धेरै टाढा पूर्वतिर एक घरमा बूढा, बूढी, बूढाका भतिजा र बुहारी अनि आफ्नै विधवा गर्भवती छोरी जम्मा पाँच जीउ थिए । अरू पाहुना त्यो घरमा बिरलाकोटि आउँथे । भतिजा चाहिँलाई सब पिटु भनेर बोलाउँथे । त्यही भतिजाले आफ्नी छोरीका धन हिनामिना गर्ला भनेर बूढाले आफैसित राखेको थियो, त्यो आज चोरी भयो ।

बूढाले चिन्ताग्रस्त भएर बूढीसित भन्यो, “कि भाले कि पोथी अरू को हुन्थ्यो !”

बूढी निहुरिएर चुप लागी । पिटुले विधवासित सोध्यो, “बहिनीलाई कसमाथि शंका लाग्छ ?”

विधवाले भनी, “मलाई त यो घरको मान्छेमाथि शंकै छैन ।”

पिटुलाई उसकी स्वास्नीले एकान्तमा भनी, “मलाई त यही घरको मान्छेमाथि शंका लाग्छ ?”

पिटुले फेरि भन्यो, “अरू त हामीलाई पो दोष लाउँछन् ।”

आमासित छोरीले भनी, “मेरो रहेनछ चोरोस्… मलाई त अलिकति पनि वास्ता लाग्दैन, म यहीं बसिहाल्छु, मलाई खान लाउन बाले दिइहाल्नुहुन्छ ।”

आमाले छोरीसित भनी, “तँ धेरै कुरा नगर् ।”

दुइ तीन दिनसम्मन् हरेकले हरेकको ध्यान गरिरह्यो, त्यहाँपछि सब आफ्नै ध्याउन्नमा लागे ।

एकदिन पिटु उठ्दा स्वास्नी भरखर कताबाट स्वाँ स्वाँ गर्दै आइपुगेकी रहिछ । उसितै शंका उठ्यो । उसले भनी, “नन्द कराएको सुनेर ब्यथा लागेको हो कि भनेर हेर्न गएकी ।”

पिटुले सोद्धा बहिनीले भनी, “खे, मलाई त केही भएको थिएन ।”

भाउज्यू चाहिँले फेरि भनी, “कराएको कसो होइन त ? छिः !”

विधवा, “ए सपनामा झस्केर एकचोटि कराए जस्तो लाग्छ ।”

“किरिया पनि सपनामै हालेकी ?”

“भइहाल्यो भाउज्यू, मलाई त मर्न मात्रै मन छ ।” रुन लागी ।

एक दिन पिटुले भर्याङमा मर्ने जुवाइँको तस्बीर पायो स्वास्नीले अरूलाई नदेखाउनु भनेर जिद्दी गरी । पिटुले “अरूलाई नदेखाए पनि काकालाई त देखाउनै पर्छ” भनेर जबरजस्तीसित देखाइदियो ।

बूणाले भन्यो, “तँ लाटो छस्, बुहारीले थाङ्‌ङ्गामा सुताएको पनि पत्तै पाउँदैनस् ।” पिटुलाई स्वास्नीले कसैलाई नदेखाउनु भनेकोमा चैन लागेन । जोइपोईको ज्यादै मधुरो ठाकठाक ठुकठुक भयो ।

बूढाले त्यो तस्बीर छोरीलाई देखायो, “नामी, यो तिम्रो हो ?”

छोरीले कराएर भनी, “यो कहाँबाट आयो, कता थियो, मलाई थाहा छैन ।”

अनि धेरै किरिया चल्न लाग्यो । बूढाले भन्यो, “किन किरिया हाल्नुपर्छ, ‘होइन’ भने त सिद्धि हाल्यो नि ।”

भोलिपल्ट विधवाको छ महीनाको पेट खूपसित दुख्यो । भतिजालाई कुर्न घरै राखेर वैद्य खोज्न बूढा आफै बाहिर गयो । नौ घण्टापछि ऊ पसिना काढेर आइपुग्यो ।

“कति गर्दा पनि वैद्य आएन यो औषधि मात्र दियो ।”

औषधि खाएपछि व्यथा झन् बढ्यो । बूढा रुन लाग्यो, बूढी त्यहाँ आउनै सकिन । बुहारी चाहिँको आँखाबाट निस्केको ज्वाला, मुख र नाकबाट निस्केको धूँवा देख्ता उसको छातीभित्र आगो छ भन्ने थाहा हुन्थ्यो, तर त्यो कलेजो मुटुलाई जलाउन लागेको आगलागी हो यद्वा त्यो आगोले केवल कुरा मात्र पकाउन लागेको हो थाहा हुँदैनथ्यो । ऊ धेरै नचाहिने चोटि माथि तल तल माथि गरिरहेकी थिई । पिटुले फेरि वैद्य बोलाएर ल्यायो ।

वैद्यले सोध्यो, “अगिको औषधि पचो ?”

