथ्वीको शिरमा राखेर
उत्तेजित अन्धकारले उज्यालोका केश उखेल्नु पो रहेछ ।
पर्खिनु भनेको…
छुटेकाहरूसँगै हावाको पुल तरेर
सपनाको बाटो हुँदै
काँडामाथि असावधानीका पाइला टेक्दै
हाँसो-रोदनका गीतमा सुरुवातको मिठास जीवित राख्नु रहेछ ।
पर्खिनु भनेको…
एकाएक आउने हावाले मनको ढोका खोलेर भागेझैँ
मुटुको धडकनमा टाँसिएको नाम
स्मृति र प्रेम अझै जिउँदो राख्नु रहेछ ।
पर्खिनु भनेको…
जीवन र समयको बीचमा मनको एउटा हिस्सा
सदाका लागि फसाएर
अज्ञात यात्राको प्रतीक्षा गर्दै अन्तत
आफैँलाई पत्ता लगाउनु रहेछ ।
पर्खिनु भनेको…
उत्तरहरूका प्रश्नसँगै मौन पानीका दहहरूमा
आशा र निराशा तैराउँदै
मनको नदी बगिरहँदा पनि कसैको छाया
पानीमाथि खेलाउनु रहेछ ।
पर्खिनु भनेको…
यति मात्र कहाँ हो र !
अधुरो समय, अधुरो याद
अन्ततः पूर्णतातर्फ घोक्र्याउँदै
सारा क्षणलाई दागबत्ती दिन घाटमा
अन्तिम पटक उभिनु पो रहेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२१ फाल्गुन २०८२, बिहीबार 