बूढाले जवाब दियो- “खै, त्यसले उस्तो सर गरेन ।”

“हेरेर दिनुपर्छ भन्दा मान्नुभएन ।” पिटु फेरि वैद्यसित अर्को औषधि लिन बाहिर निस्क्यो । बूढा छोरीकहाँ बसिरह्यो ।

रातको बाह्र बजे पिटूलाई उसकी स्वास्नीले भनी, “अरूको कुरा नपत्याउनुहोला, हामीलाई छुट्याउने धेरैको बल छ, खै भन् भने के भनूँ ?” बूढीले बाहिरबाट भनी, “आफैहरू मिलेर बस्नु र भइहाल्यो नि ।”

रातको दुई बजेतिर विधवाले ‘भाउज्यू’ भनेर ठूलो स्वरले कराई । त्यहाँ पुग्दा ऊ मरिसकेको, बूढाबूढी दुवै जना रोइरहेका । बिधवा रक्तले मुछिएको, छ महीनाको मरेको बालक बाहिर लडिरहेको, वरिपरि रगत छ्यालब्याल ।

बूढी – तपाईं आउँदा के गर्न लागेकी रहिछ ?

बूढा – किन हो, भाउज्यू भनेर कराउन लागेकी, म बुहारीलाई डाकिदिऊँ त भनेर निस्कें, उसको यो दशा भइसकेको । अनि बालक बाँच्छ कि भनेर हेरेको ।

पिटु पनि रुन लाग्यो । तर उसको स्वास्नी रोइन, सरासर गएर नन्दको तकियामा हात घुसारी एउटा कागत झिकी खोकिलामा हाली । बूढाले पिटुको मुखतिर एकचोटि पुलुक्क हेरेर शंका गरेको स्वरले भन्यो- “खै, ल्याऊ बुहारी, के लेखेको रहेछ ।”

बुहारी चाहिले अक्मकाएकर दिई, खालि कागत रहेछ ।

बहिनी मरेदेखि पिटु झन् मूर्ख देखिन लाग्यो, उसको स्वास्नी आधा सातो गएकी देखिन लागी । बूढी उज्यालोले पनि नदेख्ने गरेर रुन्थी, बूढा उज्यालोमा मात्र रुन्थ्यो- सबैको सामुन्ने ।

दश बाह्र दिनपछि जब आधा रात भयो घरमा रगतमा मुछिएकी अग्ली सुत्केरीले डुलेर तर्साउन लागी, रुद्रीपाठ पनि उसले सुनिन । त्यसले पिटुलाई रगतले लेखिएको एउटा कागत दिई – ‘बर्ष दिन कतै पर एक्लै भाउज्यूलाई नलिएर जानुभएन भने तपाईंलाई म आफैसित लैजानेछु । पापिनीसित बसे पाप सर्छ ।’

त्यसको पसिपल्ट पिटुकी स्वास्नोले तर्साउने सुत्केरीलाई लघारी तर भऱ्याङको टाउकोमै उसका खुट्टामा सिस्नु बिझेकोले भेट्टाउन सकिन । भोलिपल्ट कति खोज्दा भन्ऱ्याङको अन्तरमा उसले एउटा सिस्नुको पात पाई ।

पिटुले काकासित बिदा नमागी सकेन । बूढाले यो कुरा पत्याउन चाहेन । बूढाले भन्यो- “पिटु, तेरो आँखाको भूल होला, तैले मात्र देखिस् कि बुहारीले पनि ।”

“हामी दुवैले ।”

सिस्नुको कुराले समेत बूढालाई पत्यार पार्न सकेन । बूढीले डराएको एक दुई कुरा गरी । तीन-चार दिनपछि सुत्केरी फेरि बूढा सुतेपट्टि तर्साउन पुगिछ।

बिहान बूढाले एकान्तमा लगेर पिटुलाई एउटा अर्को कागत देखायो (उही सुत्केरीले दिएको )- ‘तपाईंले दाज्यूलाई कतै पठाउनु भएन भने निको ढङ्ग हुने छैन ।

पिटु डरायो । बूढीले एकछिनपछि आई रोएर भनी, “तिमीहरू नङ मासु जस्तै मिलेका छौ, केही भने पनि मलाई पाप लाग्नेछ, तर मैले धेरै विचार गरें बुहारीको चालै बेग्लै छ ।”

बूढाले भन्यो, “यस्तो तर्साउने सर्साउनेको कुरा मलाई त उस्तो पत्यार पनि लाग्दैन, लौ त जे गर्छस् ।”

आफ्नो घरमा भएको कुरा अन्त फैल नगर्ने ठहरियो । पिटु वर्ष दिनको विदा र सिदा लिएर जान आँट्यो । बूढाले रुन्चे स्वरमा भन्यो, “बुहारीलाई पनि सँगै लानुपर्ने ।

बुहारी चाहिँले भनी, “होइन म यहीं बस्छु, केही पाठ गरेर अगति परेको नन्दलाई तार्छु ।”

बूढी निकै रोई । बूढा दिक मानेर  हाँस्यो ।

पिटु एक्लै गएर वर्ष दिनसम्म जनकपुर बस्यो । घरमा चिट्ठी बराबर आवतजावत भइरहन्थ्यो । काकाको पनि काकीको पनि स्वास्नीको पनि । चिट्ठीको पेटमा एक हरफको चाहिँ उसलाई कहिल्यै अर्थ लाग्दैनथ्यो । ऊ सोधी पठाउँथ्यो, उनीहरू उत्तर पठाउँथे; मूलभन्दा टीका गाह्रो, टीकाको टीका झन् गाह्रो हुँदै जान्थ्यो; केहीपछि पिटु जम्मै जस्तो चिट्ठी नबुझ्ने भयो; हुँदा हुँदा उसले अक्षरसमेत चिन्न छोड्यो – फार्सी हो कि अंग्रेजी । वर्ष दिन टुङ्गिदा नटुङ्गिदै चिट्ठी पत्र टुङ्गियो । चिट्ठी आउन छोडेपछि पिटुलाई अलि अलि चिट्ठीको अर्थ लाग्न लाग्यो, “काका काका होइन, काकी काकी होइन, स्वास्नी स्वास्नी होइन, तर्साउने तर्साउने होइन, अझ घरतिर हिंड्ने दिन उसलाई पूरा अर्थ खुल्यो-पिटु पनि पिटु होइन ।”

ऊ भोलि जस्तो घर आइपुग्नु आज जस्तो राती बुढाले बूढीसित भन्यो- “तेरी बुहारीको धेरै नै चूक फेला पारें, तर आज अन्तिम दिन छ, म फेरि जाँच्छु ।”

बुढीले भनी, “अझ पनि चेत्नु भएन, पाए मार्छ त्यसले, किन जिद्दी गर्नुहुन्छ ?”

बूढा चाल मारेर आधा रातमा गयो । बूढीलाई निद्रा पटक्कै लागेन, रातभरि ऊ चालीसचोटि रोई, तर सूर्यको औंला नसमाती उसले ओछ्यान छोड्न सकिन ।

बिहान पिटु आइपुग्यो । काकीले छातीको पींधनेरबाट रोएको उसले तलैबाट सुन्यो । एक निमेषमा उसले सहस्र रजनी देख्यो, सहस्र सपना देख्यो । खसेर पेटसम्म पुगेको मुटु लिएर ऊ सरासर आफ्नो कोठामा पुग्यो । बूढो घोप्टो परेर भूइँमा पछारिएको रहेछ, पाता फर्काएर बाँधिराखेको खुट्टा पनि, पिटुले त्यो फुकाइदियो तर बूढा ढुङ्गा जस्तै मरिसकेको रहेछ, उसको निधारभरि एक एक अमल फरक रेर चौंतीसवटा ल्वाङ कीला ठोकिराखेको, हरेकबाट रगत बगेर मुख घोइएको । बर्सन लागेको पिटुको मुखको बदलीलाई भयानक आश्चर्यको उच्छ्‌वासले हटाइदियो । बुढी कुनामा बसेर अझ निचरी रोइरहेकी थिई । पिटुकी स्वास्नी हाँस्तै भित्र पसी । नन्दको सिरानमन्तिरबाट झिकेको कागत पोइलाई दिई पनि हाली । पिटु जुरुक्क उठ्यो ।

“मलाई पहिल्यै किन नभनेको ?

“म बदला लिन पाउँदिन थिएँ कि !”

“कहिले हुन्थ्यो, म भएको भए अझ यसलाई सुत्नै नदिएर खान दिई दिई मार्दथें ।”

बूढीले रुन छोडी, हात जोडी ।

(मौलिक कथहारूको संग्रह ‘कथा–कुसुम’बाट)